पीए पावर
ठूला र प्रभावशाली नेताका स्वकीय सचिवहरुको संसद्, सत्ता र पार्टीमा उदय
वारि सल्यान, पारि जाजरकोट । सल्यानका टेकबहादुर बस्नेत र जाजरकोटका शक्ति बस्नेत दुवै पूर्वमाओवादी नेता हुन् । ०६२ मा दुवै माओवादीको तत्कालीन जनमुक्ति सेनाको क्रमश: छैटौँ र चौथो डिभिजनका राजनीतिक कमिसार थिए । टेकबहादुरभन्दा शक्ति केही सिनियर भए पनि लगभग समान पार्टी हैसियत । दुवै केन्द्रीय स्तरका नेता । ०६२/०६३ को आन्दोलनपछि शान्ति प्रक्रिया सुरु भयो । माओवादी शान्तिपूर्ण प्रतिस्पर्धासहितको संसदीय राजनीतिमा प्रवेश गर्यो, ०६४ मा । पहिलो संविधानसभा निर्वाचनबाट पहिलो राजनीतिक शक्तिका रूपमा उदायो ।
०६५ मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव नियुक्त भए, शक्तिबहादुर । त्यसयता शक्ति दुई पटक सांसद र गृहसहितको प्रभावशाली तीन मन्त्रालयका मन्त्री भए । तर, तीन पटक सल्यानबाट प्रत्यक्ष निर्वाचन जित्दा पनि टेकबहादुर भने एक पटक सामान्य प्रशासनमन्त्री भए, त्यो पनि पटक–पटक असन्तुष्टि पोखेपछि मात्रै ।
कतिसम्म भने ०६२ मै तत्कालीन माओवादीको पश्चिम सैन्य कमान्डर रहेका जनार्दन शर्मा ‘प्रभाकर’ सँग शक्तिको सीधा राजनीतिक टक्कर सुरु भयो । जबकि, ०६२ अघि शर्मा उनका कमान्डर थिए । ०७२ सम्म आइपुग्दा वरिष्ठ र अनुभवी तिनै प्रभाकरलाई पाखा लगाउँदै तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गृह प्रशासन फुत्काए ।
गृह मन्त्रालयमा शक्ति–उदयका पछिल्तिर प्रचण्डको स्वकीय सचिव हुँदा आर्जित विश्वासलाई मुख्य कारण मानिन्छ । शक्तिको ‘पावर’ राजकीय पदमा मात्रै बढेन, पार्टीभित्र पनि दाहालको ‘किचेन क्याबिनेट’ का प्रभावशाली सदस्यका रूपमा दरिए ।
पीए भएर सबैभन्दा ठूलो लाभको पद प्राप्त गर्नेमा पर्छन्, पूर्वप्रधानमन्त्री झलनाथ खनालका पीए दीपकचन्द्र अमात्य । दीपक तिनै हुन्, जो झलनाथ पार्टी र राजकीय शक्तिमा पुगेका बेला उनको किचेन क्याबिनेटमा प्रभावशाली भूमिकामा देखिए । ०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा झलनाथले पार्टी सचिव भीम आचार्यलाई बर्खास्त गर्दै आफ्ना भित्रिया अमात्यलाई पर्यटनमन्त्री पद दिलाए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेता भन्छन्, “पार्टी सचिवलाई बर्खास्त गरेर स्वकीय सचिवलाई मन्त्री बनाउने झलनाथको कदम उनको राजनीतिक करिअरका लागि ठूलो धक्का बन्न पुग्यो । यो कुरा कति रियलाइज गरे, उनै जानून् ।”
नेपाली राजनीतिमा ठूला नेताहरूको स्वकीय सचिव हुँदा आर्जित विश्वासलाई सिँढी बनाएर निरन्तर अवसर र लाभ हात पार्ने थुप्रै छन् । धेरै नेताको राजनीतिक उडान र लाभ प्राप्तिका पछाडि कतै न कतै स्वकीय सचिव हुँदा आर्जित आशीर्वादले काम गरेको छ । लामो समय कम्युनिस्ट राजनीतिमा सक्रिय नेकपाका एक नेता भन्छन्, “आफ्नो स्पष्ट अडान भएको, केही गरौँ भन्ने ‘भिजनरी’ र स्वावलम्बी मान्छेलाई नेताहरूले मन पराउँदैनन् । त्यसैले पीए राख्न ‘एसम्यान’ र चाकरीबाज स्वभावकालाई छान्ने गर्छन् । त्यही कारण मन्त्रीहरूको सचिवालय विवादमा परिरहन्छन् ।” कतिपय नेताले त शक्तिमा हुँदा राजनीतिक पृष्ठभूमि नै नभएका आफन्त, नातागोता र पारिवारिक सदस्यलाई पीएमा भर्ती गरेका छन् ।
राजनीतिमा लामो समय आफ्नो वर्चस्व र प्रभुत्व कायम राखिराख्न पनि नेताहरूले राजकीय जिम्मेवारीका बेला आफ्ना नजिक ठानिएकालाई पीए नियुक्त गरिरहेका छन् । भविष्यमा त्यही ‘पीए–कल्चर’ लाई उनीहरूले पार्टी राजनीतिमा उत्तराधिकार स्थापित गर्ने अस्त्रका रूपमा प्रयोग गर्छन् । पार्टीकै ‘क्याडर’ भए पनि क्रियाशील सदस्यलाई भन्दा आफ्ना आसेपासे र विश्वासपात्रलाई च्याप्ने काम नेताहरूले गरेको देखिन्छ ।
लामो राजनीतिक संघर्षबाट खारिएर आएका नेताहरू नै किन यस्तो ‘पीए–कल्चर’ प्रोत्साहन गर्छन् त ? राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल नेपालमा नेताहरूले नितान्त व्यक्तिगत अनुकूलतामा आफ्ना पीएहरू चयन गर्ने गरेको बताउँछन् । “नेपालमा कुनै पनि नेताले आफ्ना पीए व्यावसायिक राखेको देखिँदैन,” उनी भन्छन्, “आफूअनुकूलका व्यक्तिलाई ‘पिकअप’ गरेर काम लिने र आफ्नो विश्वास रहुन्जेल उसैलाई अगाडि बढाउने गरेको देखिन्छ ।”
खनालको तर्कसँग अर्का प्राध्यापक लोकराज बराल पनि सहमत छन् । ‘पीएहरू राजनीतिक क्याडरबाटै आएका देखिन्छन् । तर नजिक, छेउछाउ रहेका र मन पर्ने व्यक्तिलाई मात्रै पीए नियुक्त गरेको पाइन्छ,” बराल थप्छन्, “कुनै सिद्धान्त, मर्यादा, नियम र मापदण्ड छैन । व्यक्तिगत रुचि मिल्ने र खुसी पार्न सक्ने व्यक्तिलाई छान्छन् र उनीहरूलाई नै स्वार्थअनुकूल अगाडि बढाउँछन् ।”
पीएलाई राजनीति, अवसर र लाभयात्रामा नेताहरूले टेको दिने विषय नेपालमा नौलो भने होइन । अस्थिरताको चक्रव्यूहबाट गुज्रिँदै आएको नेपाली राजनीतिमा आसेपासे, विश्वासपात्रलाई मात्र च्याप्ने नेतृत्वको कार्यशैलीले पार्टीमा राजनीति र इमानदार कार्यकर्तालाई निरुत्साहित पारिरहेको हुन्छ । तर यसतर्फ मुख्य नेतृत्वले खासै ध्यान पुर्याएको देखिँदैन । “यसले पार्टी राजनीतिमा ठूलो असर गर्छ,” बराल थप्छन्, “इमानदार र सक्रिय कार्यकर्तालाई निरुत्साहित बनाउँछ । पार्टीमा शिथिलता ल्याउँछ ।” घटनाक्रमले पीएहरूलाई काखी च्याप्ने प्रचलन नेपालमा कांग्रेसको तुलनामा कम्युनिस्टमै झांगिएको देखिन्छ ।
पहुँच र प्रभाव
०४६ को परिवर्तनपछि ०४८ मा कांग्रेसको सरकारमा १९ पटक कार्यवाहक प्रधानमन्त्री बन्ने तत्कालीन भौतिक योजनामन्त्री बलबहादुर राईका पीए भए, रामहरि खतिवडा । ०४७ र ०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनी ‘किचेन क्याबिनेट’ मै रहे । तिनै खतिवडा ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा ओखलढुंगा–२ बाट सभासद् निर्वाचित भए । खतिवडा कृष्णप्रसादबाटै आफूले राजनीतिक संस्कार सिकेको बताउँछन् । “मैले किसुनजीबाट राजनीतिक संस्कार र राजनेतामा हुने गुणसिकेँ,” उनी भन्छन्, “उहाँकै राजनीतिक स्कुलिङमा हुर्किएँ ।”
भट्टराई र राईसँगै रहँदा त्यतिबेला राजनीतिक पहुँच प्राप्त गरे पनि कहिल्यै त्यसलाई खराब ठाउँमा प्रयोग नगरेको उनको दाबी छ । “मैले राजनीतिक पहुँच र सम्पर्क–सूत्र पनि निर्माण गरेँ,” उनी थन्छन्, “तर त्यसलाई गलत काममा प्रयोग गरिनँ । त्यतिबेला प्रशासनिक क्षेत्रका धेरै मान्छे चिनेकाले अहिले कुनै काम गराउन मन्त्री र प्रधानमन्त्रीकहाँ धाउनुपर्दैन ।”
कैलाली क्षेत्र नं २ बाट संघीय संसद् प्रतिनिधिसभामा निर्वाचित नेकपा सांसद झपट रावलको राजनीतिक उडानका पछाडि नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको हात रहेको आरोप कतिपय लगाउँछन् । विद्यार्थी राजनीतिक पृष्ठभूमि हुँदै पार्टी राजनीतिमा आएका उनी दुई पटक पीए बने । ०६३ को अन्तरिम सरकारमा मोहनसिंह राठौर शिक्षा तथा खेलकुद राज्यमन्त्री हुँदा पहिलो पटक उनका पीए बनेका थिए । ०६६ मा भीम रावल गृहमन्त्री हुँदा पनि उनै झपट पीए भए । ०७४ को संघीय संसद्को निर्वाचनमा राठौरलाई उछिन्दै झपट कैलाली क्षेत्र नं २ बाट संघीय संसद्को प्रतिनिधिसभामा विजयी भए ।
एमालेको नवौँ महाधिवेशनपछि वैकल्पिक केन्द्रीय सदस्यको मनोनयनमा परेका उनी अहिले नेकपाको केन्द्रीय कमिटी सदस्य छन् । उनी आफ्नो राजनीति ‘टर्निङ प्वाइन्ट’ नै भीम रावल रहेको बताउँछन् । “भीम रावलको सहयोगी हुँदाको समय मेरो जीवनका लागि उपलब्धिमूलक रह्यो,” उनी भन्छन्, “राजनीतिक अनुशासन, समयको पालना र समाजप्रतिको दायित्व उहाँबाटै सिकेँ । उहाँकै सहयोगी भएर समाज, पार्टीप्रति इमानदारी, मिहिनेत र अनुशासन मेरो जीवनका लागि शिक्षा भयो । धेरै कुरा सिक्ने अवसर पाएँ ।”
हाल नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेल ०६१ र ०६९ मा मन्त्री हुँदा स्वकीय सचिव रहिसकेका काठमाडौँ– ५ ‘क’ का निर्वाचित प्रदेश सांसद नारायण सिलवाल नेताको पीए हुँदा जनता र कार्यकर्तामाझ अलोकप्रिय भए पनि प्रशासनिक तथा राजनीतिक अनुभव प्राप्त हुने बताउँछन् । “सबै जनता तथा कार्यकर्ताका काम गर्न सकिँदैन । त्यसैले जनता र कार्यकर्ताबीच अलोकप्रिय भइन्छ,” उनी भन्छन्, “तर प्रशासनिक, राजनीतिक अनुभव, राष्ट्रिय स्तरको सम्पर्क–सूत्र र पहुँच निर्माणका हिसाबले भने लाभप्रद हुन्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...