अनलाइनमा पढाउन हतारो नगरौँ, विकल्प अरु पनि छन्
कोरोनाकै कारण आम अभिभावकले आफ्ना सन्तानका लागि समय दिन पाएका छन् । सन्तानले प्रकृति र वनवातावरणलाई नजिकबाट बुझ्न पाएका छन् । कोरा शिक्षा र कम्पनी शिक्षाको गति रोकिएको छ ।
मित्रले सधैँ ललिपप दिन्थे, बाटोमा भेट्दा गाला मुसार्दै हिँड्थे । बच्चा अढाइ वर्षमा दौडिँदै थियो । उसका आफ्नै दु:ख थिए । पेशेवर बाबुआमा थिए । अरू त कुरा छाडौँ, ऊ घरमै जन्मन पनि पाएको थिएन । उसको पहिलो रुवाइ अस्पतालको त्रासद र कोलाहलयुक्त परिवेशमा भएको थियो ।
जतिसुकै सभ्य र आधुनिक ठानिए पनि बच्चाबच्ची आफ्नै घरमा जन्मन पाउनु र नपाउनुमा ठूलो अन्तर पर्छ रे ! उनीहरूको नैसर्गिक अधिकार घरमा जन्मन पाउनुमा सुरक्षित हुन्छ रे ! तर प्रशव वेदनाका नारीहरूको घरमा कम्पनी स्वास्थ्यले कहाँ सेवा दिन सक्छ र ?
स्मरणीय के भने इतिहासमा सुँडेनीहरूले घरमै नि:शुल्क सेवा दिन्थे । तर आजकल हजारको ललिपप देखाइएको मात्रै होइन, आमाका कोखहरू कम्पनीले कमाउ–धन्दा बनाएका छन् । बच्चाबच्चीहरू जन्मनसमेत पाउँदैनन्, कुबाटोबाट निकालिन्छन् । यसरी निकालिन थालेपछि आमा र बच्चाबच्चीको मानसिक, शारीरिक स्वास्थ्यको त कुरै छाडौँ, आमालाई दिनुपर्ने पौष्टिक तत्त्व, नियमित स्वास्थ्य सेवा र स्याहारसुसार पनि कमिसन खेलको कैदमा बन्धक बनेका छन् । समाजवादउन्मुख संविधानको कमाल कहाँ सजिलै बुझिन्छ र ?
पेशेवर हुनुका आफ्नै दु:ख छन् । सुख हुनु तर सन्तोष नहुनु यसको मुख्य लक्षण हो । यो असन्तोषको लहर परिवारमा कोरोनाजस्तै गरेर फैलिन्छ । कतै लक्षण देखाउँछ त कतै यो बिनालक्षण पार लाग्छ । कतै यो शारीरिक, मानसिक घातप्रतिघातमा परिणत हुन्छ ।
कोरोना पेशेवर हुँदा नारीहरूका दु:ख थपिएका छन् । घरका मूल्यहीन काम पनि सक अनि परका काम पनि तिम्रै थाप्लोमा । तर पुरुष करिब–करिब मस्तराम नै छन् । मलाई पनि डेढ वर्षको छोरोको ‘डे केयर’ को जिम्मा थाप्लोमा आइपुग्यो । प्राध्यापकीय स्वतन्त्रतालाई डे केयरका लागि भरपुर उपयोग गरियो ।
बच्चा बाबु कहिलेकाहीँ पेसा व्यवसायमा सँगै जान्थ्यो । करिब तीन वर्ष टेक्दै हुँदो हो– मित्रले मुख फोरिहाले, ‘पछिपछि लिएर हिँडेर मासिक ५/७ हजार जोगाउनु भएको छ है ।’
म बेलाबेला बच्चालाई घर ल्याउँथेँ । त्यसबखत उसले घरमा हजुरबुबा/हजुरआमासँग आत्मीयता साट्थ्यो । शिष्टाचार सिक्थ्यो । आफन्त, छरछिमेक, साथीभाइ चिन्थ्यो । धेरै बस्न पाउँदैनथ्यो । वर्षको दुई तीन पटक दु:खै गरेर घर आउँथ्यौँ, उसैका लागि ।
तीन वर्ष नपुग्दै सहरमा ऊ भन्दा साना केटाकेटीहरू मन्टेश्वरी जान थालिसकेका थिए । ऊ दिनभरि एक्लै खेल्थ्यो । धेरै शुभचिन्तकहरूले ऊ स्कुल नगएकामा चिन्ता जताउँथे । दबाब हामीमाथि त छँदै थियो । चुपचाप साथीहरूको सल्लाह सुन्नको विकल्प थिएन । चार पुग्दाको जेठका बेला घरमा ऊ र म मात्रै बस्यौँ । पछि म आफ्नो घरबाट फर्केपछि मामाघर बस्यो । दुई महिना बसेर साउनमा आमासँगै फर्कियो ।
बाउको जेठ र आमाको असारमा बिदा पर्नु पनि उसका लागि फाइदै थियो । घरमा उसले लिची, आँप, अनार खुब खायो । मावली जिजुहजुरबाको काँध चढेर लिची खान्थ्यो रे ! कहिलेकाहीँ बानरले खसालेको मेवा उही बारीमा बसेर खान्थ्यो रे ! केरा पनि खुब खाएछ ।
माइजूले घाँस काटेर फर्कंदा भान्जाका लागि ल्याइदिएको चिउरी पनि सर्लप्पै पारेछ । मानव मात्र होइन, पशु प्राणीलाई चिन्ने मौका पनि पाएछ ।
अब त साउनमा फर्केर एकाध घन्टा जाने बालशिक्षामा बस्न पनि उसलाई महाभारत हुन थाल्यो । दसैँपछिको प्रतिकूल परिस्थितिमा ऊ मावली र घर ओहोरदोहोर गरिरहेको छ । दुवैतिर उसले सिक्ने कुरा भनेका परम्परागत नै छन् । कृषि प्रणालीमा आधारित छन् । घाँस र मलसँग खेल्ने, पानी र माटो खेल्ने, कुटो र कोदालोसँग उसको नाता कसिएको छ । बाख्रा, भैँसी उसका लागि प्रिय छन् ।
पाँच वर्षको उमेरमा किताबी शिक्षाका केही कुरा पनि सिकेकाले उसका लागि एक कक्षा सीधै पढ्ने अवसर आउँछजस्तो छ ।
दिनमा कुनै बेला उसले पढ्छु भन्दै आफ्ना किताब समात्छ । सायद पढाइप्रति अन्तरआत्माबाटै रुचि पो जागेको छ कि ? त्यसो हो भने सहरतिरका दीक्षान्तले हावा खान बेर छैन । मित्रले भनेजस्तै पाँच/सात हजार मात्रै होइन, अरू पनि आर्जन भएको छ कि ?
कालो बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै कोरोनाका कारण आम अभिभावकले यसपालि मैलेजस्तै आफ्ना सन्तानका लागि समय दिन पाएका छन् । त्यति मात्र होइन, गाउँ फर्किएका बाबुआमाले कृषि–कर्म गर्न पाएका छन् भने बालबालिकाले परम्परागत ज्ञान, सीप, संस्कृति सिक्न पाएका छन् । प्रकृति र वनवातावरणलाई नजिकबाट बुझ्न पाएका छन् । कोरा शिक्षा र कम्पनी शिक्षाको गति रोकिएको छ । अनलाइनवाला शिक्षाका लागि हतार गर्नुपर्ने केही छैन । पाँच वर्षमुनिका बच्चाबच्चीलाई यो ठूलो अवसरका रूपमा आएको छ ।
उनीहरूलाई यो परम्परा, शिष्टाचार, संस्कृति सिक्ने, प्रकृति विचरण गर्ने, नाता सम्बन्ध सिक्ने अवसर हो । तर अभिभावक परिक्षित बन्न सक्छन्/सक्दैनन्, त्यो थाहा पाउन केही वर्ष लाग्ला । त्यसो त आफूहरू मोबाइलबाट कति मुक्त हुन्छन्, त्यसले बालबालिकाको भविष्य निर्धारण गर्नेछ ।
अभिभावले बालबालिकालाई पढ् पढ्को रटान लगाएर मात्रै हुने छैन । आफूहरू मोबाइलमा भुल्छन् कि अन्य कुरामा, त्यसले धेरै चाँजोपाँजो निर्धारण गर्नेछ ।
यो वर्षको शिक्षाको जिम्मा अभिभावकको हातमा छ । अभिभावक आफ्ना पनि लालाबालाकै साथमा छन् । सायद बालबालिकाको अन्तरकुन्तरमा आफ्ना अभिभावकहरूको परीक्षा चलिरहेका होलान् ? नातिले बाउलाई हजुरबालाई फाल्दा डोकोचाहिँ नफाल्नू भनेको कथा बालबालिकाले यसपालि सुन्न पाएका छन् ।
पछिल्ला वर्षहरूमा नेपालमा घरमा कोही कमाउन परदेश लाग्यो भने छोराछोरी पढाउने नाममा आमाबाउ सहरतिर बस्ने प्रचलन छ । यसले अरबमा कमाएको पैसा स्कुल कम्पनी र घरलाई बुझाउँदा ठीक्क हुन्छ । आफ्नो घरको सम्भावना समाप्त भएको छ ।
अर्को कुरा, गाउँ र सहरको पढाइमा रत्तिभर अन्तर छैन, बहानाबाजीबाहेक ।
सहरको बसाइ अत्यन्त कष्टकर छ । मोबाइल परिवारमा सबैका लागि सबथोक भएको छ । बालबालिकामा पर्ने असर विज्ञहरूको बौद्धिक विलासमा सीमित छ ।
अभिभावकलाई उनीहरूको कुराले छोएको छैन । छोरीछोरालाई स्कुलको जिम्मा लगाएर ढुक्क बन्ने अभिभावक बढेका छन् । कम्पनी स्कुलबाहेक सबै घाटामा छन् ।
तर कोरानापछि गाउँघर हराभरा छन् । मान्छेहरूको चहलपहल बढेको छ । छाडिएका, टाढिएका घरहरू लिपपोत भएका छन् । करेसाबारी खनीख्रोसी गरिएको छ । श्रमले पसिना खसेको छ । बालबालिकाले पनि खेल्ने प्रशस्त ठाउँ पाएका छन् । देखासिकी गर्ने काम पाएका छन् । किम्बु, ऐँसेलु, काफल, तिजु खान पाएका छन् । उनीहरूलाई पढाइको चिन्ता छैन । पढ्दा पो कहाँ रहरले पढ्न पाएका थिए र विचराहरूले ? अभिभावकको इज्जत र प्रतिष्ठा, कम्पनीका अनावश्यक किताबहरूको थुप्रो, बिजातीय भाषाको नत्थी, घर फर्कंदा कक्षाकार्यको भारीले जीवनै दिक्दार भएको थियो । सायद धेरै विद्यार्थी मनहरू यतिबेला कोरोनाको त्रास र मोबाइलको ह्याङबाट मुक्त भएर हावामा कावा खाँदै होलान् ।
फेरि प्रश्न उठ्छ, त्यसो भए के यो वर्ष विद्यार्थीहरूलाई घरकै हावामा कावा खुवाउने त ? आज अभिभावकले किताब पनि त बोकेका छैनन् । तसर्थ घरमा पढाइ जटिल छ । अनलाइन कुराको विषय नै बन्न सक्दैन । परीक्षाको लागि अझ दुई महिना कुर्नु नै उचित छ । विकल्पको खोजी भने आवश्यक छ । गृहकार्य परीक्षाको मापदण्डको एउटा आधार हुन सक्छ । आखिर त्यो पनि मूल्यांकनै हो । चाहने हो भने यसपालि ‘पेपर पेन्सिल टेस्ट’ लाई फेर्ने अवसर छ । सबैतिर नहोला, धेरै ठाउँमा स्कुल प्रशासनले यो कार्य गर्न सक्छ ।
तत्कालका लागि स्कुल कम्पनीहरूले अभिभावकका लालाबाला भर्ना गर्न जुलुसै उठाउनु खासै आवश्यक छैन । आज मोबाइल फोन हरेकका हातहात छन् । तिनै मार्फत भर्ना गरौँ । सकिन्छ, किताब घरघर पुर्याऔँ । छोराछोरीको पढाइ जिम्मा अभिभावकलाई दिऊँ । संयोजन शिक्षकले गरौँ । दसैँसम्मलाई स्कुले ढोका बन्द गरेरै घरमा ढुक्क बसौँ !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...