अपराधको इपिसेन्टर विराटनगर सीमा
लागूऔषध, देहव्यापार र हतियारको स्थायी अखडा
विराटनगरको सीमा प्रहरी चौकीदेखि पश्चिम–दक्षिणको एक किमि टाढा टिकुलिया बस्तीमा यत्रतत्र सिरिन्ज र सिसी फालिएका भेटिन्छन् । बिहारको अररिया जिल्लामा पर्ने जोगबनी नगरपालिकास्थित यो बस्ती दुव्र्यसनीको अखडाका रूपमा बदनाम छ । प्रसंग यहीँ टुगिँदैन । जोगबनी नाकादेखि दुई किमि पश्चिम रेल्वे ट्रयाकको छेउ पनि नेपाली युवा उत्तिकै हुन्छन् । झन्डै पाँच सय मिटरसम्म फैलिएको यो क्षेत्रको सडकको दुवैतिर एक्लै वा समूहमा महिला बसेका हुन्छन् ।
पक्की, टिन र कच्ची घरबाहिर मोलमोलाइपछि भित्रपट्टिको कोठामा आउने/जाने क्रम चलिरहन्छ । कान्छी बजारका नाममा चिनिने यस क्षेत्रमा नवआगन्तुकलाई यौनकर्मीले सोधिहाल्छन्, ‘भित्र जाने हो ?’ यौन मण्डीदेखि ठीक पछिल्तिर लोहिया वा हाजी टोला नामको आवासीय क्षेत्र छ । नयाँबस्ती, नयाँ टोला र महेश्वरी नामले पनि चिनिने ५० वर्ष पुरानो यो बस्तीमा घर भएका, बहाल तिरेर कारोबार गर्ने र दलालको मातहतमा काम गर्ने तीन वर्गका यौन व्यवसायी छन् ।
राम्रो जीउडाल भएका, अविवाहित, निरोगी र पढेलेखेका यौनकर्मीे आफूलाई ‘ए’ ग्रेड सम्झन्छन् भने विवाहित र सन्तान भएकाले ‘बी’ ग्रेड र अलिक पाकोले ‘सी’ ग्रेड । अधिकांश यौन व्यवसायी बिहारको कटिहार, त्रिपुरा, असम, पश्चिम बंगाल र दक्षिण भारतका हुन् । देह व्यापारलाई पुर्खौली पेसा बनाएका उनीहरू मुख्य सहरका ठूलठूला यौन बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि स–साना बजार, नगर र बस्तीतिर सरेका हुन् ।
स्थानीय र यौनकर्मीहरूबीच एकअर्कालाई असर नपार्ने अलिखित सम्झौताजस्तै छ । त्यसको उल्लंघन भए मात्र प्रहरीमा गुनासो पुग्छ र लोकलाज र औपचारिकताका लागि बेलाबेलामा छापा मार्छ पनि । “१० वर्षअघिसम्म झुपडी मात्र थियो, मनग्यै पैसा कमाएर धेरै यौनकर्मीले पक्की घर ठड्याएका छन्,” स्थानीय ताज हाजीले भने, “प्रहरीले छापा मार्दा लुक्छन्, फेरि आउँछन् ।”
एक पान पसलेले विहार सीमाभित्र औषधिजन्य लागूपदार्थ, साना हतियार र भनेजस्तो यौनकर्मी उपलब्ध गराउने दाबी गरे । नेपालतिर आउन लागेको मालवाहक सवारीको लाम लागेको इमलीगाछी क्षेत्रको एक खेतमा लगेर उनले विभिन्नथरीका कटुवा पेस्तोल पनि देखाए ।
स्थानीयको भनाइमा लागू पदार्थ किन्न जानेमा अधिकांश वारिकै युवा छन् । घरेलु हतियार किन्न जाने भने दुवैतिरका आपराधिक समूह हुन्छन् । “बिहारीभन्दा नेपाली अनुशासित हुन्छन्, पैसाका कुरामा किचकिच गर्दैनन्,” एक दलालले भने, “सेवा दिनेको रोजाइमा नेपालकै
ग्राहक पर्छन् ।”
यहाँ हतियार व्यापारी, देह व्यवसायी र लागूऔषधका कारोबारीले कमिसनको प्रलोभन दिएर दुव्र्यसनीलाई दलालका रूपमा समेत प्रयोग गर्दै आएका छन् । बिहारको प्रमुख सहर अररिया, फारबीसगन्ज, बहादुरगन्ज, किसनगन्ज र राजधानी पटनासम्म यसका सूत्रहरू जोडिएका छन् । तर, कारोबारी र कोठी सञ्चालकको राजनीतिक पहुँचका कारण सुरक्षा संयन्त्र निरीह छ । “औपचारिक उजुरी कसैले गरेको छैन,” रानीस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक गंगा पौडेलले भने, “बाह्य सूचनाका आधारमा हालै यस्तो कार्यमा लागेका एक नेपालीलाई भने पक्राउ गरेर कारबाही गरिएको छ ।”
जानकारहरूका अनुसार यसको नेटवर्क पूरै भारतमा रहेकाले कहिल्यै पूर्णतया बन्देज लागेन । यताका उता जान्छन् र उताका यता आउँछन् । “कस्ता कस्ता नेता र प्रहरीले तागत लगाउँदा त हटाउन सकेनन्, हामीले के सक्छौँ ?” स्थानीय चन्देश्वर गुप्ता लाचारी प्रकट गर्छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...