भावी नयाँ शक्तिहरूमा विश्वास जित्ने चुनौती
विगत निराशाजनक, भविष्य...?

एकीकृत नेकपा माओवादीका तत्कालीन उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ चैत २०७० मा नेपाल साप्ताहिकमा नयाँ शक्तिबारे लामो लेख लेखे । ४ मंसिर ०७० को संविधानसभा निर्वाचनमा एमाओवादीको भागमा पराजय परेलगत्तै भट्टराईले नयाँ शक्तिको वकालत गर्न थालेका थिए ।
भट्टराईबाहेक बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार रवीन्द्र मिश्र र बैंकर अनिल शाहले पनि फाट्टफुट्ट रूपमै सही, नयाँ शक्तिको वकालत गर्दै आएका थिए । मिश्र तिनै हुन्, जो हेल्प नेपाल नेटवर्कमार्फत सामाजिक सेवाका क्षेत्रमा परोपकारी काम गर्दै आएका छन् ।
भट्टराईले नयाँ शक्ति निर्माण गर्ने भन्दै ९ असोजमा एक्कासि एमाओवादी र सभासद् पदबाट राजीनामा दिएर ६–७ मंसिरमा राजधानीमा आफूनिकट नेता–कार्यकर्ताको भेला गरी नयाँ शक्ति निर्माण अभियान घोषणा गरे, जसको संयोजक उनी आफैँ छन् ।
नयाँ शक्तिको औपचारिक घोषणा गर्नुअघि भट्टराईले स्वतन्त्र नागरिक, बुद्धिजीवी, पूर्वप्रशासक, विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरूलाई पटक–पटक भेटेर छलफल र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, ६ मंसिरमा त्यस शक्तिको भेला उद्घाटनमा उनले छलफल गरेका प्राय: व्यक्तित्वहरूको उपस्थिति थिएन । बरु अशोक राई, उपेन्द्र यादवजस्ता क्षेत्रीय दलमा आबद्ध नेता देखिएका थिए ।
त्यसको भोलिपल्ट भेलाको बन्द सत्रलाई सम्बोधन गर्दै भट्टराईले भनेका थिए, “हिजोको माओवादी आन्दोलनभन्दा बाहिर रहेका मानिसको संख्या ठूलो हुनेवाला छ । यो सुरुआत मात्र हो ।” उनले मिश्र र पूर्वमुख्यसचिव लीलामणि पौड् यालले पनि छिट्टै नयाँ शक्ति खोल्न लागेको र अन्तत: त्यसले आफू नेतृत्वको शक्तिमै एकता गर्ने सहमति भएको पनि बन्दसत्रमा सुनाएको एक सहभागी बताउँछन् ।
नयाँ शक्ति अभियानमा मिश्र पनि उत्तिकै जोडतोडका साथ जुटिरहेका छन् । तर, उनले यसलाई सार्वजनिक भने गरेका छैनन् । उनको सोचले मूर्त रूप लिने अवस्था आयो भने उनी बीबीसीको कामबाट राजीनामा गरेर नयाँ शक्तिमा पूर्णकालीन हुने सोचमा छन् । जसरी पूर्वप्रधानमन्त्री भट्टराईले समाजमा प्रतिष्ठा जोगाएर बसेका, लोकप्रिय र नगारिक अगुवाहरूलाई भेटिरहेका छन्, मिश्रको भेटघाट पनि त्यसभन्दा कम छैन । त्यसो भए उनले भट्टराईका सहयोगीका रूपमा नयाँ शक्ति निर्माण गर्न लागेका हुन् त ? होइन, उनी अर्कै नयाँ शक्तिको अभियानमा छन् । भन्छन्, “यदि भट्टराईजीले म र लीलामणि पौड्याल उहाँसँगै आउने भन्नुभएको हो भने त्यो पूर्णतया गलत हो,” मिश्र भन्छन्, “मैले बुझे अनुसार लीलामणिजीको पनि उहाँले गठन गर्न लाग्नुभएको पार्टीमा संलग्न हुने कुनै योजना छैन ।”
विभिन्न तह र तप्काका व्यक्तिहरूसँग नयाँ शक्ति निर्माण गर्नेबारे बहस भइरहेको तर त्यो कहिले र कसरी घोषणा हुन्छ भन्ने कुरा बोल्ने अवस्था भइनसकेको मिश्र बताउँछन् । उनका अनुसार भट्टराईले उनलाई समिट होटलमा बोलाएर आफू नेतृत्वको नयाँ शक्तिमा सहभागी हुन आग्रह गरेका थिए । तर, त्यहाँ आफ्ना सुझाव मात्र पेस गरेको उनी बताउँछन् ।
अर्कोतिर उज्ज्वल थापा नेतृत्वको समूह २९ जेठ ०७१ मा निर्वाचन आयोगमा विवेकशील नेपाली पार्टी दर्ता गराएर समृद्ध नेपाल बनाउने योजनाका साथ राजनीतिक मैदानमा ओर्लिसकेको छ । यो समूह ४ मंसिर ०७० को संविधानसभाको निर्वाचनमा पनि केही स्थानमा स्वतन्त्र उम्मेदवारीका साथ सहभागी भएको थियो । भलै उनीहरूले अपेक्षित सफलता पाउन सकेनन् । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा यस समूहले उद्धार र राहतमा सहभागी भएर जनसराहना बटुलेको छ । जवाफदेही र जिम्मेवारीबोध गर्दै समृद्ध नेपाल निर्माण गर्ने संकल्पका साथ आफूहरू राजनीतिक मैदानमा उत्रिएको थापा बताउँछन् ।
नयाँ शक्ति गठन गर्ने लहर चलिरहँदा चिकित्सक उपेन्द्र देवकोटाले १ असोजमा राष्ट्रिय जागरण अभियान घोषणा गरेका छन् । कांग्रेस–एमालेजस्ता दलहरूलाई पाखा लगाउँदै राजा ज्ञानेन्द्रले एकलौटी सत्ता हातमा लिएका बेला स्वास्थ्यमन्त्री भएका डा देवकोटाको अभियानका अगुवामध्येका भरत दाहालका अनुसार उनीहरू अभियान विस्तारका क्रममा छन् । आर्थिक र राजनीतिक अवधारणापत्र तयार गरिसकेको यो अभियानले राष्ट्रिय भावना जागृत गराउने काममा मात्र केन्द्रित हुने दाबी गरेको छ । “हामी शुद्ध राष्ट्रिय भावना जागृत गराउने मिसन र स्कुलिङमा छौँ,” दाहाल भन्छन्, “राष्ट्रिय मनोवैज्ञानिक, सांस्कृतिक र पर्यावरणीय अवधारणापत्र तयार भइरहेका छन् । तर पनि कत्रो रूपमा विस्तार हुन्छ, अहिल्यै भन्न सकिने अवस्था छैन ।”
एजेन्डा, आधार र पृष्ठभूमि
दोस्रो संविधानसभाको निर्वाचनपछि मात्र भट्टराई, देवकोटा र थापाको नेतृत्वमा तीनवटा नयाँ शक्ति निर्माण भइसकेका छन् भने मिश्र नेतृत्वको नयाँ शक्ति पनि छिट्टै घोषणा हुने तयारीमा छ ।
भट्टराईले देशभक्ति, स्वाधीन, आर्थिक समृद्धिलाई आफ्नो मूल एजेन्डा बनाएका छन् भने मिश्रले सुशासनयुक्त प्रजातन्त्र, पद्धति, पारदर्शी, इमानदारीलाई आफ्नो मार्गदर्शक मानेका छन् । उता थापाले समृद्ध र शान्त नेपाल बनाउने भन्दै स्वच्छ, पारदर्शी र जिम्मेवारी आधारभूत सिद्धान्त अँगालेका छन् ।
मिश्रका शब्दमा अब गठन हुने कुनै पनि नयाँ शक्ति पद्धति (सिस्टम), पारदर्शी ( ट्रान्सपरेन्सी), इमानदारी (इन्टिग्रिटी) र उत्कृष्टता (मेरि टोक्रेसी)मा निर्माण भएन भने त्यो नयाँ शक्ति हुनै सक्तैन । यी चार सर्त पूरा गर्न वा स्वीकार गर्न नसक्नेले नयाँ शक्ति निर्माण नगर्दा उपयुक्त हुने उनको सुझाव छ । किनभने, नेपालको समस्याको जड पार्टी र राजनीतिक नेताहरूको आचरणमा निहित छ । जुन नेताले पद्धति मान्दैनन्, तिनले जहिले पनि पद्धतिभन्दा बाहिर गएर समस्याको समाधान खोज्छन् । आफ्नो र पार्टीको जीवनमा पारदर्शी, इमानदारीका कुनै पनि मान्यतालाई लागू नगर्नेले उत्कृष्टतालाई कदर गर्ने त कुरै रहेन ।
त्यसैले नै हुन सक्छ, सर्वसाधारणदेखि मध्यमवर्ग मात्र होइन, पढेलेखेका र उच्च घरानियाँहरूसम्म मौजुदा राजनीतिक दलका नेताहरूसँग असन्तुष्ट छन् । नागरिकको ठूलो तहले विकल्प खोजिरहेको बुझेपछि नै नयाँ शक्ति जन्मने क्रम बढेको बुझ्न कठिन छैन । यद्यपि, इमानदार छवि बनाएका वा उच्च कार्यकारी जिम्मेवारी लिएका नेतासहितको नयाँ दल निर्माण भएर पनि विगतमा ती स्थापित हुन नसकेका नजिर प्रशस्तै छन् । (हेर्नूस् बक्स, विगतमा हात लाग्यो शून्य) नयाँ शक्ति अभियानमा जुटेका भट्टराईमा त्यसलाई स्थापित गराउन सक्छु भन्ने आधार र पृष्ठभूमि के देखिन्छ भने आफ्नो छविका कारण समाजमा इमानदार, निर्भीक, प्रतिष्ठित हैसियत बनाएका पूर्वप्रशासक, नागरिक अगुवा, बुद्धिजीवी, विभिन्न समूहमा विभाजित साना–ठूला पार्टीलगायतले साथ दिन्छन् भन्ने विश्वास छ उनलाई । त्यसको पहिलो आधार राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब आर्थिक नाराले सबैलाई आकर्षित गर्छ भन्ने उनको ठम्याइ हो । “सशस्त्र द्वन्द्व पनि आफ्नै कारणले अन्तर्राष्ट्रियकरण हुँदै उचाइमा पुगेकाले नयाँ शक्ति पनि त्यस्तै हुन्छ भन्ने भट्टराईको निष्कर्ष छ,” उनीनिकट एक नेता भन्छन् ।
यता मिश्रको बुझाइचाहिँ के हो भने पटक–पटक परीक्षित भइसकेका नेताहरूले केही गर्न नसक्दा निराश भएका सबै तह र तप्काका नागरिकको विश्वास आफूले संयोजन गरेर नयाँ शक्ति निर्माण गरे जित्न सकिन्छ भन्ने छ । मिश्रसँग नयाँ शक्ति निर्माणको बहसमा सहभागी भइरहेका स्वर्णिम वाग्ले पुराना स्थापित पार्टीहरू नेपाली कांग्रेस, एमाले, एमाओवादीलगायतलाई नै सुधार गर्न सकिन्छ वा असम्भव छ भन्ने निष्कर्षमा पुगिनसकेको बताउँछन् । “नयाँ शिराबाट नयाँ शक्ति, नयाँ पार्टी सुरु गर्ने कि भनेर चलिरहेको बहसमा जागरुक नागरिकका हिसाबले सहभागी भइरहेको छु । कांग्रेसभित्रैका साथीहरूबीचमा पनि यस्तो बहस चलाइरहेका छौँ,” वाग्ले भन्छन्, “पुराना पार्टीहरू स्थापित छन् ।
उनीहरूको इतिहास लामो छ । देशव्यापी सञ्जाल छ । लाखौँको संख्यामा सदस्य छन् । तिनै पार्टीभित्रबाट अग्रगामी सोच राख्ने, गतिशील नेतृत्व आए मुलुकलाई समृद्धितिर लैजान सहज हुन्थ्यो भन्ने हो । नत्र अहिलेकै जस्तो नेतृत्व रहिरहँदा नयाँ पार्टीको अभ्यास गर्नुपर्ने देखिन्छ ।”
विवेकशील नेपालीका थापा पनि नयाँ शक्ति निर्माणबारे मिश्रसँग कुराकानी भइरहेको बताउँछन् । उनका अनुसार भट्टराईसँग पनि सामान्य कुराकानी भएको छ । मिश्रसँग भने निकै चरणमा छलफल भइसकेको छ । “भट्टराईले आफ्ना अवधारणा प्रस्ट पार्नुभएको छैन । तर, मिश्रजीको अवधारणा, सोच, मूल्य र मान्यता हामीसँग धेरै मिलेका छन्,” थापा भन्छन्, “पारदर्शी, इमानदारी, सोच मिल्ने शक्ति एकै ठाउँ आऊँ भन्ने हाम्रो मान्यता हो ।”
कसलाई कसको साथ ?
भट्टराईनिकट नेता देवेन्द्र पौडेलले ११ कात्तिकमा आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘डाक्टर बाबुराम भट्टराई, डा उपेन्द्र देवकोटा, रवीन्द्र मिश्र, अनिल शाह, नारायण श्रेष्ठलगायत कैयौँ युवा व्यक्तित्वहरूले चलाएको नयाँ शक्ति निर्माणको अभियानमा हामीले ७५ वटै जिल्लाबाट सहयोग गर्दै सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दछौँ । संकल्प गराँै । सम्भव छ, हामी सक्छौँ र सक्नैपर्छ ।’
बुझ्न कठिन छैन, उल्लिखित व्यक्तिहरूले आफूहरूलाई साथ दिन्छन् भन्नेमा ढुक्क छ भट्टराई पक्षधर । तर, जानकारहरू के दाबी गर्छन् भने स्थिति भट्टराई पक्षले आकलन गरेजस्तो छैन । मिश्र खुल्न नचाहे पनि उनी निकटस्थहरू कतिसम्म विश्वस्त छन् भने उनी बरू नयाँ शक्ति निर्माण नगर्न सक्छन्, भट्टराईसँग एकताचाहिँ गर्ने छैनन् । भट्टराईको कार्यक्रममा अहिलेसम्म खगेन्द्र संग्रौलाबाहेक अरू देखिएका छैनन् । जबकि, संग्रौला पनि आफू भट्टराईको नयाँ शक्तिमा आबद्ध भएको नभई शुभकामना मात्र दिन गएको बताउँछन् । “नयाँ संविधान जारी भएपछि इतिहासको एउटा अध्याय पूरा भइसकेकाले अब नयाँ शिराबाट नयाँ शक्ति बनाउनुपर्छ भन्ने भट्टराईको कदम सराहनीय छ,” संग्रौला भन्छन्, “त्यसैले उहाँको कदमलाई सहानुभूतिपूर्वक समर्थन गरेको हुँ । म त्यसमा आबद्ध भएको होइन ।”
भट्टराईको नयाँ शक्तिलाई बैंकर अनिल शाहले भने समर्थन गरेका छन् । एमाओवादी त्यागेको भोलिपल्ट १० असोज बिहानै पनि शाहले भट्टराईलाई उनकै निवासमा भेट गरेका थिए । आफ्ना ठूलोबुबा हृषीकेश शाहसँगको निकट सम्बन्धका कारण सन् १९७०/८० को दशकदेखि नै भट्टराईसँग देखभेट–चिनजान हुने क्रममा नेपाललाई समृद्धिको दिशातिर लैजानुपर्छ भन्ने उनको दृष्टिकोण बुझेकाले उनी नेतृत्वको नयाँ शक्तिप्रति आफू आशावादी हुन पुगेको शाह बताउँछन् । “पढाइ, पेसा दुवै राजनीति नभए पनि म भट्टराईजीको भिजनबाट प्रभावित छु,” शाह भन्छन्, “त्यसैले भट्टराईको नयाँ शक्तिलाई समर्थन गर्ने सोच बनाएको हँु ।” ज्ञातव्य छ, हाल मेगा बैंकका प्रमुख कार्यकारी शाह ०४६ को आन्दोलनताका भारतमा नेपाली राजदूत रहेकी विन्देश्वरी शाहका छोरा र नेपाली कांग्रेसका संस्थापक सुवर्णशमशेर राणाका नातिनीज्वाइँ अर्थात् रुक्मशमशेर राणाका छोरीज्वाइँ हुन् ।
त्यसबाहेक ०४१ सालदेखि नै भट्टराईका पक्षमा उभिएका त्यसमाथि ०४७ मा मोहनविक्रम सिंहसँग भट्टराई विभाजित हुँदादेखि उनीसँगै रहेको समूहले पनि भट्टराईलाई साथ दिएको छ । एमाओवादी परित्याग गरेर उनीसँग आउनेहरू त झन् उनका निकट भई नै हाले ।
यता मिश्रको अगुवाइमा लामो समयदेखि हेल्प नेपाल नेटवर्क सञ्चालनमा छ, जसले पुस्तकालयदेखि विद्यालय निर्माणसम्ममा भूमिका खेलेको छ । भूकम्पपीडितहरूको उद्धार राहतमा पनि यो संस्था निकै सक्रिय थियो र छ । यो सामाजिक कार्यले पनि उनलाई राजनीतिमा आउन हौस्याएको छ र उनी पनि नेटवर्कबाट सहानुभूति पाउनेमा ढुक्क छन् ।
मिश्रलाई पूर्वमुख्यसचिव लीलामणि पौड् याललगायत युवापुस्ताका थुप्रै अगुवाले साथ दिने वचन दिएको जानकारहरू बताउँछन् । यद्यपि, पौड्याल भने खुल्न चाहेनन् । उनी यति मात्र भन्छन्, “बहस–छलफलमा धेरैले बोलाएका छन् । तर, कुनै निर्णय गरेको छैन ।” त्यसै गरी पूर्वसचिव तथा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल, पूर्वसचिव रामेश्वर खनाल, सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सनत बस्नेत, बुद्ध एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेत, सीमाविद् वुद्धिनारायण श्रेष्ठजस्ता समाजका लब्धप्रतिष्ठित व्यक्तिले पनि आफूले अघि सारेको नयाँ शक्तिको अवधारणालाई समर्थन गर्ने मिश्रको भित्री बुझाइ छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल निर्माण हुँदै गरेका र हुन लागेका नयाँ शक्तिले मात्र नभएर अन्य पार्टीले समेत सहयोग गरिदिन आग्रह गरिरहेका भए पनि मुलुकको दयनीय अवस्थाप्रतिको चिन्ताले आफू कतै लाग्न इन्छुक नभएको बताउँछन् । भन्छन्, “नयाँ शक्तिले पनि कस्तो गर्छ, प्रस्ट भइसकेको छैन । त्यसैले म अहिले चुपचाप छु ।”
मिश्रले लन्डन स्कुल अफ इकोनोमिक्स/हावर्ड युनिभर्सिटीमा पढेर विश्व बैंकको कामको अनुभव सँगालेर नेपाल फर्केका राष्ट्रिय योजना आयोगका पूर्वसदस् य स् वर्णिम वाग्ले, अमेरिकामै सूचनाप्रविधि विषयको अध्ययन गरेका विवेकशील नेपालीका उज्ज्वल थापासँग नयाँ शक्ति निर्माणबारे धेरै चरण छलफल गरेका छन् । वाग्ले मिश्रले नयाँ शक्ति गठन गरेमा विवेकशील नेपालीका थापासँग एकता हुन सक्ने आकलन गर्छन् । “नेपाल बनाउन सकिन्छ । मिलेर गर्न सकिन्छ भनेर राजनीतिबाट विरक्तिँदै, कट्दै गएको युवा पुस् तालाई विश्वासमा लिन सकियो, राष्ट्रिय छवि बनाइसकेका, इमानदार र सशक्त जमातले नेतृत्व गरेको समावेशी खम्बाको नेतृत्व टिम दिन सकियो भने नयाँ शक्तिलाई सशक्त बनाउन सकिन्छ,” वाग्ले भन्छन्, “अहिलेका पुराना पार्टीहरू कत्ति पनि परिवर्तन भएनन् भने नयाँ शक्ति जन्मने र त्यसले ठूलो आकार लिने देखिन्छ । तर, पहिलो पहलचाहिँ पुराना पार्टीको रूपान्तरण नै गर्नुपर्छ ।”
तीन चुनौती
नयाँ शक्तिका लागि मुख्यत: तीनवटा चुनौती छन् । पहिलो हो, शंका–उपशंकाको चरण । किनभने, पछिल्ला वर्षमा नयाँ शक्तिका नाममा धेरै पार्टी जन्मिएका छन् । तर, तिनीहरू २, ३, ४ वा ८, १० नम्बरमा मात्र सीमित छन् । पछिल्ला दिनमा कस्सिएकाहरूले पनि त्यही अवस्था बेहोर्नुपर्यो भने त्यो नयाँ शक्ति होइन भन्ने प्रमाणित हुनेछ । नयाँ शक्ति बनाउनेहरूले आगामी निर्वाचनमै कम्तीमा उल्लेख्य आकारमा आफूलाई पुर्याउन सके भने मात्र त्यो साँचिकै नयाँ शक्ति हुनेछ ।
दोस्रो चुनौती हो, संगठित रूपमा हुने आक्रमणको । किनभने नयाँ शक्तिले आकार ग्रहण गर्दै गएमा पुराना पार्टीले एकसाथ त्यो शक्तिमाथि आक्रमण गर्ने निश्चित छ । राजनीतिक रूपले सचेत युवाहरू अहिले कुनै न कुनै दलसँग आबद्ध छन् । ती युवाहरू आफ्नो दल छाडेर नयाँ शक्तितिर ढल्कन लागे भने पुरानाले नयाँ शक्तिलाई तातो फलामलाई घनले ठोकेजसरी ठोक्न सक्छन् ।
तेस्रो चुनौतीचाहिँ विदेशी दबाबको चरण पनि नयाँ शक्तिले भोग्नुपर्नेछ । किनभने, नयाँ शक्तिले परम्परागतभन्दा आत्मनिर्भर, स्वाधीन र समृद्ध नेपाल बनाउने भनेपछि विदेशी दबाब आउन सक्छ । त्यस दबाबलाई कति झेल्न सक्छ, नयाँ शक्तिको प्रकाश त्यसैमा निर्भर हुनेछ । मिश्र पनि यस्तो खतरा स्वीकार गर्छन् । भलै, पद्धति निर्माण गरेपछि यी तीनैवटा चरणलाई झेल्न सक्ने उनको विश्वास छ । भन्छन्, “पारदर्शी पद्धति निर्माण गरेर त्यही अनुसार चलेपछि दबाब झेल्न सकिन्छ ।”
०६८ को जनगणनालाई आधार मान्ने हो भने पनि मुलुकको आधाभन्दा बढी जनसंख्या २१ वर्ष तलको छ । निर्वाचनमा मत खसाल्ने १८–४० वर्ष उमेर समूहको संख्या पनि उत्तिकै ठूलो छ । तर, मौजुदा राजनीतिक दलहरूले उनीहरूको भावनालाई प्रतिनिधित्व गर्न सकिरहेका छैनन् । राणा शासन, पञ्चायती व्यवस्था, राजाको हुकुमी शासनविरुद्ध लडेर स्थापित भएका र लामो इतिहास बनाएका पार्टी नभएका होइनन् । समस्या कहाँ छ भने त्यस्ता पार्टीका नेताले जनताको आशा र आकांक्षालाई सम्बोधन गर्न हिचकिचाइरहेका छन् । बहुमत युवा हिस्सा वर्तमान नेतृत्वविरुद्ध हुँदाहुँदै पनि उनीहरू तिनै नेताहरूलाई नै छनोट गर्न वाध्य छन् ।
यस्तो किन भइरहेको छ भने एकातिर उनीहरूसँग आफैँले नेतृत्व गरेर नयाँ शक्ति जन्माउन र पुराना नेताहरूलाई हस्तक्षेप गर्न सक्छौँ भन्ने आत्मविश्वास छैन । अर्कातिर पुरानाको विकल्पमा पारदर्शी, इमानदार र मुलुकप्रति समर्पण भावको भरपर्दो नयाँ शक्ति पनि उनीहरूले पाइरहेका/पत्याइरहेका छैनन् । अर्थात् संविधानसभाको निर्वाचनअघिसम्म निर्माण भएका नयाँ शक्तिलाई उनीहरूले विश्वास गर्न सकेनन् । त्यसैले अनिच्छापूर्वक भए पनि पुरानै शक्तिलाई मत खसाले । युवा पुस्ताको यो भावना बुझेपछि नै बाबुराम भट्टराई, रवीन्द्र मिश्र हुँदै उज्ज्वल थापासम्मका अनेकौँ व्यक्ति र शक्ति नयाँ पार्टीको खोजीमा लागेको बुझ्न कठिन छैन । र, युवाहरूको मन जित्न सके भने यिनीहरू छिट्टै स्थापित हुन पनि गाह्रो छैन ।
मुलुकमा ठूला शक्ति नभएका होइनन् । राणा शासनविरुद्धदेखि नै लोकतन्त्रका पक्षमा संघर्ष गर्दै आएको नेपाली कांग्रेस, पञ्चायतकालमा झापा आन्दोलनबाट उब्जिएको नेकपा एमाले र १० वर्षको सशस्त्र द्वन्द्वबाट जन्मेको एकीकृत नेकपा माओवादी परम्परागत शक्ति हुन् । त्यसैले त्यस्तो शक्ति बन्नका लागि त्याग र समर्पणको इतिहास पनि चाहिन्छ । जनमानसले शक्तिका रूपमा पत्याउने बलियो आधार पनि त्यही हो ।
यतिबेलाको खाँचो नयाँ शक्ति वा जे नाम दिइए पनि दूरदर्शी र क्षमतावान् नेतृत्वको हो । र, यो नयाँ शक्तिबाट मात्रै आउँछ भन्ने पनि होइन, परम्परागत शक्तिबाटै पनि उदाउन सक्छ । अब परम्परागत शक्तिबाटै नेपाललाई समृद्ध र शक्तिशाली बनाउने नेतृत्व आउँछ वा नयाँ शक्तिबाट, त्योचाहिँ
कार्यरूपमा नदेखिएसम्म जनमानसलाई विश्वास हुने छैन ।
विगतमा हात लाग्यो शून्य
नयाँ शक्ति निर्माणका लागि लोगो, वेबसाइटको नाम, अभियानको नारा तय गर्नुपर्ने भएकाले बढीभन्दा बढी सुझावको अपेक्षा गर्दै उल्लिखित विषयमा तपाईंहरूको सल्लाह/सुझावका लागि सार्वजनिक आह्वान गर्दछौँ ।
बीआरबी सेक्रेटरियट्सका नामबाट १ मंसिर ०७२ मा फेसबुक वालमा उल्लिखित सूचना पोस्ट गरियो । उक्त सूचनालाई केहीबेरमा बाबुराम भट्टराईले ट्वीट गरे । नेपाली राजनीतिमा नयाँ पार्टी गठनका लागि यस्ता विभिन्न सुझाव माग्दै सार्वजनिक आह्वान भएको यो दोस्रोपटक हो ।
दोस्रो संविधानसभा निर्वाचनअघि उद्योगी मोतीलाल दुगडले पनि ठीक यही शैली अपनाएर सार्वजनिक आह्वान गरेका थिए । ०६४ को संविधानसभामा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का तर्फबाट समानुपातिक सभासद् मनोनीत दुगडले पछि सरिता गिरीसँग असहमति राख्दै विभाजित भएको घोषणा गरे । संविधानसभा निर्वाचन सम्मुखमा उनको प्रचार तामझाम नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीजस्ता ठूला राजनीतिक दलभन्दा कत्ति पनि कम थिएन । उनको घोषणापत्रमा पनि नयाँ नेपाललाई विकास र समृद्धिले केही वर्षभित्रै हराभरा बनाउने उल्लेख थियो । निर्वाचनमा दुगडको दलले पाँच करोडभन्दा बढी रुपियाँ खर्च गरेको थियो ।
तर, परिणाम बिलकुलै सुखद आएन । उनको दलले प्रत्यक्ष निर्वाचनमा २६ वटै निर्वाचन क्षेत्रमा जमानत जोगाउन सकेन, समानुपातिकमा पनि करिब १२ हजार मतमा चित्त बुझाउनु पर्यो । तामझाम र नयाँ तरिकाबाट पार्टी निर्माण, प्रचार–प्रसार गर्दा पनि समानुपातिक कोटाबाट समेत एक सिट पाउन नसकेपछि निराश भएका दुगड अन्तत: १६ असोज ०७१ मा नेकपा एमालेमा प्रवेश गरे । भन्छन्, “सुझावहरू संकलन गरेर मात्र पार्टी चल्दो रहेनछ भन्ने चाहिँ मेरै अनुभवले पुष्टि गरेको छ ।” उनका शब्दमा ठूल्ठूला पार्टीका अनुभव, ब्रान्ड, तिनका भ्रातृ संगठन यति मजबुत छन् कि नयाँ पार्टी सर्वसाधारणका तहसम्म स्थापित गराउन एकदमै कठिन र जटिल छ । त्यसैले उनी आफ्नो अवधारणालाई स्वीकार गर्ने एमालेमा प्रवेश गरेको दाबी गर्छन् ।
मंसिर ०७० को संविधानसभा सम्मुखमा उज्ज्वल थापा नेतृत्वको युवाहरूको एउटा समूहले विवेकशील नेपाली नामक पार्टी गठन गरेका थिए । कुकुर चुनाव चिह्न लिएर मैदानमा होमिएको यस पार्टीले कुकुरजस्तै आज्ञाकारी–वफादार भएर मुलुकको सेवा गर्ने प्रतिबद्धता पनि जनाएको थियो । तर, नतिजामा कहीँकतै जित भएन ।
नेकपा एमालेका पूर्वउपाध्यक्ष अशोक राईको नेतृत्वमा संविधानसभा–२ को निर्वाचनअघि संघीय समाजवादी पार्टी निर्माण भएको थियो । निर्वाचनमा कम्तीमा १० सिट जित्ने आन्तरिक आकलन थियो तर यस पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन ।
त्यसै गरी ०६४ को संविधानसभा नजिकिँदै गर्दा उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल पार्टीका रूपमा जन्मिएको थियो । पहिलो संविधानसभाको निर्वाचनमा यसले पार्टीको आकार ग्रहण गर्यो । आन्तरिक विग्रह, फुट र नेताहरूको रवैयाका कारण दोस्रो निर्वाचनसम्म आइपुग्दा भने यसको आकार पनि सानो भयो । अहिले संघीय समाजवादी पार्टीसँग एकता गरेर यो संघीय समाजवादी फोरम भएको छ । यही समयमा तराई–मधेसमा नै केन्द्रित भएर महन्थ ठाकुरको नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना भयो ।
यो पार्टी पनि ठूलो संगठनका रूपमा स्थापित हुन सकेन । ०५५/०५६ तिर हाल एमाले उप–महासचिव रहेका घनश्याम भुसाल, माओवादी–एमाओवादी पार्टीबाट यसअघि सभासद् बनेका हरि रोका, साहित्यकार नारायण ढकालहरूले पनि नयाँ पार्टी गठन गर्ने सोचका साथ तेस्रो धारको बहस चलाए । यसबारे बहस त भयो । तर, तेस्रो धारलाई साथ दिने चासो धेरैले नदेखाएपछि त्यो बहसमै सीमित हुन पुग्यो ।
यसै गरी नेपाली सेनाको कर्णेलबाट राजीनामा दिएर नेपाली कांग्रेसको सदस्य बन्न पुगेका पाइलट नारायणसिंह पुन छोटै समयमा ठूलै हाउगुजीका रूपमा स्थापित भए । तर, त्यो दिगो भएन । कर्णाली एयर नामको हेलिकप्टर कम्पनीका मालिकसमेत रहेका पुन ०५६ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट म्याग्दीबाट निर्वाचित भए । १९ असोज ०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बर्खास्त गरी बनाएको सरकारमा उनी फेरि मन्त्री बने । तत्कालीन सरकारले तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्न पुनको संयोजकत्वमा टोली बनाएको थियो ।
त्यसबेला माओवादीले अहिले नयाँ शक्तिका पक्षमा दौडधूप गरिरहेका भट्टराईकै नेतृत्वमा वार्ता समिति बनाएको थियो । पुन र भट्टराईबीच वार्ता पनि भयो । जसै, राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा सम्पूर्ण सत्ता हातमा लिए, तसै नयाँ पार्टी गठन गरेर राजनीतिक आकाशमा चम्कने महत्त्वाकांक्षाले पुनको मनमा चर्को रूप लियो । उनी नेपाल समता पार्टी नामको दल दर्ता गराएर माघ ०६२ मा राजाले गराएको नगरपालिका निर्वाचनमा होमिए । उनको पार्टीले अलिकति पनि साख बचाउन सकेन । केही वर्षभित्रै पुनको निधनपछि त यो अध्याय नै समाप्त भयो ।
मुलुकको पहिलो राष्ट्रपतिका उम्मेदवार रामराजाप्रसाद सिंहले नेपाल जनवादी मोर्चा गठन गरेका थिए, ०३६ तिरै । त्यही मोर्चाका नामबाट ६ असार ०४२ मा सिंहदरबारअघि र केही स्थानमा बम विस् फोटन गराएपछि मृत्युदण्डको सजाय सुनाइएको थियो, उनलाई । तत्कालीन पञ्चायती सत्ताले रोक्ने अनेक प्रयत्न गर्दा पनि ०२८ सालमै उनी राष्ट्रिय पञ्चायत सदस्य चुनिएका थिए । त्यसबेला उनको नाम एकाथरीका लागि ऊर्जा र अर्काथरीका लागि आतंकको पर्याय नै थियो ।
०५१ को निर्वाचनमा उनै रामराजा नेतृत्वको नव जनवादी मोर्चाचाहिँ कहीँकतै विजयी हुन सकेन । उनको पार्टीले ०६४ र ०७० को निर्वाचनमा पनि भाग लिएको थियो तर समानुपातिक कोटाबाट समेत एक सिट प्राप्त गर्न सकेन ।
७ फागुन ०४६ देखि जनआन्दोलनको भावभूमि तयार हुँदै गर्दा अर्थसचिवबाट राजीनामा दिएर देवेन्द्रराज पाण्डे सडक संघर्षमा होमिए । जनआन्दोलन सफल भएपछि कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई नेतृत्वमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्री रहे उनी । ९ चैत ०३६ देखि २७ कात्तिक ०४० सम्म अनेरास्ववियुको अध्यक्ष थिए, टंक कार्कीचाहिँ । ०३६ सालको विद्यार्थी आन्दोलनको अगुवाइ गरेर पञ्चायती शासकहरूका लागि आतंकको पर्याय बनेका र ०३९ मा तत्कालीन माले महासचिव सीपी मैनालीलाई कारबाही गर्ने अवस्थासम्म पुग्दा पार्टीभित्र समेत बौद्धिक नेताको छवि बनाइसकेका थिए, कार्कीले ।
०४८ ताका पाण्डे, कार्कीलगायत अन्य थुप्रै बौद्धिक पृष्ठभूमिका नेता मिलेर प्रजातान्त्रिक लोक दल गठन गरे । यस पार्टीका अध्यक्ष पाण्डे थिए भने महासचिव कार्की । खासमा यो पार्टी बौद्धिक व्यक्तित्वहरू, कांग्रेस, एमालेलगायत अन्य पार्टीबाट असन्तुष्ट भएकाहरूलाई समेटेर वैकल्पिक शक्ति बनाउने उद्देश्यले गठन गरिएको थियो ।
०४८ देखि तयारी गरेर ०५१ को प्रतिनिधिसभा निर्वाचनमा यस पार्टीले ३० जना उम्मेदवार मैदानमा खडा गर्यो । अध्यक्ष पाण्डे गृहजिल्ला पाल्पाबाट उम्मेदवार बने, महासचिव कार्कीचाहिँ गोरखाबाट । पाण्डेले १ हजार १ सय मत ल्याउन सके भने कार्कीले सात सय मतमै चित्त बुझाउनुपर्यो । यसपछि वैकल्पिक शक्तिका रूपमा उदाउने उनीहरूको योजनामा तुषारापात भयो । पाण्डे निष्क्रिय भए भने कार्की ०५२ तिर पुरानो घर एमालेमै फर्किए । कार्की भन्छन्, “त्यसबेला हामी परम्परागत पार्टीभन्दा एन्टी करेन्ट थियौँ । एजेन्डाहरू जायज थिए । तर, तिनलाई जनताले पत्याउन र बुझ्न सकेनन् ।”
पूर्वप्रधानमन्त्रीद्वय मातृकाप्रसाद कोइराला, कीर्तिनिधि विष्ट र श्रीभद्र शर्मालगायत पुराना राजनीतिज्ञहरू मिलेर ०४६ मा बहुदलको आगमनपछि राष्ट्रिय जनता परिषद् नामक पार्टी गठन गरेका थिए । यो पार्टी पनि ०५१ को निर्वाचनमा होमियो । तर, नतिजा अनपेक्षित रह्यो ।
कुनै समय नेपाल कम्युनिस्ट पार्टीका महासचिव भइसकेका र कालान्तरमा दरबारनिकट भएर राजसभा स्थायी समिति सभापति भएका केशरजंग रायमाझी पनि नयाँ पार्टी गठन गरेर राजनीतिक साख बचाउने मेसोमा लागे ०४६ पछि । जनता दल (समाजवादी–प्रजातन्त्रवादी) गठन गरेर उनी ०५१ को निर्वाचनमा होमिए पनि । तर, परिणाम भने शून्य भयो ।
प्राध्यापक तथा लेखक राजेश गौतम जतिसुकै नयाँ पार्टी जन्मिए पनि तिनीहरू जनताप्रति उत्तरदायी नभएकाले ठूलो पार्टीका रूपमा उदाउन नसकेको बताउँछन् । भन्छन्, “नेपालको राजनीतिमा बौद्धिक जमातले मात्र पार्टी चल्छ भन्ने स्थिति तयार भइसकेको छैन । किनभने, यहाँ अशिक्षितहरू नै धेरै छन् । र, अरूको इसारामा नयाँ पार्टी/शक्ति उदाउने गरेकाले उनीहरू जनतामा स्थापित हुन र ठूलो आकार लिन सकिरहेका छैनन् ।”
ठूलाबाट फुटेका पनि उस्तै
८ जेठ ०५९ मा देउवाले संसद् विघटन गरी संकटकाल लम्ब्याएका कारण नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भयो । तर, विभाजित पार्टीलाई देउवाले लामो समय चलाउन वा धान्न सकेनन् । यता गिरिजाप्रसाद कोइरालाको हालत पनि देउवाको भन्दा भिन्न थिएन । खासमा विभाजित कांग्रेसमा सैद्धान्तिक र नीतिगत भिन्नता थिएन । थियो त केवल महत्त्वाकांक्षा र प्रतिष्ठाको ।
भिन्न–भिन्न पार्टी चलाएर त्यो महत्त्वाकांक्षा पूरा हुन नसक्ने ठम्याइमा पुगेपछि ०६३ मा दुवै कांग्रेस एक भए । संस्थापन पक्ष अर्थात् सभापति गिरिजाप्रसाद कोइरालाले ६० प्रतिशत र देउवाले ४० प्रतिशतका दरले केन्द्रदेखि जिल्लासम्म भागबन्डा लगाउने गरी कांग्रेसको एकता भएको थियो । दुई पार्टीबीच एकता गरेकै परिणाम चैत ०६४ को संविधानसभामा कांग्रेस दोस्रो शक्तिका रूपमा दरियो ।
०४६ को जनआन्दोलनमा कांग्रेस नेता जगन्नाथ आचार्य पार्टीका तर्फबाट उपत्यकाको आन्दोलन परिचालन कमिटी संयोजक थिए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत शीर्ष नेतासँग उनको एकदमै निकटको दोस्ती थियो । ०५१ को मध्यावधि निर्वाचनसम्म पुग्दा तिनै आचार्य कांग्रेसका वागी बनिसकेका थिए, गिरिजाप्रसाद कोइरालाको कार्यशैली र टनकपुर सन्धिसम्बन्धी विवादले । उनले ०५० सालमा जनजागरण अभियान सुरु गरे, जसलाई गणेशमान सिंहको बलियो साथ थियो । १ वैशाख ०५१ मा सिंहकै उपस्थितिमा जनजागरण अभियानको उद्घाटनसमेत गरियो । यही अभियानमा हिँडिरहेका बेला ६ असार ०५१ मा सिंह चितवनमा दुर्घटनामा परे । रोचक के भने आचार्यले चलाएको अभियान आफूले कतै जित्नका लागि थिएन, कांग्रेसलाई हराउने उद्देश्यले थियो । त्यसमा भने आचार्यहरू सफल भए । ०५१ को निर्वाचनमा कांग्रेस दोस्रो पार्टीमा सीमित हुन पुग्यो । तर, पछि प्रयास गरे पनि आचार्यको अभियानले पार्टीको रूपचाहिँ लिन सकेन ।
नेपाली कांग्रेसको इतिहासको प्रारूपका लेखक तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतका भनाइमा नयाँ पार्टीहरूको सैद्धान्तिक/वैचारिक बाटो, कार्यक्रमिक योजना पुराना र माऊ पार्टीका भन्दा फरक हुन सकेनन् । त्यसमाथि विभाजित हुने र नयाँ जन्मने पार्टी दरबार वा भारत दुवैको वा कुनै एकको प्रभावमा परेर गठन हुने गरेका छन् । त्यसैले नयाँ पार्टीले आधार लिन नसकेका हुन् ।
नेकपा एमालेको छैटौँ महाधिवेशन नेपालगन्जमा भएलगत्तै महाकाली सन्धिको विषयलाई लिएर एमाले संसदीय दलबाट वामदेव गौतम, सीपी मैनाली, आरके मैनाली, घनश्याम भुसाललगायत आठ नेतामाथि कारबाहीको घोषणा भयो । यसपछि एमाले विधिवत् विभाजनको डिलमा पुग्यो । २१ फागुनमा ४० प्रतिशत प्रतिनिधिसभाका सदस्य आफूतिर रहेको प्रमाण पेस गरेर अल्पमत पक्षले संसदीय दलबाट पार्टी विभाजन गराएर नेकपा माले बनायो । पार्टी महासचिवमा वामदेव गौतम चुनिए भने दोस्रो नेता सीपी मैनाली भए । यसपछि माले कांग्रेस नेतृत्वको सरकारमा पनि गयो । तर, ०५६ मा भएको आमनिर्वाचनमा यस पार्टीले एक सिटमा पनि विजय हासिल गर्न सकेन तर राष्ट्रिय पार्टीको मान्यता भने पाएको थियो । मालेले संगठनमा गति लिन नसकेपछि फागुन ०५८ मा पुन: एमालेसँगै एकता गर्न पुग्यो । फागुन ०५८ मा मालेबाट गौतमसहितको ठूलो समूह एमालेमै मिसिन पुगेको थियो । तर, सीपीले अन्तिम क्षणमा एमालेमा नजाने निर्णय सुनाए । यसपछि उनले नेकपा माले चलाइरहेका छन् । एमालेको विभाजनदेखि एकतासम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राधाकृष्ण मैनालीको विश्लेषण छ, “शीर्ष नेताहरूको ठूलो पंक्ति मालेतिर लागे पनि ग्रामीण तहसम्म संगठन पुग्न सकेन । त्यसैले एमालेमै फर्कनुपर्यो ।”
मूल पार्टीसँग वैचारिक–सैद्धान्तिक तथा कार्यनीतिक योजनामा असहमति जनाउँदै नयाँ पार्टी गठन गर्नेमध्येकै हो, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ भट्टराईको लाइनमा हिँडेका र १० वर्षे ‘जनयुद्ध’को उपलब्धिलाई उल्ट्याएका, बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा भारतसँग बिप्पा सम्झौता गरेर राष्ट्रघात गरेका जस्ता आरोप लगाउँदै ५ असार ०६९ मा पाका नेता वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भयो । विभाजित हुँदा ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्ताको ठूलो पंक्ति वैद्यतिरै लागेको थियो । तर, सैद्धान्तिक–वैचारिक निष्ठा जोगाउनु एउटा कुरा, अनुभवी र त्यागी नेताहरूको ठूलो पंक्ति आबद्ध भए पनि यो पार्टीले पनि ठूलो आकार लिन सकेको छैन ।
बरू, असोज ०७१ मा वैद्य माओवादीसँग असहमत हुँदै सचिव नेत्रविक्रम चन्दले अर्को कम्युनिस्ट समूह जन्माएका छन्, जसले संगठन विस्तारमा दौडधूप गरिरहेको भए पनि चाहेजति फराकिलो बनाउन सकिरहेको छैन । चन्दको नेकपा माओवादीका कार्यालय सचिव गुणराज लोहनीका भनाइमा, मान्छेले नयाँ पार्टीले छिट्टै संगठन विस्तार गरोस् भन्ने अपेक्षा राखेका हुन्छन् तर संगठन विस्तार स्प्रिङको गतिमा हुने होइन । लोहनी भन्छन्, “पार्टीलाई आकारका रूपमा भन्दा पनि उसले लिएको सैद्धान्तिक/वैचारिक निष्ठा, राष्ट्रियता, जनजीविकाका निम्ति उठाएको मुद्दाका आधारमा मापन गर्नुपर्छ ।”
०१७ अघिको कठोर इतिहास
१ मंसिर ००८ मा नेपाली कांग्रेसका तर्फबाट जनताको छोराका रूपमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनी त्यसबेला नेपाली कांग्रेसका सभापति थिए । तर, सरकारको नेतृत्व गरेको लामो समय नबित्दै उनकै भाइ बीपी कोइरालालगायत बहुमत कांग्रेस नेताहरूसँग उनको झगडा सुरु भयो । कलह चर्कंदै गएपछि २६ साउन ००९ मा प्रधानमन्त्रीबाट राजीनामा दिए । यसपछि उनले १६ वैशाख ०१० मा राष्ट्रिय प्रजा पार्टी गठन गरे । नयाँ पार्टी गठनको तीन महिना नहुँदै २ असार ०१० मा उनलाई राजा त्रिभुवनले एकदलीय मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त गरे । तर, मातृका न त लामो समय प्रधानमन्त्री भइरहन सके, न त पार्टीलाई टिकाइराख्न नै ।
००८ सालमा केही घन्टै सही, सिंहदरबार कब्जा गरेर राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति कमाएका र पछि प्रधानमन्त्री भएका डा केआई सिंहले पनि संयुक्त प्रजा पार्टी निर्माण गरेका थिए । उनको पार्टी पनि घर न घाटको भएर विलुप्त भयो । डिल्लीरमण रेग्मी नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेसले पनि ठूलो पार्टी हुने रहर पूरा गर्न सकेन । ०१५ सालको निर्वाचनमै पत्तासाफ भयो ।
राणा शासनको पतनपछिको पुस्तामा सबैभन्दा अग्रज बौद्धिक व्यक्तित्वको छवि बनाएका हृषीकेश शाहले पनि पार्टी गठन गरेर राजनीतिमा होमिने रहर नगरेका होइनन् । तर, उनको त्यो रहर पनि झ्यालढोका नभएको घरजस्तै असुरक्षित बन्यो । त्यसपछि उनी पार्टी राजनीतिको रहर त्यागेर राजा महेन्द्रको शरणमा पुगे ।