घुमुवाको एम्बुसमा
पैसाको भोक र विलासिताको सोख भएका युवती प्रयोग गरेर असुली

जसरी पनि पैसा कमाउने कुलतमा मानिसले के–के गर्दैन ? पैसा भए जे पनि किन्न पाइने सोच भएका धनाढ्यलाई लक्षित गरी प्रेमको पासो र यौनको धराप थाप्नसमेत पछि पर्दैन । रकम असुल्ने र रातारात धनाढ्य हुने आपराधिक र महत्त्वाकांक्षी योजनामा प्रहरी नै सामेल हुन थालेका छन् । यस्तो पासो थाप्दा प्रहरीले पैसाको भोक र विलासिताको सोख भएका युवतीलाई प्रयोग गर्छन् । बाहिरी रूपमा सुन्दर तर कमजोर आर्थिक अवस्था भएका र यौन सम्बन्धलाई सामान्य ठान्ने युवतीलाई जाल बिछ्याउने सन्जालको सदस्य बनाइने गरिएको छ ।
यौन धरापमा परेर पैसा असुल्ने धन्दामा लागेका नेपालगन्जस्थित संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी जवान ओमप्रसाद आचार्य, जगदीश बोहरा र बाँके फत्तेपुरकी श्रोती हमाल थारु प्रहरीकै फन्दामा परेपछि यस्तो रहस्य खुलेको हो । श्रोती र ओमको घर एउटै गाउँ रहेछ, बैजनाथ गाउँपालिका–४ बाँके । चिनजानसँगै घनिष्ट सम्बन्ध । ओमले सहकर्मी जगदीशसँग पनि चिनजान गराए श्रोतीलाई । कसलाई कसरी यौन धरापमा पार्ने ? अन्तत: श्रोतीले पहिलेदेखि नै चिनेको नेपालगन्जका सोनु अन्सारीलाई जालमा पार्ने योजना बनाए, तीनै जनाले ५ भदौ दिउँसो । श्रोतीले भेट्न आउनू भन्दै फोन गरिन् । मन परेकी श्रोतीले बोलाएपछि सोनु मख्खै परे । पहिलेदेखि नै नेपालगन्ज विमानस्थलनजिकै एउटा होटलमा कोठा बुक गरेका थिए । बाहिर बसेर के कुरा गर्ने भन्ने श्रोतीको आग्रहले दुवै कोठामा पुगे । सोनु निर्धक्क थिए । कोठामा बस्न भ्याएका के थिए, सादा पोसामा २ जना प्रहरी पनि छिरे । फटाफट मोबाइलले श्रोती र सोनुको तस्बिर लिए । ‘हामी घुमुवा प्रहरी, तिमीहरू दुवैको फोटो लिइसक्यौँ, यो फोटो फेसबुकमा हालिदिन्छौँ । कतै कसैलाई भने राम्रो हुँदैन’ भन्दै मोलतोल सुरु गरे । धम्की दिँदै सुरुमा १० लाख रुपैयाँ मागे । बार्गेनिङ गर्दै जाँदा ५ लाखमा कुरा मिल्यो । कसैले कसैलाई नभन्ने सहमति भयो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंह भन्छन्, “२ लाख श्रोती र डेढ–डेढ लाख रुपैयाँ आचार्य र बोहराले बाँडेछन् ।”
रहस्य त्यतिबेला खुल्यो, जतिबेला होटल सञ्चालन गर्दै आएकी एक महिलालाई यो घटनाले मन पोल्यो । सबै कुरा थाहा पाएकी उनले १५ दिनपछि प्रहरीलाई खबर गरिन् । अन्तत: प्रहरीले यौन धरापका योजनाकार तीनै जना पक्राउ गर्यो, २० भदौमा । प्रहरीले उनीहरूलाई अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाएको छ । यी घुमुवाहरूले सिंगो प्रहरी संगठनलाई बदनाम गराएको सुइँको पाउनासाथ प्रहरी प्रधान कार्यालयबाटै उनीहरूलाई कारबाहीका लागि कडा निर्देशन दिएको थियो । यस्तो निर्देशनका कारण अहिले यस्ता घटनाहरू हुन छाडेका छन् ।
नेपालगन्जमा यौन धराप राखेको घटना सार्वजनिक भएको यो पहिलो हो । तर, घुमुवा प्रहरीकै संलग्नतामा यौन धरापमा पारेर १२ लाख रुपैयाँसम्म असुलेका तथ्य फेला परेका छन् । कोहलपुरका एक व्यापारी यस्तै जालमा परिसकेका छन् । यस्तै, सन्जालका सदस्यले नेपालगन्जको एउटा पाँचतारे होटलको सुविधाजनक बेडमा पुर्याइएका उनी राजीखुसी यौन सम्बन्ध राखेर मोटरसाइकलमा फर्किंदा पुष्पलाल चोकमा प्रहरीको फन्दामा परे । सहमतिमा सहवास सकेर ओछ्यानबाट निस्केको १५ मिनेटजति भएको थियो । चोकमा पुग्नेबित्तिकै प्रहरीले मोटरसाइकल रोके । व्यापारीलाई भ्यानमा राखेर प्रहरी कार्यालयमा पुर्याइयो । होटलको बेडमा बलात्कार गरेको उजुरी आएको छ, के गर्ने भन्दै बार्गेनिङ सुरु भयो । साढे ७ लाखबाट सुरु भएको बार्गेनिङ ३ लाख रुपैयाँ दिने सहमतिमा पुगेर टुंगियो । त्यसपछि उनी मुक्त भए । त्यो धरापमा प्रयोग गरिएकी युवती बर्दियाकी थिइन् ।
एक महिनाअघि नेपालगन्ज वडा प्रहरी कार्यालयको टोलीले पुष्पलाल चोक क्षेत्रबाट राती २ जोडीलाई नियन्त्रणमा लियो । नेपालगन्जमा व्यापार गर्दै आएका ती धनाढ्य युवतीसहित पक्राउ परेको कुरा सबैतिर हल्लीखल्ली भयो । छाडिदिनू भन्दै दबाब पर्न थाल्यो । वडाले राती नै जिल्ला प्रहरीमा पठायो । अन्तत: ८० हजार रुपैयाँ बुझाएर व्यापारी राती नै घर फर्केको प्रहरी स्रोत बताउँछ । मान–प्रतिष्ठा गुम्ने डरसँगै परिवारमा विखण्डन आउने र बलात्कारको मुद्दा खेप्नुपर्ने त्रासका कारण यौन धरापमा पर्नेहरू मागेजति रकम बुझाएर जतिसक्दो चाँडो मुक्त हुने गरेका छन् । उजुरी गरे पनि प्रहरीकै संलग्नता हुने हुँदा न्याय पाउने सम्भावना न्यून देखिएकाले मौनता साँध्नुपरेको ती भुक्तभोगीको भनाइ छ ।
यस्तो धन्दामा धेरैजसो आफूलाई घुमुवा प्रहरी बताउनेहरूको मिलेमतो हुने गरेको पाइएको छ । वर्षौंदेखि मुद्दा फाँटमा बस्दै आएका प्रहरी अधिकृतको समेत नियत खराब देखिन्छ । प्रहरी स्रोत भन्छ, “१० वर्षदेखि मुद्दा फाँटमा जरो गाडेर बस्ने प्रहरी र घुमुवा मिलेर गर्ने यस्तो संगठित अपराध माथिल्ला हाकिमलाई समेत पत्तो हुँदैन ।” प्रहरी प्रधान कार्यालयको स्वीकृतिबिना घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन । तर, भन्सार नाकादेखि पूरै बजारको असुली धन्दामा केही घुमुवा प्रहरीको संलग्नता छ । सूचना संकलनका नाममा केही प्रहरी अधिकृतले नै आ–आफ्ना घुमुवा परिचालन गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेल आफूले कुनै घुमुवा नराखेको र बार्गेनिङमा संलग्न कुनै प्रहरी नभएको दाबी गर्छन् । भन्छन्, “पुरानैबाट काम चलाएको छु । यस्तो घटनाका फेला पर्यो भने कारबाही हुन्छ ।”