नाजुक नाका
अन्तर्राष्ट्रिय नाकामा पूर्वाधार अभाव
रसुवागढी (रसुवा)– पारिपट्टि चिनियाँ भूभागमा आधुनिक भवन, दुई लेनको कालोपत्रे सडक छन्, अध्यागमन र भन्सारका भवनमा आधुनिक उपकरण जडान भएका छन् । वारि नेपाली भूभागमा उताको ठीकविपरीत । पानी पर्दा पहिरो, घाम लाग्दा धूलो उड्छ । हावा चल्दा माथिबाट ढुंगा खस्छ ।
नाकामा प्रहरीले टहराबाट सुरक्षा जाँच गर्छन् । भन्सार कर्मचारी सीमाभन्दा डेढ किमि टाढा टिमुरेको सडकमा उभिएर काम गर्छन् । सबैलाई बस्ने ठाउँ पनि पुग्दैन । राजधानीबाट रसुवागढी पुग्ने जीर्ण सडक माथिबाट पहिरो झर्दा बन्द हुने र खुल्ने निश्चित हुँदैन ।
दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आउजाउ गर्छन्, केरुङ (रसुवागढी) नाकाबाट । चीनसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय व्यापारिक नाका भए पनि रसुवागढीको नेपालपट्टि सुविधा कम छ । ०७२ को भूकम्पका कारण उत्तरी चीन जोड्ने नाका तातोपानीसँगै केरुङ (रसुवागढी) पनि बन्द भएको थियो ।
तातोपानी खुल्ने अझै निश्चित नभए पनि ०७२ मंसिरयता चीनबाट हुने धेरैजसो आयात रसुवागढीबाट हुँदै आएको छ । यही नाकालाई १४ भदौ ०७४ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गए पनि भौतिक अवस्था अस्तव्यस्त छ ।
त्यसो त, चीनतर्फको केरुङ क्षेत्रमा पनि भूकम्पले क्षति पुर्याएको थियो । तर, चीनले ०२० सम्म केरुङसम्म रेल ल्याउने रणनीति अनुसार तीव्र गतिमा भौतिक संरचना निर्माण गरिरहेको छ । “उता भूकम्पको क्षति बिर्साउने संरचना बनिसकेका छन्, यता त हामी सुरक्षित छैनौँ, सर्वसाधारणको के कुरा ?” एक सुरक्षाकर्मी भन्छन् ।
तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका यही नै हो । सडक र पर्याप्त पूर्वाधार नहुँदा व्यापारिक कारोबार सहज होइन, व्यवसायी हतोत्साही हुने अवस्था छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार सीमामा अध्यागमन, भन्सार, क्वारेन्टाइन, बैंकलगायतका कार्यालय एकै थलोमा हुनु अनिवार्य छ । तर, सीमामा ती कार्यालय छरिएर रहेकाले व्यापारीलाई जाँचपास गर्नै हम्मे पर्छ । अध्यागमन र भन्सार कार्यालय डेढ किमि टाढा (राजधानीतर्फ) टिमुरेमा छ ।
१५ मंसिर ०७१ मा विधिवत रूपमा नाका सञ्चालनमा आएसँगै रसुवा भन्सार कार्यालयले दैनिक करोडौँ राजस्व संकलन गर्छ । तर, भन्सारमा पर्याप्त कन्टेनर पार्किङ गर्ने यार्ड छैन । भएका यार्डको क्षमता पनि निकै कम छ । एकैचोटि धेरै कन्टेनर आउँदा भन्सार कर्मचारीहरूले सडकमै उभिएर चेकजाँच गर्नुपर्ने बाध्यता छ । भएका यार्ड पनि खुला ठाउँमा रहेकाले पानी पर्दा काम गर्न नसकिने रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत गोपाल कोइराला बताउँछन् । भन्छन्, “खोलाको छेउमा अस्थायी भन्सार यार्ड रहेकाले अहिलेसम्म बिजुलीको व्यवस्था हुन सकेको छैन । बिजुली नहुँदा बेलुकासम्म चेकजाँच गर्न सकिँदैन ।”
रसुवागढी नाकामा अझै पनि भौतिक पूर्वाधारको विकास नभएको व्यापारी बताउँछन् । सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायातको समस्या पनि उत्तिकै छ । जिल्लाबाहिरका व्यापारी तथा गाडी चालकसित वान डे पास नहुने, सवारी साधन बिग्रिँदा बनाउन जान नपाउने तथा भन्सार यार्ड व्यवस्थित नहुँदा सामान चोरी हुने र खुला ठाउँमा भएकाले पानी पर्दा समस्या रहेको व्यापारी धर्म पौडेलको गुनासो छ ।
सीमा क्षेत्रमा सुरक्षा र सामान जाँचको कुनै पनि उपकरण छैनन् । सवारी जाँच्ने ‘भेहिकल एक्सरे’, ‘मेटल डिटेक्टर’ लगायत आधुनिक मेसिन नहुँदा तस्कर उम्कने गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको कथन छ । भन्छन्, “नाकामा खटिएका सुरक्षाकर्मीले टहरा र टेन्टमुनि बसेर यात्रुहरूको झोला नांगो आँखाले हेर्ने र हातले छामछुम गरेर जाँच्नुपर्ने अवस्था छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...