गन्तव्य गलकोट
ऐतिहासिक र सांस्कृतिक स्थलको चिनारी बनाउँदै

बागलुङ –‘वारि घुम्टे पारि गाजा’, ‘घुम्टेकी छोरी’, ‘माछा मीठो असला दरम खोलाको’ जस्ता दर्जनौँ गीत गलकोटलाई नै साक्षी राखेर रचना भएका हुन् । गलकोटको सौन्दर्य कस्तो छ भने घोडाबाँधेबाटै पर्यटकीय महत्त्व झल्किन्छ ।
उत्तरमा दर्जन हिमाली चुचुराको दृश्यावलोकनपछि दक्षिणमा गाजा र पश्चिममा घुम्टेले आगन्तुकको मन लोभ्याउँछ । पाण्डवखानी र रिघाको सती घाँटु, सोरठी, कौरा, सालैजो गीत, लोकदोहोरी आदि कलासंस्कृतिको त खानी नै भइहाल्यो ।
चौबीसे राजाको पालामा मल्लहरूको राज्य थियो गलकोट । उक्त राज्यकै कारण बागलुङ सदरमुकाम पनि गलकोटमै थियो । पञ्चायतकालमा पहुँचवालाहरूले सदरमुकाम बागलुङ बजारमा सारे । तर, गलकोटेले पुरानो विरासत कायम राख्न पर्यटकीय गन्तव्य बनाउने अभियान छाडेनन् । त्यसैले गलकोटको ऐतिहासिक मल्ल दरबार अहिले पनि कलात्मक भावभंगीमै उभिएको छ ।
पुरानो सदरमुकाम हरिचौर बजारमै रहेको दरबार संरक्षण गरेर ऐतिहासिक संग्रहालय बनाउन सकिने गलकोट नगरपालिका वडा– ५ का अध्यक्ष नारायणध्वज मल्ललाई लागेको छ । “इलाका स्तरीय कार्यालय, सुरक्षा निकाय र पूर्वाधारसमेत भएकाले यहाँका सम्पत्ति संरक्षण गर्नुपर्छ,” मल्ल भन्छन्, “इतिहास बुझ्न चाहनेलाई गलकोट आउनैपर्ने वातावरण बनाउन सकिन्छ ।”
राज्य पुनर्संरचनाअघि पनि गलकोट एउटा क्षेत्रको नाम थियो । नगरपालिका गठन गर्दासमेत गलकोटबासीले उक्त क्षेत्र टुक्राएनन् । अब गन्तव्य गलकोटका लागि प्रमुख काम गरिने नगरप्रमुख भरत शर्मा गैरे बताउँछन् । “सबै वडामा गौरवका योजना बनाएर कार्यान्वयन गरिरहेको यो नगरले हरेक स्थानमा पर्यटनलाई पहिलो प्राथमिकता राखेको छ,” उनी भन्छन्, “होमस्टे सञ्चालन, ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र विकासमा लगानी बढाउने नगरको योजना छ ।”
गलकोट क्षेत्रको सबैभन्दा अग्लो पहाड घुम्टेलाई नगरपालिकाले पहिचान र प्रतिष्ठाको विषय बनाएको छ । ११ हजार फिट अग्लो घुम्टे जान हरिचौरदेखि टेउवासम्म मोटर बाटो र त्यसमाथि व्यवस्थित पदमार्गको काम भइरहेको छ ।
वैशाख पूर्णिमा र नयाँ वर्षमा मेला लाग्छ घुम्टेमा । केही वर्षअघि काठमाडौँदेखि घुम्टेसम्म साइकल यात्रा सञ्चालन भएपछि यसको महत्त्व झनै बढेको छ । घुम्टेमा बर्सेनि गुराँस महोत्सवसमेत हुँदै आएको छ । “आएका पाहुनाले सहजै बस्ने/खाने सुविधा पाउनुपर्छ भनेर होमस्टे योजना बनायौँ,” गैरे भन्छन्, “विदेशी पाहुनाको रोजाइमा पनि पर्न थालिसकेकाले रेस्टुराँ र होटल सञ्चालनका लागि व्यवसायीलाई आह्वान गरिएको छ ।”
गलकोट नजिकै आकर्षक गाईघाट झरना छ । यहाँकै सहश्रधारामा साहसिक क्यानोनिङ अनि टेउवा र धुस्तुङलगायतका स्थानमा प्याराग्लाइडिङ सुरु भएको छ ।
जापान, अस्ट्रेलिया र अमेरिका बस्ने नेपालीले दरमखोलाको माछा मगाउँछन् । “दरमखोलाकै असलाको सुकुटी पठाइदिनू भनेर धेरैले फोन गर्छन्,” हटियाकी कौशिला घर्ती सुनाउँछिन्, “प्रतिकेजी ४ हजार ५ सय रुपैयाँमा असलाको सुकुटी पठाएकी छु ।” दरमखोला, गौंदीखोला, ताराखोला र नरेठाँटी खोलामा चिसो पानी भएकाले स्वादिला असला माछा पाइन्छन् । उपप्रमुख रेनुका काउचाको कथन छ, “काम गर्न धेरै बाँकी छ । तर, गलकोट जानुपर्छ भन्ने सन्देश दिन थालिसकेका छौँ ।”