सुनसान आँगन
ढुंगामाटोले बनेका र टिनले छाएका ठूल्ठूला घर अनि धारा देख्दा लाग्छ, गाउँमा बाक्लो बस्ती र चहलपहल छ ।

परिवारका सदस्यहरू रोजगारका क्रममा घरबाहिर रहनु, खानेपानी र बाँदरको समस्याले गाउँ छोड्नु बाध्यता रहेको बुटवल झरेका मनोज ज्ञवाली बताउँछन्। भन्छन्, "यो अलिकति समस्या र अलिकति फेसन हो, जसोतसो तराईतिर अड्न सक्नेले गाउँको माया मारेका छन्।"
गाउँका अगुवा पीताम्बर ज्ञवालीको भनाइमा ०५८ सालपछि गाउँ नै शून्य हुने गरी बसाइँसराइ सुरु भएको हो। माओवादी द्वन्द्व उत्कर्षमा पुगेपछि त्यसको डरले अन्यत्र गएकाहरू गाउँ फर्केनन्। गाउँमा भएकाहरू पनि क्रमशः बसाइँ सर्न थाले। त्यो क्रम अहिले पनि जारी छ। पहिले ठूलाखर्कमा १ सय २० ज्ञवाली परिवार रहेकामा अहिले ६५ परिवारले बसाइँ सरसिकेका छन्। अधिकांशले आफ्नो घरमा ताल्चा लगाएर खेतीपातीको जिम्मा कुमाल समुदायका मानिसलाई छाडेका छन्।
दाजुभाइ र छरछिमेकी बसाइँसराइ गरेर गएपछि गाउँमा भएका परिवारले पनि असुरक्षा र एक्लोपन महसुस गर्न थालेका छन्। "एक्लो हुँदाको पीडा भनिसाध्य छैन," चिदिका-८ की गोमा ज्ञवाली भन्छिन्, "बूढाबूढी मरे पनि सद्गतिका लागि मान्छे छैनन्। धन्न जिपले लैजान्छ।"
हुनेखानेहरूले छाडेर गए पनि नहुनेले नसकी नसकी भए पनि छाड्नुपर्ने बाध्यता आउन सक्ने पीताम्बर औँल्याउँछन्। बाक्लो बस्ती हुँदासम्म बाहिर फालेको सियो पनि नहराउने गाउँमा सानातिना चोरीका घटनाको त गणना नै हुन छाडेको छ।
२३ भदौ ०७० तीजको दिन चिदिका-८ का प्रेमनारायण ज्ञवालीको घरमा चार तोला सुन र नगद चोरी भयो । त्यही घरमा ३ माघमा दिनदहाडै पुनः चोरी भयो। अघिल्लोपटक चोरी गर्ने चिदिका-६ का हिमलाल भुसाल थुनामा छन् भने मानबहादुर कुमाल धरौटीमा छुटेका छन्। पछिल्लोपटकको चोरीको घटनाका अभियुक्त भने पक्राउ पर्न सकेका छैनन्।
बसाइँसराइको प्रभाव शिक्षा क्षेत्रमा पनि परेको छ। कुनै बेला चार सयभन्दा बढी विद्यार्थी हुने ठूलाखर्कको आदर्श निम्न माध्यमिक विद्यालयमा अहिले विद्यार्थी आधा घटिसकेको शिक्षक धु्रव ज्ञवाली बताउँछन्। कक्षा ३ मा चार जना मात्रै विद्यार्थी छन् भने ४ र ५ मा आठ जना छन्। त्यस्तै कक्षा २ मा सात जना र कक्षा १ मा १५ जना विद्यार्थी छन्। अचम्म के भने कक्षा रित्तिने अवस्था आउँदा जिल्ला शिक्षा कार्यालयले नयाँ नयाँ संरचना थप्दै छ। स्थानीय मुकुन्द ज्ञवाली भन्छन्, "निरीक्षण नगरी लगानी गर्छन्, के भन्ने खोइ ?"
खानेपानीकै दुःखले गाउँ छाड्नुपरेको भनाइ आएपछि पीताम्बरकै अग्रसरतामा भुल्के खानेपानी योजना अघि बढाइएको छ। विद्युत् पम्पको सहायताबाट खोलाको पानी गाउँमा तान्ने योजना सम्पन्न भएपछि 'गाउँ र्फक' अभियान चलाउने पीताम्बरको भनाइ छ। भन्छन्, "धेरै जनाले गाउँ र्फकने कुरा गरेका छन्। हामी उत्साहित छौँ।"