आँगनमा स्कुल विद्यार्थी सीमापारि
शिक्षकहरु नियमित नहुँदा एक हजारभन्दा बढी नेपाली विद्यार्थी भारतीय विद्यालयमा

सिरहाका भगवानपुर गाउँपालिका–४ को ठडी र सप्तरीको बलान बिहुल गाउँपालिकाको बेलिहीमा नेपाल–भारत सीमा क्षेत्रभन्दा करिब पाँच सय मिटर पर कक्षा ८ सम्म पढाइ हुने थुप्रै आधारभूत विद्यालय छन् । तर शिक्षकहरू नियमित नहुँदा सीमावर्ती क्षेत्रमा रहेका आधारभूत तहका विद्यालय प्रायः बन्द रहन्छन् ।सीमावर्ती गाउँका बालबालिकाका लागि छिमेकी सीमावर्ती बजार लौकाहामा पढ्न जानु बाध्यता हो । बिहार मधुवनीको लौकाहा बजारस्थित राजकीय कन्या माध्यमिक विद्यालयकी छात्रा कविताकुमारी पण्डित भन्छिन्, “गाउँको विद्यालयमा कहिल्यै पढाइ हुन्न । नजिक छाडेर टाढाको विद्यालय जानु रहर होइन ।”
कवितासँगै सीमावर्ती लौकाहामा पढ्ने उनका सखीहरू पनि विद्यालयमा पढाइ नभएकाले सीमापारिको विद्यालयमा पढ्नु परेको दुखेसो पोख्छन् । भगवानपुर गाउँपालिका–४ ठाडीका श्रीलाल पासवानका अनुसार नेपाली विद्यार्थीले बिहारका विद्यालयमा पोसाक, किताब–कापी, छात्रवृत्ति आदि केही सुविधा पाउँदैनन् । भन्छन्, “आँगनमै विद्यालय छन्, नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो धनराशि खन्याइरहेको पनि छ । तर के गर्नु ? विद्यालयमा कहिलेकाहीँ मात्र शिक्षक आउँछन् ।”
राजकीय कन्या माध्यमिक विद्यालयका प्रभारी प्रधान (प्रधानाध्यापक) देवकुमार आफ्नो विद्यालयमा नेपालका सीमावर्ती क्षेत्रका थुप्रै विद्यार्थी पढ्ने गरेको बताउँछन् । करिब चार सय घरधुरी रहेको सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी सीमावर्ती क्षेत्र बिहार मधुवनी जिल्लाको लौका बजारका चार भारतीय सरकारी विद्यालयमा एक हजार हाराहारी नेपाली विद्यार्थी पढ्ने गरेको स्थानीयको भनाइ छ ।
तस्बिरहरू : राजकुमार राउत