आवरण कथा: कसले थाम्ला कोइराला परिवारको बिँडो ?
कोइराला परिवारभित्र राजनीतिक विरासतको नेतृत्वका लागि त्रिकोणीय प्रतिस्पर्धा
विसं २०१५ मा दुईतिहाइ बहुमत ल्याएर नेपाली कांग्रेसले पहिलोपल्ट निर्वाचित सरकार गठन गर्दा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई भारतका वरिष्ठ समाजवादी नेता राममनोहर लोहियाले सुझाव दिएका थिए, ‘वंशवादको राजनीति नगर्नू, सरकारमा आफ्ना नातागोतालाई लाभको पद नदिनू ।’
००७ सालअगाडि राणाशासनविरुद्धको अभियानमा सक्रिय भएको आरोपमा बीपीका पिता कृष्णप्रसाद कोइरालाको सर्वस्वहरण भएको थियो । त्यतिबेला बीपीको सम्पूर्ण परिवार नेपाली सीमा जोडिएको भारतीय भू–भागमा बसोवास गथ्र्यो । त्यसैले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सिंगो परिवार होमिएको हुनाले बीपीको धारणा लोहियाभन्दा पृथक् थियो । किनभने, त्यतिबेला नेपालमा पढेलेखेका मान्छे निकै कम थिए । जति थिए, त्यसको ठूलो हिस्सा प्रजातान्त्रिक शक्तिभन्दा दरबारसँग निकट थिए । यस्तो अवस्थामा प्रजातन्त्रप्रति निष्ठा राख्ने र प्रजातान्त्रिक आन्दोलनमा होमिएका व्यक्तिलाई च्याप्नु बीपीको बाध्यता पनि थियो । भारतमा लामो निर्वासनका क्रममा कोइराला परिवारले त्यहीँ राम्रो शिक्षादीक्षाको अवसर पायो, जो ०१५ सालमा बीपी कोइरालाको सरकारमा पनि प्रतिविम्बित भयो ।
इतिहासका यस्ता थुप्रै लेखाजोखा र तथ्यका बीच नेपाली कांग्रेसको १३औँ महाधिवेशन फागुन २०–२३ गते काठमाडौँमा हुँदैछ । ०६७ मा काठमाडौँमै भएको १२औँ महाधिवेशनभन्दा धेरै अर्थमा यसपटकको महाधिवेशन सकस र अर्थपूर्ण हुने देखिन्छ । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य सुजाता कोइरालाबाहेक कुनै नेताले सभापति पदमा आफ्नो ठोस उम्मेदवारी सार्वजनिक गरिसकेका छैनन् ।
वर्तमान सभापति सुशील कोइरालाको मौनताले माहौललाई थप रहस्यमय बनाएको छ । उनले यसअघि आफू एक कार्यकालका लागि मात्र सभापति बन्ने घोषणा गरेका थिए । तर, सुशीलको उम्मेदवारी दोस्रोपल्ट हुने सम्भावना यसकारण पनि बलियो देखिन्छ कि उनी कोइराला परिवारको राजनीतिक बिँडोलाई अर्को पुस्तामा हस्तान्तरण गर्न चाहन्छन् । तर, कसलाई भन्नेचाहिँ अहिलेसम्म खुलेको छैन ।
हाल कोइराला परिवारको अर्को पुस्ताका बीपी–पुत्र शशांक, केशव–पुत्र शेखर र गिरिजाप्रसाद–पुत्री सुजाता कांग्रेस राजनीतिमा सक्रिय छन् । पार्टी केन्द्रीय सदस्य रहेका यी तीनै जनाका आ–आफ्नै गुण छन् । तर, उनीहरूमा पार्टी हाँक्न सक्ने क्षमता विकास नभइसकेको धेरैको बुझाइ छ । त्यसैले पनि यसपटक फेरि सुशीलको उम्मेदवारीलाई प्रबल मानिएको छ । फेरि, सुशीलबाहेक घरबाहिरबाट अरूलाई उम्मेदवार बनाउँदा कोइराला परिवारको राजनीतिक विरासत अन्यत्र सर्न सक्ने सम्भावनाको सूक्ष्म अध्ययन गर्नेको पनि कमी छैन ।
कोइराला परिवारको विरासत
बीपीले नेतृत्व गरेको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशमशेर राणाको नेपाल प्रजातान्त्रिक कांग्रेस ‘मर्ज’ भएर ००३ सालमा भारतको कोलकातामा नेपाली कांग्रेस स्थापना भएको थियो । त्यसैले स्थापनाकालदेखि नै कांग्रेसभित्र नेतृत्वलाई लिएर स्पष्ट रूपमा दुई धार देखा पर्दै आइरहेको छ । त्यसमध्ये एउटा धारको अगुवाइ कोइराला परिवारले गर्ने र अर्को धार कोइरालाइतरका नेताहरूले । ०३३ सालमा सुवर्णशमशेरको निधन नहुँदासम्म पार्टीभित्र दुई धार प्रस्टै थियो ।
०३९ सालमा बीपीको निधन हुँदा त्यो धार ‘ट्रोइका’को अवधारणामा दुईबाट तीनमा परिणत भयो, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका रूपमा । तर, त्यहाँ पनि गणेशमान–कृष्णप्रसादको एउटा धार र गिरिजाप्रसादको अर्को धार थियो । तैपनि, ०४६ सालसम्म नेतृत्वका विषयमा यी तीनै नेताबीच ठूलो विवाद थिएन । तर, जब प्रजातन्त्र पुन:बहाली भयो, तब पार्टीभित्र कोइराला र कोइरालाइतरको राजनीतिले पुन: स्थान पायो । ०५९ सालमा शेरबहादुर देउवाले पार्टी फुटाउँदादेखि अहिलेसम्म कोइराला परिवारको राजनीतिक विरासतमा ठूलो उथल–पुथल आइसकेको छ ।
अझ, ०६६ सालमा गिरिजाप्रसादको निधनपछि नेतृत्वको विषयलाई लिएर कोइराला परिवारभित्र आ–आफ्नै दाबी र सक्रियता छ । केन्द्रीय सदस्य महेश आचार्य कृष्णप्रसाद कोइरालादेखि सुरु भएको कोइराला परिवारको राजनीतिमा उनको परिवारले आफ्नो भूमिका खोज्नुलाई अन्यथा मान्दैनन् । तर, उनी हालको समसामयिक राजनीतिमा पार्टीलाई एकजुट राख्न सक्ने क्षमतावान् नेता नै अगाडि बढ्ने बताउँछन् । भन्छन्, “खुला राजनीतिमा नेतृत्व चयनको आधार बदलिँदै जान्छ । त्यसैले पार्टीको नेतृत्व कसले गर्ने भन्ने कुरा उसको क्षमताले निर्धारण गर्छ ।”
०४६ सालपछिको प्रयोग
प्रजातन्त्र पुन:स्थापनापछि कोइराला परिवारमा नेतृत्वका लागि थुप्रै प्रयोग भए । तर, त्यो प्रयोग राजनीतिको कसीमा सफल हुन सकेनन् । सबैभन्दा पहिले बीपीका ज्येष्ठ पुत्र प्रकाशलाई गिरिजाप्रसादपछि कोइराला वंशको उत्तराधिकारीका रूपमा अगाडि बढाउने प्रयास भयो । तर, ०६१ सालको शाहीकालमा उनी राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्मा पर्यावरण, विज्ञान तथा प्रविधिमन्त्री बन्न पुगेपछि सबै सम्भावना तुहियो ।
पार्टीका सर्वोच्च नेता गणेशमान सिंहको चर्को विरोधका बाबजुद ०४९ सालमा गिरिजाप्रसादले सुनसरीस्थित क्षेत्र नम्बर–४ प्रकाशलाई छाडेका थिए । त्यहाँबाट उपनिर्वाचन जितेर उनी वनमन्त्री पनि भए । तर, उनलाई जुन उद्देश्यका साथ अगाडि बढाउन खोजिएको थियो, त्यो पूरा भएन । “परिवारभित्रबाटै राजनीतिक प्रतिस्पर्धा सुरु भएपछि उनले बीपीको साख जोगाउन नसकेका हुन्,” कोइराला परिवारका निकटस्थ एवं गिरिजाप्रसादको सुनसरीस्थित निर्वाचन क्षेत्रको कमान्डर भएर अन्तिमसम्म खटिएका कुमुद लोहनी भन्छन् ।
०४६ सालपछि नेपाली राजनीतिमा कोइराला परिवारबाट प्रकाशबाहेक बीपीका भाइ केशव–नोना कोइरालाका दुवै छोरा निरञ्जन र शेखर प्रवेश गरे । निरञ्जनलाई पर्यटन मन्त्रालयको सल्लाहकारमा नियुक्त गर्दै राजनीतिमा ल्याउने प्रयास भएको थियो । शेखर पहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए । गिरिजाप्रसादको प्रधानमन्त्रित्वकालमा भाउजू नोनाको प्रभाव अत्यधिक भएको लोहनी बताउँछन् । अर्कोतिर सुजाता आफ्नी आमा सुषमा कोइरालाका नाममा समाजसेवा गर्ने भनेर जर्मनीबाट नेपाल नफर्किंदासम्म नोना र गिरिजाप्रसादबीच कोइराला परिवारको राजनीतिक विरासत शेखरमार्फत अगाडि बढाउने भद्र सहमति भएको उनको भनाइ छ । “तर, नोना भाउजूलाई मन नपराउनेहरूले सुजातालाई उचाले,” उनी भन्छन्, “अझ, उनी राजनीतिमै सक्रिय हुन थालेपछि परिवारभित्र एक प्रकारको संघर्ष नै सुरु भयो ।”
गिरिजाप्रसादको प्रधानमन्त्रित्वकालमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भाउजू नोना र छोरी सुजाताबीच मनमुटाव चर्कियो । गिरिजाप्रसादले जीवनको अन्त्यतिर शेखरलाई भन्दा आफ्नी छोरीको राजनीतिक उचाइलाई माथि उठाउन गरेको प्रयासले भाउजू नोना निकै दु:खी थिइन् । गिरिजाप्रसादले त्यतिबेला सुजातालाई पार्टीका तर्फबाट नेतृत्व गराउँदै उपप्रधानमन्त्रीका रूपमा सरकारमा पठाएका थिए । कोइराला परिवारका निकटस्थ व्यक्तिहरू आजीवन गिरिजाप्रसादलाई सघाएकी भाउजू नोनाका लागि त्यो निर्णय स्तब्ध पार्ने खालको रहेको बताउँछन् ।
प्रजातन्त्रको पुन:बहालीपछि बीपीका साहिँला भाइ तारिणीप्रसादका छोरा ज्योति पनि अप्रत्यक्ष राजनीतिमा संलग्न भएका थिए । उनी ०४८ सालमा पहिलोपल्ट गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिए । तर, करिब तीन हजार कर्मचारीको जागिर खोसेको काण्डमा उनको भूमिका नकारात्मक रहेपछि काकाकै कोपभाजनको सिकार बन्न पुगे । ज्योतिका बहिनीज्वाइँ लक्ष्मण बस्नेतलाई पञ्चायतकालमै विराटनगर नगरपञ्चायतको प्रधानपञ्चमा उठाउन ०४३ सालमा अमेरिकाबाट झिकाइएको थियो । त्यतिबेला कांग्रेसले पञ्चायतको स्थानीय तहमा प्रवेश गर्दै प्रजातान्त्रिक व्यवस्थाका लागि विद्रोह गर्ने नीति बनाएको थियो । तर, विराटनगरमा काग्रेसका थुप्रै वरिष्ठ नेता हुँदाहुँदै बस्नेतलाई अमेरिकाबाट झिकाएको विषयमा पार्टीमा नकारात्मक प्रचार भयो । परिणाम, बस्नेत पराजित भए । तर, उनलाई ०४६ सालपछि सीधै ट्रेड युनियन कांग्रेसको अध्यक्षमा नियुक्त गरियो । करिब दुई दशक उनी अविचलित ट्रेड युनियनबाट कांग्रेस राजनीतिमा सक्रिय रहे । अहिले ट्रेड युनियनमा छैनन् तर कांग्रेस राजनीतिमा चाहिँ सक्रिय छन् ।
बीपी र गिरिजाप्रसादकी दिदी इन्दिरा आचार्यकी छोरी मधु (शैलेजा आचार्यकी बहिनी)सँग विवाह गरेका कांग्रेस नेता चक्र बाँस्तोला, जो प्रजातान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक लागेका थिए, ०४६ सालपछि भारतका लागि राजदूत र पछि मन्त्री भए । कुनै बेला गिरिजाप्रसादपछि पार्टी सभापतिको उम्मेदवार मान्नेको कमी पनि थिएन, उनलाई । तर, आफ्नो कुरामा अडिने र आलोचना गर्न पनि पछि नहट्ने बानीका कारण उनी पार्टीको राजनीतिमा केन्द्रीय सदस्यभन्दा माथि उठ्न सकेनन् । पछि, गिरिजाप्रसाद स्वयंले नै उनलाई किनारा लगाइदिए । अहिले मस्तिष्कघातका कारण बिरामी परेका उनी राजनीतिबाट टाढा छन् ।
भान्जी शैलजा आचार्यलाई त झन् गिरिजाप्रसाद जीवित रहँदै कोइराला विरासतको दह्रो प्रतिद्वन्द्वी मानिन्थ्यो । तर, स्पष्ट वक्ता तथा बीपीको नीतिमा चट्टानझैँ अडिग रहने कारण उनलाई परिवारभित्र सुरुदेखि नै विद्रोही प्रतिद्वन्द्वीका रूपमा चित्रण गर्न थालियो, जसका कारण उनी पनि वरिष्ठ नेताभन्दा माथि उठ्न सकिनन् । उनकै बहिनी–ज्वाइँ दिलबहादुर घर्ती अहिले पार्टीका विभिन्न पदमा बसेर काम गरिरहेका छन् । कुमुद लोहनी भन्छन्, “राजनीतिमा स्थापित गराउन कोइराला परिवारभित्र धेरै व्यक्तिको प्रयोग भयो । कति आफ्नो खुबी अनुसार राजनीति गरिरहेका पनि छन् । कतिचाहिँ राजनीतिक संस्कारको अभावमा बीचैमा हराए ।”
कोइराला परिवारले पछिल्लो समय सुशीललाई नेतृत्वमा स्थापित गराउनुको कारण गिरिजाप्रसादको बलियो उत्ताधिकारीका रूपमा परिवारका अन्य कुनै सदस्य देखा नपर्नुलाई नै मानिन्छ । गिरिजाप्रसादले छोरी सुजातालाई राजनीतिक रूपमा अगाडि बढाउन नखोजेका होइनन्, उपप्रधानमन्त्री बनाएर । तर, पार्टीको नेतृत्व गर्ने सवालमा सुजाता कमजोर नै देखिइन् । र, गिरिजाप्रसादले अन्तिम
समयमा सुशीललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिए ।
०१५ सालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय सुशीललाई राजनीतिक रूपमा अगाडि बढाउने कुरामा गिरिजाप्रसादले सुरुका दिन खासै चासो देखाएका थिएनन् । त्यतिखेर सुशील रणनीति बुन्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने गरी गिरिजाप्रसादलाई सघाउँथे । यति निकटको सहयोगी भए पनि सुशीलले उत्तराधिकारीका रूपमा पार्टी चलाउन सक्छन् भन्ने उनलाई लाग्दैनथ्यो । कृष्णप्रसाद भट्टराईसँग बिग्रिएको सम्बन्ध तथा भट्टराईले आफ्नो उत्तराधिकारीका रूपमा शेरबहादुर देउवालाई अगाडि सारेपछि झस्किएका गिरिजाप्रसादले लाभको पद नलिएका सुशीललाई च्याप्नु उनको बाध्यता थियो । अरूको तुलनामा सुशीलसँग संगठनमा बसेर लामो समय काम गरेको अनुभव थियो । त्यसमा पनि पदको लाभ नलिएको छवि थियो सुशीलको । हुन पनि उनले कहिल्यै कुनै मन्त्री बन्नका लागि आफ्नो दाबी गरेनन् । यसको फाइदा गिरिजाप्रसादलाई भयो र पछि स्वयं सुशीललाई पनि । बीपी र गिरिजाप्रसादका पिता कृष्णप्रसाद कोइरालाको वंशजलाई प्रतिनिधित्व गर्दैनन्, सुशील । उनी गिरिजाप्रसादकी आमा दिव्याकुमारीकी साहिँली बहिनी कुमुदिनीदेवीका छोरा हुन् ।
गिरिजाप्रसादले थुप्रै प्रयोग गरे । दुई कार्यकाल मात्र सभापति बन्न पाउने पार्टी विधानमा संशोधन गराएर कार्यकालको बन्देज हटाए । कोइराला परिवारको राजनीतिलाई नजिकबाट नियालेका गिरिजाप्रसादका तत्कालीन एक सल्लाहकार भन्छन्, “आफूपछि नेतृत्वमा शेरबहादुर र रामचन्द्रको सम्भावना देखिएका कारण पनि उनले १४ वर्ष सभापति पद अड् याएर राखेको हुन सक्छ ।”
सुजाता, शेखर र शशांकको भविष्य
सुशीलपछि कोइराला परिवारको उत्तराधिकारी को त ? यो प्रश्न निकै पेचिलो छ यतिबेला । कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल आशन्न महाधिवेशन सभापति सुशील, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलका लागि अन्तिम हुन सक्ने बताउँछन् । त्यसैले उनी सुशीलपछि कोइराला परिवारको राजनीतिक विरासतलाई कसले हाँक्ने भन्ने विषयमा अन्यथा मान्नु नपर्ने तर्क गर्छन् । भन्छन्, “यसमा कसैलाई भ्रम छैन । पार्टीभित्र कोइराला परिवारको ठूलो वर्चस्व छ । जसरी बीपीले आफ्नो निधनअघि पार्टीलाई बलियोसँग अगाडि लैजान सक्ने ठानेर गिरिजाबाबुलाई अघि सार्नुभयो । त्यसरी नै गिरिजाबाबुले पनि सुशीलदालाई कार्यवाहक दिएर अगाडि ल्याउनुभयो ।” उनी अहिले नेतृत्वमा आउन सक्ने सम्भावना परिवारकै अर्को पुस्ताका तीन नेता शशांक, शेखर र सुजातामा रहेको विश्लेषण पनि गर्छन् । भन्छन्, “गिरिजाबाबु र सुशीलदा जसरी आफूभन्दा सिनियर नेतासँग सामना गरेर अगाडि आउनुभयो । उहाँहरूले पनि सिनियरको सामना गर्नुपर्ने हुन्छ ।”
कांग्रेसको गढ मानिने मोरङमा सुजाता र शेखर अहिले आफ्नो राजनीतिक सुनिश्चितता खोजिरहेका छन् । संविधानसभाको दोस्रो निर्वाचनमा शेखर मोरङको क्षेत्र नम्बर–७ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । सुजाताले गिरिजाप्रसादको सुनसरीस्थित निर्वाचन क्षेत्र नम्बर–४ बाट राजनीति सुरु गरेकी थिइन् ।
तर, संविधानसभाको पहिलो निर्वाचनमा पराजय भोगेपछि उनी यतिबेला गिरिजाप्रसादको विराटनगरस्थित निर्वाचन क्षेत्र नम्बर–१ मा सक्रिय हुन खोज्दै छिन् । त्यसैले भविष्यमा यी दुई नेताको उत्तराधिकारीका लागि घरबाटै लडाइँ सुरु हुने देखिन्छ । यी दाजुबहिनीको तुलनामा नवलपरासीबाट राजनीति गरिरहेका शशांक केही भाग्यमानी मानिन्छन् । तर, राष्ट्रिय राजनीतिमा उनले पनि सुजाता र शेखरसँगै प्रतिस्पर्धा गर्नुपर्ने पक्का छ ।
काग्रेसको एउटा जमात शशांकमा उनका पिता बीपीको अनुहार देख्छ । तर, उनले अडानको राजनीति गर्न नसकेको ठम्याइ छ, धेरैको । ०६६ सालको संविधानसभा निर्वाचनमा उनी कोइराला परिवारबाट निर्वाचन जित्ने एक्ला सदस्य थिए । पार्टीको गत महाधिवेशनमा सुशीलले एक कार्यकालका लागि मात्र आफू उठ्ने घोषणा गर्नु शशांकलाई नेतृत्वमा स्थापित गर्न खोजेको अभियानका रूपमा हेर्छन्, विश्लेषकहरू । तर, सुशीलले जति नै शशांकलाई नेतृत्वमा स्थापित गर्न खोजे पनि उनी त्यो क्षमता प्रदर्शन गर्न सकिरहेका छैनन् । कसैलाई नबिझाउने स्वभावका शशांक राजनीतिमा बलियोसँग खुट्टा टेक्न सकिरहेका छैनन्, यो नै उनको ठूलो कमजोरी हो ।
सुजातामा पनि धेरै कांग्रेसीहरू गिरिजाप्रसादको अनुहार देख्छन् । गिरिजाप्रसादले आफ्नो अन्तिम कालमा सुशीललाई कार्यवाहक सभापति बनाउनुका पछाडि सुजातालाई नेतृत्वमा स्थापित गराउने उद्देश्य राखेको हुन सक्ने तर्क पनि छ, काग्रेसी वृत्तमा । सुजाताले १४ माघमा गृहनगर विराटनगरबाट कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । तर, त्यसलाई उनको ‘बार्गेनिङ’को राजनीतिका रूपमा हेर्नेहरू धेरै छन् । पछिल्लो समय कार्यकर्ता भेटघाटलाई तीव्र बनाएकी सुजाता भने विरासतभन्दा पनि काग्रेसको नेतृत्व युवा शक्तिमा हस्तान्तरण गर्ने कडीका रूपमा आफू उभिन लागेको बताउँछिन् ।
शेखरले कार्यकर्ता पंक्तिमा राम्रो छाप बनाएका छन् । उनी राजनीतिक मामिलामा प्रस्ट दृष्टिकोण त राख्छन् नै, गम्भीरता पनि उनको पुँजी हो । तर, उनमा शशांक र सुजाताजस्तो बीपी वा गिरिजाप्रसादको ‘लिगेसी’ नभएको मान्नेहरूको कमी छैन । यद्यपि, उनले कुनै पदमा उम्मेदवारीको घोषणा गरेका छैनन् ।
कांग्रेसको नेतृत्व फेरि पनि लिगेसी बोकेको कोइराला परिवारबाटै होला त ? कांग्रेसका पुराना नेता एवं पूर्वमहामन्त्री कुलबहादुर गुरुङ राजनीतिमा नेतृत्व भनेको व्यक्तिको क्षमताले निर्धारण गर्ने बताउँछन् । भन्छन्, “त्यसैले बीपीको क्षमतालाई राजनीतिक विरासतका रूपमा अगाडि बढाउनु भनेको चानचुने कुरा पक्कै होइन । यसका लागि अध्ययन, कार्यकौशलता, अन्तर्राष्ट्रिय राजनीतिको ज्ञान, कार्यकर्ताको दु:खमा हातेमालो गर्न सक्ने क्षमता नेतृत्वमा हुनुपर्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...