त्यो नागरिक हस्तक्षेप
आन्दोलनरत दललाई संविधानसभासम्म पुर्यााउने र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने बीचको बाटो लियौँ, हामीले ।
बहुदलीय व्यवस्थाको आगमनपछि दलहरूले जनअपेक्षा अनुसार जिम्मेवारीबोध गरेनन् । उनीहरूले बाटो बिराएका बेला सम्झाउनुको साटो राजाले छिर्के हान्न थाले । यसबीच माओवादीको विद्रोह उत्कर्षमा पुग्यो । राजा वीरेन्द्रको वंशनाश भयो र ज्ञानेन्द्रले अधिनायकवादी पाइला चाले ।
पहिले पाँच दल, पछि सात दल सडकमा उफ्रे पनि जनतामा एकखाले वितृष्णा थियो । त्यो परिवेशमा हस्तक्षेप गर्नुपर्छ भनेर अनौपचारिक बैठक गर्दै जाँदा नागरिक आन्दोलन जन्मिएको हो । सुरुमा हामीले ‘गणतन्त्र’ भनेनौँ, ‘लोकतन्त्र’ मात्रै भन्यौँ । खासमा सिद्धान्त र अभ्यास नमिल्दा प्रजातन्त्र ‘आउटडेटेड’ भइसकेको थियो । लोकतन्त्रको सांकेतिक अर्थ थियो, हामीलाई राजा नभए पनि हुन्छ ।
एकातिर अकर्मण्यताका कारण जनतामा दलहरूप्रति चरम वितृष्णा फैलिएको थियो भने अर्कातिर सरकार–माओवादी द्वन्द्वको चपेटामा रातदिन पीडित थिए । माओवादी पनि नजित्ने, राज्य पनि नजित्ने अवस्थामा नागरिक तहको हस्तक्षेप जरुरी भइसकेको थियो ।
आन्दोलनरत दललाई संविधानसभासम्म पुर्याउने र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने बीचको बाटो लियौँ, हामीले । मूलत: हामी शान्ति स्थापनामा लागेका थियौँ । गिरिजाप्रसाद कोइरालासँग मेरो भेट भइरहन्थ्यो । तर, प्रचण्डसँग सम्पर्क हुन सकेको थिएन । त्यतिबेला म कहिले ट्रान्सपरेन्सीका नाममा बर्लिन जान्थेँ, कहिले ह्युमन राइट्स भनेर जेनेभा जान्थेँ । विभिन्न सूत्रलाई भनेँ– म दिल्लीको बाटो हिँडिरहन्छु, प्रचण्डलाई खबर गरिदेओ न । सुरुमा त उनीहरूले ठट्टाजस्तो पनि सम्झेछन् । प्रचण्डसँग पहिलो भेटमै साढे तीन घन्टा बसिएछ । मैले उहाँलाई भनेँ, “समानता र सामाजिक न्यायका कुरामा हामी पनि संवेदनशील छौँ । तर, त्यसका लागि हिंसा छाड्नुपर्यो ।” हामीले यसका लागि नागरिक तहमा अथक प्रयास गर्यौँ । शब्दै खोज्ने हो भने १२ बुँदे समझदारीमा पनि छैन, गणतन्त्र । त्यसमा ‘पूर्ण लोकतन्त्र’ भनिए पनि हाम्रो मन गणतान्त्रिक भइसकेको थियो । लोकतन्त्र स्वीकार गर्न नसक्ने जमात पनि हामीसँगै थियो । राज्यको पुन:संरचना, काठमाडौँकेन्द्रित शासन व्यवस्थाको अन्त्य, समावेशी राज्यव्यवस्था, सामाजिक न्याय आदि भन्दाभन्दै हामी गणतन्त्रमा पुगिहाल्यौँ ।
गणतन्त्रलाई सार्थक बनाउन समय लाग्छ । अहिले राज्यको चरित्रमै आधारभूत परिवर्तन भएको छ । संघीयताले गर्दा काठमाडौँकेन्द्रित सरकार जनताको घर–आँगनमा पुगेको छ । संघ, प्रदेश र स्थानीय गरी तीन तहको निर्वाचनमार्फत संरचना बनेका छन् । तर, जनताले सकारात्मक अनुभूति र सन्तोष लिन पाउने अवस्था बनिसकेको छैन । मूल कुरा लोकतन्त्र हो । गणतन्त्र भनेको त लोकतन्त्रको अभ्यास गर्ने राजनीतिक या शासकीय पद्धति मात्र हो । लोकतन्त्रलाई प्राण हाल्न या ज्यान भर्न गर्नुपर्ने काम थुपै्र छन् । जति भएका छन्, ती अपुग छन् । प्रयास भएका हुन् तर कमजोर भए ।
लोकतन्त्रका केही आधारभूत मान्यता छन् । त्यसै अनुसार नागरिकले मर्यादायुक्त जीवन बिताउँछ, आफूले चुनेको सरकारबाट शासित हुन्छ, त्यो सरकारलाई आफूप्रति जवाफदेही बनाउँछ । अहिले कसो–कसो नमिलेजस्तो लागे पनि, चित्त नबुझे पनि त्यसलाई नकार्न सकिँदैन । संरचनात्मक प्रगतिले मात्र हामीलाई पुग्दैन । जनतालाई सार्थक अनुभूति हुने गरी उपलब्धि दिन सकेको छैन ।
गणतन्त्रका १० वर्ष त संक्रमणकाल भन्दैमा गइहाल्यो । संविधान बनाउँदा त्यति धेरै समय खर्च भयो । गणतन्त्रसँग जोडिएका जनताका सपनालाई मूर्त रूप दिनुपर्ने पक्षले त्यसैलाई निहुँ बनायो । यति मात्र होइन, कसैको बहुमत भएन । विभिन्न गठबन्धन बनाउनुपर्यो । लेनदेन र साँठगाँठ गर्नुपर्यो । विकास निर्माणका काम धेरै पछाडि परे । लोकतन्त्र भन्दाभन्दै पनि राजनीतिमा अपवित्र घुसपैठ भयो ।
१० वर्षपछिको सकारात्मक पक्ष के भने अब त्यो चरण गइसक्यो । संक्रमणकाल भन्न पनि पाइएन किनभने संविधान निर्माण र निर्वाचन आदि काम भइसके । बहुमत छैन भन्न पनि पाइएन । त्यो अवस्थाले अलिकति आशा जगाएको छ । यसलाई पनि उपलब्धिका रूपमा लिनुपर्छ । अहिलेको संविधानमा मधेसी, जनजाति, दलित, महिलालगायतको कतै न कतै असन्तुष्टि पोखिएको छ । अब त्यसलाई निषेध गरेर हिँड्न मिल्दैन । त्यसमा सत्तापक्ष र विपक्ष दुवै सहमत छन् । भलै सामान्य मत–मतान्तर होलान् ।
यस प्रसंगमा मैले बरोबर ०४७ को संविधान बनाउँदाको उदाहरण दिने गरेको छु । मधेसी, जनजाति, दलित, महिलाका हक अधिकार, भाषिक, लैंगिक र धार्मिक स्वतन्त्रताका आवाज त्यतिबेला पनि नउठेका होइनन् । तर, त्यो चार महिनामै बनेको संविधान थियो । त्यसैले यथोचित सम्बोधन हुन सकेन । मलाई अचम्म लाग्छ, १० वर्षमा एकपटक पनि त्यो संविधानमा सानो संशोधनको कुरा उठेन । न सत्तापक्षले प्रयास गर्यो, न त विपक्षले । कसैले सुधारको आवश्यकता नै देखेन । बरु संसारकै उत्कृष्ट संविधान मात्र भनिरहे । अब पनि पुरानै चस्माले हेर्ने हो भने राम्रो हुँदैन ।
हिजो हामी नागरिक हस्तक्षेपमा उत्रियौँ । त्यसमा सबै पेसा र व्यवसाय अनि विभिन्न तह र तप्काको प्रतिनिधित्व थियो । राज्यसत्ता घरिघरि परिवर्तन गरिरहने कुरा होइन । बरु राज्यसत्तालाई नागरिकको हितमा अधिकतम उपयोग गर्ने हो । स्वतन्त्र मानिसको स्वतन्त्र विचार र कार्यशैली हुन्छ । अब फेरि त्यही प्रकारको नागरिक आन्दोलन आवश्यक पर्छ भन्ने मलाई लाग्दैन ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...