महाराजको व्यञ्जन : बडाहाकिमको गाली
पहिलो दिन साथीहरुले महाराजले बोलाएको छ भन्दा त म छक्कै परेँ, राणा प्रधानमत्री मोहनशमशेर राणा वीरगन्ज आइपुगेछन् भनेर !
विसं २००६ हिउँदको घटना । उबेला अहिलेजस्तो सडक सुविधा थिएन । एसएलसी दिन धरानबाट भारतको जोगबनी हुँदै रक्सौलसम्म भारतका विभिन्न स्थानबाट रेल यात्रा पार गर्दै वीरगन्ज जानुपथ्र्यो । परीक्षा केन्द्र तोकिएको थियो, वीरगन्जस्थित जुद्धोदय हाई स्कुल । त्यो स्कुलका प्रधानाध्यापक मदनमणि दीक्षित थिए । त्यतिबेला काठमाडौँ उपत्यकाभित्र अर्थात् नेपालमा पढ्नेलाई काठमाडौँमा र उपत्यकाबाहिरकाले एउटा मात्र केन्द्र वीरगन्ज गएर परीक्षा दिनुपथ्र्यो ।
धरान पब्लिक हाई स्कुलबाट परीक्षा दिने हामी सात जना मात्र थियौँ । इलाम, विराटनगर, धनकुटा, बुटवल, वीरगन्ज र पाल्पाका गरी ३०/३२ जनाजति विद्यार्थी थियौँ । उपत्यकाबाहिरबाट वीरगन्जमा परीक्षा दिन गएका हामी मारवाडी समुदायको धर्मशालामा बस्यौँ । पहिलो दिन साथीहरुले महाराजले बोलाएको छ भन्दा त म छक्कै परेँ, राणा प्रधानमत्री मोहनशमशेर राणा वीरगन्ज आइपुगेछन् भनेर ! मलाई उनले किन बोलाएछन् भन्ने गुन्दै अरु साथीहरुसँगै भान्साघरमा पुगेँ । मैले खाना पकाउनेलाई महाराज भन्ने गरेको पहिलो पटक त्यही सुनेको थिएँ । मारवाडी भान्छेलाई महाराज भनिँदो रहेछ ।
राणा शासक जातभात र धर्मकर्ममा असाध्यै कडा । वीरगन्जमा पनि यस्तै घटना बेहोर्नुपर्यो, हामीले । त्यतिबेला वीरगन्जका बडाहाकिम थिए, सोमशमशेर जबरा । बडाहाकिमले एसएलसी दिन आएका विद्यार्थीले कहाँ खान्छन्, कसले पकाउँछ, कहाँ बस्छन् भनेर सोधीखोजी गर्दा रहेछन् । उनका सुराकीले धर्मशालामा महाराजले पकाएको खानेकुरा खान्छन् भनेर उजुरी गरेछ । त्यसपछि बडाहाकिमले प्रहरी पठाए । हामीलाई उनको निवास लगियो । उनले हामीलाई निकै हपारे । मेरो कन्पारो तातेर आयो । मैले सोमशमशेरलाई जवाफ दिएँ, “बडाहाकिम साब हामी बाध्यताका कारण धर्मशालामा बसेका हौँ । खाना पनि महाराजले नै बनाएको खाएका छौँ । हजुरले अन्त कतै बस्ने व्यवस्था मिलाइदिनुहुन्छ भने ब्राह्मणले पकाएको खान पनि तयार छौँ ।”
मलाई बडाहाकिमसँग बोल्न कुनै धक लाग्दैनथ्यो । यसअघि ००५ मा धरानकै पब्लिक हाई स्कूलमा हिरालाल र तुलाराम विश्वकर्मा दाजुभाइबारे प्रतिवाद गरेको थिएँ । अनि त मलाई सोमशमशेरसँग केको डर ! मेरो कुरा सुनेपछि बडाहाकिमसँगै रहेका सहायक बडाहाकिम शम्भुप्रसाद ज्ञवालीले बडाहाकिम सोमशमशेरसँग बिस्तारै केही कुरा गरेजस्तो लाग्यो । शम्भुप्रसाद त्यतिबेला वीरगन्ज केन्द्रको एसएलसी परीक्षा नियन्त्रक (सुपरिटेन्डेन्ट) पनि थिए । उनी ०२७/२८ मा राजा महेन्द्रको आदेशबमोजिम बहुदलीय पञ्चायतको संविधानको मस्यौदा गर्ने न्याय, कानुनमन्त्री भए । तर राजा महेन्द्रको निधनपछि त्यो लागू भएन । दुवै जनाले एकआपसमा कुरो गरेपछि सोमशमशेरले हामीहरुलाई भने, “लौ, यी त कांग्रेसी सिल्लड पो रहेछन्, जाओ फटाहाहरु यहाँबाट ।”
राणा शासक त्यतिबेला कांग्रेसप्रति आक्रामक हुनुको कारणचाहिँ उनीहरुको शासन बिस्तारै मक्किँदै थियो । टंकप्रसाद आचार्य, मातृका र बीपी कोइरालाको नेतृत्वमा कांग्रेसले राणा शासन हटाएर प्रजातन्त्र ल्याउन आन्दोलन गरिरहेकै थियो । कोही जेलमा थिए, कोही नेपाल र भारतबाट लडिरहेका थिए । त्यसकारण युवा, विद्यार्थी र पढेलेखेका मान्छे जसलाई देखे पनि राणाका प्रतिनिधि बडाहाकिमले कांग्रेसको बिल्ला भिराइहाल्थे ।
बडाहाकिमको निवासबाट फर्किएको भोलिपल्ट नै एसएलसी सुरु भयो । त्यतिबेला गोग्राह हाई स्कुल, विराटनगरका विद्यार्थी जगतमोहन अधिकारी (मनमोहन अधिकारीका भाइ) हामीसँगै एसएलसी दिन वीरगन्ज आएका थिए । परीक्षाचाहिँ नेपाली माध्यममा हुने गथ्र्यो । त्यसबेला विराटनगरमा बढीजसो बोलीचाली, लेखाइ, पढाइ सबै हिन्दीमा हुन्थ्यो । उनी नेपाली भाषामा कमजोर रहेछन् । विद्यालय टपर भए पनि त्यस वर्षको एसएलसीमा नेपाली विषयमा अनुत्तीर्ण भए । पछि ००७ मा पूरक परीक्षा दिएर पास गरे । उनै जगतमोहन त्रिभुवन विश्वविद्यालयको उपकुलपतिसमेत भए, ०२६ मा ।
पाल्पा हाई स्कुलबाट परीक्षा दिन आएका पीताम्बरध्वज खाती पनि हामीसँगै धर्मशाला बस्थे । पढाइमा अब्बलै थिए । अंग्रेजी विषयको परीक्षा दिएर सबै विद्यार्थी धर्मशाला फर्कियौँ । खातीले आफ्नो नाडीमा लगाएको घडी फुकालेर भुइँमा राखेर इँटाले हिर्काए । मैले यसबारे सोधीखोजी गरेँ । उनले दु:ख मनाउको भाषामा भने, “यही घडीले गर्दा मेरो अंग्रेजी विषयको परीक्षा बिग्रियो ।”
इँटा बर्साउनुको कारणचाहिँ परीक्षा दिँदा उनको घडी बन्द भएछ । घडी हेर्दा समय जहाँको तहीँ हुने । समय जति पनि बाँकी छ भन्दै बिस्तारै लेख्दा रहेछन् । त्यसैबेला परीक्षा सकिएको घन्टी बजिहाल्यो । फसाद पर्यो । ७ मध्ये ३ वटा प्रश्नको मात्र उत्तर लेखेछन् । यसरी उनको पनि त्यस वर्षको परीक्षा बिग्रियो । अर्को वर्ष मात्रै मौका परीक्षामा पास गरे । खाती बीए सकाएपछि राजनीतिमा लागे । उनलाई राजा वीरेन्द्रले प्रधानमन्त्री कीर्तिनिधि विष्टको मन्त्रिमण्डलमा उद्योग, वाणिज्यमन्त्रीसमेत नियुक्त गरे, ०३१ मा । यसरी हामीसँगै एसएलसी दिनेमध्ये कालान्तरमा कोही ठूला सरकारी ओहोदाधारी र कोही मन्त्रीसमेत हुन सके ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...