प्रहरीकै जग्गा कब्जा
दाङ र रूपन्देहीमा ऐलानी भन्दै जग्गा बिक्री हुँदा पनि चुपचाप
दाङको लमही नगरपालिका–३ जखेरा तालमा रहेको घोराही प्रहरी स्कुलको २१ बिघा ९ कठ्ठा ७ धुर जग्गामा ६० जनाको निजी घरटहरा बनेका छन् । ०६१ मा तत्कालीन नेकपा माओवादीले कब्जा गर्नुपहिले प्रहरी स्कुलले उक्त जग्गा अधिया लगाएको थियो । किसानले उत्पादनको आधा हिस्सा स्कुललाई दिन्थे । तर, कब्जा भएपछि त्यो प्रक्रिया सबै रोकियो । उल्टै घरटहरा बनाएर बस्ती बस्यो । सुकुमबासीका नाममा बसेको बस्तीमा हुकुमबासीको रजाइँ छ ।
राजनीतिक आडमा प्रहरीकै जग्गा हडपिएको यो एउटा मात्रै घटना होइन । संघीय प्रहरी इकाइ कार्यालय तुल्सीपुरको ८६ मिटर, इलाका प्रहरी कार्यालय तुल्सीपुरको २ कठ्ठा २ धुर र रूपन्देहीको ड्राइभर टोलमा रहेको अस्थायी प्रहरी पोस्टको २१ फिट जग्गामा निजी घर बनेका छन् । साविकको राप्ती अञ्चल प्रहरी कार्यालय, हाल संघीय प्रहरी इकाइ कार्यालयको कुल २ बिघा १९ कठ्ठा ७ धुर जग्गामध्ये उत्तरतर्फ २२ मिटर र दक्षिणतर्फ ६४ मिटर जग्गा कब्जा भएको छ । उत्तरमा सेन्टर स्कुल तुल्सीपुरले अतिक्रमण गरी आफ्ना संरचना बनाएको छ । दक्षिणमा बाबुकृष्ण न्यौपाने, राजु चौधरी, गोपीलाल भण्डारीलगायत दस जनाले निजी भवन ठड्याएका छन् । केहीले होटल सञ्चालन गरेका छन् ।
सुुरुमा टहरा बनाएकाले द्वन्द्व टुंगिएपछि पक्की संरचना बनाएर बसेका छन् । प्रहरीको जग्गा कब्जा मात्रै भएको छैन, भूमाफियाले ऐलानी भन्दै बिक्री गरिरहेका छन् । इप्रका तुल्सीपुरको जग्गा टोपबहादुर वली, सरिता वली, गोपाल पुनलगायतका ६ जनाले कब्जा गरेका छन् । सरिता वलीका बुबाले ऐलानी भन्दै यो जग्गा किनेका थिए । बुबाको मृत्युपछि उनले उक्त जग्गामा ४० लाखमा घर बनाएकी छन् । उनीजस्ता धेरैलाई दलालले ऐलानी भन्दै जग्गा बिक्री गरेका हुन् । त्यस्तोमा ठगिनेहरू बसाइँसराइ गरेर आएकाहरू परेका छन् । दाङमा अतिक्रमित जग्गामा अहिले रोल्पा, रुकुम र सल्यानबाट बसाइँसराइ गरी आएकाले पक्की घर ठड्याएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राइभरटोलमा रहेको प्रहरीको जग्गा कृष्णलाल रसाइली र केशव भट्टले कब्जा गरेका छन् । आफ्नो नामको जग्गा कब्जामा भएकै बेला प्रदेश प्रहरी कार्यालय भने जग्गा अभाव देखाउँदै महँगो भाडा तिरेर सञ्चालन गरिएको छ । उसले मासिक १ लाख भाडा तिर्दै आएको छ ।
प्रदेशमा रहेका अन्य प्रहरी कार्यालयको अवस्था पनि उस्तै छ । आवास साँघुरो हुँदा कार्यालय व्यवस्थापनमा कठिनाइ छ । धेरै प्रहरी अधिकारी आवासगृहको अभावले भाडामा बस्दै आएका छन् । आफ्नै जग्गा कब्जामुक्त गराउन भने प्रहरीले कुनै प्रयास गरेको छैन । “हामी १३ वर्षदेखि बस्दै आएका छौँ । हामी बसेदेखि कोही पनि किन बस्यौ, के गर्न बस्यौ भनेर सोध्न पनि आएका छैनन् । हामी सबै मिलेर खेतीपाती गरेर बसेका छौँ,” लमही नगरपालिका जखेरातालमा रहेको प्रहरीको जग्गामा बस्दै आएकी रीता विश्वकर्मा भन्छिन् ।
अरूले कब्जा गरेको जग्गा संरक्षणमा प्रहरीले प्रयाससम्म नगरेको स्थानीयको आरोप छ । प्रहरीले भने राजनीतिक आडमा जग्गा कब्जा भएकाले सहमतिमै समाधान खोजिनुपर्ने बताउँछ । “हामीले प्रयास गरिरहेका छौँ,” प्रदेश ५ का प्रहरी प्रवक्ता पुष्पराज मल्ल भन्छन्, “प्रहरी स्वामित्वको जग्गा सहमतिबाटै चाँडै कब्जामुक्त हुन्छ ।”
साविकको राप्ती अञ्चल प्रहरी कार्यालय, हालको संघीय प्रहरी इकाइ कार्यालय तुल्सीपुरको जग्गा कब्जा गरी बनाइएका घर । तस्बिर : भुवन पाण्डे
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...