धौलागिरि आधार शिविरमा फोहोरको रास
धौलागिरि आधार शिविरमा फोहोरको डंगुर
खानाका बट्टा, अक्सिजनका सिलिन्डर, बियरका बोतल, चियाका थर्मस, भरियाका डोका, खादा जथाभावी फालिएका छन् । दुर्घटनाग्रस्त हेलिकप्टरका भग्नावशेषदेखि उद्दारका लागि जाँदा पुर्याइएका गाडीका टायरसम्म यत्रतत्र छरिएका छन् ।
यी कुनै पनि वस्तु उठाउने वा पन्छाउने फुर्सद कसैलाई छैन । बरू, जो पुग्छ, उसले कुनै न कुनै फोहोररूपी चिनो छाडेरै फर्किन्छ । मानौँ, यहाँ फोहोर–कसिंगर जहाँसुकै फाल्न छुट छ ।
यो दृश्य हो, धौलागिरि पदमार्ग अन्तर्गत पर्ने धौलागिरि आधार शिविरको । पर्यटक र तिनका सहयोगीले फालेका फोहोरका कारण धौलागिरिको आधार शिविर ‘डम्पिङ साइट’मा परिणत भएको छ ।
रमणीय पदमार्ग भएकाले देश–विदेशबाट आएका पर्यटक आधार शिविरमा रमाइलो गर्न पुग्छन् । तर, तिनले गरेका फोहोरको व्यवस्थापनमा कसैले ध्यान दिएको छैन ।
सरकार र स्थानीयको ध्यान पुग्न नसकेको फाइदा उठाउँदै ट्रेकिङ व्यवसायीहरूले आधार शिविरमै फोहोर फाल्ने गरेका हुन् । आफूले लगेको फोहोर उहीँ छाडे पनि गाविसमा आफ्नो फोहोर आफैँ फिर्ता ल्याएको सिफारिस गराउन भने उनीहरू बिर्संदैनन् ।
“धौलागिरि पदमार्गमा सरकारको चासो नपुग्दा ट्रेकिङ व्यवसायीले बेस क्याम्पमा फोहोर फाल्छन् र गाविस सचिवलाई प्रभावमा पारेर आफ्नो फोहोर आफैँ फिर्ता ल्याएको सिफारिस गराउँछन्,” मुदीस्थित धौलागिरि युवा क्लबका अध्यक्ष गलेश पुन भन्छन् ।
मुदी–९, म्याग्दीमा पर्ने धौलागिरि हिमाल आठ हजार मिटर अग्ला हिमालमध्ये आरोहणको हिसाबले सबभन्दा कान्छो हो । सन् १८०८ मा भारतस्थित बेलायती सर्भे टिमले ८ हजार १ सय ४७ मिटर उचाइ रहेको पत्ता लगाएको धौलागिरि पर्वत शृंखलामा १० वटा हिमाल छन्, जहाँ पहिलोपल्ट सन् १९६० मा दुई नेपालीसमेत स्वीस तथा अस्ट्रेलियाली दलले पूर्वी मोहडाबाट आरोहण गरेको थियो । मानव पाइला टेकेको ५६ वर्ष पुग्दा चार सय जनाले धौलागिरि आरोहण गरेका छन् ।
क्याम्प ट्रेक गरिने यस रुटमा अब टी हाउस तथा ब्याकप्याक ट्रेक सुरु भएको छ । क्याम्प ट्ेरक महँगो हुने भएकाले व्यक्तिगत तर एड्भेन्चर रुचाउने पर्यटकले धौलागिरिको इटाली क्याम्पसम्म होटलवास, त्यसमाथि स्वीस क्याम्प, जापानिज क्याम्प, ग्यासियर क्याम्प र तल्लो आधार शिविरसम्म ब्याकप्याक ट्रेक सजिलै गर्न सम्भव रहेको धौलागिरि पर्यटन विकास परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँ औँल्याउँछन् ।
“फोहोरमैलाले पर्यटन क्षेत्रकै बदनामी भएको छ,” हालै आधार शिविर पुगेका बानियाँ भन्छन्, “वातावरणीय पक्षमा सरोकारवालाले ध्यान नपुर्याउने हो भने पर्यटन तथा पर्यावरण दुवै समस्यामा पर्छन् ।”
पहिलो आधार शिविर ४ हजार ४७ मिटर उचाइमा छ । पाँच हजार मिटरमाथि सीता चुचुरो र धौलागिरि प्रथमको फेदीमा दोस्रो शिविर छ । यहीँबाट चक्रिय पदयात्रा र धौलागिरि प्रथम आरोहण मार्ग छुट्टिन्छ ।
घडीको सुई घुमेझैँ धौलागिरि पाँचौँ, मानापाथी, फेन्चपास, मुकुट हिमाल, सीता चुचुरो, धौलागिरि प्रथम र टुक्चेपिक गोलाकार उभिएका छन् । एउटा हातलाई अञ्जुली बनाउँदाजस्तै खोपिल्टो छ, धौलागिरि बेस क्याम्प । यही क्याम्पदेखि करिब पाँच किलोमिटर तलसम्म लत्रेको छ, धौलागिरि ग्लेसियर ।
धौलागिरि पदमार्ग पर्यटकीय पूर्वाधार र व्यवस्थापनका हिसाबले अत्यन्तै नाजुक छ । इटाली बेस क्याम्पमा रहेको मौसमी होटलका सञ्चालक हरिबहादुर तिलिजा फोहोर फिर्ता लैजाऊ भन्दा ट्ेरकिङ व्यवसायीले अटेर गर्ने गुनासो सुनाउँछन् । भन्छन्, “सरकारका प्रतिनिधिले अनुगमन गर्ने र कारबाही गर्ने नहुँदा धौलागिरि डम्पिङ साइट भइसक्यो ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...