राउटेलाई नक्कली कार्ड
भत्ताको लोभ देखाएर गलत जन्ममिति भएको परिचयपत्र
गर्जेखोला (दैलेख)– चिटिक्क जीउडाल । हँसिलो मुहार । यी युवतीलाई भेट्ने जोकोहीले गर्ने पहिलो प्रश्न हुन्छ– तिम्रो नाम के हो ?
३० असारमा राउटेलाई परिचयपत्र वितरण गर्न गएको सरकारी टोलीले पनि लालीकाँडा बजारमा भेटिएकी उनलाई यही प्रश्न तेस्र्यायो । उताबाट जवाफ पनि रेडिमेड नै आयो– थाहा छैन । कर्णाली प्रदेश सरकारका सामाजिक विकास सचिव गिरिजा शर्माले अलि बढी कर गरेपछि उनले सुस्तरी भनिन्, “नाम भन्न मिल्दैन क्या !”
केही बेरमा तिनै युवतीले नेपाल प्रतिनिधिसँग साउती गर्दै भनिन्, “मलाई गाडीमा लैजाने भए नाम भन्छु ।” उनलाई लालीकाँडा बजारदेखि राउटे बस्ती गर्जेखोला जानु थियो । सरकारी कर्मचारी र पत्रकारको टोली पनि त्यतै जाँदै थियो । सहमति जनाउनेबित्तिकै भनिन्, “मेरो नाम बाटुली हो, कसैलाई नभन्नू है !”
ती थिइन् राउटे समुदायकी एक प्रतिनिधि पात्र, जो आफ्नो नाम र उमेर अरूलाई भन्दैनन् । सरकार पहिलोपटक तिनै व्यक्तिलाई परिचयपत्रको बिल्ला भिराउँदै थियो । लालीकाँडा बजारमा भेटिएका बाटुलीजस्ता अन्य राउटेहरूले हाकाहाकी भनिदिए, “हामी त त्यो (परिचयपत्र) लिँदैनौँ ।” टोली गर्जेखोलास्थित राउटे बस्ती पुग्दा तीनमध्ये एक मात्र मुखिया वीरबहादुर शाही भेटिए । अरू दुई मुखिया सूर्यनारायण शाही र दिलबहादुर शाही परिचयपत्र बाँड्ने सुइँको पाउने बित्तिकै बिहानै सिकार खेल्न जंगल गइसकेका रहेछन् । वीरबहादुरको सुरुआती अडान ‘परिचयपत्र किन लिने ?’ भन्नेमै देखियो ।
हाल समुदायका संरक्षक रहेका पूर्वमुखिया महिनबहादुर शाहीले पनि ‘पुर्खाले नगरेको काम गर्न बाध्य नपार्नुस्’ भन्दै बिन्ती बिसाए । तर, टोलीले सामाजिक सुरक्षा भत्ताका लागि स्थायी परिचयपत्र लिनैपर्ने सुझाएपछि विस्तारै उनीहरू गल्न थाले । ‘हामीलाई भत्ता दिए भइहाल्छ, यो (परिचयपत्र) दिनुपर्दैन,” मुखिया वीरबहादुरले भने, “पैसा पाए चामल, खसी किनौँला, यसले केही किन्न मिल्दैन ।”
गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीलगायत जनप्रतिनिधि र सरकारी अधिकारीले परिचयपत्रको महत्त्व र आवश्यकता बुझाउन धेरै मिहिनेत गर्नुपर्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सामाजिक सुरक्षा भत्ता वितरणका लागि गाउँपालिकाबाट राउटेलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो । भत्ताकै ‘लोभ’ देखाएपछि वीरबहादुर मुखिया परिचयपत्र भिर्न राजी भए । र, उनले टोलीलाई आश्वस्त पार्दै भने, “मुखियाले मान्यो भने सकियो, हामी खुसी भए जनता पनि खुसी भइहाल्छन्, ल ल्याउनुहोस् (परिचयपत्र) ।”
सुर्खेत, दैलेख, अछाम र जाजरकोटका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको संख्या १ सय ४९ छ । उनीहरू ४२ घरधुरीमा मिलेर बसेका छन् । खेतीपाती नगर्ने, एकै स्थानमा नबस्ने र लेखपढ नगर्ने यो जाति आफ्नो परिचय खुलाउन चाहँदैन । पुर्खाले नगरेको काम भएकाले उनीहरू यसलाई ‘पाप–कर्म’ भन्ने गर्छन् । सरकारले परिचयपत्र वितरण गरेपछि उनीहरूले यसलाई ‘आफूलाई एकै ठाउँमा बाँध्ने पासो’ का रूपमा लिएका छन् । बस्तीको माथिल्लो भागमा परिचयपत्र वितरण हुँदै गर्दा आफ्नो घरअगाडि टोलाइरहेका प्रकाश शाहीले त्यस्तै भाव प्रकट गरे, “म त लिन्नँ, यसले खान पुग्दैन, किन पाप बोक्नु ? सरकारले अहिलेसम्म भत्ता दिएकै छ, अब यही (परिचयपत्र) किन चाहियो ?”
अनिच्छा हुँदाहुँदै पनि उक्त दिन राउटेले परिचयपत्र लिए । उनीहरूको ठेगाना गुराँस गाउँपालिका वडा–८ कायम भएको छ । परिचयपत्र सबैभन्दा पहिले ग्रहण गर्ने व्यक्ति बने– महिनबहादुर शाही । ६० वर्षीय पूर्वमुखिया शाही हाल समुदायका संरक्षक छन् । सुरुमा ‘यो (परिचयपत्र) लिएर के काम ?’ भन्दै अन्कनाएका उनी केही बेरपछि परिचयपत्रको महत्त्व बुझ्दा खुसी देखिए । “अब योभन्दा बढी (नागरिकता) त नलिने,” उनले भने, “सरकारले भत्ता दिन्छ, चामल दिन्छ भने त ठीकै छ ।”
गाउँपालिकाले अतिलोपोन्मुख समुदायलाई दिइने सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र वितरण थालेको हो । गाउँपालिकाको कार्यपालिका बैठकले १५ असारमा राष्ट्रिय मूलधारमा ल्याई एकद्वारबाट भत्ता वितरण गर्ने र स्वास्थ्य तथा सुरक्षाका अन्य सुविधा प्रवाह गर्न परिचयपत्र दिने निर्णय गरेको थियो । यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३१ जेठमा गाउँपालिकालाई परिचयपत्र वितरण सुरु गर्न भनेको थियो । “परिचयपत्र वितरण भएपछि पहिलोपटक उहाँहरूको विवरणसमेत सूचीकृत भएको छ,” गाउँपालिका अध्यक्ष ओलीले भने, “सुरुमा परिचयपत्र लिन नमाने पनि पछि यसले राउटे समुदाय र राज्यलाई नै सहज बनाउनेछ ।”
कर्णाली प्रदेश सरकारका सामाजिक विकास सचिव गिरिजा शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने र गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले संयुक्त रूपमा ४० जनालाई परिचयपत्र वितरण गरेका थिए । अर्कोतिर, परिचयपत्रमा उल्लिखित जन्ममिति अनुमानका भरमा राखिएको भन्दै आलोचना भएको छ । गाउँपालिकाले बनाएको परिचयपत्रमा सबैको जन्ममिति उल्लेख छ । आफ्नो उमेरसमेत नबताउने उनीहरूले जन्ममिति कसरी भने ? यो प्रश्नले जन्ममिति हचुवाका भरमा राखिएको आशंका गरिएको हो । १ चैत ०३२ जन्म मिति उल्लेख गरिएका हरिबहादुर शाहीले परिचयपत्र भिरे पनि मिति भन्न सकेनन् । “म कति वर्ष भएँ खै ?” उनले उल्टै प्रश्न गरे, “जन्ममिति भन्या के हो ?”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...