आवरण कथा» राजनीति नै ‘पेसा’
प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदहरुमा आधारित 'नेपाल सर्वेक्षण-२०७४'
सरकारले ५ पुसमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा २८.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । बहुआयामिक गरिबी सूचकांक (एमपीआई) पद्धतिबाट नेपालमै पहिलोपल्ट गरिएको अध्ययनको यो निष्कर्ष आगामी संसद्मा प्रवेश पाउने अनुहारले भने व्यक्त गर्ने छैन ।
राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको अक्सफोर्ड पोभर्टी एन्ड ह्युम डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई)को अनुसन्धान प्रतिवेदनले गरिबीको यो आँकडा सार्वजनिक गरिरहँदा मुलुकभरका जनताबाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट छानिएका १ सय ६५ जना प्रतिनिधिमध्ये विपन्न समुदायका प्रतिनिधि भन्न मिल्ने नगण्य सांसद संसद्मा प्रवेश गर्दैछन् । अर्थात्, ३.६ प्रतिशत प्रतिनिधि मात्र निम्न वर्ग अर्थात् हातमुख जोर्नै समस्या बेहोरिरहेको वर्गबाट आएका छन् । ९६ प्रतिशत सांसदलाई हातमुख जोर्ने चिन्ता छैन । करिब ७८ प्रतिशत प्रतिनिधि त हुनेखाने (मध्यम र उच्च) वर्गका छन् ।
हुन त नेपाली समाजमा मध्यम वर्गको आकार बढेको ठानिए पनि योजना आयोगको पछिल्लो तथ्यांकले गरिबीको दर बढेको देखाएको छ । यसबाट धनी–विपन्न वर्गबीचको खाडल झन् फराकिलो भएको बुझ्न सकिन्छ । त्यसो त मध्यम वर्गलाई राजनीतिक परिवर्तनमा भूमिका खेल्न सक्ने, परिवर्तनको हुटहुटी भएको वर्ग पनि मानिन्छ । तर, संसद्मा अधिकांश पुरानै अनुहार दोहोरिनु, ६–७ पटकसम्म पनि सांसद बन्न तयार हुने र पटक–पटक मुलुकको प्रधानमन्त्री, मन्त्री भइसक्दा पनि सांसदको लोगो भिर्न रहर गर्ने प्रवृत्तिले अन्तरपुस्तात्मक न्याय हुन सकेको छैन ।
बासी अनुहारकै हालीमुहालीले एकातिर नयाँ संविधान र राजनीतिक व्यवस्थासँगै ताजापनको सन्देश सञ्चार गर्न नसक्ने देखियो भने अर्कोतिर निश्चित वर्गको कब्जाबाट राजनीति बाहिर निस्कन सकेको देखिँदैन । ५४ प्रतिशत नवनिर्वाचित प्रतिनिधि विगतमा पटक–पटक सांसद, मन्त्री आदि भइसकेका छन् ।
भलै यो संसद् स्नातक र सोभन्दा माथिल्लो तहको अध्ययन भएका सदस्यहरुले भरिभराउ हुने भएको छ । तर, ८० प्रतिशत सांसदको अनुभव र विशेषज्ञताको क्षेत्र राजनीतिबाहेक अर्को नदेखिँदा संसद्मा विषयगत विविधताको समेत अभाव खड्किने देखिन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने उनीहरुले केवल शक्तिको संघर्षबाहेक अर्को कुरा राजनीतिमा देखेका छैनन् । ३७ प्रतिशत दलबदलु, अस्थिर एवं अवसरवादी हिस्साको संसद् प्रवेशले आगामी संसद्ले पनि स्थायित्व दिने कुरामा शंका उब्जाउन प्रशस्त ठाउँ दिएको छ ।
पञ्चायतकाल, माओवादीको सशस्त्र युद्धकाल र राजाको प्रत्यक्ष शासनकालमा आफ्नो व्यक्तिगत जीवन नभनी प्रतिबद्ध पंक्ति संघर्षमा नहोमिएको भए आजको परिवर्तन सम्भव हुन्थेन । यति हुँदाहुँदै पनि यहाँ राजनीतिलाई जीवनवृत्ति (करिअर)का रुपमा लिएको पाइएको छ । चार दशकदेखि राजनीतिमा क्रियाशील पुस्ताको दबदबालाई केवल उनीहरुको प्रतिबद्धता र समर्पण मात्र मान्न सकिन्न । अझ ६४ प्रतिशतले त राजनीतिलाई पेसाकै रुपमा अपनाएका छन् । उनीहरुमध्ये धेरैको आम्दानीको पारदर्शी स्रोत छैन । तैपनि, मध्यमवर्गीय हैसियतमा बाँचिरहेका छन् ।
राजनीतिबाटै शक्ति, प्रतिष्ठा र आर्थिक हैसियत आर्जन गर्न खोज्ने प्रवृत्तिले समाजका अन्य क्षेत्र साँघुरिने जोखिमका प्रशस्त आधार देखिएका छन् । जीवनवृत्तिमुखी राजनीतिज्ञले कति सार्वजनिक हित हेर्छ र सेवा प्रवाहमा ध्यान दिन्छ भन्ने अर्को विचारणीय पक्ष छ । यति हुँदाहुँदै पनि ३७.६ प्रतिशत नयाँ अनुहार जनप्रतिनिधिको सर्वोच्च थलोमा पुग्दै छन् । यसले राजनीतिमा नयाँलाई पनि ढोका खुला रहेको सम्भावनायुक्त सन्देश भने दिएको छ ।
युवाको उपस्थिति कमजोर
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट युवा अर्थात् ४० वर्षमुनिका जम्मा १३ जना सांसद निर्वाचित भएका छन् । यो कुल सदस्य संख्याको ७.९ प्रतिशत हो । जनसंख्याको आकारका तुलनामा युवाको प्रतिनिधित्व एकदमै न्यून हो । जबकि, राष्ट्रिय जनगणना–०६८ अनुसार ४० वर्षमुनिको जनसंख्या ३४.८ प्रतिशत छ ।
१ सय ५२ सांसद ४० वर्ष उमेर पार गरेका छन्, जुन कुल संख्याको ९२.१ प्रतिशत हुन्छ । सक्रिय उमेर समूहभन्दा बाहिरका ३० जना नेता यसपटक संसद्मा पुगेका छन्, जुन कुल निर्वाचित संख्याको १८.२ प्रतिशत हुन्छ ।
युवा (४० वर्षमुनि)को भन्दा निष्क्रिय उमेर समूह (६० वर्षमाथि)को भार दोब्बरभन्दा बढी देखिन्छ । तसर्थ, संसद् र सरकारका नीति एवं निर्णयमा युवाको आवाज कमजोर हुने देखिएको छ । यद्यपि, ८१.८ प्रतिशत सांसद सक्रिय उमेर समूह (६० वर्षमुनि)भित्रका भएकाले यो संसद् र युवा जनसंख्याको आकांक्षाबीच धेरै दूरी नहोला ।
सर्वेक्षण विधि
प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा मुलुकभरबाट निर्वाचित भएका १ सय ६५ जना प्रतिनिधिसभा सदस्यको जनगणना विधि (सेन्सस मेथड) अनुसार तथ्यांक संकलन गरी यो निष्कर्ष सार्वजनिक गरिएको हो । अर्थात्, यो नमुना सर्वेक्षण नभई सम्पूर्ण सदस्यको तथ्यांकमा आधारित छ । निर्वाचनबाट विजयी उम्मेदवारहरुको जन्मस्थान, उमेर, जाति एवं समुदायगत पृष्ठभूमि, आम्दानीको स्रोत, आर्थिक अवस्था, राजनीतिक दलसागको आबद्धता र निरन्तरता, यसअघि प्राप्त पद आदि सूचकमा प्रश्नावली तयार गरी मुलुकभरबाट तथ्यांक संकलन गरिएको थियो । उपत्यकाबाहिर विभिन्न जिल्लास्थित कान्तिपुर मिडिया ग्रुपका प्रतिनिधि तथा उपत्यकामा नेपाल टिमले प्रत्यक्ष अन्तर्वार्ता गरेको थियो । प्रत्यक्ष अन्तर्वार्ता गर्न नसकिएका केही सदस्यसाग टेलिफोनमा सोधिएको थियो । कतिपय तथ्यांकको हकमा विजयी उम्मेदवारहरुका आफन्त, राजनीतिक सहकर्मी एवं चिनजानका व्यक्तिहरुलाई समेत सोधिएको थियो । यसरी प्राप्त विवरणलाई प्रशोधन गरी यहाँ प्रस्तुति र व्याख्या गरिएको छ ।
१० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम आइसके पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सांसदहरुको यकिन भइसकेको छैन । तर, प्रतिनिधिसभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सदस्यको छिनोफानो भइसकेको छ । तीमध्ये प्रतिनिधिसभाका सम्पूर्ण सदस्यको राजनीतिक, पारिवारिक, शैक्षिक तथा आर्थिक पृष्ठभूमिसम्बन्धी तथ्यांक संकलन गरी यहाा विश्लेषण प्रस्तुत गरिएको हो ।
पुरानाकै दबदबा
प्रत्यक्षबाट प्रतिनिधिसभामा ६२ जना नयाँ अनुहारले प्रवेश पाउने भएका छन्, जुन ३७.६ प्रतिशत हो । बाँकी १ सय ३ जना विगतमा कुनै न कुनै समयमा केन्द्रीय व्यवस्थापिकामा पुगेका छन् । त्यसमध्ये ४५ जना दोस्रोपटक सांसद निर्वाचित भएका छन् भने २८ जना तेस्रोपटक संसद्मा पुगेका छन् । चौथोपटक संसद्मा उपस्थिति निश्चित गर्ने नेताहरू २१ जना छन् । ६ जनाले पाँचौँपटक सांसदको लोगो भिर्नेछन् । कांग्रेसका शेरबहादुर देउवा र विजयकुमार गच्छदार छैटौँपटक निर्वाचित भएका छन् । अहिले महोत्तरी–२ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद शरत्सिंह भण्डारी त ०३८ यता नवौँपटक सांसद (तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य र ०६३ मा अन्तरिम संसद् सदस्यसहित) बनेका छन् ।
अहिले निर्वाचित भएकामा ७० जना यसअघि मन्त्री वा प्रधानमन्त्री भइसकेका छन् भने सांसदमै चित्त बुझाएकाहरू १९ जना दोहोरिएका छन् । पहिलोपल्ट सांसद निर्वाचितमध्ये १६ जनाले यसअघि जिल्ला विकास समिति, नगरपालिका एवं गाउँ विकास समितिजस्ता स्थानीय निकायमा जनप्रतिनिधिको हैसियतले काम गरेका छन् ।
राजनीतिमा लागेको समयावधिका हिसाबले १० वर्षभन्दा कम समय राजनीति गरेकाहरूको संख्या न्यून अर्थात् चार जना (२.४ प्रतिशत) मात्र देखियो । करिब ९० प्रतिशत सांसद ३० वर्षभन्दा बढी अवधिदेखि राजनीतिमा जोडिएका छन् । अर्थात्, पञ्चायतकालदेखिकै राजनीतिसँग परिचितहरूको उपस्थिति सर्वाधिक देखिएको छ । १६ प्रतिशत सांसदले त राजनीतिमै चार दशक बिताएका छन् ।
४५ जना त पञ्चायतकालमा भूमिगत भएर संघर्ष गरेकाहरू नै निर्वाचित भएर आएका छन् । २४ जनासँग माओवादीको सशस्त्र संघर्ष कालमा भूमिगत जीवन बिताएको अनुभव छ । भूमिगत राजनीतिबाट ११ वर्षअघि मात्र खुला राजनीतिमा आएको माओवादीबाट निर्वाचित ३६ मध्ये २४ जनाले मात्र भूमिगत संघर्षको अनुभव गरेका छन् । अर्थात्, १२ जनाले भूमिगत राजनीति नगरे पनि माओवादीका तर्फबाट सांसद बन्ने मौका पाएका छन् । यीमध्ये केही पार्टी एकीकरणको माध्यमबाट माओवादीमा प्रवेश पाएका हुन् भने केहीचाहिँ माओवादी ठूलो शक्तिका रूपमा उदाएपछि ०६३ पछि मात्र मिसिएका हुन् ।
दोहोरिने प्रतिस्पर्धा
संसदीय राजनीतिका पुराना दल नेकपा एमाले र नेपाली कांग्रेसमा क्रमश: ४६ र १६ प्रतिशत नयाँले अवसर पाएका छन् भने माओवादीबाट २५ प्रतिशत नयाँ अनुहार संसद् प्रवेश गर्दैछन् ।
संख्यात्मक हिसाबले एमालेका नयाँ सांसदको संख्या सबैभन्दा धेरै छ । कांग्रेस यस्तो पार्टी बनेको छ, जसको अधिकांश अर्थात् ८४ प्रतिशत सांसद पुराना छन्, नयाँको संख्या सबैभन्दा कम १६ प्रतिशत मात्रै छ ।
कांग्रेसभन्दा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका सांसद नयाँ छन् । राजपा र फोरमबाट क्रमश: ३६ र ७० प्रतिशत ताजा अनुहार संसद्मा देखिनेछन् । माओवादी, राजपा र संघीय फोरम संसदीय राजनीतिमा कान्छा दल भएकाले पनि उनीहरूसँग नयाँ अनुहार धेरै भएका हुन् । जेहोस्, नयाँलाई पनि स्थान खुला रहेको सन्देश भने यस आँकडाले दिन्छ ।
पुरुषकै सत्ता
प्रतिनिधिसभामा १ सय ५९ जना पुरुष विजयी हुँदा महिला ६ जना मात्र प्रत्यक्ष निर्वाचित भएका छन् । यो कुल संख्याको ३.७ प्रतिशत हो । एमालेबाट दुई, माओवादीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट एक जना महिला प्रत्यक्ष निर्वाचित भएका छन् ।
दलहरूमा पुरुष हाबी भएको त हुँदै हो, त्यसमाथि महिलाका लागि ३३ प्रतिशत सिट आरक्षित हुँदा खुला प्रतिस्पर्धामा उत्रिन नचाहने, खर्च धेरै लाग्ने लगायतका कारणले पनि प्रत्यक्षतर्फ कम देखिएका हुन् ।
मध्यम वर्ग हाबी
दलगत रूपमा वामपन्थी शक्तिहरूको वर्चस्व भए पनि प्रतिनिधित्वका हिसाबले यो संसद्मा हुनेखाने वर्ग हाबी भएको छ । करिब ७० प्रतिशत प्रतिनिधि मध्यम वर्गबाट आएका छन् भने ८.५ प्रतिशत उच्च वर्गका छन् । अर्थात्, ७८ प्रतिशत सांसद हुनेखाने वर्गको प्रतिनिधित्व गर्छन् । यसले हाम्रो राजनीति हुनेखाने वर्गको हातमा रहेको स्पष्ट हुन्छ । र, कमजोर आर्थिक अवस्था भएको वर्गको निम्ति प्रतिस्पर्धायोग्य वातावरण नभएको प्रस्ट देखाउँछ ।
लामो समयदेखि पूर्णकालीन राजनीतिमा सक्रिय र अन्य पारदर्शी आम्दानी नभएकाहरूको आधिक्यसँग यो आँकडालाई समेत राखेर हेर्दा राजनीतिबाटै मनग्गे आम्दानी गर्ने प्रवृत्ति हाबी रहेको निष्कर्षमा पुगिन्छ । राजनीतिमा लागेर धन आर्जन गर्ने र धनको आडमा दल अनि चुनाव कब्जा गर्ने दुष्चक्रको द्योतक पनि मान्न सकिन्छ ।
त्यसो त ३० जना निम्न–मध्यम र ६ जना निम्न वर्गका प्रतिनिधिहरूले जितेका छन् । यसले के देखिन्छ भने जनताले आर्थिक अवस्था मात्रै हेर्दैनन्, असल र इमानदार छन् भने कम आय भएकालाई पनि पत्याउँछन् । तैपनि, विपन्न वर्गको मत हुनेखानेले नै प्रभावित पारिरहेको यो सर्वेक्षणले देखाउँछ । वास्तविक रूपमा विपन्नको प्रतिनिधि संसद्सम्म पुग्न नसकेकाले विपन्नमुखी नीति बन्ने सम्भावनालाई क्षीण बनाएको छ ।
दलहरूको वर्गीय आधार
नेपाली कांग्रेसका सांसदहरूमध्ये ८० प्रतिशत मध्यम वर्गका देखिन्छन् भने उच्च वर्गका १२ प्रतिशत छन् । जम्मा ८ प्रतिशत निम्न मध्यम वर्गको हिस्सा कांग्रेसमा देखिन्छ र निम्न वर्गीयको उपस्थिति शून्य छ ।
तुलनात्मक रूपमा माओवादी केन्द्र र एमालेका सांसदहरूमा निम्न तथा निम्नमध्यम वर्गको उपस्थिति गणनायोग्य छ । यी दुई दलमध्ये माओवादीको वर्गीय आधार तल्लो तहमा देखिन्छ । माओवादीका करिब २८ प्रतिशत सांसद निम्नमध्यम र ६ प्रतिशत निम्न वर्गको प्रतिनिधित्व गर्छन् । एमालेमा यो हिस्सा क्रमश: २० र १ प्रतिशत छ । यसको अर्थ हो, एमालेको वर्गीय आधार उत्तरोत्तर निम्नबाट निम्नमध्यम हुँदै मध्यम वर्गमा फुक्दै गएको देखिन्छ ।
माओवादी सांसदहरूको ६७ प्रतिशत हिस्सा हुनेखाने वर्गको प्रतिनिधित्व गर्छ भने एमालेको ७८ प्रतिशत हिस्सा यो वर्गबाट आएको छ । कांग्रेसका ९२ प्रतिशत सांसद हुनेखाने वर्गको प्रतिनिधित्व गर्छन् ।
क्षेत्रीय र जातीय उत्पीडनविरुद्ध आन्दोलन गरी स्थापित भएका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले पनि कमजोर वर्गको प्रतिनिधित्व गर्न सकेको देखिँदैन । यी दुवै दलमा क्रमश: ९२ र ८० प्रतिशत सांसद सम्पन्न वर्गबाट आएका छन् । जबकि, यी दलको जनाधार रहेको प्रदेश–२ सुगम हुँदाहुँदै पनि सर्वाधिक उच्च गरिबी दर रहेको योजना आयोगको पछिल्लो तथ्यांकले देखाएको छ । कुल जनसंख्याको १८.४ प्रतिशतको बसोवास रहेको यस प्रदेशका झन्डै आधा अर्थात् ४८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् ।
राजनीतिबाटै कमाइ !
निर्वाचित सांसदको ६४ प्रतिशत हिस्साले पूर्णकालीन राजनीति अर्थात् राजनीतिलाई नै पेसाका रूपमा अपनाएको पाइएको छ । १४.५ प्रतिशतले कृषि र करिब त्यति नै सांसदले व्यापार–व्यवसायसमेत सँगसँगै अँगालेका छन् । एकातिर पूर्णकालीन राजनीति गर्नेहरूको करिब दुई तिहाइ उपस्थिति, अर्कोतिर उच्च आर्थिक हैसियत भएकाहरूको ७८ प्रतिशत हिस्सा । यसले राजनीति सेवा होइन, आर्जनको माध्यम नै बनिरहेको प्रस्ट्याउँछ ।
अझ उनीहरूको मूल आयस्रोत के हो भनी खोतल्दा अर्को रोचक निष्कर्ष फेला पर्छ । त्यो हो, ४३ प्रतिशत सांसदले आफ्नो मूल आयस्रोत कृषि भन्नु/देखाउनु । कृषिप्रधान मुलुकमा ४३ प्रतिशत सांसद कृषक पृष्ठभूमिबाट आउनु स्वाभाविक मान्न त सकिन्छ । सँगसँगै प्रश्न पनि जन्मिन्छ, के नेपालको कृषि आयस्रोत यति दरिलो छ कि जसले मध्यम वर्ग निर्माणका निम्ति प्रमुख भूमिका खेलिरहेको छ ? नत्र भने संसद्मा कि जमिनदार वर्गको वर्चस्व छ कि त अन्य अपारदर्शी आय लुकाउन कृषि देखाइन्छ ।
कतिपय सांसदहरूले बाबुआमाको सम्पत्ति, छोरा–छोरी, बुहारीको जागिर आदिलाई पनि आफ्नो परिवारको मूल आयस्रोत भनेका छन् । सँगसँगै उल्लेख्य संख्याका जनप्रतिनिधिको देखाउनलायक आयस्रोत नै छैन । करिब १६ प्रतिशत सांसदको कमाइको पारदर्शी स्रोत नै देखिन्न ।
२४ प्रतिशत सांसदहरूको प्रमुख आयस्रोत उद्योग–व्यापार देखिन्छ । यसले सांसदहरू राजनीति निर्भर जीविकाबाट अलग्गिँदै गरेको हो कि भन्ने अनुमान गर्न सकिन्छ भने अर्कोतिर एक हातमा राजनीति र अर्को हातमा व्यापार–व्यवसाय गर्दा राजनीतिको आडमा आफ्नो व्यवसायको पक्षपोषण गर्ने सम्भावना रहन्छ । राजनीतिमा पसेपछि व्यवसायी बनेका र व्यवसाय गर्दै जाँदा राजनीतिक दलसँग हेलमेल भएकाहरूको वास्तविक आँकडा यहाँ लिइएको छैन । तर, ठेक्कापट्टा, वैदेशिक रोजगार, बाह्य मुलुकको सामान आयात, मेडिकल कलेज सञ्चालन, जलविद्युत्का अनुमति प्राप्त व्यक्तिहरूको उल्लेख्य उपस्थिति संसद्मा भएको छ । जीविकाका निम्ति बेग्लै पेसा–व्यवसाय गर्ने र सेवाका निम्ति राजनीति गर्नेहरूको संख्या निकै कम छ ।
व्यवसायउन्मुख सांसदहरूले बनाउने कानुन तथा नीतिहरूमा स्वार्थको द्वन्द्व कति हुन्छ भन्ने पक्ष त विचारणीय छँदैछ, तिनले समाजवादउन्मुख नीति बनाउँछन् कि नवउदारवादी अर्थतन्त्र निर्माण गर्छन् ? तिनले गरिब र कमजोर वर्गलाई न्याय हुने व्यवस्थाको प्रवद्र्धन गर्छन् कि नागरिकलाई केवल उपभोक्ताका रूपमा व्यवहार गर्छन् ? यी प्रश्न सँगसँगै जन्मिन्छन् ।
ब्राह्मण–क्षत्रीकै बाहुल्य
समुदायगत आधारमा हेर्दा प्रत्यक्ष निर्वाचित सांसदहरूमा बाहुन, क्षत्री तथा सन्न्यासी समुदायको ५१ प्रतिशत उपस्थिति छ । आदिवासी जनजातिको २८ र मधेसी समुदायको करिब १८ प्रतिशत प्रतिनिधित्व देखिएको छ । ज्ञातव्य रहोस्, यहाँ थारू समुदायका प्रतिनिधि आदिवासी जनजाति समूहमा राखिएको छ भने तराईका अन्य आदिवासी समुदायका प्रतिनिधिलाई मधेसी वर्गमा राखेर तथ्यांक केलाइएको छ ।
सामाजिक संरचनाको सापेक्षतामा सबैभन्दा कमजोर उपस्थिति दलित समुदायको देखिएको छ । १३ प्रतिशतभन्दा बढी जनसंख्या रहेको दलित समुदायले प्रतिस्पर्धात्मक राजनीतिमा दुई प्रतिशत पनि उपस्थिति देखाउन सकेन । जम्मा तीन जना दलित समुदायका उम्मेदवारले प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न सके । तराईको दलित समुदायबाट एक जना पनि प्रत्यक्षबाट निर्वाचित भएको देखिएन ।
स्नातक–सभा
प्रत्यक्ष निर्वाचित सांसदहरूको शैक्षिक स्तरका आधारमा भन्दा अबको संसद्लाई स्नातक संसद् भन्न सकिनेछ । यद्यपि, समानुपातिक निर्वाचन प्रणालीबाट यही अनुपातमा शिक्षित समुदाय संसद्मा आउँछ भन्ने छैन । मुलुकभरको साक्षरता दर वृद्धि र शिक्षामा बढेको पहुँचले पनि शिक्षित जनप्रतिनिधिहरूको उपस्थिति उम्दा रहेको मान्न सकिन्छ ।
प्रत्यक्ष निर्वाचित सांसदहरूको हिस्सा ७४ प्रतिशत अर्थात् १ सय २३ जना देखिन्छ । एसएलसी उत्तीर्ण गरेका १८ र प्लस टू पढेका २१ जना निर्वाचित भएका छन् । जम्मा तीन जना मात्र एसएलसीभन्दा मुनिका छन् । स्नातक र त्यसभन्दामाथिका १ सय २३ जना छन् ।
दल बदलुको दबदबा
प्रत्यक्ष निर्वाचित सांसदको ३७ प्रतिशत हिस्साले विगतमा कुनै न कुनै रूपमा पार्टी परिवर्तन गरेका छन् । एकातिर यसलाई नेपालको अस्थिर राजनीतिको विम्बका रूपमा लिन सकिन्छ भने अर्कोतिर अवसरवादीहरूको जगजगीको प्रमाण ।
प्रत्यक्ष निर्वाचितमध्ये ४९ जना सांसद पहिला एउटा दलमा रहेर अहिले अर्कै दलमा पुगेका छन् भने १२ जनाचाहिँ विभिन्न दल चहारेर अहिले पुरानै दलबाट निर्वाचित भएका छन् । यसलाई आगामी दिनमा पनि विभिन्न प्रकृतिका सत्ता गठबन्धन निर्माण गर्न र भत्काउन पर्याप्त हुने गरी अस्थिर चरित्रले संसद्मा प्रवेश पाएको भन्न सकिन्छ । ६३ प्रतिशत सांसदले भने अहिलेसम्म दल परिवर्तन गरेका छैनन् ।
(कान्तिपुर क्षेत्रीय ब्युरोहरू, जिल्ला प्रतिनिधि तथा नेपाल टिमको सहयोगमा । तथ्यांक प्रशोधन तथा परामर्श : बालकृष्ण खड्का)
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...