जोत्न भन्दै काट्न लैजाँदै
सरकारी संयन्त्रको मिलेमतोमै पश्चिमदेखि पूर्वी तराईका जिल्लामा संगठित गोरु तस्करी
बर्दिया फुटाहा–६ मा सञ्चिता गुरुङ नामकी कुनै महिला छैनन् । न उनले ३ जोर गोरु कहिलै पालेकी छन्, न त कुनै पशु हाटबजारमा लगेर बिक्री नै गरेकी छिन् । हुँदै नभएकी महिलाले गोरु पाल्ने र बिक्री गर्ने कुरै भएन । तर, गोरु तस्करले एउटै रंगका (सेतो) ६ वटा गोरु हाटबजारमा ल्याएर २३ हजार रुपैयाँमा उनले बिक्री गरेको नक्कली कागज तयार पारे । फुटाहा ६ नम्बर वडामा नभई २ नम्बरमा पर्छ । सबै विवरण झूटो र काल्पनिक बनाए ।
जमुनी– ९ की हिरा पुनबाट सेतै रंग र कालो पुच्छर भएका ५ वटा गोरु १८ हजार २ सय रुपैयाँमा खरिद गरेको अर्को कागज बनाए । जबकि, जमुनी वडा– ९ मा नभई २ नम्बरमा पर्छ । यति मात्रै होइन, प्रेमप्रसाद जैसीबाट पनि सेतो रंग र कालो पुच्छर भएका ६ वटा गोरु २२ हजार २ सय रुपैयाँमा किनेको थप नक्कली प्रमाण तयार पारे ।
अचम्म के भने जति किसानसँग गोरु किनेको नक्कली रसिद बनाइएको छ, सबैका गोरुको रंग सेतो, सिङ ठाडो, पुच्छर र खुर कालो भनिएको छ । जमुनीका तीन किसानपछि बर्दिया मोहम्मदपुरका जाविर अहमदसँग किनेको भनिएका ६ वटा गोरुको रंग पनि सेतै र पुच्छर कालो छ । मूल्य २२ हजार ५ सय रुपैयाँ । खरिद गरेको नक्कली रसिदमा सबै बिक्रेताको ल्याप्चे लगाइएको छ– त्यो पनि एउटै आकारको । दस्तखत कसैको छैन ।
बर्दियाको फुटाहा गाउँ पुनर्बास बस्ती हो । गाउँमा ३ /४ हल गोरु पाल्ने कुनै किसान छैनन् । बस्तीमा अशक्त र वृद्धवृद्धाबाहेक अनपढ कोही छैनन् । पशुहाटसम्म जान सक्ने छन् । तर, तस्करले नक्कली कागजमा किसानको काल्पनिक नाम भर्ने र उनीहरूको ल्याप्चे आफैँ लगाउँछन् । जमुनी र फुटाहा तस्करीको सहज मार्ग पनि हो । सीमानजिकको बस्ती भएकाले उक्त ग्रामीण क्षेत्रबाट वर्षौंदेखि गोरु तस्करी हुँदै आएको छ । विभिन्न संयन्त्रको मिलेमतो छ । उनीहरूकै सेटिङमा भारतबाट भन्सार छलेर ल्याइएका गोरु बंगलादेश तस्करी हुँदै आएको छ ।
सर्लाही नवलपुरस्थित ब्रह्मबाबा सप्लायर्सले गुलरिया नगरपालिका कार्यालय बर्दियाद्वारा सञ्चालित पशु हाटबजारबाट जमुनी र फुटाहाका ती व्यक्तिसँग खरिद गरेको नक्कली कागजातका आधारमा ट्रकका ट्रक गोरु पूर्वी क्षेत्र हुँदै बंगलादेश पठायो, १९ वैशाखमा । त्यो पनि बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, चितवन र पर्साको मुख्य महेन्द्र राजमार्गका दर्जनौँ चेक पोस्ट हुँदै ।
संगठित रूपमा तस्करीका ट्रक पश्चिमबाट पूर्व पुग्दासम्म कुनै प्रहरीको नजरमा परेनन् । किनकि, गोरुको अवैध धन्दामा सरकारी उच्च पदाधिकारीसमेतको मिलेमतो रहेको प्रहरी स्रोतको दाबी छ । तल्लो तहका प्रहरी तस्करी नियन्त्रण गर्न नसक्ने बताउँछन् ।
अपवादका रूपमा भारत हुँदै बंगलादेश पठाउन लैजाँदै गरेका २५ वटा गोरु इलामको पशुपतिनगरमा प्रहरीले पक्राउ गर्यो, ११ साउनमा । मानेभन्ज्याङतिरको भित्री बाटो हुँदै लैजान लागेको ना६ख ५६२ नम्बरको ट्रकसहितका गोरु पक्राउ परे पनि मुख्य तस्करसम्म प्रहरी पुग्न चाहेन । नियन्त्रणमा लिएको ट्रकसहितको गोरु भन्सारलाई बुझाइदिएपछि त्यत्तिमै अनुसन्धानको दायित्व सकियो ।
असार तेस्रो साता ना४ख १७१७ र ना६ख १६५३ नम्बरका दुइटा ट्रकमा ३८ वटा गोरु सर्लाही लैजाँदै गर्दा महेन्द्र राजमार्गमा पर्ने दाङको अमिलियामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए । इलाका प्रहरी कार्यालय अमिलियाले नक्कली र सक्कली कागजात छुट्याउन त परै जाओस्, गोरुसहितका ट्रक छाडिदियो, २० असार राती ।
अमिलियामा अड्चनमा परेका ती गोरुसहितका ट्रक कपिलवस्तु हुँदै भारत लैजाने योजना थियो । भन्सारले नमानेपछि फर्काएर बर्दियाको राजापुर पुर्याइयो । उताबाट पनि लैजान नसकेपछि पुन: सर्लाहीबाट सीमापार गर्न लैजाँदै गर्दा नियन्त्रणमा परेका हुन् ।
नक्कली कागजात
प्रदेश ५ का प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेत भन्छन्, “गोरु तस्करी निरुत्साहित गर्न भनेका छौँ । तस्करले सबै कागजी प्रक्रिया पुर्याउने हुँदा नियन्त्रणमा लिन नसकिएको हो ।” गोरु पक्राउ गर्न थाल्दा झापामा अर्गानिक खेतीका लागि गोबर चाहिएकाले लैजान लागेको जवाफ दिने गरेको उनी स्वीकार्छन् ।
उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका तराईका सबै जिल्लाबाट गोरु तस्करी हुँदै आएको छ । भारतमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएर सरकार बनाएलगत्तै नेपालको बाटो भएर गोरु तस्करी बढेको हो । भारतमा दुई वर्षदेखि गोरु काट्न र एउटा प्रदेशबाट अर्को प्रदेशमा लैजान प्रतिबन्ध लागेलगत्तै मासु व्यापारीले त्यहाँबाट अवैध रूपमा भित्र्याएका गोरु नेपालको पूर्वी नाका हुँदै बंगलादेश र भुटान लैजाने गरेका छन् ।
सहज ढुवानीका नाममा विभिन्न सरकारी निकायबाट कृषि प्रयोजनका लागि लैजाने भन्दै सिफारिस पत्र बनाउने गरिन्छ । त्यस्ता सिफारिस धेरैजसो नक्कली हुन्छन् । पशु क्वारेन्टाइन र भन्सार कार्यालयसम्मको कागजी प्रक्रिया पनि मिलाउने गर्छन् । पशु चिकित्सकले व्यावसायिक नाममा रकम लिएर तस्करी हुने गोरुको स्वास्थ्य परीक्षण गरिदिन्छन् । तस्करी बढ्नुको अर्को कारण राजनीतिक संरक्षण पनि हो । एक प्रहरी अधिकृत भन्छन्, “तस्करी नियन्त्रण गर्न खोज्दा गृह मन्त्रालयबाट दबाब आउँछ ।” चौपाया तस्करीमा प्रहरीको तल्लोदेखि माथिल्लो तहसम्मको मिलेमतो छ ।
कृषि कार्यमा यान्त्रिक उपकरण प्रयोग बढ्दो छ । गोरुले जोत्नेको संख्या घट्दो छ । तर, कृषिसँग सम्बन्धित सरकारी निकायको सिफारिसले तस्करलाई सघाउ पुर्याएको छ । कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहले संगठित तस्करी रोक्न भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पनि आग्रह गरेका थिए । उनले दिल्ली गएका बेला नेपालको बाटो भएर भारतबाट ल्याइएका गाईगोरु बंगलादेश तस्करी हुँदै आएको जानकारी मात्र गराएनन्, नियन्त्रणको अपेक्षा पनि राखे । तर, तस्करी नियन्त्रण हुनुको साटो झनै मौलाएको छ ।
सीमामा तैनाथ भारतीय सीमा सुरक्षाबल पनि तस्करीप्रति मौन छ । उत्तर प्रदेशका किसानले पालेका गोरु स्वस्थ र अग्ला हुने हुँदा मासु धेरै हुन्छ । बंगलादेश र भुटानमा यस्तै गोरुको खपत बढी हुन्छ । बंगलादेशमा जिउँदै र भुटानमा भने काटेको मासु निर्यात हुन्छ ।
पश्चिमबाट संकलन गर्दै लगेका गोरु पूर्वको मेचीनगर सतीघट्टा, ज्यामिरगढी, भद्रपुर, महेशपुर, पृथ्वीनगरलगायतका स्थानबाट सीमापार गराइन्छ । गाईगोरुको तस्करी हुने जिल्लामा रौतहट पनि पर्छ । बारा, पर्सा र सर्लाहीमा पनि तस्करको बिगबिगी रोकिएको छैन ।
पशु हाटबजारबाट खरिद गरेको कागज बनाउन कतैकतै पशु क्वारेन्टाइनका कर्मचारीको मिलेमतो हुने गरेको छ । नेपालगन्ज नाकास्थित पशु क्वारेन्टाइन चेकपोस्टका पशु चिकित्सक रामसेवक त्रिपाठी भन्छन्, “यो नाकाबाट एउटै गोरु गएको छैन । बाहिरबाटै लैजान्छन् । निजी लाइसेन्स लिएका डाक्टरले पनि सिफारिस गरिदिन्छन् । सबै कागज मिलाउँछन् । हामीले केही गर्न सक्दैनौँ । यसले गर्दा संस्थागत तस्करी नियन्त्रणमा आउन नसकेको हो ।”
चरिचरणमा लगाउने भन्दै सीमापारिबाट ल्याइएका गोरु दशगजा हुँदै बिनाभन्सार नेपाल भित्र्याइन्छ । तिनै गोरु नेपाली किसानसँग किनेको नक्कली प्रमाण बनाउने गरिएको हो । तस्करी छूट भएपछि दुई वर्षयता मुख्य नाका नेपालगन्जको रुपैडिहामा एक हल गोरुको पशु क्वारेन्टाइन भएको छैन । एउटै गोरु नभएका नेपाली किसानसँग ३–४ हल गोरु किनेको नक्कली कागजातका आधारमा खुलेआम ओसारपसार हुँदासमेत प्रहरी–प्रशासनका अधिकारी बेखबर छन् ।
‘सेटिङ’ मा हुने तस्करी मौलाएकै बेला बाँकेको डुडुवा गाउँपालिका–४ खालेमशाहबाट ४३ वटा गोरु प्रहरीले नियन्त्रणमा लिए पनि त्यसै छाडिदियो । अहिले बाँकेको राप्ती नदी पूर्वतिरबाट ढुवानी गरिन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेल खुलेआम हुँदै आएको तस्करीबारे पनि बेखबर छन् । भन्छन्, “गोरुको अवैध तस्करी कतै भएको छैन ।” जबकि, तस्कर हुने गाईगोरु शमशेरगन्जको जंगलबाट राती लोड गरिन्छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...