सिरकविहीन बस्ती
मोबाइल, टीभी भएको तर ओढ्ने नभएको सप्तरीको दलित गाउँ
हुस्सुले ढाकेको बिहानको शीतलहरमा लुगलुग काम्दै घरको बाहिरभित्र गरिरहेकी मुधुपट्टी–३ की कुन्तीदेवी सदायको प्रत्येक जाडोयाम डरमै बित्छ । आफ् नै गाउँका कैयन् मान्छे चिसोले कठ्यांग्रिएर प्राण त्यागेको उनले प्रत्यक्ष देखेकी छन् । तर, यथार्थ, जति डर लागे पनि उनको घरमा ओढ्ने न्यानो कपडा छैन । चिसोबाट जेनतेन बच्न उनले पुराना फाटेका सारी र धोतीलगायतका कपडा तगेर पातलो ओढ्ने बनाएकी छन् । पराल ओछ्याएको भुइँमा उनी आफ्ना तीन लालाबालासँग त्यही ओढ्नेको भरमा चिसो रात काट्छिन् । मधुपट्टीको अतिविपन्न यस दलित बस्तीमा अरूको जस्तै कुन्तीदेवीका निम्ति सिरक ओढेर मीठो निद्रा सुत्नु सपना मात्रै हो ।
उनका श्रीमान् बिल्छी एक वर्षदेखि कतारमा छन् । गाउँको साहूसँग सयकडा चारका दरले एक लाख रुपियाँ ऋण लिएर गएका बिल्छीले पठाएको पैसा कुन्तालाई ऋण र ब्याज तिर्नमै ठिक्क हुन्छ । त्यसैबाट बचेको पैसाले उनले केही महिनाअघि १ हजार ९ सय रुपियाँ तिरेर नोकियाको मोबाइल फोन किनिन् । “घरमा सिरकभन्दा मोबाइलकै खाँचो भयो,” कुन्ती भन्छिन्, “चामलदेखि नुनसम्म किन्दा उहाँले पठाएको पैसा सकिइहाल्छ । सिरक किन्ने पैसा कहाँबाट ल्याउनू ?”
मधुपट्टी–२ की रामपरी सदायका श्रीमान् सुकदेवले मलेसियाबाट फर्किंदा टीभी, ल्यापटप र आईफोनसमेत किनेर ल्याए तर सिरक र कम्बलचाहिँ ल्याएनन् । पैसाजति उतै सकिएपछि अहिले रामपरीको घरमा सिरक छैन । पाँच वर्षको कमाइले सुकदेवले ऐलानी जग्गामा जस्तापाताले छाएको सानो घर र आफ्ना निम्ति सुत्ने काठको खाट बनाए । उनको गाउँका अधिकांश दलित भुइँमै सुत्छन् र धेरैजसोको घरको छाना खरले छाइएका छन् । रामपरीचाहिँ एकसरो तन्ना ओछ् याएको भुइँमा छोराछोरीसँग प्रत्येक रात चिसो झेलेर कटाउँछिन् । भन्छिन्, “सिरक त हाम्रो मात्रै होइन, कसैका घरमा पनि छैन ।”
मधुपट्टीका ३० घर दलित परिवारमध्ये १५ घरका सदस्य वैदेशिक रोजगारीमा छन् । धेरैजसोका हातमा मोबाइल छ तर दुर्भाग्य अधिकांशको घरमा गतिलो ओढ्ने र ओछ्याउने छैन । दौलतपुर–२, लक्ष्मीपुरकी गीता सदाय, ३०, को गतिलो छाप्रोसमेत छैन । राम्ररी नबारेको भित्ताबाट छिर्ने रातको चिसोले उनको मुटु कपाउँछ । पुसको पहिलो सातादेखि चलेको शीतलहरको त झन् कुरै भएन ।
दमका रोगी श्रीमान् रविलाल पर्याप्त उपचार नपाएर गत कात्तिकमा बितेपछि गीताका निम्ति यो जाडो झनै सकसपूर्ण भएको छ । कमाउने घरमूली बितेपछि उनलाई ती छोराछोरीलाई ज्यानमारा चिसोबाट कसरी बचाउने भन्ने चिन्ता थपिएको छ । गीताकी जेठी छोरी आसिया गाउँकै शिक्षक विलट यादवको घरमा वार्षिक ६ मन अर्थात् २ सय ४० किलो धान लिने सर्तमा चरुवा बसेकी छन् । यस हिसाबले असियाले दैनिक औसत १२ रुपियाँ कमाउँछिन् । गीता सुनाउँछिन्, “आसियाको कमाइले दुई महिना भात खान ठिक्क हुन्छ । ओढ्ने, ओछ्याउने र न्यानो कपडा कहाँबाट किन्नू ?”
चिसो सुरु भएपछि गीता आफ्ना छोराछोरीसँग अगेना वरिपरि गुँडुल्किएर रात कटाउँछिन् । त्यसो त उनको घरमा एउटा कम्बल नभएको होइन, जसलाई उनका बिरामी श्रीमान् ओढेर सुत्थे । उनको निधनपछि गाउँलेले ‘अशुभ हुन्छ’ भन्दै त्यो कम्बल मिल्काइदिए । ज्यालादारीमा काम गरेर गीताले कमाउने भनेको दिनको आठ किलो धान वा दुई सय रुपियाँ हो । भन्छिन्, “भुटुन, तरकारी, मसला र चामल किन्दा त्यो पैसा ठिक्क हुन्छ ।”
जाडो लागेपछि सुरु हुने दुर्दशाको कथा गीताको घरमा मात्रै सीमित छैन । दौलतपुरका अधिकांश दलितको हालत गीताको जस्तै कहालीलाग्दो छ । जस्तो : दौलतपुर–२, लक्ष्मीपुरकी तारादेवीका चार सन्तान छन् । ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका उनका श्रीमान् बच्चु केही महिनाअघि रोगले थला परे ।
लहानस्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाबाट ३० हजार रुपियाँ ऋण काढेर उनले आफ्नो उपचार गरे । अहिलेको जाडोको कमाइ उनलाई ऋण तिर्न र घरको खान्की जोहो गर्न पनि पुग–नपुग हुन्छ । तारादेवी भन्छिन्, “समयमै ऋण चुक्ता गरेन भने झनै धेरै ब्याज बढ्छ । त्यसैले सिरक किन्ने पैसा जुटाउने अवस्था छैन । जेनतेन यो ठिही काट्नुपर्ला ।” लक्ष्मीपुर गाउँमा रहेका २० घर मुुसहर परिवार कसैको घरमा पनि न्यानो कपडा छैन । घुर तापेर नै उनीहरू चिसोमा ज्यान जोगाउँछन् ।
सप्तरी जिल्लामा करिब दुई लाख अति विपन्न दलित छन् र तिनको अवस्था मधुपट्टीको दलितको भन्दा खासै फरक छैन । नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष योगेन्द्र भगत चिसो याम दलितका निम्ति विपत्तिका रूपमा रहेको बताउँछन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार ०७१ मा चिसोले कठ्यांग्रिएर २७ जनाको मृत्यु भएको थियो र मृतकको यो संख्या ०७० मा २२ थियो । तीमध्ये अधिकांश दलित समुदायका थिए ।
दलित, गरिब र असहायका लागि राज्यबाट बर्सेनि न्यानो कपडा वितरण गर्न बजेट विनियोजन गरिएको हुन्छ । जिल्ला दैवीप्रकोप उद्दार समिति, सप्तरीले गत वर्षको जाडोमा सरकारले उपलब्ध गराएको बजेटबाट पाँच हजार थान कम्बल वितरण गरेको स्थानीय शान्ति समितिका अध्यक्ष निरञ्जन झा बताउँछन् । तर, ती कम्बल यी दलितसम्म आइनपुग्दै बीचमै सकिए । न्यानो लुगा नै सदरमुकामबाट दलित समुदायले पाउँदैनन् । स्थानीय दलित अगुवाहरू सरकारले बाँड्ने कम्बल पर्याप्त वितरण हुन नसकेको र वितरण भए पनि त्यसमा राजनीतिक भागबन्डा हुने गरेको आरोप लगाउँछन् ।
यस वर्ष शीतलहर सुरु भइसक्दा पनि सप्तरीमा न्यानो कपडा वितरण गरिएको छैन । वैदेशिक रोजगारीमा गएका वा सिरक किन्न सक्ने हैसियत हुने सुकदेव सदायजस्तालाई त्यसका लागि शिक्षित या उत्प्रेरित नै गर्न सकेका छन्, सरकारी निकाय र उनीहरूका नाममा सामाजिक अभियान चलाउने गैरसरकारी अभियन्ताहरूले ।
फूलदेवीको सपना
हर्दिया–५, बाहुनाकी फूलदेवी सदाय, ७५, लाई जीवनमा अहिलेसम्म सिरक ओढेर सुतेको अनुभव छैन । प्रत्येक जाडोमा उनी घुर तापेरै रात कटाउँछिन् । मजदुरीका लागि छोरा पन्जाब गएकाले अहिले उनी र बुहारी फुसको छाप्रो कुरेर बसेका छन् । सम्पत्तिका नाममा उनको घरमा दुइटा भाँडा र केही पुराना थोत्रा कपडा मात्रै छन् । भान्छा र सुत्ने उनको एउटै कोठा छ । फूलदेवी सुनाउँछिन्, “सिरक ओढ्दा कस्तो हुन्छ, मलाई थाहा छैन । मजै आउला नि ?”
शीतलहर चलेपछि बिहान बाहिर निस्कनै सकिँदैन । फूलदेवी फुसको मधुरो आगोमा हात सेकाएर बस्छिन् । पैसा भएको भए न्यानो कम्बल वा सिरक किन्ने मन उनलाई नभएको होइन । तर, नियमित आम्दानी नहुने र भए पनि चामल, नुन र भुटुनमै खर्च हुने भएपछि उनले सिरक किन्न सकेकी छैनन् । उनको कोठामा खाट पनि छैन । भुइँमा पराल, त्यसमाथि पातलो कपडा बिछ्याएर उनी त्यसैमाथि सुत्छिन् । फुसको घर, न झ्याल, न ढोका । सबैतिरबाट चिसो छिर्छ । भुइँको चिसो पनि बिहानतिर सर्दै सर्दै माथि आउँछ । भन्छिन्, “डसनामाथि सिरक ओडेर चैनसँग सुत्ने भाग्य हाम्रो
कहाँ हुनु ?”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...