कोलकातामा मिनी नेपाल
नेपाली हाउस निर्माणको इच्छा भने अधूरै

र
सन् २०१८ को गणनाअनुसार पश्चिम बंगालको प्रान्तीय राजधानी कोलकाताको कुल जनसंख्या डेढ करोड हाराहारी छ । यहाँ प्रवासी नेपाली डेढ लाखजति मात्रै छन् । दार्जिलिड, सिक्किमलगायत भारतभित्रकै नेपालीभाषीको जनसंख्या जोड्दा मात्र तीन लाख जति पुग्छ ।
कोलकाताको खडकपुर, कल्याणी, वेहाला आदि स्थानमा नेपालीको बाक्लो आवादी छ । त्यसैले यी ठाउँ पुग्दा नेपालै भएको आभास हुन्छ । केही समयअघिसम्म फाट्टफुट्ट मात्रै रहे पनि अहिले नेपालीको संख्या बढ्दो छ ।
“सन् १९९० यता सहरका विभिन्न भागमा छरिएर बसेका नेपालीले कोलकातामै अड्डा जमाएका हुन्,” कोलकाताका सामाजिक अभियन्ता नारायण हुमागाईं भन्छन्, “यहाँ काम गर्न आएका अधिकांश नेपाली सेटल भइसके ।”
उनी ३० वर्षपहिले काभ्रेको धुलिखेलबाट कोलकाता आएका थिए । यिनको तेस्रो पुस्ता अहिले यहीँ छ । हुमागाईंजस्ता धेरै नेपालीले पुरानो थातथलो छाडेर कोलकातालाई कर्मभूमि बनाइसकेका छन् । “हाम्रो सबै श्रम र सिर्जना कोलकातामै छ,” हुमागाईं थप्छन्, “धेरैको कर्मभूमि यही बनेको छ ।’
मूलत: सुरक्षा गार्ड, सवारी चालक, कुकमा कार्यरत छन्, नेपाली । केही प्रतिष्ठित निजी कम्पनी र केही सरकारी निकायमा पनि जागिरे छन् । पछिल्लो पुस्ता भने व्यापार व्यवसायमा जम्न थालेको छ । केही नेपाली विमान चालकसमेत छन् । ‘वाउ म:म’ मार्फत भारतभर ख्याति कमाएका विनोद हुमागाईं भन्छन्, “पछिल्लो पुस्ताले बाबुबाजेको पुस्तामा जस्तो दु:ख गर्नु परेको छैन । पढेलेखेका छन्, प्रतिष्ठित जागिर खाइरहेका छन्, आम्दानी पनि मनग्ये छ ।”
दसैँ–तिहारको उल्लास मनाउन होस् या भानु र देवकोटा जयन्तीका कार्यक्रम गर्न नै किन नहोस्, कोलकाताका नेपाली एकजुट भइहाल्छन् । नेपाली भाषा, साहित्य र संस्कृति भनेपछि मरिहत्ते गरिहाल्छन् ।
नेपालीले आयोजना गर्ने हरेक कार्यक्रममा महिला चौबन्दी र फरिया तथा पुरुष दौरा, सुरुवाल र ढाका टोपीमा ठाँटिन्छन् । “मलाई त कोलकाता नेपालजस्तो लाग्यो,” गत मंसिरमा सम्पन्न अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिएर फर्किएकी नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुभद्रा भट्टराईले सुनाइन्, “यहाँका नेपालीबीचको एकता, भ्रातृत्व र मेलमिलाप देखेर छक्क परेँ ।”
सांस्कृतिक कार्यक्रममा नेपाली र बंगाली समुदायका युवती | तस्बिरहरू : पर्वत पोर्तेल
नेपाली नाता
कोलकातामा नेपाली कहिलेदेखि बस्न थाले भन्ने लिखित इतिहास भेटिँदैन । तर दोस्रो विश्वयुद्धताका नै नेपाली कोलकाता पुगिसकेका थिए । त्यसको एउटा दरिलो माध्यम लाहुरे परम्परा हो । केही व्यापार गर्न र केही काम गर्न आएका भेटिन्छन् । भारतमा ब्रिटिस उपनिवेशताका धेरै नेपाली कोलकाता पुगिसकेका थिए, लाहुरे माध्यमबाट । ती लाहुरे अवकाशपछि यतै बसे ।
कोलकातामा नेपालका राणा परिवार पनि लामो समयदेखि बस्थे । खासगरी सुवर्णशमशेरले यहीँ बसेर प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाएका थिए । यसै वर्ष दिवंगत भरतशमशेर पनि लामो समयदेखि कोलकाता बसेका थिए । उनका परिवार अझै यहीँ छन् । नेपाली कांग्रेसका महामन्त्री धनमानसिंह परियार पनि कोलकातामै बसेर राजनीति गरेका थिए । अहिले उनका परिवार छन् । नेपाली फिल्म सत्य हरिश्चन्द्रका निर्देशक देवब्रत परिहार पनि यतै बसे । अहिले उनका छोरा विक्रमलगायत कोलकातामै छन् ।
“नेपालीले राज्यबाट कुनै विभेदको सिकार हुनु परेको छैन,” नेपाली महावाणिज्यदूत एकनारायण अर्याल भन्छन्, “बरु भाषा, साहित्य र कलाको प्रवद्र्धनका लागि राज्यले सहयोग गरिरहेको छ ।” उनका अनुसार कोलकाताका नेपाली मिलनसार छन् । भाषा र साहित्य भनेपछि मरिमेट्छन् । सक्रिय छन् । नेपालीका लागि जस्तोसुकै सहयोग गर्न पनि तम्तयार हुन्छन् ।
कोलकातामा एउटा छाता संस्था छ, भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च । यसले नेपाली भाषा र साहित्य प्रवद्र्धनका लागि बर्सेनि कार्यक्रम गर्छ । यसपटक २२–२३ मंसिरमा ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ यही संस्थाको अगुवाइमा भयो । भानु जयन्ती, देवकोटा जयन्ती मनाउन पनि सबै जुट्छन् । पश्चिम बंगाल सरकारसँगको सहयोगमा हालै कल्याणी र खिदिरपुरमा भानुको शालिक बनाइएको छ ।
नेपालीले यहाँ ‘नेपाली कल्चर हाउस’ बनाउने इच्छा राखेका छन् । तर आर्थिक समस्याले पूरा हुन सकेको छैन । उपयुक्त हल नहुँदा सभा, सम्मेलन आयोजना गर्नसमेत समस्या छ । “आफ्नै भवनमा सभा, सम्मेलन गर्न सकियोस् भन्ने लागेको छ”, भारत–नेपाली जनमैत्री सांस्कृतिक मञ्चका महासचिव बद्रीविक्रम थापा भन्छन्, “यसका लागि नेपाल सरकारसँग ठूलो आश गरेका छौँ, सहयोगको आश्वासन पनि आएको छ ।”
सन् २००१ तिर कोलकातावासी नेपालीको आग्रहअनुरूप नै तत्कालीन सरकारले ‘नेपाल भवन’ निर्माणका लागि ‘संयुक्त नेपाली केन्द्रीय सेवा संघ’ को नाममा ६ लाख रुपैयाँ उपलब्ध गराएको थियो । यो रकममा थपेर कोलकाताको नौतुनहाटमा करिब ८ हजार स्क्वायर फिट जमिन खरिद गरियो । कोलकाताका तत्कालीन महावाणिज्यदूत युवराज भुसालका पालामा भवन निर्माणका लागि शिलान्यासको चाँजो पनि मिलेको थियो । तर नेपाली समुदाय र संगठनबीचको विवादका कारण काम अगाडि बढ्न सकेको थिएन । “विवाद नभइदिएको भए यतिबेला हामी आफ्नै भवनमा सभा, सम्मेलन गर्ने थियौँ,” थापा भन्छन् ।
यो जमिनमा कानुनी अड्चन पनि थियो । त्यो भने अहिले मिलिसकेको छ । महावाणिज्यदूत अर्यालले नेपाल भवन निर्माणका लागि काम अगाडि बढिसकेको बताए । चार तले बहुउद्देश्यीय भवन निर्माण गर्न १० करोड ६४ लाख भारु खर्च लाग्ने अनुमान छ ।
हावडा पुल
पौरखी पुस्ता
कोलकातामा रहेका केही नेपालीले आफ्नै मिहिनेतबाट पहिचानसँगै दर्बिलो आर्थिक स्रोत खडा गरेका छन् । रामेछापको विकट गाउँमा जन्मिएका चन्द्रबहादुर श्रेष्ठले अहिले कोलकाताका नेपालीबीच अलग्गै छवि बनाएका छन् । ३५ वर्षअघि उनले धातुलाई सुनको जस्तो जलप लगाउने ‘इलेक्ट्रो प्लेटिङ’ को काम पाए । श्रेष्ठले आफ्नो आर्थिक हैसियत त सुधारे नै, धेरै नेपालीलाई रोजगारीसमेत दिए । कोलकातामा ज्वेलरी गहनाको फिनिसिङ पोलिस गर्ने यिनको निजी कारखाना छ । त्यो कारखानामा करिब सय नेपालीले काम पाएका छन् । सयौँले काम सिकेर आफैँ व्यवसाय सञ्चालन गरेका छन् । यहाँका नेपाली संघ–संस्थाले पहिले सम्झने नाम यिनकै हो । भन्छन्, “नेपाली भाषा र जातिको अस्तित्व रक्षाका लागि कोलकातामै बसेर भए पनि केही गर्न पाउँदा आनन्द लाग्छ ।”
कोलकाताको बाक्लो भीडका बीच परिचय स्थापित गरेका अर्का नेपाली हुन्, विनोद हुमागाईं । उनले सुरु गरेको ‘वाउ म:म’ कोलकातामा मात्रै नभई भारतका दर्जनभन्दा बढी राज्यमा ब्रान्ड बन्दै गएको छ । उनको कम्पनीमा चार सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमध्ये दुई सयभन्दा बढी नेपाली छन् ।
कोलकातामा जमेका अर्का नेपाली हुन्, खिमराज बराल । यिनको बराल लजेस्टिक प्रालि भारतको लोकप्रिय मानिन्छ । सन् १९९१ मा मुम्बईबाट सुरु भएको सानो कम्पनी अहिले भारतभर फैलिएको छ । बराल परिवारका सातै भाइ यो कम्पनीमा सक्रिय छन् । दिल्ली, मुम्बई, कोलकाता, मद्रास, हैदरावादलगायत भारतभर यो कम्पनी विश्वासिलो र भरपर्दो भइसकेको छ ।