विद्यार्थीहरूले पढाइ कसरी सुधार्ने ?
औसत स्तरको पढाइबाट माथि उक्लन सजिलो छैन । जसले पढाइमा जिन्दगीको उज्यालो प्रकाश देख्छ, पढाइलाई हेरविचार र गोडमेल गर्छ, ऊ अवश्य नै मेधावी बन्छ
पढाइमा मेधावी बन्ने र धेरै नम्बर ल्याएर उच्च श्रेणीमा पास हुने जोकोही विद्यार्थीको ठूलो इच्छा हुन्छ । त्यसैअनुसार उनीहरू लागिपर्छन् । तर सबैको त्यो इच्छा पूरा हुँदैन । जब–जब त्रैमासिक होस् या वार्षिक परीक्षा आउँछ, उनीहरू राती ढिलोसम्म बसेरै भए पनि तयारी थाल्छन् । कति त बिरामी नै पर्छन् । नतिजा राम्रो आए खुसी हुन्छन्, नराम्रो आए निराश । कतिपय त प्रथम हुने विद्यार्थीको इर्ष्या पनि गर्छन्, जुन स्वाभाविकै हो ।
अरूको व्यक्तित्व र क्षमताप्रतिको इर्ष्यालाई नराम्रो मानिँदैन । ‘कसरी पढाइमा जान्ने भइन्छ र धेरै नम्बर ल्याएर राम्रो ग्रेडिङ पाउन सकिन्छ’ भन्ने प्रश्न प्राय: विद्यार्थीहरूको साझा हो ।
संसारको यो सत्य सबैले स्वाभाविक रूपमा स्वीकार्नुपर्छ कि हरेक मानिसमा प्राकृतिक प्रदत्त तीक्ष्णताको स्तर एउटै हुँदैन । त्यसको अर्थ यो होइन कि कम तीक्ष्णता हुने नजान्ने हुन्छन् ।
कम तीक्ष्णतालाई पनि तिखार्न र जान्ने बनाउन सकिन्छ । सबैले आफ्नो भित्री क्षमता निखार्दै जाने र योजनाबद्ध रूपले निरन्तर प्रयास गर्ने हो भने पढाइ होस् या कुनै पनि सीप विकासमा अग्रपंक्तिमै पर्न सकिन्छ ।
मेरो दस वर्षभन्दा लामो शिक्षण अनुभवले सिकाएका विद्यार्थीहरूले पढाइ सुधार्ने उपायहरू :
- पढाइ पीडादायक काम हो तर यसले दिने फल सबभन्दा मीठो हुन्छ ।
- पढाइले हानि गर्दैन, पढाइलाई हानि नगरौँ ।
- संसारमा कुनै चीज खेर जाँदैन भने परिश्रमको पसिना । हरेक थोपा पसिनाले एक दिन मूल्य पाउँछ ।
- सरस्वतीले उसैलाई माया गर्छिन्, जसले पढाइलाई माया गर्छ ।
- पढाइले जीवनको उचाइ दिन्छ र सुन्दरता थप्छ ।
- पढाइ र ज्ञान भएको मानिस सबभन्दा अगाडि हुन्छ । शक्तिशाली हुन्छ ।
यिनै मन्त्र मनभित्र राखेर बेलाबेला मनन गर्दै पढाइलाई अघि बढाउने ।
लक्ष्य निर्धारण गर्ने
स्कुले जीवनमै धेरै विद्यार्थीहरूले लक्ष्य बनाउन सक्दैनन् । घरमा त्यसै घोकाइन्छ । भविष्यमा के बन्ने भनेर सोध्यो भने नबुझीकनै चलेका थोरै शब्द भन्न सिकाइन्छ । जस्तो, डाक्टर, पाइलट कि इन्जिनियर ।
यो गलत धारणा हो । समाजमा सबै मानिस डाक्टर, पाइलट या इन्जिनियर मात्रै हुनुपर्छ भन्ने जरुरी छैन । हुँदैनन् पनि । हरेक मानिसभित्र प्रकृतिले दिएको गहिरो इच्छा र क्षमताको अमूल्य हिरा हुन्छ । आफूभित्रको त्यो हिरा जसले चिन्न सक्छ, उसले छिट्टै लक्ष बनाउँछ, म यो बन्छु भनेर । ऊ त्यो क्षमता विकास गर्न लागिपरिहाल्छ ।
शंकै छैन, ऊ त्यही व्यक्तित्व बन्छ नै । त्यसैले जो जे बने पनि आफ्नो गहिरो रुचि र क्षमताअनुसार बेलैमा लक्ष्य बनाउने हो । दोधारमा नपर्ने । जो जे भए पनि आफ्नो क्षेत्रमा अग्रणी बन्दै देशलाई योगदान गर्न सक्ने व्यक्ति बन्ने हो । समाजको सम्पत्तिका रूपमा रहने यी सबै खाले व्यक्ति चाहिन्छ नै ।
पढाइप्रति तीव्र इच्छा जगाउने
मनभित्रको भविष्यको त्यो व्यक्तित्व सम्झँदै पढाइप्रति इच्छा जगाउन सजिलो भने छैन । अल्छी लाग्छ । धैर्य, लगनशीलता, एकाग्रता र निरन्तरता जोगाइराख्नुपर्छ ।
पढाइ मेरो जीवनको ताज, इज्जत अनि प्रतिष्ठा हो । यसले मलाई मीठो फल दिन्छ, चिनाउँछ, उचाइमा पुर्याउँछ भन्ने चिन्तन र मनन गर्नुपर्छ । आफ्नो लक्ष्यको ‘म’ लाई देखिरहने । रेडियो, टेलिभिजन, पत्रपत्रिकामा छापिने, सुनिने, देखिने समाजका अग्रणी व्यक्तित्वहरूलाई हेर्ने, सुन्ने हो भने मनमा अनेक प्रश्नहरू उब्जिन्छन् । उहाँहरू किन अन्तर्वार्तामा आउनुभयो ? तिनलाई किन खोजियो, बोलाइयो ? समाजलाई कसरी योगदान गर्न सक्ने हुनुभयो ? दुनियाँमा विद्वान्, वैज्ञानिक, लेखक, आविष्कारक को–कसरी भयो र विश्वमा नाम कहलियो भनेर आफैँलाई सोध्ने हो भने पहिलो उत्तर पढाइ नै हो भन्ने लाग्छ ।
भविष्यमा आफू ‘त्यो’ मान्छे भएर त्यसरी नै टेलिभिजनमा आएको कल्पना गर्ने । पढाइ मेरो कर्म हो, पूजा हो र धर्म हो । म यसैमा सुन्दरता, मिठास भेट्छु र रमाउन सक्छु भन्ने सोच राख्ने एवं किताबकापीलाई माया गर्ने हो भने अवश्य पढाइप्रति रुचि जाग्छ ।
जुन चीजलाई मन पराइन्छ, माया गरिन्छ, त्यसप्रति रुचि जाग्छ । त्यसैकालागि कर्म गरिन्छ । जब कर्म गरिन्छ, तब फल अवश्य पाइन्छ । त्यसैले पढाइलाई मन पराउने, माया र सम्मान गर्ने ।
पढाइको प्रभावकारी तरिका छान्ने
पढाइमा मिहिनेत गर्न पनि जान्नुपर्ने हुन्छ । जब पढाइमा सही तरिका छानिन्छ, तब मात्रै त्यो त्यो उपलब्धिमूलक हुन जान्छ । बाआमाले देख्दा पढेजस्तो गरेर र हातमा किताब बोकेर मात्रै कोही पनि जान्ने हुँदैन । कोरा रटानले पनि पढाइ सुध्रिँदैन ।
- विषयअनुसार रुटिन बनाउने र त्यसको पालना गर्ने ।
- अध्ययनको समय छान्ने । जस्तो, बिहानको ताजा समयमा पढ्नुपर्ने कुराहरू पढ्ने । ख्याल गर्ने र सम्झिने ।
- बेलुकीको समय त्यति ऊर्जाशील हुँदैन । त्यसैले त्यसबेला गृहकार्य गर्ने या लेख्नुपर्ने कुराहरू लेख्ने । बेलाबेला छोटो समयको आराम लिने । सबै काम सक्ने ।
- ओछ्यानमा सुतेर या सिरानीमा ढल्केर कहिल्यै नपढ्ने । छिट्टै निद्रा आउँछ र सुतिन्छ । सक्नुपर्ने काम समयमै सकिँदैन । त्यसैले कुर्सीमा बसेर टेबलमा लेखपढ गर्ने ।
- कुन विधिले पढ्दा आफूलाई सजिलो हुन्छ र बुझिन्छ, त्यही विधि छान्ने । जस्तो, पढ्ने/लेख्ने, लेख्ने/पढ्ने, पढ्ने/सम्झने, पढ्ने सारांश बनाउने, बुँदा टिपोट गर्ने र सम्झने आदि ।
सबभन्दा प्रभावकारी उपाय भनेको पढ्ने र त्यो पाठले सिकाउन खोजेको कुरा ख्याल गर्ने वा सम्झने । आँखा चिम्लेर बेलाबेला ध्यानको माध्यमद्वारा पढेको कुरा सम्झने पढाइको उर्बर तरिका हो ।
- सातामा एकचोटि पुनरावृत्ति गर्ने ।
- तार्किक, ओझिलो, सीधा र प्रस्ट उत्तर दिने बानी बसाउने ।
- दैनिक सम्भव नहुन सक्छ । त्यसैले कम्तीमा तीन दिनमा एकचोटि बिल्कुलै नयाँ शीर्षकमा सिर्जनात्मक लेखन गर्ने । जस्तो, हिमालतिरको मेरो यात्रा, यदि म चर्चित व्यक्ति भएँ भने, संगीत मेरो साथी, विकसित मेरो देश आदि ।
- आरामको समय छान्ने । आराम गर्दा समाचार, बीबीसी, सीएनएन, अलजजिरा, नेसनल जिओग्राफी, एनिमल प्लानेट, टक शो, क्विज कन्टेस्ट, रियालिटी शो या सांगीतिक कार्यक्रम हेर्न सकिन्छ । यी कार्यक्रमले प्रशस्त मात्रामा सूचनामूलक जानकारी दिन्छन् । ती सन्दर्भहरू पढाइ/लेखाइ दुवैमा प्रत्यक्ष काम लाग्छ । अरूभन्दा आफू स्रोतपूर्ण भइन्छ ।
- राम्रो भाषा र हस्तलेखनको विकास गर्ने । हस्तलेखनका नमुनाहरू पत्रपत्रिकामा, हस्तलेखन सुधार गराउने कापीकिताब बजारमा सजिलै भेटिन्छ । आफूलाई मन परेको नमुना छान्ने र सिको गर्ने ।
- कहिल्यै पनि अरूको कापीबाट सार्नु हुँदैन । यस्तो बानीले आफ्नो सिर्जनशीलता र आत्मविश्वास गुम्छ ।
- तागतिला खानेकुरा खाने । भोकै नपढ्ने । पानी प्रशस्त पिउने र पूरा निद्रा सुत्ने । शारीरिक व्यायाम र समय मिलाएर ध्यान गर्ने ।
- मीठो बोल्ने, सच्चा व्यवहार गर्ने र सकारात्मक सोच्ने– म एक दिन यस्तो मान्छे हुन गइरहेको छु । अनि त यसरी मिहिनेत गर्दै छु भनेर सम्झने । जे गरे पनि लक्ष्योन्मुख काम गर्ने ।
- कक्षाकोठाको शिक्षणमा ध्यान दिने
सफल पढाइको कसी कक्षाकोठामा शिक्षकले गराउने अध्यापनको स्पष्ट ग्रहण हो । जसले सम्पूर्ण रूपमा कक्षामा पाठ बुझेको छ, ऊ त्यही बेला नै लगभग जाँचका लागि तयार भइसकेको हुन्छ । शिक्षकले हरेक दिन केही न केही महत्त्वपूर्ण सूचनाहरू कक्षामा बताउनुपर्ने हुन्छ । ती सूचना नछुटाई टिपोट गर्नुपर्छ । त्यो पाठको सारांशमा समावेश गर्नुपर्छ ।
बुझिएन भने फेरि त्यो पाठले सिकाउन खोजेको चुरो कुरो शिक्षकलाई भनिदिन अनुरोध गर्ने । कक्षाकोठामा हल्ला गरेर ध्यान नदिने विद्यार्थी सधैँ पछि पर्दछ । सम्भव भएसम्म नियमित स्कुल जाने । कक्षाकोठाको पाठ कुनै पनि बहानामा नछुटाउने ।
समय बर्बाद पार्ने क्रियाकलाप त्याग्ने
अहिले बजारमा अनेक थरीका ध्यान खिच्ने कुराहरू पाइन्छ । फेसन, रमाइलो, आकर्षण, अनावश्यक भेटघाट, प्रेम सम्बन्धहरू, युवायुवतीका घुमघाम, चुरोट, गाँजा र अन्य कुलत । टेलिभिजनमा आउने सिरियल, कार्टुन मुभीहरू, कम्प्युटरमा खेलिने भिडियो गेमहरूले त अहिलेका विद्यार्थीहरूको समय बर्बाद पार्ने मुख्य चीज हुन् । ती सबै कुराहरूको मजा र मनोरन्जन लिनुपर्छ तर आफूलाई फाइदा हुने तरिकाले ।
अझ मोबाइल फोनको सहज पहुँचले त सामाजिक सञ्जालको रोमाञ्चक दुनियाँमा भुलाउँछ । मोबाइल फोन सबैले चलाउनुपर्छ, जानकारी लिनुपर्छ, सामाजिक सञ्जालमा कुशल प्रयोगकर्ता हुनुपर्छ तर दुरुपयोग गर्नु हुँदैन । यस्ता कुरालाई समय छुट्याएर नियन्त्रित हिसाबले प्रयोग गर्ने । पढाइ नसकुन्जेल भुलिनु हुँदैन । बाआमाले घर व्यवहार थामिदिएर छोराछोरीलाई पढ्ने वातावरण दिएपछि त्यो बहुमूल्य समयको सदुपयोग गर्ने । सधैँ त्यस्तो मौका मिल्दैन ।
असल बानीको बिकास गर्ने
असल बानी तिनलाई भनिन्छ, जसले अरूलाई पीर पार्दैनन् र आफूलाई राम्रो पार्छन् । जस्तो, खानेकुरामा आमालाई कचकच नगर्ने, अनावश्यक कुराहरूको माग नगर्ने, आफ्ना लुगाकपडा आफैँ धुने, पुस्तकालय जाने, फुर्सदमा ज्ञानवर्द्धक कुराहरू टेलिभिजनमा हेर्ने, सिर्जनात्मक लेखन गर्ने, खोज अनुसन्धान गर्ने, सामाजिक सेवा गर्ने, सकारात्मक सोच राख्ने, योग र ध्यान गर्ने, मीठो बोल्ने, समयमा खाने, सुत्ने र उठ्ने अनि अध्ययन गर्ने । समय मिलाएर मनोरन्जन लिने ।
यसले पढाइमा ऊर्जा मिल्छ र पढ्ने इच्छालाई पुनर्जागरण गराउँछ । आफूलाई ताजगी राख्छ ।
प्रेरक बाटो हिँड्ने
बाआमाले आफ्नो र परिवारका लागि गरेका संघर्ष पहिलो प्रेरणा हुनुपर्छ । त्यसलाई मनन् गरी उहाँहरूको मिहिनेत र त्यागलाई खेर जान दिन्नँ र भविष्यमा मेरा बाआमाले गर्व गर्न लायक मान्छे हुन्छु भनेर निरन्तर मिहिनेत गर्नुपर्छ । जो व्यक्ति दुनियाँमा कहलिएका छन्, सफल भएका छन्, तिनका आत्मकथा अध्ययन गर्दा बेग्लै ऊर्जा र प्रेरणा मिल्छ । आफूलाई त्यही बाटोमा हिँड्न हौसला र आँट मिल्छ । सही बाटोले सही र गलत बाटोले गलत ठाउँ पुगिन्छ ।
एक जना अमेरिकी दार्शनिक तथा गुरु वायन डब्लु डायरले भनेका छन्, ‘तपाईंको जीवन भनेको तपाईंले नै आफ्नो मस्तिष्कमा बनाएको तस्बिरको प्रतिविम्ब हो ।’
त्यो चित्र बनाउन कसरी, कताबाट, कुन ढंगले लागिपर्ने त । प्रयास गर्ने । राम्रो तस्बिर बनाउन आजै र अहिलेबाटै सुरु गरे हुन्छ । औसत स्तरको पढाइबाट माथि उक्लन सजिलो छैन । जसले पढाइमा जिन्दगीको उज्यालो प्रकाश देख्छ, पढाइलाई हेरविचार र गोडमेल गर्छ, ऊ अवश्य नै मेधावी बन्छ । त्यो उज्यालो प्राप्त गर्दछ । सुविधाभोगी र अल्छीले त्यो स्वाद लिनै पाउँदैन । जीवनमा ऊ कयौँ दूरी टाढा छोडिन्छ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...