आवरण कथा» ‘आफ्नै घर सम्झी आएँ’
विदेशका प्रतिष्ठित शैक्षिक संस्थाको अध्ययनपछि स्वदेशको आफ्नै व्यवसायमा जमेकाहरू
सरकारी तथ्यांकलाई पत्याउने हो भने गत वर्ष मात्र करिब ४० हजार नेपाली भारतबाहेकका मुलुकमा अध्ययनका लागि गए । रोजगारीका लागि जानेहरुको संख्या त झनै कहालीलाग्दो छ । दैनिक १ हजार ५ सयको हाराहारीमा नेपाली कामको खोजीमा बाह्य श्रम बजारमा पुग्छन् । अमेरिका, बेलायत र अस्ट्रेलियालगायत विकसित मुलुकमा अध्ययनका लागि जानेमध्ये अधिकांशको लक्ष्य विदेशी शैक्षिक उपाधिका अतिरिक्त त्यहीँ स्थायी बसोवास (पीआर) हुन्छ ।
दृश्यको अर्को पाटो पनि छ । विदेशमा स्थायी बसोवासको सम्भावना भएका र आर्थिक रुपमा सबल रहेकाहरु स्वदेशमै केही गर्ने आकांक्षाका साथ फर्कने पनि उल्लेख्य छन् । त्यसरी फर्कनेहरुले विदेशी प्रतिष्ठित कलेज र विश्वविद्यालयको शैक्षिक उपाधि र कामको अनुभव पनि सँगै लिएर आएका छन् । तिनैमध्येमा पर्छन्, शिवानी न्यौपाने, शिरीष मुरारका, अमोद राजभण्डारी, तैजश कक्षपति र दिलीप अग्रवाल । उनीहरु यस्ता प्रतिनिधि पात्र हुन्, जोसँग पश्चिमा शिक्षा प्रणालीले दिने ज्ञान र अनुभव छ । बाहिरी विश्वको व्यावसायिक वातावरणबाट दीक्षित छन् । र, त्यही अनुभव र सीपलाई स्वदेशमा लागू गर्न कस्सिएका छन् । साथै, उनीहरु यस्ता पात्र हुन्, जसको आफ्नै उद्यम छ । केही हदसम्म व्यावसायिक क्षेत्रमा पारिवारिक विरासत छ । स्वदेशको उद्यम–व्यवसायमै अवसर र सम्भावना छन् भन्ने सन्देशका निम्ति यी र यस्ता पात्र अर्थपूर्ण छन् । द्वन्द्वको समाप्ति, नयाँ संविधान जारी, राजनीतिमा विकास र समृद्धिका मुद्दा हाबी हुनु र अर्थतन्त्रले गति लिन थाल्नुले यसरी स्वदेश फर्कन चाहने र स्वदेशलाई नै कर्मथलो बनाउन खोज्नेहरुका लागि अवसर अनि अनुकूलताको संकेत गरेका छन् । यस पृष्ठभूमिमा व्यावहारिक दृष्टान्त बनेका छन्, यी प्रतिनिधि पात्र :
उद्यमी बुबा हरि न्यौपाने र अमेरिकी सञ्चार उद्यमी ओप्रा विन्फ्रे शिवानी न्यौपानेका रोलमोडल हुन् । विन्फ्रेले समाजसेवा, मिडिया र व्यवसाय सबै क्षेत्रमा कमाएको मान–सम्मानबाट उनी निकै प्रभावित छिन् । भन्छिन्, “मेरो पनि विन्फ्रेले जस्तै व्यवसायमा सफलता हासिल गर्दै समाजलाई केही गरूँ भन्ने नै छ ।”
अध्ययनको पृष्ठभूमि, रुचि र सक्रियता हेर्दा त्यस किसिमको सफलता र मान हासिल गर्नु शिवानीका लागि कठिन पनि छैन । अमेरिकाको न्युयोर्कस्थित एतिका कलेजबाट अंग्रेजी र राजनीतिशास्त्रमा स्नातक पूरा गरेपछि नेपाल फर्किन्, उनी । लेखन र पत्रकारिताप्रति उनको चासो र रुचि सानैदेखि थियो । अवसरको खोजीको क्रममा काठमाडौँ फर्किएर करिब एक वर्षजति टीभी पत्रकारिता गरिन् । पत्रकारितामा रस बसेका कारण उनी अध्ययनका लागि अमेरिका पुगिन् । पत्रकारिताका विद्यार्थीका लागि विश्वचर्चित कोलम्बिया स्कुल अफ जर्नालिज्ममा ६ वर्षअघि पढ्ने अवसर पाएसँगै उनको एउटा सपना साकार भयो । डिजिटल मिडिया फेलोसिप नामको उक्त अध्ययनवृत्ति पाउनु आफँैमा एउटा सौभाग्य थियो । एक वर्षको अध्ययनपछि अर्को एक वर्ष अमेरिकामै काम गरिन् । कोलम्बियाको अध्ययन र त्यसपछिको फेलोसिपले अमेरिकामै आकर्षक अवसरका ढोका अवश्य खुले । तर, यता घरबाट बुबाआमाबाट निरन्तर दबाब आइरह्यो, स्वदेश फर्किनका लागि । भन्छिन्, “म आफैँ ढुक्क थिइनँ । के–कस्तो हुने हो भन्ने थियो । घरको आग्रहले मलाई स्वदेश फर्किने निर्णय लिन सहज बनायो ।”
अमेरिकाबाट फर्केको पहिलो एक वर्ष त उनलाई यहाँको वातावरणमा घुलमिल हुन निकै हम्मे पर्यो । अमेरिकाको जस्तो स्वतन्त्रता थिएन । सामाजिक, सांस्कृतिक, परम्परा सबै किसिमले सकसपूर्ण रह्यो । त्यहीबीचमा उनले ‘क्रसिङ स्याडोज’ उपन्यास लेखेर आफ्नो रचनात्मक क्षमता देखाइन् । बिस्तारै उनलाई पनि नेपालमै अवसर छन् भन्ने लाग्न थाल्यो । विदेशको अनुभव र शिक्षा त नेपालका लागि पो बढी महत्त्वपूर्ण रहेछ भन्ने सोच उनमा पलायो । भन्छिन्, “विदेशको विकास र प्रविधिसँग अभ्यस्त भइसकेकाहरूलाई त नेपाल आउँदा केही पनि नभएजस्तो लाग्ने रहेछ । त्यसले नै जे गरे पनि सम्भावनाको बाटो खोल्ने रहेछ । यहाँ त जे गरे पनि नयाँ ।”
आज उनी निर्देशक रहेको अम्बे ग्रुपको सिमेन्ट, स्टिल, चाउचाउ उत्पादन गर्ने दर्जनौँ उद्योग छन् । ती अन्तर्गत तीन हजारभन्दा बढीले रोजगारी पाएका छन् । शिवानी आफँैले भने अम्बे ग्रुप अन्तर्गतको स्मार्ट फुड हेर्छिन्, जसले यमयम र एबीसी नुडल्स उत्पादन गर्छ । उनको प्रत्यक्ष मातहतमा करिब सात सय कर्मचारी छन् । यसबाहेक बुबा हरि न्यौपानेलाई छायाँसरी पछ्याइरहन्छिन् । “उहाँको कार्यशैली र सीप सिक्न प्रयासरत छु । थोरै मात्र सिकेँ भने मेरा लागि ठूलो उपलब्धि हुने ठानेकी छु,” शिवानी भन्छिन् ।
अमेरिकामा हासिल गरेको शिक्षाले भिन्न कोणबाट सोच्ने क्षमता विकास गर्ने शिवानीको अनुभव छ । भन्छिन्, “क्रिटिकल थिंकिङको सीप बसाल्छ । अरूभन्दा अलि फरक कसरी सोच्ने भन्ने सिकाउँछ ।” त्यही फरक सोचलाई आफ्नो व्यापार र व्यवसायमा लागू गर्न प्रयासरत छिन् उनी । तर, अमेरिका र नेपालको व्यावसायिक वातावरणमा आकाश–पातालको अन्तर छ । त्यसमाथि नेपालीहरूमा अरूको ठाडो नक्कल गर्ने प्रवृत्तिसँग पनि उनी जानकार छिन् । भन्छिन्, “एउटाले सिमेन्ट कारोबार सुरु गर्यो भने त्यही नक्कल गर्ने, अर्कोले छडमा राम्रो गरेको छ भने त्यतैतिर लाग्ने । यो सोचबाट बाहिर कसरी आउने भन्ने नै अहिलेका उद्यमीको प्रमुख चुनौती हो । हाम्रो पुस्ताले च्यालेन्ज गरेनौँ भने कसले गर्छ ?”
उनको मुख्य ध्याउन्न आफ्ना उत्पादनहरूको बजार विस्तारमा हुन्छ । बिहान १०/११ बजेदेखि सुरु हुने उनको व्यावसायिक दैनिकी साँझ ७/८ बजेसम्म चल्छ । फुर्सद मिलाएर भए पनि उनी निश्चित समय उद्यम र व्यवसायसम्बन्धी पुस्तकसँग बिताउँछिन् । उनका शब्दमा नेपालमा अहिलेसम्म हुनुपर्ने कुनै काम नहुनु नै पहिलो अवसर हो । केही नयाँ पाइला चाल्नासाथ निकै हल्लाखल्ला हुन्छ यहाँ । तसर्थ, ‘विदेश जाने होइन ?’ भन्नेहरूलाई पनि ठाडो जवाफ फर्काउँछिन् उनी, ‘यहीँ यत्तिका अवसर छ, किन जानु विदेश ? मूर्ख छु र ?’
***
पाककलामा अमेरिकाकै एक नम्बर कलेज मानिने अमेरिकाको न्युयोर्कस्थित द कलनरी इन्स्टिच्युट अफ अमेरिका (सीआईए)मा भर्ना पाउनु नै चानचुने कुरा थिएन । कलेजमा आवेदन दिनका लागि योग्य हुन पनि कम्तीमा ६ महिना होटल र रेस्टुराँको अनुभव हुनुपर्छ । सानैदेखि रेस्टुराँ व्यवसायको वातावरणमा हुर्केका तैजश कक्षपतिलाई जसरी पनि भर्ना हुनु थियो । त्यसका लागि उनले प्लस टू पूरा गरेपछि काठमाडौँकै होटल र्याडिसनमा ६ महिना प्रशिक्षार्थीका रूपमा काम गरे । अध्ययन आवेदन स्वीकृत भयो र लागे न्युयोर्कतर्फ । चार वर्षको अध्ययनपछि अमेरिकाकै फ्लोरिडास्थित फोर सिजन होटलमा करिब डेढ वर्ष कुकका रूपमा काम गरे ।
अध्ययनकै क्रममा पनि राम्रा अवसर पाएका थिए उनले । तर, उनलाई जसरी पनि नेपाल फर्कनु थियो । किनभने, बुबा गोपालसुन्दर कक्षपति र ठूलोबुबा श्यामसुन्दर कक्षपतिले करिब चार दशकदेखि चलाएका रेस्टुराँलगायतका व्यवसायमा जम्नु थियो । तैजश भन्छन्, “त्यहीँ काम गरिरहेको भए अहिले राम्रो होटलको सेफ बन्न सक्थेँ तर यत्तिको सन्तुष्ट हुन्नथेँ । किनभने, नेपाल फर्केर केही गर्ने सोच थियो ।”
अमेरिकामा उनले क्याटरिङ कम्पनी, रेस्टुराँ, होटल सबै ठाउँमा काम गरे, जसले उनलाई होटल र रेस्टुराँ व्यवसाय सञ्चालनका भित्री तौरतरिकाबारे जानकारी दियो । त्यही अनुभव आफ्ना लागि सबैभन्दा महत्त्वपूर्ण रहेको तैजश बताउँछन् । भन्छन्, “यो व्यवसायमा निकै चनाखो हुनुपर्छ । हरेक दिन नयाँनयाँ प्रयोग गर्नुपर्छ । अमेरिकामा हासिल गरेको अनुभव र शिक्षाले त्यो सिकाएको छ ।”
काठमाडौँ ओर्लनासाथ उनले विराटनगरस्थित नाङ्लो इष्टको जिम्मा पाए । हुन त त्यो रेस्टुराँ त्यति चलेन । करिब डेढ वर्ष उनले विराटनगरमै बिताए । त्यसपछि जमाना अनुसारको नयाँ रेस्टुराँ र चेन सुरु गर्ने योजना बुने । अनि, सुरु भयो नाङ्लो एक्सप्रेस । एक्सप्रेस विशेष गरी युवाहरूलाई लक्षित रहेको उनी बताउँछन् । भन्छन्, “समय अनुसार नयाँ प्रयोग पनि गर्नुपर्छ भन्ने मेरो सोच हो । कुनैमा सफल भइन्छ, कुनैमा भइँदैन, त्यो बेग्लै कुरा हो ।”
नेपाल फर्केपछि उनका सामु बुबा र ठूलो बुबाले कायम राखेको प्रतिष्ठा र ब्रान्डलाई यथावत् राख्नु त्यत्तिकै चुनौतीपूर्ण थियो । विशेष गरी काठमाडौँमा नाङ्लो रेस्टुराँ र बेकरीको बेग्लै प्रतिष्ठा रहेको उनलाई राम्ररी थाहा थियो । अमेरिकाबाट फर्केपछि उनलाई यहाँको वातावरण र व्यवसायमा भिज्न खासै गाह्रो भएन । यहाँका समस्या र सम्भावनाहरूसँग उनी परिचित थिए । तैजश भन्छन्, “आउँदा यहाँको यथार्थ पूरै दिमागमा लिएर फर्केको थिएँ । तर, त्यहाँ रहँदा पनि न्युयोर्कमा भएको कुरा नेपालको बजारमा के नयाँ हुन सक्छ भन्नेमा मेरो चासो रह्यो ।”
अमेरिकाको पढाइले रेस्टुराँ, होटल सञ्चालनदेखि खानेकुरा बनाउनेजस्ता प्राविधिक कुराले आफूलाई दक्ष बनाएको र व्यवसायका अन्य पाटाहरू परिवारबाटै सिकेको उनी बताउँछन् । एउटा कफी बनाउँदा पनि सूत्र र विधि अनुसरण नगरिए अपेक्षा अनुरूपको स्वाद पस्कन नसकिने उनको बुझाइ छ । दरबारमार्गको नाङ्लो बन्द भएपछि कक्षपति परिवार ठूलो तनावबाट गुज्रियो । नयाँ ठाउँ भेट्नै गाह्रो भयो । तैजश आफैँ खटे । उनले कमलादी रोजे । नाङ्लो क्याफे एन्ड पब खोले । साथीभाइले भन्थे, ‘कहाँ दरबारमार्ग, कहाँ कमलादी ?’ तर, उनमा आत्मविश्वास थियो । ‘नयाँ जमाना, नयाँ ठाउँ,’ उनी भन्थे ।
अचेल उनको दैनिकी कमलादीको नाङ्लो क्याफे एन्ड पब र एक्सप्रेसको व्यवस्थापन तथा कारोबार हेर्नमा बित्छ । त्यहाँको भान्सादेखि सजावट सबैमा चासो राख्छन् उनी । तर, उनी रोकिएका छैनन् । केही नयाँ गर्ने हुटुहुटी अझै छ उनमा । रेस्टुराँ र अन्य तयारी खाजाको व्यवसायमा प्रचुर सम्भावना देखेका छन् उनले । तिनै क्षेत्रमा केही नयाँ गर्ने सोच छ उनमा । भन्छन्, “अहिले नै धेरै कुरा नखोलौँ । नाङ्लोको पाउरोटीको बेग्लै ब्रान्ड भएजस्तै अन्य खानेकुरा पनि बजारमा ल्याउने सोच छ ।”
***
विश्वव्यापी वित्तीय संकट चरमोत्कर्षमा थियो । लेहमन ब्रदर्सजस्ता ठूला कम्पनी बन्द हुँदै थिए । बाराक ओबामा ह्वाइट हाउसतिर पाइला सार्दै थिए । त्यही समयमा सिमलाबाट स्कुले पढाइ पूरा गरेर बोस्टनको टफ्ट्स कलेज पुगेका थिए, अमोद राजभण्डारी । अर्थशास्त्र र सञ्चार विषय लिएर स्नातक पूरा गरे । पढाइ सकिएपछि उनी आफँै अन्योलपूर्ण प्रश्नले घेरिएका थिए, कता जाने, के गर्ने ?
अध्ययनकै क्रममा ब्लुमबर्ग न्युजमा प्रशिक्षार्थीका रूपमा काम गर्ने मौका पनि जुरेको थियो । उनको अध्ययनदेखि कामसम्मको अवधि पश्चिमा जगत्को आर्थिक मन्दीका तहतह केलाउनमै बित्यो । मन्दीबाट मुक्ति पाउन कुन मुलुकले के उपाय लगाउँदै छन् र कुन कम्पनी कसरी उकासिँदै छन् भनेर उनले मजैले नियाले । उनी आफैँ पनि व्यापारिक परिवारमा हुर्केकाले ती दृश्य उनका लागि रोचक पनि थिए ।
उनी स्वदेश फर्केर पारिवारिक व्यवसायमै नयाँनयाँ प्रयोग गर्न चाहन्थे । त्यही चाहना बोकेर उनी फर्किए । केही समय अलमलमा पनि परे उनी, फरक काम के गर्न सकिन्छ भनेर । अनौठो संयोग मान्नुपर्छ । उनी फर्कंदा घरजग्गा व्यवसाय मन्दीबाट गुज्रिरहेको थियो । अमेरिकाको मन्दीबाट फेरि अर्को मन्दीमा उनी आइपुगे । बुबा राजीव राजभण्डारीको सुझाव अनुसार उनले एस डेभलपमेन्ट बैंकबाट करिअर सुरु गरे । हरेक शुक्रबारचाहिँ उनी मर्कन्टायलको कार्यालय पुग्थे । दुई वर्षको बैंकिङ अनुभवले उनलाई नेपालको आर्थिक र सामाजिक पाटाहरू बुझ्न निकै सघायो । सम्भावनाको पहिचान गरे । त्यो अनुभव लिएर मास्टर्स गर्न बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको सइड बिजनेस कलेज पुगे ।
सइडको एकवर्षे एमबीएका दौरान विभिन्न पृष्ठभूमि भएका सहपाठीहरूसँग संगत भयो । त्यसले उनलाई उद्योग–व्यवसायका विभिन्न पाटाहरूबारे बुझ्न मद्दत गर्यो । अमोद भन्छन्, “एक वर्षमा मेरो ध्यान नेपालको अनुभवलाई कसरी तिखार्ने भन्नेमै केन्द्रित भयो ।” बेलायत अध्ययन गर्दा युरोप पनि वित्तीय संकटबाट गुज्रिरहेको थियो । त्यसलाई पनि रोचक संयोग मान्छन् उनी । भन्छन्, “ती संकटहरू मेरा लागि आर्थिक र वित्तीय क्षेत्रका उतारचढाव बुझ्ने अवसर भए ।”
हाल उनी मर्कन्टायल ट्रेडर्स अफिस अन्तर्गत क्योसेरा फोटोकपी मेसिनदेखि विदेशी मुद्रा गन्ने र परीक्षण गर्ने जापानी मेसिनको कारोबार हेर्छन् । उनले यसलाई विदेशमा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा परीक्षण गर्ने उपयुक्त प्रयोगशाला ठानेका छन् । बजार विस्तारका लागि चाहिने रणनीति र योजना बनाउन तल्लीन हुनु उनको दैनिकीको प्रमुख पाटो हो । यसबाहेक पनि तीन वर्षअघि बैंकर सुमन जोशीसँग मिलेर खोलेका टीएनए कम्पनीका साझेदारसमेत हुन्, जसको मुख्य उद्देश्य नवउद्यमीहरूलाई पुँजी उपलब्ध गराउनु हो । सुरुका दिनमा बैंकमा काम गर्दा नै ससाना उद्यमीहरूलाई ऋण लिन कति गाह्रो छ भन्ने थाहा पाएका उनलाई यो कम्पनी सञ्चालन गर्न सहज भएको छ । उद्यमशीलताले अन्य मुलुकमा जसरी गति लिन नसक्नुको प्रमुख कारणमा पुँजी अभाव हो भन्ने निष्कर्षका साथ कम्पनी खोलेको उनी बताउँछन् । भन्छन्, “बैंकहरूमा जाँदा निकै झन्झट हुन्छ । त्यसमा सहयोगी बन्न र पुँजी अभावपूर्तिका लागि हामीले प्राइभेट इक्विटी सुरु गरेका हौँ ।”
यसबाहेक टीएनए कम्पनी अन्तर्गत नै ‘इन्टरप्राइज बिजनेस एक्सिलिरेटर’ परियोजना पनि उनले चलाइरहेका छन्, जसले नवउद्यमीहरूलाई १२ हप्ते तालिममार्फत निखार्ने गर्छ । यी दुवै कम्पनीको प्रमुख उद्देश्य नेपालमै उद्यमशीलता विकास गर्ने र नयाँ उद्यमीहरूलाई प्रेरित गर्नु हो । त्यसबाहेक उनकै अग्रसरतामा मोबाइल पेमेन्टका लागि इन्भेस्टमेन्ट बैंकसँग मिलेर एम नेपाल भन्ने कम्पनी पनि खोलिएको छ । मर्कन्टायल ग्रुपकै इन्डेक्स फर्निचरको जिम्मा पनि उनकै काँधमा छ । अमोदको परिपक्वता र क्षमता देखेरै होला, मर्कन्टायलले उनलाई ‘चिफ इन्भेस्टमेन्ट अफिसर’को जिम्मेवारी पनि दिएको छ । साथै, मर्कन्टायलका लागि लगानीका क्षेत्र पहिचान गर्ने र आवश्यक रणनीति बनाउने काम पनि उनकै हो ।
विदेशको अध्ययनले के सिकायो त ? अमोद भन्छन्, “सोच र विचारमै परिवर्तन ल्याएको छ । व्यावहारिक ज्ञान दियो । हिसाबका जटिल सूत्रहरूलाई कसरी व्यवहारमा लागू गर्ने भन्ने सिकियो, जुन नेपाल र भारतमा हुँदैन ।”
***
बेलायतको कार्डिफ विश्वविद्यालयबाट एमबीए सकेपछि शिरीष मुरारकाका सामु बहुराष्ट्रिय कम्पनी मार्क र स्पेन्सरमा राम्रो जागिरको अवसर थियो । तर, नेपाल फर्कने चाह र घरपरिवारको आग्रहका कारण ती आकर्षक अवसरलाई सहजै लत्याएर ११ वर्षअघि फर्किए उनी ।
अमेरिका र नेपालको वातावरण फरक हुनु स्वाभाविक थियो । यहाँको कर प्रणाली, कानुन र प्रशासनिक प्रक्रिया बुझ्न उनलाई निकै गाह्रो भयो । काम गर्दा गल्ती–कमजोरी पनि नभएका होइनन् । तर, उनी हतोत्साहित भएनन् । मुरारका समूहका उद्योग र व्यवसायको सूची लामै थियो । आउनासाथ सुरुमा बुबाको व्यापारलाई सघाए । काका पशुपति मुरारकाको सिमेन्ट व्यवसायमा मिसिए । यसैबीच मुरारका समूहले मोबाइल बजारमा हात हाल्यो र त्यसको जिम्मा पाए शिरीषले । भारतीय मोबाइल ब्रान्ड कार्बनलाई नेपालमा स्थापित गराउन शिरीषकै प्रमुख भूमिका रह्यो ।
कार्बनको सफलतापछि उनको कम्पनीले अर्को मोबाइल ब्रान्ड माइक्रोम्याक्सको पनि जिम्मा पायो । माइक्रोम्याक्स नेपाली बजारमा स्थापित मात्र भएन, बिक्रीका हिसाबले दोस्रो ठूलो ब्रान्ड बन्यो । कामबाटै स्थापित भएर परिवारको विश्वास जितेपछि यी युवा व्यवसायी आज पुरानो र प्रतिष्ठित मुरारका समूहका मुख्य रणनीतिकारमा दरिएका छन् । अब शिरीष आफ्नै ब्रान्डमा टीभी ल्याउने तयारीमा छन् । भन्छन्, “जोखिम त छ तर आत्मविश्वास पनि छ ।” आफूमा रहेको जोखिम लिने आत्मविश्वास र दृढताका पछाडि बेलायतको शिक्षाको ठूलो हात रहेको उनको भनाइ छ ।
कार्डिफको पढाइ बिलकुलै भिन्न थियो । नेपाल र भारतमा जस्तो घोकन्ते विद्यालाई त्यहाँ कुनै स्थान थिएन । पहिलो परीक्षामा भारतबाट आएका उत्कृष्ट विद्यार्थीहरूसमेत फेल भएपछि नै शिरीषले भेउ पाइसकेका थिए, बेलायती शिक्षा पद्धतिको । शिरीष सम्झन्छन्, “किताबीभन्दा व्यावहारिक ज्ञान महत्त्वपूर्ण रहेछ भन्ने त्यहीँ गएर बुझेँ ।”
टोयोटाजस्ता ठूला कम्पनीमा काम गर्ने उपल्लो तहका अधिकारीहरूले त्यहाँ कक्षा लिन्थे । एमबीएमा हरेक दिन एउटा घटना अध्ययन/विश्लेषण गर्नुपथ्र्यो । त्यसले बजारको रणनीति, उपभोक्ताको रुचि कसरी बुझ्ने भन्ने सिके उनले । कार्डिफमा बिताएका दिनहरूले नै यहाँ व्यापार–व्यवसाय सम्हाल्न सहज भएको उनको ठम्याइ छ, “एक्लै बस्ने, आफ्नो निर्णय आफँै लिने र अप्ठ्यारा परिस्थितिहरूको सामना पनि एक्लै गर्नुपथ्र्यो । जसले स्वतन्त्र ढंगले विवेकसम्मत निर्णय लिने क्षमता विकास गरेको महसुस हुन्छ ।”
उनका लागि विशेष सहुलियत के थियो भने स्वदेश फर्केपछि यहाँको व्यावसायिक वातावरणमा घुलमिल गराउन हजुरबुबा, बुबा र काकाहरूको अनुभव र विरासतमा उनले काम गर्न पाए । तैपनि, सुरुका दिन संघर्षमय नै रहे । तैपनि, नेपालमा जस्तो अवसर अन्यत्र छैन भन्नेमा उनी प्रस्ट थिए । नेपाली उपभोक्तामा खर्च गर्न सक्ने क्षमता बढ्दै गएको आँकडाले उनलाई विशेष उत्साहित बनाएको छ । उनलाई थाहा छ, आजका उपभोक्ता आकर्षक कार अवश्य चढ्न चाहन्छन् । मोबाइल बोक्न चाहन्छन् । बढीभन्दा बढी खर्च गर्न चाहन्छन् । नेपाली समाजमा आइरहेको यो परिवर्तनलाई उनले आफ्नो व्यवसाय विस्तारको अवसरका रूपमा लिएका छन् । भन्छन्, “मिहिन अध्ययन र योजना बनाएर अघि बढ्ने हो भने जुनसुकै क्षेत्रमा पनि उत्तिकै सम्भावना छ ।”
***
उच्च शिक्षाका लागि अमेरिका पुगेको पहिलो वर्ष दिलीप अग्रवालले कम्ती दु:ख बेहोर्नुपरेन † खान–बस्नकै लागि पैसा जुटाउन हम्मे । जेनतेन एक वर्ष बितेपछि उनले बोस्टननजिकको बेट्स कलेजमा छात्रवृत्ति पाए । त्यसले निकै ठूलो राहत दियो । छात्रवृत्ति नपाएको भए अध्ययनबिनै स्वदेश फर्किनुको विकल्प थिएन, उनीसामु । बुबा प्रा विश्वनाथ अग्रवालले पहिल्यै भनेका थिए, ‘अमेरिका त जानू तर त्यहाँ बस्ने र पढ्ने खर्च आफैँ जुटाउनू ।’
त्यतिबेला बेट्स कलेज अमेरिकाका राम्रा कलेजको सूचीमा १७औँ नम्बरमा पथ्र्यो । अहिले पनि उत्कृष्ट २५ मा छ । त्यसताका अमेरिकी सेयर बजार अर्थात् वालस्ट्रिटको निकै चमकधमक थियो । उनकै साथीहरू पनि रातारात धनी भएका थिए । कलेजताका नै वालस्ट्रिट गएर काम गर्ने रहर पनि नजागेको होइन । त्यसका लागि उनले अर्थशास्त्रका केही कोर्स पनि लिए । पछि उनमा न्युरो साइन्टिस्ट बन्ने भूत सवार भयो र पढाइलाई त्यतैतिर मोडे । तर, मुख्य लक्ष्य त बुबाको पदचाप पछ्याउनु थियो । बुबा विश्वनाथ अमेरिकाबाटै बायो–केमेस्ट्रीमा स्नातकोत्तर र विद्यावारिधि थिए । र, नेपालमा कहलिएका प्राध्यापक पनि । वैज्ञानिक अनुसन्धानमा यति दत्तचित्त कि अमेरिकाबाट फर्केपछि आफ्नै घरमा प्रयोगशाला निर्माण गरेका थिए । दिलीप सम्झन्छन्, “उहाँले हरेस खानुभएन । आफैँले निजी प्रयोगशाला खोल्नुभयो, नेपालमै केही गर्नुपर्छ भनेर । त्यो नै मेरा लागि प्रेरणा थियो ।”
नेपालमा सुविधासम्पन्न प्रयोगशाला खोल्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने बुबाको सपना साकार पार्न दिलीप अमेरिका पुगेका थिए । अमेरिकामा अध्ययनको फाइदा के भने नेपालमा जस्तो कुनै एउटा विषयमा सीमित हुनुपर्दैन । बायोकेमेस्ट्रीसँगै गणित, अर्थशास्त्र, मनोविज्ञान र स्नायुविज्ञान पनि पढे उनले । तर, अमेरिकामा रहँदाको एउटा घटनाले उनको पूरै करिअरलाई अन्यत्रै मोडिदियो । त्यसताका दिलीपका दाइ मनोजले अमेरिकाबाटै कम्प्युटर इन्जिनियरिङ पढेका थिए । इमेल र त्यसको प्रविधिबारे अध्ययन गरेर एउटा प्रणाली नै निर्माण गरेका मनोजसँग दिलीपको छलफल भयो । दिलीपले तत्कालै यो प्रविधि नेपालमा आवश्यक छ भन्दै सिक्न थाले । छात्रावासको कोठामा त्यो सिस्टम आफैँ बनाए ।
गर्मीको छुट्टीमा नेपाल आउँदा त्यही कम्प्युटर र मोडमसहितको सिस्टम बोकेर आए, जडान गरे । परीक्षण गर्दा काम पनि गर्यो । काकाका छोराहरूलाई सञ्चालनको जिम्मा दिएर उनी अमेरिकै हान्निए । पढाइ सकिएपछि उनी आफ्नै उद्यम सम्झी स्वदेश फर्के र त्यसको पूरै जिम्मा लिए । वल्र्ड लिंक नामकरण पनि उनैले गरे, जुन अहिले नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा स्थापित नाम बनेको छ । उनी भन्छन्, “नेपाल फर्कने भनेको एक किसिमको जोखिम नै हो । तर, त्यो जोखिम लिन सक्ने सफल हुन्छ । मैले त्यही जोखिम लिएँ । र, आज त्यहाँ पाउनेभन्दा निकै ठूलो सफलता पाएको छु ।”
अमेरिकाबाट फर्केपछि अरूले जस्तो समस्याबारे खासै चासो राखेनन् उनले । उनको प्रस्ट धारणा छ, धेरै सोच्यो भने केही गर्न सकिँदैन । आफूमा विश्वास छ भने सीधै काममा हाम फाल्नुपर्छ । र, युवावस्थामा नै त्यो जोखिम उठाउनुपर्छ । भन्छन्, “हद भयो भने तीन–चार वर्ष त खेर जाने हो ।”
सुरुसुरुमा दिलीप बिहानैदेखि राती १२ बजेसम्म काममा खट्थे । नजिकका साथी भन्ने थिएनन् । स्कुलका दौँतरीहरू सबै विदेशमा थिए । असफलै भएमा स्नातकोत्तर गर्न विदेश जाने ढोका खुलै थियो । तर, उनले त्यो ढोकातिर चियाउनु परेन । आज उनी र उनको कम्पनीलाई कुनै परिचयको खाँचो पर्दैन । वल्र्डलिंकका इन्टरनेट ग्राहक मात्र सवा लाख नाघिसकेका छन् । अहिले सबै गरेर १ हजार ८ सय कर्मचारी प्रत्यक्ष रोजगारीमा छन् । वार्षिक कारोबार मात्र दुई अर्ब रुपियाँभन्दा माथि छ । यदि कसैसँग सीप र इच्छाशक्ति छ भने आजको दिनमा नेपालमा जुन काम थाले पनि सफल हुन सकिने उनको निष्कर्ष छ । भन्छन्, “अहिलेभन्दा मैले काम थालेको समय निकै जोखिमपूर्ण थियो । त्यत्रो द्वन्द्व बेहोर्यो मुलुकले । अहिले द्वन्द्व छैन । अर्थतन्त्रले गति लिएको छ । निकै सम्भावना छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...