मूर्ति कुँद्दा झन्डै जेल
पहिलेपहिले ढुंगा कुँद्दा निस्कने धूलोदेखि दिक्क लाग्थ्यो चन्द्रश्याम डंगोल, ४१, लाई । बुबा धातुका मूर्ति बनाउँथे । तर किसान परिवारमा बुबा र काकाबीच कृषिकर्मबारे बढेको असन्तोष कम गर्न कलाकारितामा अल्पविराम लगाए ।
पहिलेपहिले ढुंगा कुँद्दा निस्कने धूलोदेखि दिक्क लाग्थ्यो चन्द्रश्याम डंगोल, ४१, लाई । बुबा धातुका मूर्ति बनाउँथे । तर किसान परिवारमा बुबा र काकाबीच कृषिकर्मबारे बढेको असन्तोष कम गर्न कलाकारितामा अल्पविराम लगाए ।
एसएलसीपछि बुबाको मन राख्न भए पनि मूर्ति बनाउने काममा लागे चन्द्रश्याम । सुरुमा ललितकला क्याम्पसबारे उनलाई थाहै थिएन । लाग्थ्यो, मूर्तिकला पनि पढाइ हुने विषय हो र ! तर त्यहाँ दुई वर्ष पढेपछि चन्द्रश्यामले बुझ्दै गए, नेपाललाई विश्वसामु चिनाउन परम्परागत कलाको ठूलो महत्व छ ।
त्यसपछि हो, उनले प्रस्तरकलामा दिलोज्यान दिन थालेको । पढाइका अलावा घरमा मूर्तिकर्ममा व्यस्त हुनु परेपछि उनको पढाइ औसतभन्दा कमजोर रह्यो । पाँच वर्ष लगाएर मात्र आईएफए पार गर्न सके ।
स्नातकोत्तर नसकिँदै सिर्जना कलेजबाट बोलावट आयो प्रस्तरकला विषय पढाउन । भन्छन्, “मैले यो कामका लागि प्रमाणपत्र छैन भनेँ । तर उताबाट जवाफ प्रमाणपत्र त औपचारिकता न हो, आउनूस् भनेपछि काम सुरु गरियो ।”
नौ वर्षदेखि उक्त क्याम्पसमा पढाउँदै छन् चन्द्रश्याम । चार वर्षको प्रयासपछि स्नातक तहको कोर्समा नेपाली परम्परागत कला विषय राख्न सफल पनि भए उनी । कला सिर्जनाका भोका उनले औँठीमा अटाउन मिल्ने साइजका लोकेश्वर, बुद्ध, गणेशदेखि महामञ्जुश्रीको ३३ फिट अग्लो मूर्तिसम्म बनाए ।
१८ फिटको मैत्रेय बुद्ध मूर्ति बनाउन धेरै कालिगढकहाँ धाए, रामबहादुर बम्जनका प्रतिनिधि । सबैले न्यूनतम एकदेखि डेढ वर्षसम्म लाग्ने बताए । तर ग्राहकको माग थियो, ७५ दिनभित्र सिध्याउनैपर्ने । यो काममा उनले हात हाले । सात सहयोगीका साथ दैनिक १५ घन्टासम्मको मिहिनेतपछि काम फत्ते गरेर निर्धारित समयभित्रै बारामा पुर्याउनसमेत सफल भए । मैत्रेय बुद्धको मूल्य थियो, ३० लाख रुपैँया । सहयोगीको पारिश्रमिक, ढुंगाको मूल्य तथा ढुवानी खर्च कटाएर उनको भागमा पर्ने भनेको त्यसको १५ प्रतिशत मात्र हो ।
साधारणतया डेढ फिटभन्दा ठूलो मूर्ति बनाउन सहयोगीको आवश्यकता पर्छ । आवश्यक ढुंगा ल्याएपछि त्यसको गुणस्तर जाँच हुन्छ, कमजोर भाग काटेर फालिन्छ । मूर्तिको कोरा काम हुन्छ । चित्रांकन गरेपछि सहयोगीले उनकै निर्देशनमा ढुंगा काँटछाट गर्छन् । हातखुट्टा, अनुहारलगायत महफ्वपूर्ण भाग र बुट्टामा चन्द्रश्यामले नै छिनो हतौडा चलाउँछन् ।
प्रस्तरकला आफैँमा कठिन पेसा हो । शारीरिक रुपमा चुस्त र बलियो हुनुपर्ने यसको पहिलो सर्त हो । फेरि मूर्ति कुँदाइमा गल्ती गरिए इरेजरले मेट्नेजस्तो सजिलो विकल्प हुन्न । भन्छन्, “बिग्रिएपछि बिग्रियो । यो विधाका लागि आवश्यक क्यानभास अर्थात् ढुंगा सहजै पाउन हम्मे पर्छ ।”
आठ वर्षअघि चोभारस्थित जलविनायक सामुदायिक वन उपभोक्ता समितिले चोभारको पार्कमा राख्न १०/१२ फिटको मञ्जुश्रीको मूर्ति बनाउने प्रस्ताव गर्यो । इतिहासविद् शुक्रसागर श्रेष्ठको पहलमा मूर्ति ३३ फिट बनाउने सहमति भएपछि चन्द्रश्यामले काम थाले ।
यस्तो विशाल मूर्तिको जग ढुंगाकै भए मात्र आयु लामो हुन्छ । यसका लागि फर्पिङको खार्पाबाट ढुंगा ल्याउने प्रक्रिया अघि बढ्यो । तर अन्तिम समय अनधिकृत रुपमा ढुंगा निकालियो भन्दै यसमा संलग्न पाँच ट्रेलर चालक सात दिनसम्म थुनामा परे । थुनामा पर्ने सूचीमध्येमा चन्द्रश्यामको नाम पहिलो थियो । भन्छन्, “कला सिर्जना गर्दा थुना पर्दैछु भनेर एक पत्रकार साथीलाई फोनमा जानकारी गराएँ । तर फोन नकाटिँदै प्रहरी अधिकारीले मेरो नाम हटाइदिएछन् ।”
छिनछिनकै घटनामा पनि यस्तो हुँदो रहेछ भनेर छक्क परे । आखिरमा त्यो ढुंगा फर्पिङ चउरमै थन्कियो भने समितिको १५ लाख डुब्यो । यस घटनाका कारण उनले एक वर्षसम्म कामै गरेनन् ।
प्रस्तरकलाका लागि बासाल्ट र ब्ल्याक ब्यालेस्टिक ढुंगा हात्तीवन तथा मच्छेगाउँ क्षेत्रमा पाइन्छ । क्रसर व्यवसायीले अनधिकृत रुपमा निकाल्न पाउने तर कलाकारले कला सिर्जना कोर्न उपभोग गर्न नपाउने नियमप्रति सरकारसँग उनको असन्तुष्टि छ । मूर्तिकलाकै लागि मात्र यस्ता खानी छुट्याइदिनुपर्ने चन्द्रश्यामको तर्क छ । उनको चिन्ता छ, “त्यसो नभए नयाँ पुस्ताले यो पेसा छाड्छन् ।”
आखिरमा यो विशाल मूर्तिको जग कंक्रिटकै बनाउने निधो भयो । तर सिमेन्टको आयु बढीमा सय वर्ष हुने हुँदा त्यसपछि उक्त मूर्ति ढले के गर्ने ? चिन्ता थपियो उनमा । ३३ फिट अग्लो मूर्ति बनाउन खर्चले नभ्याउने समस्या थियो । हजारौँ स–साना मूर्ति बनाएका चन्द्रमा ठूलो काम गर्ने भोक थियो । त्यसैले उनले बिनापारिश्रमिक काम गर्ने भए । त्यति मात्र होइन, यसमा काम गर्ने सहयोगीको पारिश्रमिक ६ महिनासम्म उधारो पनि मिलाइदिए । सानाठूला भागमा विभाजित भीमकाय मूर्तिको छातीसम्म तीन इन्चको फलामे छड राखेर तयार पारिएको छ ।
'कला सिर्जना गर्दा थुना पर्दैछु भनेर एक पत्रकार साथीलाई फोनमा जानकारी गराएँ । तर फोन नकाटिँदै प्रहरी अधिकारीले मेरो नाम हटाइदिएछन् । '
— चन्द्रश्याम डंगोल मूर्तिकार
चन्द्रश्यामका मूर्ति विदेशमा समेत निर्यात हुँदै आएका छन् । दोस्रो पक्षमार्फत बिक्री हुने भएकाले कुन कला कुन देशमा छ, उनैलाई हेक्का छैन । क्यानडामा भने पशुपतिनाथको मन्दिर बनेको छ । त्यसका लागि पशुपतिनाथ शिवलिंगको नक्कल चन्द्रश्यामले नै बनाएका हुन् । चार वर्षदेखि वर्षको दुई महिना चीनको एक कलेजमा प्रोफेसरका रुपमा पढाउन थालेका छन् उनले । यसै मेसोमा नेपालको परम्परागत कलालाई चिनाउने काम गर्दैछन् ।
चन्द्रश्याम मात्र होइन, उनका सन्तान र श्रीमती प्रमिलासमेत यो कलामा समर्पित छन् । छोराले पाँच वर्षमै हथौडा चलाउन सिकिसकेका रहेछन् । ६ कक्षा पढ्दै गरेका छोरा न्हुजः डंगोल ढुंगामा चित्र कोर्ने र आधारभूत आकार दिन सक्ने भइसकेका छन् । ए लेभल पढ्दै गरेकी छोरी ईशा पनि काममा सघाउँछिन् । भन्छन्, “०७२ को भूकम्पमा हाम्रा धेरै कलाकृति मासिए । नयाँ पुस्ताले अब ती कला हेर्न नपाउन सक्छन् । तिनलाई यथावस्थामा ल्याउन वा नयाँ बनाउन आवश्यक छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...