यसरी लाग्दैछ गहुँमा ग्रहण
कहिले डिजेल त कहिले बीऊ र मलको खोजीमा किसान ।
यतिबेला किसानलाई गहुँ खेती गर्न भ्याइ नभ्याइ हुनुपर्ने हो । तर, अवस्था खेतमा जाने सुरसार मिलाउँदा–मिलाउँदै जानै ढिलाइ होलाजस्तो छ । रुपन्देहीको कम्हरिया–५ का बुद्ध थारूको खेतमा यतिबेला गहुँ उम्रिसक्थ्यो । यस वर्ष पाँच लिटर डिजेलका लागि हातमा ग्यालेन लिएर अनेक ठाउँमा भौँतारिए पनि चार दिनसम्म लगातार रित्तो हात घर फर्किए ।
डिजेलको व्यवस्था गर्न नसक्दा गहुँ कहिले लगाउने हो ? कुनै ठेगान छैन । डिजेलको अभाव हुँदा ट्रयाक्टरले जोताउन नपाएर उनको खेत बाँझै छ । “नाकाबन्दीले त हामीजस्ता सर्वसाधारण किसान पो मर्कामा परेका छौँ,” डिजेल लिन गाविस कार्यालयबाट बनाएको सिफारिस, जग्गाको लालपुर्जा, नागरिकतासहित नेपाल आयल निगमको भैरहवा शाखामा भेटिएका थारूले भने, “धान पनि खडेरीले खायो । गहुँ लगाउने अहिलेसम्म सुरसारै छैन ।” बेलैमा गहुँ लगाउन नपाएमा राम्रो उब्जनी नहुने
चिन्ता उनलाई छ ।
धान भित्र्याएपछि गहुँ लगाउन खेतमा व्यस्त हुनुपर्ने समयमा तराईका हजारौँ किसान यतिबेला कहिले डिजेलको खोजीमा त कहिले गहुँको बीऊ र मलको खोजीमा भौँतारिइरहेका छन् । डिजेल नपाएर ट्रयाक्टर चलाउन नपाउँदा कतिपय किसानले धानको दाइँ गर्नसमेत पाएका छैनन् ।
राष्ट्रिय गहँु बाली अनुसन्धान केन्द्र भैरहवाका अनुसार मुलुकको ७५ जिल्लामै लगाइने एक मात्र बाली गहुँ हो । मुलुकभरिमा ७ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा यो खेती लगाइन्छ । गत वर्ष वार्षिक उत्पादन १८ लाख ८३ हजार मेट्रिकभन्दा धेरै थियो । मुलुकको कुल खाद्यान्न उत्पादनमा गहुँको योगदान २२ प्रतिशतभन्दा धेरै छ । धान र मकैपछिको तेस्रो ठूलो खाद्य बाली गहुँ हो ।
“अबको दुई साताभित्रमा गहुँ खेती लगाइ सक्नुपर्छ, नत्र जति ढिला भयो उति नै उत्पादन कम हुँदै जान्छ,” अनुसन्धान केन्द्रका प्रमुख शेषरमण उपाध्याय भन्छन्, “यस वर्ष गहुँ खेतीलाई भारतको नाकाबन्दी र मधेस आन्दोलनको असरले प्रभावित बनाउने अवस्था आएको छ ।”
उनका अनुसार पछिल्ला वर्षमा नेपालको कृषि प्रविधिमा यान्त्रीकरणको प्रयोगमा व्यापकता आएको छ । तराईका समथर फाँटमा एकाध स्थानबाहेक हलोले खेत जोतेको देख्न पाइँदैन । तराईमा झन्डै ७५ प्रतिशत खेती कृषि यान्त्रीकरणको प्रयोगबाट गर्न थालिएको छ ।
हरेक वर्ष भारतबाट नयाँ ट्रयाक्टरको आयात बढ्दो छ । खेत जोत्ने, सम्याउने, काट्ने, दाइँ गर्ने, ओसार्ने काममा ट्रयाक्टर र हार्बेस्टरको प्रयोग गर्ने गरिन्छ । ट्रयाक्टर र हार्बेस्टर नहुने साना किसानले समेत भाडामा प्रयोग गर्ने गर्छन् ।
“नाकाबन्दी र आन्दोलनले इन्धन नपाउँदा हाम्रो अनुसन्धान केन्द्रलाई नै समस्या पर्यो,” उपाध्यायले भने, “इन्धन अभावले धान काट्न र जोत्न ढिलाइ भयो भने यातायात ठप्प हुँदा परीक्षण गरिएको उन्नत जातका बीऊ र अन्य कुराको ढुवानी हुन नसक्दा रोकिएका छन् ।”
किसान राम्रो बीऊ र मलको समेत अभाव झेल्न बाध्य भएको रुपन्देहीका कृषि बाली विकास अधिकृत विनोद ज्ञवाली बताउँछन् । उनका अनुसार किसानलाई ३५ प्रतिशत अनुदानमा बीऊ उपलब्ध गराउने गरेको बीऊ बिजन कम्पनीसँग गत वर्ष बीऊ तयार पार्ने बेलामा झरी लागेकाले बीऊमा उम्रिने शक्ति ८० प्रतिशत पनि छैन । राम्रो बीऊमा उम्रिने शक्ति ८० प्रतिशतभन्दा धेरै हुन जरुरी मानिन्छ ।
किसानका लागि कृषि सामग्री संस्थानले मगाएको मल आन्दोलनले ढुवानी हुन नसक्दा वीरगन्ज भन्सार परिसरमा थन्किएको छ । “सीमा क्षेत्रका किसानले त भारतबाट बीऊ, मलको व्यवस्था गर्न सके पनि पहाडी जिल्लाका किसानले सक्ने स्थिति छैन,” ज्ञवालीले भने, “यातायात सहज नभएकाले बीऊ, मलको ढुवानी पनि असहज देखिएको छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...