दलनको बर्बर शृंखला
दलित परिवारमा जन्मेकै कारण आततायी यातनाको सिकार
आठ वर्षयता देशका विभिन्न ठाउँ डुल्दाघुम्दा मलाई लागेको छ, हामीभित्र गढेर बसेको कथित उच्च र निम्न जातको संकीर्ण र अमानवीय सोच ज्यूँका त्यूँ छ । मुखले त हामी गणतन्त्र, समानता, समता, न्याय जप्छौँ तर हाम्रो व्यवहार भने यति आततायी छ कि आजको २१औँ शताब्दीमा पनि हामी निर्दाेष दलित समुदायलाई गुहुमुत खुवाइरहेका छौँ, बर्बर तरिकाले हत्या गरिरहेका छौँ । उदेकलाग्दो पक्ष त के छ भने यस्ता घटनामा आफूलाई परिवर्तनकामी भन्ने दलका नेता–कार्यकर्ता, विवेकशील भनिएका शिक्षक, कारबाही गर्नुपर्ने पुलिस–प्रशासन र स्थानीय स्तरमै विरोध गर्नुपर्ने हाम्रो समाज रमिते हुन्छ । दलितको हकहितका लागि खुलेका सरकारी र गैरसरकारी संस्थाहरू पनि घटनापछि विज्ञप्ति निकाल्न र मिडियामा ठूलठूलो स्वरले आफैँ प्रदर्शित हुन मात्र चाहिरहेको देखिन्छ । यसमा यो वा त्यो पक्षलाई दोष दिएर पानीमाथिको ओभानो हुनेभन्दा पनि एउटा सशक्त सांस्कृतिक क्रान्तिका लागि सबैले हातेमालो गर्न जरुरी छ । केही प्रमाणित प्रतिनिधि घटना–अध्ययन लिऊँ :
१५ भदौमा दैलेख सदरमुकाममा सन्तबहादुर दमाई, २७, भेटिए । बाबुको तिथि बारेर सदरमुकाम आएका उनलाई मैले उनको गाउँनजिकै रहेको तामेखोलाको बगरमा खिचेको तस्बिर देखाएँ । तस्बिरमा जलाउन ठिक्क पारिएको लासमाथि घोप्टो परेर बिलौना गरिरहेकी उनकै आमा (अमृता दमाई) र आँखा पुछ्दै हातमा स्याउला छोपेर रोइरहेका उनै छन् । तस्बिर हेरेपछि मेरो हात चपक्क समातेर बरर आँसु मात्र खसाले । एक शब्द बोल्न सकेनन् । दैलेख, तोली–२, धनीगाउँका उनै सन्तबहादुर र छिमेकी भक्तबहादुर शाही (ठकुरी)की छोरी राजकुमारी शाहीसँग प्रेम सम्बन्ध थियो । सम्बन्ध छुटाउन जति खोजे पनि उनीहरूको प्रेम टुट्न सकेन । आखिर २८ साउन ०६८ मा उनीहरूले भागेर विवाह गरे ।
विवाहपछि पनि उनीहरूलाई छुटाउन केटी पक्षले जोरजुलुम गर्यो । कसैको केही चलेन । अन्त्यमा राजकुमारीकी फुपू तथा नेपाल पत्रकार महासंघ, दैलेख शाखाका पूर्वकोषाध्यक्ष बिन्दकला शाहीले सन्तबहादुर र राजकुमारीको ज्यानै लिने योजनासहित रातको समयमा सन्तबहादुरको परिवारमाथि आक्रमण गराइन् । आक्रमणमा नवविवाहित छोरा–बुहारीलाई जोगाउन खोज्दा सन्तबहादुरका बाबु सेते दमाईको छातीमै खुकुरी रोपेर आक्रमणकारीहरू भागे । घटनाको भोलिपल्ट उनलाई उपचारका लागि सदरमुकाम लगियो । तर, त्यहाँ उपचार हुन नसकेपछि क्षेत्रीय अस्पताल सुर्खेत पुर्याइएका सेतेको १४ भदौको राती ज्यान गयो । स्मरणीय छ, सेतेको मृत्युभन्दा ठीक तीन महिनाअघि सरकारले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लागू गरेको थियो ।
सन्तबहादुरसँग भेट भएको भोलिपल्ट १६ भदौमा जिल्ला विकास समितिको कार्यालयमा ‘मानव अधिकार र आत्मसम्मानका लागि सामूहिक आवाज’को नारासहित मिडिया संवाद कार्यक्रम हुँदै थियो । करिब ८० जना सहभागी रहेको कार्यक्रमका वक्ता थिए, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, जिल्ला प्रहरी प्रमुख केदार रजौरे र मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष खड्ग सिजापती ।
संवादका क्रममा उमेरले ६० कटेजस्ती देखिने महिलाले रुँदै आफ्नो १४ वर्षको छोराको जन्मदर्ता नभएको गुनासो गरिन् । प्रजिअले समस्याको समाधान गरिदिने आश्वासन दिए । तर, त्यो १४ वर्षको बालकले बिनासित्तैँमा दु:ख पाउनुको कहानी भने बेग्लै थियो । बडाभैरव–४, दैलेखकी सीता विश्वकर्मा, ४८, लाई १४ वर्षअघि घाँस काट्न गएका बेला बडाभैरव–५ का नरबहादुर थापा, ५४, ले बलात्कार गरे । गर्भ रहेपछि उनले सीतालाई स्थानीय गंगाबहादुर विक, ६९, को साथ लगाइदिए । यसबापत गंगाबहादुरले ६० हजार रुपियाँ नगद पाए र नरबहादुरको गर्भसहितकी सीतालाई स्वीकारे ।
गंगाबहादुरसँग बस्दै गर्दा सीताले गएको १३ वर्षमा अरू तीन छोरीसमेत जन्माइन् । गंगाबहादुरले छोरीहरूको जन्मदर्ता गराइदिए तर गोपाल आफ्नो छोरा नभएको र आफूले अंश दिन नसक्ने भन्दै जन्मदर्ता गरिदिएनन् । हाल माइतीमै रहेकी सीता सदरमुकाममा छोरासहित न्यायका लागि रुँदै भौँतारिइरहेकी छन् ।
२५ असारमा काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–६ का अजित मिजार, १७, र सोही जिल्ला ज्याम्दी–८ की एक गैरदलित समुदायकी युवतीले प्रेमविवाह गरे । उनीहरूलाई दुई दिनपछि इलाका प्रहरी कार्यालय, पाँचखालले उमेर नपुगेको भन्दै केटा वा केटीको ज्यान तलमाथि भएमा कोही जवाफदेही नहुने बेहोरासहितको लिखित सहमति गराई अभिभावकको जिम्मा लगाइदियो । त्यसको दुई दिनपछि मलेखु बजारको ठ्याक्कै पारि धादिङ, कुम्पुर–३, स्थित एक ठाँटीमा घुँडाले भुइँ छोएको अवस्थामा प्रहरी बिटको सय मिटर पर एक युवकको लास भेटियो ।
प्रहरीले नै लास गन्हाएको भन्दै झूटो पोस्टमार्टम गरी फुर्के खोलाको बगरमा बर्खाको बाढीले बगाउन सक्ने गरी गाडिदियो । अजितका परिवार छोरा खोज्दै धादिङ पुगे । र, गाडिएको लास हेर्न प्रहरीसँग अनुरोध गरे । गाडिएको लास स्काभेटरले बाहिर निकाल्दा अजितको कपालका रौँ झरेको बाहेक न त पोस्टमार्टमको कुनै दाग थियो, न त शरीरमा कतै चोट ।
पुन: पोस्टमार्टमका लागि अजितको लास त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा ल्याइयो । पोस्टमार्टम रिपोर्टले झुन्डिएर आत्महत्या नभएको पुष्टि गर्यो । अजित मिजारको हत्या घटनामा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिसहित दलित नागरिक समाज र संयुक्त राजनीतिक दलित संघर्ष समितिले काभ्रे र राजधानीमा विरोध र्याली गरे । तर, अहिले ६ महिना हुँदासम्म पनि अजितका हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको छैन । अजितको लास अझै शिक्षण अस्पतालमै छ ।
यी त भए केही पुराना घटना । हालै मात्र २० मंसिरमा काभ्रेपलाञ्चोक, सानो बाङथली–७ की लक्ष्मी परियार, ३२, लाई मलमूत्र खुवाई कुटपिट गरे, स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामालगायतले । कुटपिटपछि उल्टै उल्टो लक्ष्मीलाई दोषी ठहर्याउँदै प्रहरीले ६ हजार रुपियाँ जरिवानासहित मिलापत्र गरायो । तर कुटपिट भएको चार दिनपछि घरबाट केही पर रहेको गोठमा लक्ष्मीको लास भेटियो । लक्ष्मी परियार हत्याविरुद्ध दलित समुदाय १ पुसमा सडकमा आयो । उनका छोरा सुमन पनि न्यायका लागि सडकमै आए । तर, आमाको मृत्युपछि हिरासतमा रहेका बाबुको समेत माया पाउन नसकेका उनी सडकमा उभिन सकेनन् । जेनतेन उनका काकाले ढाडमा बोकेर उठाए । यो पंक्तिकारले आधा खुलेका सुमनका आँखा, निन्याउरो मुख र आक्रोशले चिच्याउँदै गरेका काकाको तस्बिर खिच्न भ्यायो ।
यी केही प्रतिनिधि घटना मात्र हुन् । आफैँलाई महसुस हुन्छ, दलितहरूको आँसु कचौरामा थोपाथोपा जम्मा गरेर त्यसैको बिक्री त गरिरहेका छैनौँ हामी ? सेते, मनवीर, शिव, अजित, कुमार र लक्ष्मीहरू मारिइरहँदा हामी मौन छौँ भने के हामी सामाजिक न्याय र समताका पक्षपाती हौँ त ? कल्पना गरौँ– सेते, मनवीर, शिव, अजित, कुमार र लक्ष्मीहरू कथित उच्च जातका भएका भए के हुन्थ्यो ? अनाहकमा ज्यान जानु भनेको परिवारको कत्रो शोक हो, खै हामी र हाम्रो समाजले जोडदार र धूवाँदार विरोधको स्वर उचालेको ?
जन्मकै कारण यो हदको यातनाको सिकार भइरहँदा विरोधमा बोल्नुपर्ने दलित मात्रै कि हामी गैरदलित पनि ? यस्ता अमानवीय र आततायी हत्या, दुव्र्यहार, बलात्कार शृंखलाले हाम्रो समाज र सभ्यतालाई गिज्याइरहेको छैन र ? यदि हामी दलित परिवारमा जन्मेका भए, हाम्री आमालाई दिसा कोच्याइएको भए, प्रेम गर्दा मारिनुपरेको, भाग्नुपरेको भए, छोएको भनेर हाम्रा बाआमालाई सार्वजनिक रूपमा कसैले अपमानित गथ्र्याे भने हामीलाई कति दुख्थ्यो होला ? त्यसैले दलित भएर सोचौँ, उनीहरूले बिनाकारण पलपल भोग्नुपर्ने दुव्र्यवहार आजै अन्त्य गरौँ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...