बौद्ध इतिहासको उपेक्षा
बुद्ध जन्मेको देशमा उनकै अनुयायीलाई देश निकाला
जति बेला पनि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य निराश भेटिन्छन् । उनको आशय एउटै हुने गर्छ– नेपालमा हामीले गर्नुपर्ने धेरै बाँकी छ । यस्तै अवस्था दुण्डबहादुर बज्राचार्यको पनि छ । उनी बौद्ध धर्मको आधिकारिक ग्रन्थ त्रिपिटकका जानकार हुन् । उनी पनि कहिलेकाहीँ निराश सुनिन्छन् । भन्छन्, “नेपालमा बौद्ध धर्मका लागि जे हुनुपर्ने हो, त्यो भइरहेको छैन । जे हुनु नपर्ने हो, खालि त्यो भइरहेको छ । जसले बौद्ध धर्म र नेपालमा त्यसको स्थितिबारे बुझ्ने गम्भीर प्रयास गरेका छन्, तिनका लागि बुद्ध वाज बर्न इन नेपालको नारा चर्काउने प्रयास हुँदा चित्त बुझ्दैन । दु:ख लाग्छ । उनीहरूलाई खासै सतही काम लाग्छ, यो ।”
पछिल्लो पटक यही नारा दिएर कीर्तिमानी संख्यामा भीड जम्मा गर्ने प्रयास भयो, केहीले यसलाई के–के न भयोजस्तो माने । तर, जसले यो धर्मको अध्ययन गरिरहेका छन्, तिनका लागि यसको कुनै अर्थ छैन । त्रिवि केन्द्रीय इतिहास विभागका प्रमुख शंकर थापा पनि बौद्ध धर्मका जानकार हुन् । उनको विदेशी बौद्ध विद्वान्सँग बाक्लो सम्बन्ध छ । भन्छन्, “सिद्धार्थ गौतम लुम्बिनीमा जन्मेका हुन् । उनको जन्मभूमि अहिलेको आधुनिक नेपालको सीमाभित्र पर्छ, यो धर्म अध्ययन गर्ने सबैलाई थाहा छ । उनीहरू यसलाई ठूलो मुद्दा बनाउनुपर्ने आवश्यकता ठान्दैनन् ।” उनको प्रश्न छ, “नेपालले अहिलेसम्म बौद्ध धर्मका लागि के गर्यो ? साँच्चै बुद्ध वाज बर्न इन नेपाल मात्र भनिरहँदा के नै हुन्छ र ? उत्तिकै ठूलो दु:ख के पनि हुने गरेको छ भने बुद्धको वास्तविक शिक्षा के थियो ?” त्यसबारे नेपालमै धेरैले कम बुझेका छन् । अनित्य, अनात्मा र दु:ख बौद्ध धर्मको सिद्धान्तका आधार हुन् । यसमै टिकेर ठूलठूला दार्शनिक चिन्तन र सिद्धान्त तयार छन् । यसबारे साँच्चै धेरैलाई कम थाहा छ, थाहा पाउन प्रयास गर्ने हो भने स्रोत पनि कम छ ।
बौद्ध धर्मको साँच्चै गम्भीर अध्ययन गर्ने हो भने कि त भारतीय प्रकाशनलाई नै आधार मान्नुपर्छ, होइन भने पश्चिमेली प्रकाशन र अरू बौद्ध एसियाली देशका स्रोतमा । यसपटक १७ वैशाखमा बुद्ध जयन्ती परेको छ । सिद्धार्थ गौतमको जन्म भएको र ज्ञान प्राप्त गरेको दिन पनि यही हो । अनि, परिनिर्वाण हासिल गरेको दिन पनि । त्यसैले यो दिनको ठूलो महत्त्व छ । यसै सेरोफेरोमा फेरि एकपल्ट दोहोर्याएर इतिहास पल्टाउनु ठीक हुन्छ, वर्तमानको विश्लेषण गर्नु जायज हुन्छ ।
खासमा नेपालमा बौद्ध धर्मको आधुनिक इतिहास भनेकै दमन, विद्रोह, द्वन्द्व र पुन:निर्माण हो । यसलाई बुझेपछि मात्र कसैले ‘यस्तो थियो, यस्तो हुनुपर्ने रहेछ’ भन्न सक्छन् । खासमा बौद्ध धर्मको समग्र आधुनिक इतिहास पनि यही हो, यस धर्ममाथि भएको दमन, त्यसविरुद्ध विद्रोह । यही धर्म मान्नेबीच द्वन्द्व अनि त्यसको पुन: निर्माण । लिच्छवि र मल्लकालमा नेपालमा बौद्ध धर्मको स्थिति के–कस्तो थियो, त्यो धेरै लेखियो । आधुनिक समयमा के भयो ? त्यसबारे कम लेखिएका छन्, धेरैले यसबारे झन् कम बुझेका छन् ।
लुम्बिनीको खोज
केही सय वर्षअगाडि मात्र हो, बौद्ध धर्मबारे गम्भीर अध्ययन सुरु गरेको, विशेषत: पश्चिमेली विद्वान्बाट । पश्चिमेली विद्वान्ले बौद्ध धर्म र साहित्यको अध्ययन अनि त्यसको प्रकाशनले यो धर्मप्रति अन्तर्राष्ट्रिय रुचि बढेको हो । ठीक यही बेला बौद्ध धर्म मान्ने एसियाली देशहरूमा पनि पुन:जागरण सुरु भयो, विशेषत: श्रीलंकामा । बौद्ध धर्ममा श्रीलंकाको ठूलो देन छ । र, त्यहाँ चलेको धर्मको पुन:उत्थानले अरू देशलाई उत्तिकै प्रभाव पारेको इतिहास छ ।
यसै क्रममा पहिलो पल्ट सिद्धार्थ गौतमको जन्म कहाँ भयो भनेर खोज सुरु भएको हो । सन् १८९६ डिसेम्बरमा, सिद्धार्थ गौतमको जन्मस्थान लुम्बिनी हो भनेर फेरि पत्ता लाग्यो । त्यसअगाडि के भयो त ? इतिहासका लागि निकै महत्त्वपूर्ण हुन्छ, यो विषय । सन् १८०० तिर युरोपमा बौद्ध धर्म लोकप्रिय हुन थालेको थियो । केही युरोपेली भाषामा प्रमुख बौद्ध साहित्य पनि अनुवाद भए । यसबाट युरोपेली विद्वान् यसतर्फ आकर्षित भए । बौद्ध धर्मबारे थप खोजी हुने क्रम सुरु भयो ।
त्यतिबेला भारतमा बेलायतको उपनिवेश थियो । त्यसै क्रममा भारतीय पुरातात्त्विक सर्वेक्षण विभाग स्थापना भयो । अनि, रोयल एसियाटिक सोसाइटीजस्तो संस्था अस्तित्वमा आयो । ब्राह्मी लिपिबारे धेरै अनुसन्धान भयो र पढ्न सकिने भयो । बौद्ध साहित्यका रूपमा पालिको अपार भण्डार थियो नै । यस्तोमा लुम्बिनीसँगै बुद्धगया, सारनाथ र कुशीनगरबारे खोजी सुरु भएको थियो । यसमध्ये लुम्बिनीबारे धेरै पछि मात्र जानकारी आएको हो ।
पालि साहित्यसँगै फाहियान र युआन च्वाङको यात्रा–विवरणका आधारमा लुम्बिनीको खोजी भएको हो । सुरुमा लुम्बिनी अहिलेको भारतको उत्तरप्रदेशमा रहेको अनुमान थियो । त्यसका लागि पुष्टि गर्ने आधार भने थिएन । तैपनि, त्यतिबेला केहीले सिद्धार्थ गौतम भारतमा जन्मेका हुन् भनेर लेखे । नेपालमा राणा शासन चलिरहेको थियो । र, तराईको चारकोशे जंगल फँडानी पनि सुरु भइसकेको थियो । त्यहाँका बडाहाकिम थिए, खड्गशमशेर । काठमाडौँमा भने वीरशमशेरको शासन थियो ।
त्यसैबेला हो, कामदारले जंगलभित्र ढुंगाको स्तम्भ भेट्टाएको । पछि खड्गशमशेरले पनि यसबारे जानकारी पाए । सन् १८९६ डिसेम्बरमा जर्मन पुरातत्त्वविद् फुहरर त्यहाँसम्म पुगे । प्राप्त अशोक स्तम्भको शिलालेखमा लेखिएको उतारिएपछि ब्राह्मी लिपि विशेषज्ञ हुल्जले लुम्बिनी नै गौतम बुद्धको जन्मस्थल रहेको पुष्टि गरे, जुन वास्तवमै ऐतिहासिक उपलब्धि थियो । फुहरर भारतीय पुरातत्त्व विभाग अन्तर्गतका पुरातत्त्वविद् हुन् । उनीपछि पीसी मुखर्जी आए र अनुसन्धान अगाडि बढाए ।
खस राजा रिपु मल्लले लुम्बिनी भ्रमण गरेयता यो क्षेत्र ओझेलमा पर्न सुरु भयो । आठ सय वर्ष लुम्बिनीको स्थिति अज्ञातजस्तै रह्यो । त्यसबीचमा के भयो भनेर अनुमान मात्र गर्न सकिन्छ । त्यस समयमा त्यहाँ ठूलो भोकमरी चलेको हुन सक्छ । बाढीपहिरो गएको हुन सक्छ अथवा भयानक आगलागी भएको हुन सक्छ । यस्तै कुनै प्राकृतिक प्रकोपका कारण लुम्बिनी त्यति लामो समय जानकारीबाहिर रहेको हुनुपर्छ । जेहोस्, लुम्बिनीको खोजपछि पनि यसको विकास र विस्तारमा धेरै समय खर्चियो ।
संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ–थान्तले लुम्बिनी भ्रमण गरेयता यसले केही गति लिएको हो । सन् १९६७ तिर लुम्बिनी पुग्दा त्यसको दयनीय स्थिति देखेर बर्मेली बौद्ध धर्मका अनुयायी उनी रोएका थिए भनिन्छ । अहिले लुम्बिनीमा धेरै विकास भएको छ, अझै धेरै विकास गर्नुपर्ने बाँकी छ । अझै लुम्बिनी पुग्नुपर्छ, विशेषत: त्यहाँ भइरहेको सुस्त विकास र वरिपरिको प्रदूषणले धेरैको मन रुन्छ । यस्तोमा बुद्ध लुम्बिनीमा मात्र जन्मेको भनिरहनुको के अर्थ ?
त्रिपिटक र नेपाल
बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म धर्मसम्बन्धी उपदेश लगातार दिइरहे । बुद्धले उपदेश न कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिए, न त एक खास स्थानमा । उनले आफूद्वारा स्थापित संघका लागि आवश्यकता अनुसार नियम पनि बनाए । बुद्धको समयसम्म यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबैसँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो । बुद्धको महापरिनिर्वाणपछि उनका मुख्य–मुख्य शिष्यले माने, सबै उपदेशको संग्रह गर्नुपर्छ ।
भिक्षु महाकश्यपले बुद्धको उपदेश संग्रह गर्न सम्मेलन गर्ने निर्णय गरे । त्यतिबेला उनले लगभग संघको नेतृत्व गरिरहेका थिए । बौद्ध धर्मको इतिहासमा यस्ता सम्मेलन संगायनाका नामले प्रख्यात छन् । बुद्ध महापरिनिर्वाणको तीन महिनापछि पहिलो संगायना भएको थियो । सात महिना चलेको यस संगायनामा पाँच सय भिक्षुले सहभागिता जनाए । यसै क्रममा धर्म र विनयसम्बन्धी उपदेश संकलन गरिए । बुद्ध वचनलाई स–साना भागमा विभाजन गरियो ।
त्यसलाई मौखिक परम्परा अनुसार सुरक्षित राख्न फरक–फरक भिक्षुका संघलाई जिम्मा दिइयो । आफ्नो भागमा परेको अंशलाई भिक्षु संघले पाठ गर्ने काम सुरु गरे । यसरी सुदीर्घ परम्परा सुरु भयो र सुरु भयो, बुद्ध वचन सुरक्षित गर्ने काम । ईसापूर्व २९ तिर भिक्षुहरूले फेरि अनुभव गरे, मौखिक परम्पराले बुद्ध वचन सधैँका लागि चिरस्थायी हुने छैन । यसलाई लिपिबद्ध गर्न आवश्यक छ । त्यतिबेला श्रीलंकामा राजा बट्टगामिणीको शासन थियो ।
उनले बुद्ध वचन लिपिबद्ध गर्ने व्यवस्था मिलाए । यसका लागि एक अर्को संगायन भयो । यो टिपिटक संगायनाका नामले प्रख्यात छ । टिपिटक अर्थात् त्रिपिटक । अर्थात्, तीन थैलीको समूह । यी हुन्, सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक । सुत्तपिटकमा बुद्ध उपदेश संकलित छन् । विनय पिटकमा भिक्षुका नियम छन् । अभिधम्मपिटकमा बुद्ध दर्शन । “त्रिपिटक अध्ययन नगरेर कसैले बौद्ध धर्म बुझे भन्छ भने त्यो सरासर गलत हो,” दुण्डबहादुर बज्राचार्य भन्छन् ।
यिनै दुण्डबहादुरले नेपाल भाषामा त्रिपिटकका धेरै ग्रन्थ प्रकाशित गरिरहेका छन् । केही समयमै सम्पूर्ण त्रिपिटक नेपाल भाषामा उपलब्ध हुनेछ । तर, नेपाली भाषामा ? एकाधभन्दा बढी ग्रन्थ नेपालीमा अनुवाद भएको छैन । नेपाली छाडेर नेपालका राष्ट्रिय भाषामा त्रिपिटकको उपस्थिति लगभग शून्यजस्तै छ । सिद्धार्थ गौतम नेपालमा जन्मेका हुन् भनेर दाबी गरिरहनु र बौद्ध धर्मको मुख्य आधार नै नेपालका भाषाहरूमा नहुनु विडम्बना होइन ?
बौद्ध धर्मको स्रोत संस्कृत
बौद्ध धर्मलाई पालि र संस्कृत भाषामा लेखिएका ग्रन्थका आधारमा पनि विभाजन गर्ने गरिन्छ । यहाँनेर उल्लेख गर्नैपर्ने हुन्छ, नेपाल बौद्ध धर्मका लागि सबैभन्दा ठूलो स्रोत हो । अझ भनौँ– काठमाडौँ उपत्यका । यहाँ धेरै संख्यामा महायानी बौद्ध ग्रन्थ सुरक्षित छन् भन्ने तथ्य बाहिर आएको पनि केही सय वर्ष मात्र भयो । यसअघि यसबारे थाहा थिएन । यसको श्रेय राणा शासनमा नेपाल आएका बेलायती ब्रायन हड्सनलाई जान्छ । उनले नै पहिलो पल्ट यसबारे पश्चिममा जानकारीमा ल्याए ।
त्यतिबेला यसले बौद्ध धर्मको इतिहासमै क्रान्ति ल्याएको थियो । काठमाडौँका नेवारले महायानी बौद्ध–साहित्यका लगभग सम्पूर्ण साहित्य हस्तलिखित ग्रन्थका रूपमा सुरक्षित राख्नुलाई ठूलो उपलब्धि मानिन्छ । यसमा सबैभन्दा प्रमुख रहेको छ, नवग्रन्थ । यसमा प्रज्ञापारमिता, ललितविस्तर, लंकावतार, सुवर्ण प्रभास, गण्डव्युह, सद्धर्मपुण्डरिक, दशभूमि, तथागत गुह्यक र समाधिराज पर्छन् । यी सबै अहिले नेपाल भाषामा उपलब्ध छन् । तर, नेपालीमा छैन भने हुन्छ, केहीलाई छाडेर ।
जबकि, यी ग्रन्थ तिब्बती, चिनियाँ, जापानी र कोरियाली भाषामा भने उपलब्ध छन् । काठमाडौँ उपत्यकामा मान्ने बौद्ध धर्मलाई पछिल्लो समय नेपालमण्डलको बौद्ध धर्म पनि भन्ने गरिन्छ । केहीले यसलाई नेवार बौद्ध धर्म पनि भन्ने गरेका छन् । पालि बौद्ध–साहित्यलाई अहिलेसम्म जीवन्त राख्न श्रीलंकाको जति योगदान छ, त्यस्तै संस्कृत बौद्ध धर्ममा नेपालको योगदान छ । बुझ्नैपर्ने के हो भने पालि र संस्कृत बौद्ध–साहित्य एकआपसमा फरक छन् ।
बौद्ध धर्मको पुन:निर्माण
शाहकालमा नेपालमा बौद्ध धर्म कमजोर हुन थालेको र राज्यका तर्फबाट विभेद तथा दमन सुरु भएको मानिन्छ । विशेषत: राणाकालमा बौद्ध धर्ममाथि चरम दमन सुरु भएको थियो । एकातर्फ बौद्ध धर्मप्रति विभेदपूर्ण कानुन बने भने अर्कोतर्फ राज्यबाटै यसलाई फरक व्यवहार गरियो । राणा शासनमा बौद्ध धर्मलाई विदेशी धर्म मानिन्थ्यो । अझ स्पष्ट रूपमा भोटे धर्म भनिएको इतिहास छ । स्थिति कतिसम्म भने राणा शासकले चिवर लगाएका भिक्षुहरूलाई समेत देश निकाला गरेका थिए । बुद्ध जन्मेको देशमा उनकै अनुयायीलाई देश निकाला ?
इतिहासमा कारुणिक स्थिति बनेको छ, यो । राणा शासनको समाप्तिको सुरुआती केही समय देश बौद्ध धर्मप्रति उदार देखिए पनि पछि फेरि यो अनुदार बन्यो, पञ्चायत कालमा । पश्चिमेली विश्लेषकले भनेका छन्, नेपालमा बौद्ध धर्मको स्थिति राम्रो हुन नसकेको एउटा कारण सरकारी बेवास्ता त हो नै, यसभन्दा ठूलो कारण विभेद हो । सरकारको यो नीतिविरुद्ध विद्रोह भएको इतिहास पनि छ । बौद्ध मार्गीबीच नै लामो द्वन्द्व चलेको पनि धेरै पुरानो भइसकेको छैन ।
अहिले नेपालमा बौद्ध धर्मको जुन स्थिति छ, त्यो त्यही दमन, विद्रोह र द्वन्द्वको सामाजिक रूपान्तरण हो । अझ भनौँ, नेपालमा बौद्ध धर्मले एकखाले पुन:निर्माणको बाटो लिएको छ । यहाँनेर ठ्याक्कै छुटाउन नहुने हिमाली क्षेत्रमा मानिने बौद्ध धर्म पनि हो । यसमा तिब्बती प्रभाव देखिन्छ । मौलिकपन पनि छ । यस सम्बन्धमा पनि खासै अनुसन्धान र अध्ययन कहाँ भएको छ र ? यी सबै पृष्ठभूमिमा बुद्ध नेपालमा जन्मेका हुन् भनेर मात्र दोहोर्याउनुमा के अर्थ छ, केही ठोस गर्दैनौँ भने ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...