हिमाली गाडी
जनावरलाई प्रशिक्षणचाहिँ पशुपालन व्यवसायमा संलग्न व्यवसायीले नै दिने गरेका छन् । जसलाई स्थानीय भाषामा सदाउनु भनिन्छ ।
फिदिम ।। ड्राइभिङ, हाउस वायरिङ, कुकजस्ता प्राविधिक क्षेत्रमा प्रवेश गर्नुपहिले तालिम लिनु अनिवार्य हुन्छ । प्रशिक्षण लिएर मात्र पुग्दैन, औपचारिक रूपमा काम गर्न त लाइसेन्स र प्रमाणपत्र नै हुनुपर्छ । तर, मान्छेले मात्र होइन, हिमाली क्षेत्रमा काम गर्नुपूर्व जनावरले समेत तालिम लिनुपर्छ । सुन्दा अनौठो लाग्छ तर सत्य हो कि, उच्च हिमाली भेगमा याक र जोक्पेलाई तालिम दिएपछि मात्र भारी बोकाइन्छ । नत्र त याक जति नै बलियो होस्, भारी बोकाउन कसैले विश्वासै गर्दैनन् । मोटरबाटो नपुगेको ताप्लेजुङमा मात्र होइन, गाडी दौडने पाँचथर र इलामका उच्च पहाडी र हिमाली भेगमा सामग्री ढुवानी गर्ने माध्यम भनेको याक, जोक्पे र हिमाली शेर्पाहरू मात्रै हुन् । अझ स्थानीय जातका गाईसँग याकको क्रसबाट जन्मिएको जोक्पेको त सामान ओसारपसार गर्नुबाहेक अरू काम पनि छैन ।
ती जनावरलाई प्रशिक्षणचाहिँ पशुपालन व्यवसायमा संलग्न व्यवसायीले नै दिने गरेका छन् । जसलाई स्थानीय भाषामा सदाउनु भनिन्छ । दुई वर्ष पुगेपछि याक सदाउन योग्य मानिन्छ । पाँचथर–इलामका उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षौंदेखि जोक्पेमार्फत सामग्री ढुवानी गराउँदै आएका पेम्बाछिरिङ शेर्पाका अनुसार भारी अड्याउने याकको ढाडमा बाँधेर बगालमा छोडिएसँगै सदाउने कामको सुरुआत हुन्छ । जतिबेला याकले बिगारे/नबिगारेको मात्र हेरिन्छ । यो क्रम पार भएपछि उनीहरूको ताकत अनुसारको माटो वा बालुवाको भारी बोकाएर हिँडाउने अभ्यास गराइन्छ । तेस्रो चरणमा चाहिँ सिङमा डोरीले कसी डोर्याइन्छ, गोठबाट कम्तीमा १० किलोमिटर टाढासम्म लगिन्छ र फर्काउँदा एकोहोरो भारी बोकाएर फर्काइन्छ । शेर्पाका अनुसार यति गरेपछि मात्र याक र जोक्पे मानिसका विश्वास पात्र हुन्छन् । सामान बिगार्ने सम्भावना पनि कम हुन्छ । भन्छन्, “ एक–दुईपटक ट्रेकिङमा हिँडाइसकेपछि त अर्कोपटक आफ्नो गन्तव्यसम्म पुग्न मान्छे पछाडि लागिराख्नु पनि पर्दैन ।”
देख्दा जोक्पे र याक भद्दा हुन्छन् तर भारीचाहिँ सहजै बोक्छन् । त्यसो नहँुदो हो त हिमाली गाडीका रूपमा उनीहरू कसरी चिनिन्थे र ? यस क्षेत्रमा उत्पादित घिउछुर्पी, स्थानीयका लागि आवश्यक खाद्य सामग्री मात्र नभई भ्रमणका लागि आउने आन्तरिक र बाह्य पर्यटकका सामग्री पनि जोक्पे र याकलाई नै बोकाइन्छ । समुद्री सतहदेखि ३ हजार ५ सय मिटरभन्दा माथिल्लो उचाइमा जतिसुकै हिउँ पर्ने र जाडो हुने स्थानमा समेत यो प्रजातिका गोरु पाइन्छन् । पाँचथरका उच्च पहाडी क्षेत्रमा लामो समयदेखि याकबाट सामग्री ढुवानी गराउँदै आएका मेमेङ–३ का प्रेमबहादुर राई (माइला राई)का अनुसार जोक्पेले ६० देखि ८० र याकले ८० देखि १ सय क्विन्टलसम्म भारी बोक्न सक्छन् । जोक्पे दैनिक ४० र याक ५० किलोमिटरसम्म हिँड्न सक्छन् । यिनीहरूलाई भारी बोकाउन लैजाँदा दूरी हेरेर प्रतिकिलो पाँचदेखि सात रुपियाँसम्म भाडा लिइने व्यवसायी शेर्पा बताउँछन् ।
जोक्पे र याकले हिमाली क्षेत्रको जनजीवन सहज बनाउन उल्लेखनीय भूमिका खेलेका छन् । भारतसँग सीमा जोडिएको सन्दकपुर, फालौट, चिवा–भञ्ज्याङ, उत्तरे र गैरीदेखि घुमाथाङ, याङसेप, पहाडेमेगु, तिम्बुङ पोखरीसम्म ढुवानीको पहिलो विकल्प याक र जोक्पे नै हुन् । त्यति मात्र होइन, ताप्लेजुङको विश्वको तेस्रो हिमाल कञ्चनजङ्घा आधार शिविर तथा नेपाल र तिब्बती नाका युरीसम्म सामान पुर्याउनसमेत यिनीहरूको प्रयोग गरिन्छ । तर, पछिल्लो समय हिमाली क्षेत्रमा रहेका चौँरी गोठको संख्या कम हुँदै गएको चौँरी पालकहरू बताउँछन् । हिमाली क्षेत्रको पशुपालन र जडीबुटी संरक्षण तथा व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको संस्था दीपज्योति युवा क्लब, पाँचथरको तथ्यांक अनुसार त्यस क्षेत्रका १६ जना व्यवसायीका गोठमा भारी बोक्ने ६४ वटा जोक्पे छन् । क्लबले चौँरी व्यवसायीलाई संगठित गर्नुका साथै आय आर्जन र चरन व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबका कार्यक्रम संयोजक महेन्द्रवीर राई भन्छन्, “तर, भारत र सिक्किमले सीमावर्ती क्षेत्रको भू–भागलाई संरक्षण गरी वन्यजन्तु आरक्षण गर्न थालेपछि यिनीहरूको चरन क्षेत्र सीमित बन्दैछ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...