जहाँ १२ मारिए
आठ वर्षअघिसम्म रामसुरज यादवको परिवारलाई आफैँ जन्मे-हुर्केको गाउँ छोड्नुपर्ला भन्ने कल्पना पनि थिएन।

२ वैशाख ०६२ को राती तत्कालीन नेकपा माओवादीले आफूविरुद्ध गठित प्रतिकार समिति सफायाका नाममा वर्गदवा गाउँ घेरा हालेर गरेको सामूहिक हत्यापछि उनको जीवनमा कालरात्रि सुरु भयो। रामसुरजका ८ कक्षा पढ्दै गरेका १३ वर्षीय छोरा हृदयेश यादवको माओवादीले गोली हानेर हत्या गरिदिए। त्यस रात माओवादीले घेरा हालेर १२ जना गाउँलेको हत्या गरेका थिए। यो त्यस्तो घटना पनि हो, जुन अरू घटनासरह सार्वजनिक तहमा कहिल्यै आएन।
उक्त घटनापछि चार वर्ष भारतमा बिताएर नेपाल फर्के पनि रामसुरज पुख्र्यौर्ली घरमा बस्न सकेनन्। जेठा छोरा श्रीकृष्ण यादव भन्छन्, "त्यो गाउँमा गएर के गर्ने ? जतिबेला पनि पुरानो घटनाको सम्झना आउँछ। भाइको सम्झनाले बस्नै सकिन्न। त्यो दर्दनाक घटनालाई भुल्न बसाइँ सरेका हौँ।" उनका बुबा रामसुरज वर्दघाटमै बस्छन् भने श्रीकृष्ण जहदा-१, मझौनीमा।
घटनामा आफ्ना दुई भाइ दिनेश चौधरी र दीपेन्द्र चौधरीलाई गुमाएका वशिष्ठ चौधरीले पनि वर्गदवा गाउँ छाडे। उनी गाउँदेखि केही पश्चिम कुटिचोकमा बस्छन्। भन्छन्, "गाउँ जाँदा त्यस बेलाको घटनाले पोल्छ।" वशिष्ठका आमा-बुबा सनई गाविसमा सरेका छन्।
पुरानो घटनालाई भुल्न वर्गदवाबाट शान्ति खोज्दै अन्यत्र बसाइँ सर्ने परिवारको सूची लामो छ। सोमनी-७ का पूर्ववडाअध्यक्ष जोखुप्रसाद चौधरीका भनाइमा १ सय ४० परिवार रहेको वर्गदवामा अब मुस्किलले ५० घरपरिवार छन्। पीडितका चार परिवार भारतमा बस्छन् भने बाँकीले जिल्लाकै अन्य गाविसमा बसोवासको व्यवस्था मिलाएका छन्।
उक्त घटनामा दुई भाइ छोरा गुमाएका रामप्रीत यादव भने भारतबाट फर्किनै सकेनन्। वर्गदवामा भएको खेतबारी त्यत्तिकै छाडेर भारतको ठुटीबारीमा सपत्नी बसेका छन् उनी। उनका छोरा कमलेश र भरत उक्त घटनामा मारिएका थिए। उक्त घटनापछि मानसिक रूपमा थलिएकी उनकी पत्नी अहिलेसम्म निको हुन सकेकी छैनन्।
व्ार्गदवाकै भागवत चौधरी पनि भारतको महाराजगन्ज जिल्लाको बेलहियामा बस्छन्। भारतको ठुटीबारीनजिक बसेका उनका २८ वर्षीय छोरा सञ्जयलाई ०६२ मा माओवादीले गोली हानी मारेका थिए। उनले गाउँमा भएको जग्गाजमिन बेचिसकेका छन्। कान्छा छोरा प्रदीपकुमारले नेपालमै बस्नका लागि कुटीचोकमा घर बनाउन थालेका छन्। २० मिनेट टाढाको वर्गदवा भने उनी जाँदैनन्। जहाँ त्यस बेला माओवादीले बम हानेर ध्वस्त बनाएको घर अहिले पनि उस्तै छ।
माओवादीले सञ्जयको हत्या गरेपछि वर्गदवामा सुरु भएको द्वन्द्वको रूपले नवलपरासीमा भयानक स्थिति आएको स्थानीय अगुवा नगेन्द्र चौधरीको बुझाइ छ। उनका अनुसार वर्गदवाको नरसंहारको मुख्य कारण जमिन लेनदेनको विषयसँग ठोक्किन्छ। भागवत चौधरीका बाबु जमिनदार थिए। उनीसँग जमानामा स्थानीय दलित परिवारले जग्गा खरदि गरेका थिए। तर, त्यो जग्गा खरदिकर्ताका नाममा पास भएको थिएन।
भागवत पुरानो मूल्य नभई अहिलेको चलनचल्ती अनुसार हुनुपर्ने अडानमा थिए। तर, जग्गा खरदिकर्ता यस कुरामा सहमत थिएनन्। समस्या बढ्दै जाँदा जग्गा नपाउनेहरू माओवादीकहाँ उजुरी गर्न पुगे। अनि, दबाबमा भागवतले गर्वे धोबीलाई जग्गा पास गरिदिए।
स्थानीय जोखुप्रसाद यादवका अनुसार भागवतमाथि बाँकी जग्गा पनि पास गर्न माओवादीले थप दबाब दिन थाल्यो। तर, बारम्बारको दबाब अस्वीकार गरेपछि उनका छोरा सञ्जयलाई माओवादीले मारे, जुन घटनालाई माओवादीविरुद्घ गठन गरिएको प्रतिकार समूहले उपयोग गर्न खोज्यो। यही निहुँमा रामकिसन हरजिनलाई माओवादीसँग लहसिएको आरोपमा प्रतिकार समितिले हत्या गर्यो। त्यसको बदलामा माओवादीले गाउँ नै घेरेर १२ सर्वसाधारणको हत्या गरे।
वर्गदवामा चौधरी र हरजिनलगायत दलित परिवारको आधा-आधा बसोवास थियो। त्यस समयमा प्रतिकार समितिको आँखामा दलित परिवार माओवादी ठानिए भने माओवादीको आँखामा गैरदलितचाहिँ प्रतिकारवाला। यसरी बीजारोपण भएको खाडल घटनाको आठ वर्षपछि पनि पुरनि सकेन। स्थानीय नगेन्द्र चौधरी भन्छन्, "हाम्रो भित्री आत्मा रोएको छ। बाहिर हाँसे पनि घाउ पुरिएको छैन।"
उक्त घटनामा उनका काका विजयबहादुर चौधरी र छोरा अभिमन्यू चौधरीको पनि हत्या भएको थियो। घटना हुनुअघिसम्म वर्गदवाको एकताले सामाजिक सम्बन्धलाई बलियोसँग उनेको थियो। तर, घटनापछि चुँडिएको माला अझै जोडिएको छैन। नगेन्द्र भन्छन्, "अहिले त कसैलाई पनि एकअर्काको वास्तै छैन। सबै आ-आफ्नो घरपरिवारमा मात्र सीमित छन्।"
दिवंगतको सम्झनामा निर्माण गर्न लागिएको सहिद स्मारक पनि कसैले चासो नदिएपछि अलपत्र परेको छ। परिवारका सदस्य गुमाएका पीडितहरू राज्यले अहिलेसम्म आफूहरूलाई राहत उपलब्ध नगराए पनि आफ्ना परिवारका सदस्यको हत्या गर्नेलाई कारबाही हुनुपर्ने बताउँछन्। उनीहरू प्रस्तावित सत्य निरूपण तथा मेलमिलाप आयोगको दायरामा वर्गदवा घटना पनि पर्नुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने बताउँछन्। घटनामा मारिएका रामकृष्ण हरजिनकी पत्नी प्रेमज्योति हरजिन भन्छिन्, "मेलमिलापका नाममा निर्दोष व्यक्तिको हत्या गर्नेलाई उन्मुक्ति दिनु हुँदैन।"
चितवनको माडी र रामेछापको दोरम्बामा भएका घटनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्नका लागि मिडिया र मानव अधिकारवादी संघसंस्था लागे पनि आफूहरूको समस्या अहिलेसम्म कसैले नसुनेकामा पीडितहरूको असन्तुष्टि छ। पीडित परिवारका सदस्य वशिष्ठ चौधरी भन्छन्, "यहाँ मारिनेहरू न प्रतिकारी थिए, न माओवादी। सवै सर्वसाधारण नागरकि थिए। एकै चिहान गरी हत्या गर्ने/गराउनेलाई कारबाहीका लागि कोही नबोल्दा दुःख लाग्छ।"