ताराखोले ताकत
एउटै गाउँपालिकामा एकसाथ बहु उत्पादन
बागलुङ–भौगोलिक कठिनाइले जनसंख्यामा सानो छ, बागलुङको ताराखोला गाउँपालिका । तर, उत्पादन र राष्ट्रिय समृद्धिको सोचमा धेरै फराकिलो । यहाँ एउटा मात्र होइन, दर्जन वस्तु र कृषि फसल उत्पादन हुन्छन् । अल्लो, कागज, ढाका कपडा, भांग्रोदेखि ढुंगाखानी, माछापालन, अलैँची र आलुसम्म । गेडागुडीलगायत तरकारी उत्पादनमा पनि अब्बल छ । ती उत्पादन बजार पठाएर उचित मूल्य पाउँदा चाँडै समृद्ध गाउँपालिका बन्नेमा ढुक्क छन्, गाउँपालिका अध्यक्ष प्रकाश घर्ती ।
विगतमा सशस्त्र विद्रोहमा सामेल उनी पहिलो आर्थिक वर्षभित्र २० लाख रुपैयाँ राजस्व संकलन गर्न सकेकामा फुरुंग छन् । ५ वर्षभित्र गाउँपालिकालाई आत्मनिर्भर बनाउने अल्पकालीन र दीर्घकालीन योजनाका फेहरिस्त छन् उनीसित । “७ हजार हेक्टर जमिनमा व्यावसायिक अलैँची लगाउने उद्देश्यसहित प्राविधिक परीक्षण सकेर बीउ उमार्ने काम सुरु भइसकेको छ,” घर्ती भन्छन्, “त्यसलाई व्यावसायिक बनाएर बजारसँग जोड्ने हाम्रो लक्ष्य हो ।” पूर्वको संखुवासभाबाट आएको विज्ञ टोलीले अलैँची उत्पादनमा सघाइरहेको छ । यहाँ झन्डै २ हजार हेक्टरमा यसअघि नै अलैँची उत्पादन भइरहेको छ ।
पशुपालन र आलु खेती विस्तार गाउँपालिकाको अर्को योजना हो । ताराखोलाको आलु धौलागिरि अञ्चलभर प्रख्यात छ । जिल्लाको कुल उत्पादनको आधा यहाँ फलाउने लक्ष्य छ । जिल्लामा ४० हजार मेट्रिक टन आलु फलेको रेकर्ड छ । त्यसको झन्डै ३० प्रतिशत अहिले फलेको छ भने ४ वर्षपछि ५० प्रतिशत पुर्याउने लक्ष्य छ । रिजालचोकदेखि ताराखोला हुँदै म्याग्दी जोड्ने सहिद मार्ग पक्की बनाउने योजना सफल भए उत्पादनको ढुवानी सहज हुने घर्तीको विश्वास छ । हाल यो सडक स्तरोन्नतिका लागि झन्डै २ करोड रुपैयाँ लगानी गर्ने तयारी छ ।
यहाँ दर्जनभन्दा बढी घरेलु उद्योग स्थापना भइसकेका छन् । नेपाली हाते कागजका लागि युवाहरूले काम थालेका छन् । उत्पादित कागज ‘एक जिल्ला एक उत्पादन’ अन्तर्गत उद्योग वाणिज्य संघले खरिद गर्ने सम्झौता भएको छ । “बजार खोज्न नपरेपछि खुसी साथ काम गरिरहेका छौँ,” स्थानीय तुलसी घर्तीमगर भन्छन्, “उत्पादन बढाउन सकियो भने जति पनि बिक्री हुन्छ ।” ताराखोलाको डुडेलेक सामुदायिक वन कागजका लागि लोक्ता संकलन गर्ने मुख्य थलो हो ।
सामुदायिक वनमै पाइने चाल्ने सिस्नो (अल्लो) अर्को महत्त्वपूर्ण उत्पादन भएको छ । दशकदेखि उत्पादित अल्लोलाई गाउँपालिकाले प्रशोधन र बजारीकरणको अभियानमा सहयोग गरेको छ । केही गैरसरकारी संस्थाले तालिम र प्रविधिमा पनि सहयोग गरेका छन् । अल्लोबाट नेपालमै पहिलो पटक जुत्ता उत्पादन गर्ने उद्यमी पनि ताराखोलामा छन् । धागो कात्ने कामसँगै पछ्यौरा, स्विटर, सल, झोला र अन्य सामग्री बनाउने अभियानमा ताराखोलाका ३० भन्दा बढी महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । अन्तर्राष्ट्रिय बजारमा पनि अल्लो धागो र कपडाको माग छ ।
मगर समुदायलाई देवीदेवताको पूजा गर्दा, कुलपितृको काम गर्दा नभई नहुने भांग्रो यहाँका उद्यमी महिलाले बनाउँछन् । धेरै समय लागे पनि राम्रो कमाइ गर्न सकिने भएकाले भांग्रो बनाउने काममा १४ महिलाले रोजगारी पाएका छन् । उनीहरूको उत्पादन बेच्न बजार जानुपर्दैन । घरबाटै प्रतिगोटा ४ देखि ५ हजार रुपैयाँसम्म बिक्री हुन्छ । घरघरमा उद्यमी बनाउन झन्डै एक सय महिला ढाका बुनाइ अभियानमा लागेका छन् । उनीहरूको उत्पादन सदरमुकाम र पोखराका बजारमा बिक्री हुन्छन् । गाउँपालिकाले हाते मेसिन खरिद र तालिम सञ्चालनमा सहयोग गरेको छ ।
ताराखोलामै दर्जनभन्दा बढी ढुंगाखानी छन् । पोखरा, बुटवल र अन्य सहरी क्षेत्रका घरमा आकर्षक बनाएर टाँसिएका टायल र ढुंगा ताराखोले हुन् । ताराखोलाबाटै दैनिक दुईदेखि तीन ट्रयाक्टरले ढुंगा निकासी गर्छन् । त्यसको रोयल्टी गाउँपालिकाले संकलन गर्छ । केही खानी दर्तामा झन्झट भएका छन् । खानी तथा भूगर्भ विभागमा दर्ता गर्नुपर्ने, वन मन्त्रालयलगायतले रोक लगाउने हुँदा झन्झट बेहोर्नु परेको ताराखोलाकै धनबहादुर विक सुनाउँछन् ।
ताराखोला चिसो पानीको मुहान हो । झन्डै २ हजार ३ सय मिटरदेखि ३ हजार मिटरसम्म उचाइ भएकाले ट्राउट माछाको सम्भावना छ । त्यसैले स्थानीयले डेढ लाख माछापालन र हरेक वर्ष १ लाख भुरा उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेका छन् । ५० लाख लगानीमा सुरु भएको फर्मलाई लक्ष्यमा पुग्न १ करोड लगानी गर्नुपर्ने व्यवसायी दीपा रोकाको भनाइ छ । यहाँ आकर्षक रेस्टुराँ र वनभोजस्थल निर्माण गर्ने योजना पनि छ ।
गाउँपालिकाले आलु र अलँैची जोन तथा लसुन र किबीको पकेट क्षेत्र बनाउन पूर्वाधार, उत्पादन र प्रविधिको जोहो गरेको छ । किसानहरू पनि त्यस्ता उत्पादनमा आकर्षित छन् । मुला, साग, भट्टमास र अन्य गेडागुडीको उत्पादनमा पनि ताराखोला अब्बल छ । सिँचाइका लागि पानीको उपलब्धता प्रशस्त छ । केही आयोजना सञ्चालन गरेर खेतबारीमा पानी लैजाने काम गाउँपालिकाले बनाउँदै छ ।
घुस्मेलीस्थित ताराखोलामा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । गाउँ विकासको दीर्घकालीन योजनासहित पाश्र्वचित्र तयार भइसक्यो । स्थानीय लगानीमै यहाँ साढे दुई मेगावाटको विद्युत् उत्पादन भएको छ । लगानी पाए १० मेगावाटसम्म गाउँमै विद्युत् उत्पादन गर्न सकिने सर्भे भएको छ । जडीबुटी, काठ र स्थानीय अन्य उत्पादनको निकासीमा पनि करको दायरा तोकिएको छ ।
पर्यटकीय दृष्टिले आकर्षक गाईघाट झरना प्रतिव्यक्ति ३० रुपैयाँ टिकट काटेर मात्र हेर्न पाउने व्यवस्था सुरु भएको छ । खोलाको झरनालाई शुल्क तिरेर हेर्ने व्यवस्था गरिएको यो नेपालकै पहिलो हो । सामुदायिक विद्यालय शिक्षालाई नियमित र गुणस्तरीय बनाउने योजना पनि सुरु भएको छ । ताराखोलामा रासायनिक मल भित्रिन छाडेको ५ वर्ष भइसक्यो । त्यसैले हरेकको रोजाइमा ताराखोलाको उत्पादन पर्न थालेको छ । पशुको पिसाब एकै ठाउँ संकलन गरेर खेतबारीका किटाणु मार्न प्रयोगमा ल्याइन थालिएको छ ।
ताराखोलाका कुनै पनि घरमा जस्तापाता निषेध छ । स्थानीय खानीका ढुंगाबाटै घर छाएका छन् । बोडी, सिमी, राजमा, च्याउ, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धूलो, जिम्बु, जौ र स्थानीय चामल ताराखोलाका उत्पादन हुन् । परम्परागत रूपमा डोको, नाम्लो, राडीपाखीलगायतका सामग्री पनि गाउँलेले बनाएर बिक्री गरिरहेका छन् । सांस्कृतिक रूपमा धनी यो गाउँमा सिस्नो खोस्ने र भुस पोल्ने पर्व चर्चित छन् । मगर समुदायले मनाउने यी दुवै पर्व नेपालभरमा यहीँका मगरले संरक्षण गरेर राखेका छन् । “संघीयता आएपछि गाउँको विकास हुन्छ भन्ने जनअपेक्षा छ,” गाउँपालिका अध्यक्ष घर्ती भन्छन्, “आफ्नो गाउँ आफैँ बनाउने अभियान अब रोकिँदैन ।”
हेर्नुहोस् तस्बिरहरु :
बागलुङको ताराखोला २ अर्गलका किसान आलु भित्राउने तयारी गर्दै । यहाँ आलु र अलैँचीको ब्लक, लसुन र किवीको पकेट बनाउने तयारी छ । गाउँपालिकाले पनि कृषि फसलबाटै समृद्धि ल्याउन लगानी गरेको छ । तस्बिरहरु : प्रकाश बराल
बागलुङको ताराखोला २ मा रहेको एक ढुंगाखानीमा काम गर्दै कामदार । यहाँ धेरै खानी संचालन गर्न सकिने संभावना छ । तर कानूनी जटिलताले दर्ता हुन सकेका छैनन् ।
बागलुङको ताराखोला २ अर्गलकी तुलसी रोकाको बारीमा लगाएको अचैंची गोलमेलको तयारी हुँदै। यहाँका किसानले मकै र कोदो मासेर अलैंची खेती बिस्तार गर्दैछन् ।
बागलुङको ताराखोलामा अल्लोको कपडा बुन्न लागेकी एक उद्यमी र तयार भएको जुत्ता । यहाँको जंगलमा पाईने अल्लो ल्याएर धागो कात्ने र कपडा बुन्ने गरिन्छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...