खुकुलो लकडाउनको त्रास
‘भाडा दिन ढिलो नगर्नू, पछि एकै पटक भार पर्यो नभन्नू । हामीलाई पनि बैंकले फोन गर्न थालिसक्यो’, घरबेटी उर्दी सुनाउँछन्
घरबेटी बिहानै फोन गर्छन् र भन्छन्, ‘लकडाउन सकियो त ! कहिलेबाट खोल्नुहुन्छ, अफिस ?’
लकडाउन ५२ औँ दिन चलिरहँदा उनको पहिलो फोन हो, यो ।
‘खोल्ने हो ! अलि सामान्य होस् न’, मैले भनेँ, ‘सरकारले जनजीवन सहज होस् भनेरै अत्यावश्यक क्षेत्रलाई मात्र खोल्न दिएको हो । हामी विस्तारै खोलौँला नि ।’
‘अरूले त खोलिसके त’, घरबेटी आफ्नै सुरमा छन्, ‘तपाईं व्यापार गर्नेलाई पास मिलाउन के गाह्रो भयो र ?’
‘कुरा पासको होइन नि बुबा’, मैले सम्झाउन खोज्छु, ‘संक्रमण झन् बढ्दो छ, यस्तोमा किन चुनौती मोल्नू, भन्नुस् त ?’
‘भाडा दिन ढिलो नगर्नू, पछि एकै पटक भार पर्यो नभन्नू । हामीलाई पनि बैंकले फोन गर्न थालिसक्यो’, उनी रोकिन्नन्, ‘अरू कुरा त्यस्तै हो, समयमै भाडा क्लियर गरिदिनुहोला ।’
बल्ल उनले आफ्नो खास चिन्ता जाहेर गरे ।
सहकर्मीहरूमा पनि छटपटीले छोइसकेको छ । उनीहरूको तारन्तार फोन आउँछ, ‘सर हाम्रो अफिस कहिलेबाट खोल्ने ?’
‘लकडाउन थपेको थप्यै छ त’, सम्झाउन खोज्छु, ‘अवस्था सामान्य नभइन्जेल घरमै बसौँ । किन खतरा मोल्ने ?’
‘साथीहरू अफिस जान थालिसके, घर बस्दाबस्दा अल्छी लाग्ने’, उनको आफ्नै चिन्ता छ ।
‘अरू दिन १५ घन्टा अफिस बस्दा पनि केही भनेनम् त हामीले’, अपर्झट परेर एक दिन बाहिर निस्कँदा परिवारका सदस्यको प्रतिक्रिया यस्तो छ, ‘महामारीको बेला घरमै बस्नू । मिटिङ/सिटिङ भन्दै नकुद्नू ।’
‘एकै दिन त्यस्तो परेको हो, सधैँ निस्कनुहुन्न’, म बुझाउन खोज्छु ।
‘तँ बाहिर गएर भाइरस लिएर आउलास्, हामी घरमै बसेको के अर्थ भयो ?’, चिन्ता नाजायज छैन, ‘कि हामी पनि निस्किम बाहिर ?’
यसबीच नाम चलेका समाजसेवी आइपुग्छन् । ‘यो हाम्रो महान् समाज कल्याणको मिसनमा साथ दिनुस्’, स्वघोषित समाजसेवी फोनमा गफिन्छन्, ‘मानवताका लागि मिलेर केही गरौँ ।’
‘हजुर केही न केही त गर्नैपर्छ’, म सहमति जनाएझैँ गर्छु र फोन राख्छु ।
०००
सामाजिक सञ्जालमा राष्ट्रवाद उर्लिइसकेको छ ।
‘सिमाना मिचेर छिमेकीले लगिरा’छ, सबैलाई आफ्नै कामको चिन्ता । खोइ राष्ट्रियता ? कहाँ गयो देशप्रेम ? माटो रहे पो केही गर्छौ !’, कसैले फेसबुकमा लेखिसक्यो, ‘यो पोस्टलाई धेरैभन्दा धेरै सेयर गरौँ, देश बचाऔँ ।’
देश बचोस् नबचोस्, सेयर संख्या गनेर उक्त पोस्टको सर्जक मक्ख परिरहेको हुन सक्छ ।
०००
लकडाउनमा सबैलाई व्यवसाय सञ्चालन गर्ने अनुमति छैन तर गर्ने/सक्नेले गरिरहेकै छन् ।
सेमिलकडाउनले धेरै उद्यमीलाई यता न उता बनाएको छ । सरकारको आदेश पालना गर्ने कि खुकुलो लकडाउनको फाइदा उठाउने ? लकडाउन छ कि छैन भन्नुजस्तो देखिएको छ ।
लकडाउनको पालना अझै कडाइसाथ हुनुपर्छ । तर सरकारको निर्णय र बजारको प्रवृत्ति हेर्दा लाग्छ– देशको अर्थतन्त्र बचाउने नाममा जनता मार्ने काम त भएको छैन ?
भित्रभित्रै रेस्टुराँहरू चल्न थालिसके । मानिसहरू भेटघाट बढाइरहेका छन् । यो सब देखेर पनि नदेखेजस्तो गरिरहेको छ, प्रहरी प्रशासन । यस्तो किन भइरहेको छ ? कोरोना संक्रमणको रेखा झन् उकालो लागेका बेला खुकुलिएको लकडाउनको प्रभाव कस्तो पर्ला ?
‘सरकारी अफिस खुले, बैंक पनि खुले, हामी किन घर बस्ने ?’ यस्ता तर्कवितर्क सुनिन थालेका छन्, उद्यमीहरूमाझ ।
सरकार, निजी क्षेत्र र नागरिक मिलेर अहिलेको देखिएको संकटको क्षतिसँग जुधौँला । समस्या हामीलाई मात्र होइन, विश्वलाई नै हो । हामी मात्र एक्लै मुक्त हुने अवस्था छैन । अहिले लकडाउनको पूर्ण पालना गरौँ । नागरिक रहे न देश ! संकटको घडीमा यस्तो सोच्नुपर्ने होइन र हामीले ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...