तस्करीको इन्धन ‘होम डेलिभरी’
सीमा क्षेत्रमा घरघरै तेल गोदाम
र
सीमावर्ती भारतको सुनौली नजिकैको स्यामकाठ गाउँका राजु धवलले घर तथा भवनमा टायल र मार्बल लगाउने पेसा गरेको वर्षौं बितिसक्यो । तर, दुई महिनायता उनले ठेक्का लिएको कामसमेत गर्न सकेका छैनन् । कारण हो, कामदार अभाव ।
उनलाई साथ दिइरहेका सबै कामदार यतिबेला टायल, मार्बल लगाउन छाडेर नेपाल–भारत सीमाक्षेत्रबाट पेट्रोल र डिजेल नेपालतिर ओसार्न व्यस्त छन् । जसका कारण धवल कामदारविहीन बन्न पुगेका छन् ।
मजदुरी गर्दा भन्दा इन्धन ओसारेर बेच्दा बढी फाइदा हुने भएपछि उनीहरू आफ्नो साबिक काम छाडेरै यस्तो अवैध कारोबारमा लागेका हुन् । धवलका अनुसार एक दिनमै उनीहरूले आठदेखि दस हजार रुपियाँ कमाउँछन् । “मेरा सबै मजदुर अहिले यस्तो काममा लागेका छन्,” धवलले भने, “मजदुर नै पाउन छाडेपछि ठेक्का लिएको काम गर्न सकेको छैन ।”
बाँके उढरापूरका जमाल रिजवान मोटरसाइकलमा दुईतिर ग्यालेन झुन्ड्याएर पेट्रोल र डिजल लिन बिहानै भारतको बाबागन्ज पुग्छन् । भारतले नाकाबन्दी लगाएको तीन महिनायता यो उनको नयाँ दैनिकी हो । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार हुन थालेपछि नेपाल–भारत सीमावर्ती क्षेत्रका बासिन्दाका लागि यो कमाउने गतिलो अवसर बनेर उदाएको माथिका दुई प्रतिनिधि घटनाले छर्लंग पार्छन् । तराईको सीमावर्ती जीवन यसरी ओसारिएको अवैध इन्धनले नै तीन महिनायता
थेगिरहेको छ ।
सीमाका दुवै देशका स्थानीयको मिलेमतोमा यस्तो कारोबार फस्टाएको हो । खुला सिमानाका कारण उनीहरूले सहजै इन्धन ल्याएर नेपालमा दोब्बरभन्दा बढी मूल्यमा बेच्छन् । अवैध बाटोबाट दैनिक कति लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रिने गरेको छ भन्ने आधिकारिक तथ्यांक नभए पनि यस्तो कारोबार मनग्गे फस्टाएको छ ।
कतिसम्म भने भैरहवा भन्सार कार्यालयदेखि करिब दुई सय मिटर वर बाइपासको चारै दिशातर्फ प्रत्येक बिहानदेखि साँझसम्म तस्करीको माध्यमबाट भित्रिएको डिजेल र पेट्रोलको हाटबजार नै लाग्छ । मोटरसाइकल, स्कुटर, कार, सार्वजनिक बस, ट्रक र जिपहरूको लाइन देख्दा लाग्छ, त्यहाँ पेट्रोलपम्पमा इन्धन वितरण भइरहेको छ । हातमा ठूलठूला ग्यालेन बोकेर ठेलमठेल भीड लाग्छ । “कमसेकम यहाँ त बढी मूल्य तिरेर भए पनि पेट्रोल पाइएको छ,” दुई हातमा दस–दस लिटरका ग्यालेनमा पेट्रोल झुन्ड्याएकी स्याङ्जाबाट आएको बताउने एक महिलाले भनिन्, “नपाइएपछि जति महँगो भए पनि किन्नै पर्दो रहेछ ।”
भैरहवा, बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, तनहुँ, गोरखा, पोखरा, बाग्लुङ, पर्वत, म्याग्दीलगायतका जिल्लाबाट इन्धन किन्न मानिसहरू बाइपासमा पुग्ने गरेका छन् । डिजेल, पेट्रोल किनेर फर्केका मोटरसाइकलका ताँतीले कुनै र्यालीको झल्को दिन्छन् ।
मध्यपश्चिम क्षेत्रको सीमावर्ती नेपालगन्ज, कोहलपुर, खजुरा, उढरापूर, सीतापुर, राधापुर र बर्दियाको भोलागौडी, जमुनी, डाँफे, मैनापोखर, कालिका, महम्मदपुर, गुलरिया, बाँसगढीलगायतका सानाठूला सहर र गाउँका युवा भारतबाट इन्धन ल्याएर बेच्ने काममा सक्रिय छन् । अहिलेको विषम् परिस्थितिप्रति नेपालको प्रशासनसमेत नरम बनेकाले सीमा क्षेत्रमा यस्तो गतिविधि तीव्र बनिरहेको छ । बर्दियाका लागि भारतको मिहिपुवा र बाँकेका लागि सीमावर्ती भारतीय बजार रुपैडिया, नानपारा, बहराइच, बाबागन्जबाट इन्धन ल्याउने गरिन्छ ।
छिनछिनमा भारतीय नम्बर प्लेटका मोटरसाइकलको ओहोरदोहोर चलिरहन्छ, यस क्षेत्रमा । भारतीय नम्बर प्लेटका मोटरसाइकलमा इन्धन ल्याउने काम प्राय: भारतीय नागरिकले नै गर्छन् । केहीबेरको मोलमोलाइपछि दुवै पक्षबीच चित्त बुझ्दो भाउमा किनबेच हुन्छ अनि मोटरसाइकलको ट्यांकीबाट पाइपमार्फत पेट्रोल खन्याएर बेचिन्छ । डिजेल भने ग्यालेनमै ल्याएर बेचिन्छ । भारतमा ७० भारतीय रुपियाँ (भारु)मा पाइने पेट्रोल नेपालमा दुई सय रुपियाँसम्म र भारु ५० पर्ने डिजेल १ सय ६० रुपियाँसम्ममा किनबेच हुन्छ ।
सुनौली नाकादेखि करिब ५० किलोमिटर टाढाका कोल्हुई बजारसम्मका भारतीय नागरिक मोटरसाइकलबाट पेट्रोलियम पदार्थ बिक्री गर्न आउँछन् । उनीहरूलाई भारतीय सुरक्षा निकायले कुनै अवरोध गर्दैनन् । भन्सार छलेर भित्रिएको भए पनि नेपालतर्फ पनि यसरी बिक्री गर्नमा रोक छैन । सीमावर्ती दुवैतर्फका गाँउबस्ती यतिबेला पेट्रोलियम पदार्थ मौज्दात राख्ने गोदामसरह बनेका छन् ।
भारतीय नागरिकले नेपाली नागरिकलाई भने डिजेल र पेट्रोल ओसार्ने भरियाका रूपमा उपयोग गर्दै आएका छन् । जिप वा मिनी ट्रकमा ठूलठूला ड्रममा राखेर नेपालका अन्य बजारमा पुर्याएर तेब्बर मूल्यमा समेत बिक्री गरिन्छ । सीमावर्ती क्षेत्रबाट यसरी भित्रिएको इन्धन काठमाडौँ उपत्यकासम्म पुर्याउने गरिएको छ ।
“नाकाबन्दीका बेला पेट्रोलियम पदार्थको अवैध धन्दा गरेर सीमावर्ती दुवैतर्फका मानिस मालामाल भएका छन्,” नेपाल–भारत मैत्री समाज रुपन्देहीका अध्यक्ष शान्तकुमार शर्माले भने । भैरहवाका ठूला होटलमा समेत पेट्रोलियम पदार्थ संकलन गर्ने र बिक्री गर्ने गरिन्छ ।
सुनौली नाकादेखि नौ किलोमिटर पर भारतको नौतनवामा पाँचवटा पेट्रोल पम्प छन् । त्यहाँ डिजेल र पेट्रोल किन्न गएका नेपाली नम्बर प्लेटका सवारी साधन, भारतीय स्थानीय सवारी साधन र तस्करीका लागि तेल भर्न गएका सवारी साधनको अत्यधिक भीड लाग्ने भएकाले पालो पाउनै मुस्किल हुन्छ । तर, त्यहाँबाट अझै परको कोल्हुई बजारका पम्पमा भीड नहुने हुँदा त्यहीँबाट नेपालतिर तस्करी हुने इन्धन भरिन्छ ।
नौतनवाको पेट्रोल पम्पले इन्धन भर्न गएका नेपाली सवारी साधनसँग पटकैपिच्छे इन्धन भरिदिएबापत सवारीसाधनसँग एक सय भारु अतिरिक्त असुल्ने गरेका छन् । भारतीय पेट्रोल पम्पले नेपाली रुपियाँसमेत प्रयोगमा ल्याएकाले पाँचदेखि दस रुपियाँसम्म बट्टा (कमिसन) लिने गरेका छन् । नेपालगन्ज क्षेत्रमा तेल बोक्ने सहयोगीलाई प्रतिलिटर दस रुपियाँ दिनुपर्छ । बाँकेका जमाल रिजवान भन्छन्, “आऊजाऊ गर्दा केही खर्च भइहाल्छ । जोखिम पनि उत्तिकै हुन्छ । यसरी ल्याएको इन्धन महँगो पर्नु स्वाभाविकै हो ।”
नेपालगन्जका कतिपय युवा त संकटका बेला आफूहरूले जोखिम मोलेर इन्धन ल्याएर राम्रो काम गरेको रूपमा समेत यसलाई अथ्र्याउँछन् । “क्यारिङ गर्दा मिहिनेत लाग्छ । भारतीय सुरक्षाकर्मीदेखि पेट्रोल पम्पवालालाई समेत थप रकम बुझाउनुपर्छ,” अवैध इन्धन ओसारपसारमा संलग्न नेपालगन्जका एक युवा इस्माइल अन्सारी भन्छन्, “चोरी गरेर ल्याएको होइन । यति धेरै खतरा मोलेर ल्याएको तेलमा १०/२० रुपियाँ त खानैपर्यो नि !”
विगतमा नाका सहज हुँदा भैरहवा भन्सार कार्यालयले दैनिक पेट्रोलियम पदार्थको आयातबाट सवा करोडदेखि दुई करोड रुपियाँसम्म राजस्व संकलन गथ्र्यो । नाकाबन्दीपछि राजस्व संकलन शून्यमा झरेको छ । तर, नाकाबन्दीपछि केही व्यक्ति भने रातारात धनी बनेका छन् ।
पेट्रोलियम पदार्थ ओसारपसारबाट फलानोले यति कमायो र उति कमायो भन्ने गफ सीमाक्षेत्रमा सामान्य बनिसकेको छ, यतिबेला । “पहिले कुनै कामधन्दा नगर्ने मेरै गाउँका दुई–चार जनाले पारिबाट डिजेल र पेट्रोल ओसारेर बिक्री गरेको पैसाले नयाँ ट्याक्टर खरिद गरिसकेको मैले देखेको छु,” रुपन्देहीस्थित मर्चवार बयरघाटका श्रीराम केवटले भने, “सुरु–सुरुमा साइकलबाट ओसार्नेहरू अहिले नयाँ मोटरसाइकलबाट ल्याउन थालेका छन् ।”
अवैध आपूर्ति केन्द्र
नवलपरासीस्थित सीमाका भारतीय बजार लक्ष्मीपुरस्थित प्रहरी चौकीका एक भारतीय प्रहरीले प्रेस लेखेको मोटरसाइकल देखे । उनले तुरन्तै मातहतका सिपाहीलाई भने, “छे गैलन लेकर जानेवाले सभिको रोको, बोला न सीडीओ सा’ब आ रहे हैँ ।”
चौकी नजिकै रहेका एक युवकले स्थानीय भाषामा भने, “पुलिस के हमेसा कहेवाला बात हवेँ, लाइन (घूस रकम) नाइ मिलले तक इ बात कहेलन, मिल गइले के बाद आपनही रास्ता बतावलन । आपके तेल चाहिँ त कहल जा ।”
यो दृश्य गत १ कात्तिक मध्याह्नको हो । भारतीय नाकाबन्दीपछि सुनसान बनेको वैधानिक सीमा नाकाछेउछाउका खुला सीमा भने अवैध इन्धन आपूर्ति केन्द्र बन्दै गएको छ । नवलपरासीको महेशपुर नाकादेखि करिब पाँच किलोमिटरपूर्व भुजहवा नाका नजिकैबाट मात्रै दैनिक चार हजार डिजल अवैध रूपमा नेपाल भित्रिने गरेको स्थानीयको अनुमान छ ।
यो नाकादेखि एक सय मिटर दक्षिणमा ग्यालेन बोकेका थुपै्र सवारीसाधनको लाम लाग्छ हरेक दिन । सीमावारिका व्यापारीले ग्यालेनमा इन्धन ल्याएर बिक्री गर्ने गरेका छन् । सीमाक्षेत्रका पसलमा इन्धनका ड्रम बाहिरै बेच्न राखेको देख्न पाइन्छ । भुजहवास्थित वीरु टेन्ट हाउस एन्ड लाइटका प्रमुख हेयात अलिले दसैँदेखि डिजल बेच्न थालेका छन् । अरू व्यापार व्यवसायमा मन्दी आएको र इन्धनको किनबेच बढी भएकाले आफू इन्धनको व्यापारमा लागेको सगर्व बताउँछन् । आफूले प्रतिलिटर पाँच रुपियाँ नाफा राखेर डिजल बेच्दै आएको उनी बताउँछन् ।
भारतको निचलौललगायतका विभिन्न पेट्रोल पम्पबाट भारतीय व्यापारीहरूले नवलपरासीका नेपाली व्यापारीहरूको घरमै तेल ल्याइदिन्छन् । भारतीय कारोबारीले इन्धनको ‘होम डेलिभरी’ गर्दा झापाको काँकडभिट्टा सहरका प्राय: घर मिनी पेट्रोल पम्पझैँ बनेका छन् । यतिबेला काँकडभिट्टा इन्धनमय छ । यसले आगलागीको उच्च जोखिम बढाएको छ ।
झापाबाट त्यसरी भित्रिएको इन्धन नेपालको पूर्वी पहाडी जिल्लामा छपक्कै भएको छ । काठमाडौँ, पोखरालगायतका सहरमा रात्रिकालीन यात्रुबसबाट ओसारिने गरेको छ । यी सहरमा पुग्दा पेट्रोलको मूल्य तीन सयदेखि पाँच सय रुपियाँ पुग्छ ।
झापा प्रहरीले सहरको एक किलोमिटर क्षेत्रभित्र इन्धनको बिक्री वितरणमा रोक लगाएको छ । तर, घरघरमा इन्धन संकलन गरिएको छ । यात्रुवाहक गाडीसमेत यात्रु बोक्न छाडेर तेल बोक्न थालेका छन् । किनभने, तेल बोक्दा तेब्बर नाफा छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामकृष्ण अधिकारीले बजार क्षेत्रमा तेलको बिक्री वितरण पूर्ण रूपमा बन्देज गरिए पनि अन्य क्षेत्रमा नसकिएको बताए । “तेलको कारोबार रोक्न सक्ने अवस्थै छैन,” अधिकारीले भने ।
काठमाडौँ, पोखरा, नारायणघाटलगायत सहरमा कारोबारीले ५० देखि ६० लिटरको ग्यालेनमा लग्दिन्छ, जसको भाडा प्रति ग्यालेन कम्तीमा एक हजार रुपियाँ लाग्छ । अधिकांश यात्रुबस तेलका ग्यालेनले भरिएका हुन्छन् । सुनसरीको भन्टावरीदेखि मकालु यातायातको एउटा यात्रुवाहक गाडीमा १ कात्तिकको राती ६० लिटरका ५० वटा डिजेलका ग्यालेन हालिएको थियो ।
तस्करीले जनशक्ति अभाव
अवैध इन्धन कारोबारबाट छोटो समयमै मोटो आम्दानी हुने भएपछि सीमा क्षेत्रका बालबालिका, युवादेखि स्कुले विद्यार्थीसमेत यही मेलोमा लाग्न थालेका छन् । जसले गर्दा अन्य काम गर्ने जनशक्ति नै पाउन छोडिएको छ, सीमा क्षेत्रमा । मजदुरको अभाव देखिसकेको छ । “खेतमा काम गर्ने मान्छे पाइँदैन,” भुजहवा–८ का जवाहिर अहिरले भने, “पाकेको बाली उठाउन र नयाँ खेती गर्न सकिएको छैन ।”
दिनभरि खेतमा काम गर्दा हुने कमाइ दुई घन्टामा तेल तस्करी गरेर हुने भएपछि सबै पैसा कमाउनतिर लागेको उनको कथन छ । भुजहवा प्रहरी चौकी इन्चार्ज ढाकाराम लामिछाने लक्ष्मीपुरमा तेल लिन काठमाडौँदेखि मुस्ताङसम्मका व्यक्ति आएको सुनाउँछन् । उनले भने, “अहिले सीमावारि र पारि को किसान को तस्कर ? छुट्याउनै गाह्रो । रोके तेल दिनूस् भन्छन् । हामीले कसरी रोक्नु ?”
सुपारी छाडेर तेल
सुपारी वारपार गरेर गुजारा गर्दै आएका भारत पानीट्यांकीका सकल घोषले भर्खरै आफ्नो व्यवसाय बदलेका छन् । डीएसपी अधिकारीले भने, “सुपारी व्यापारीदेखि यातायात व्यवसायीसम्मको काम अहिले डिजेल र पेट्रोल बेच्ने भएको छ ।”
पेट्रोल पम्पमा तेल छैन । तर, काँकडभिट्टाका चोकचोकमा तेल फालाफाल छ । एक लिटर तेलबाट एक सय रुपियाँसम्म नाफा हुन थालेपछि सुपारीको कारोबार तत्कालका लागि छाडेको एक जना भारतीय व्यापारीले बताए । तेल कालोबजारीमा नेपाल तथा भारत दुवैतिरका छन् ।
गाडी, मोटरसाइकल, रिक्सा र साइकलमा राखेर भारतबाट तेल भित्र्याइँदै आएको छ । एउटा गाडीले दिनमा २० पटकसम्म इन्धन ओसार्छन् । “नेपाली र भारतीय दुवै नम्बर प्लेटका सवारीको कामै अहिले तेल बोक्ने मात्रै छ,” पानीट्यांकीस्थित सीमा सुरक्षा बलमा कार्यरत पी सुदले भने ।
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले कालोबजारी कानुनविपरीत भएकाले उपभोक्ता ठग्ने कार्यलाई निरुत्साहित गर्न प्रहरीलाई निर्देशन गरिसकेको बताए पनि तस्करीको क्रम भने झनै बढ्दो छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...