दर्ताबिनै अस्पताल
सरोकारवाला निकायलाई आर्थिक प्रलोभनमा पारेर आठ निजी अस्पताल र १९ पोलिक्लिनिक सञ्चालन

सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित २५ शैय्याको रामकुमार सारडा, उमाप्रसाद मुरारका सरकारी अस्पतालसँगै जोडिएको दुईतले पक्की भवनमा छ, मेरी गोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रालि । बाहिर ठूलो अक्षरमा ‘हेल्थ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर’ लेखे पनि दुई वर्षदेखि दर्ताबिनै गैरकानुनी रूपमा भित्र शैय्या नै राखेर अस्पताल चलाइएको छ ।
पूर्व–पश्चिम राष्ट्रिय राजमार्गमा बोर्ड राखेर गैरकानुनी रूपमा अस्पताल सञ्चालन भइरहे पनि नियमनकारी निकायको आँखा परेको छैन । डायग्नोस्टिक सेन्टरले गैरकानुनी रूपमा फार्मेसी, ल्याब, भिडियो एक्सरे सञ्चालनका साथै गर्भपतन, प्रतिबन्धित औषधी बिक्री र बिरामीलाई नक्कली प्यान बिल दिएर राजस्व छल्दै आएको एक फार्मेसी सञ्चालक सुनाउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रशासन प्रमुख उमेशलाल कर्णका अनुसार मेरी गोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर सिरहा स्वास्थ्य कार्यालयमा दर्ता छैन । सिरहामा मेरी गोल्ड मात्र होइन, नियमनकारी निकायको बेवास्ताले ग्रामीण बस्तीदेखि सहरबजारसम्म ८ वटा १५ शैय्याका निजी अस्पताल र १९ पोलिक्लिनिक ८ वर्षदेखि नवीकरणबिनै सञ्चालनमा छन् ।
नियमनकारीकै बेवास्ता
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार लहानमा डिभाइन हेल्थ केयर, कामना नर्सिङहोम, फ्रेन्ड्स मोडल अस्पताल, लहान लाइफ केयर, गोलबजारमा भूमिजा, धमनी मिर्चैयामा सगरमाथा मोडल र रेखा नर्सिङहोम दर्ताबिनै चलिरहेका छन् । सिरहाकै लहानमा लीलामदन पोलिक्लिनिक, त्रिदेव, ओम गुरुकुल, आदित्य मेडिकेयर, मदरल्यान्ड, शिवगंगा चिल्ड्रेन, छपराडीमा राजु पोलिक्लिनिक, जीवनज्योति, एसके, राधाकृष्ण डेन्टल, राम हेल्थ पोलिक्लिनिक, मिर्चैयामा न्यु ग्लोबल हेल्थ केयर, भगवती मेडिकल हेल्थ केयर, सुखीपुरमा सलहेस पोलिक्लिनिक, भलुवाहीमा जितेन्द्र ठाकुर पोलिक्लिनिक, रोशीस्काई गरी १९ पोलिक्लिनिक नवीकरणबिनै सञ्चालनमा छन् । यी पोलिक्लिनिक र अस्पताल ०६८ देखि नै नवीकरण नगरी गैरकानुनी रूपमा चल्दै आएको प्रशासन प्रमुख कर्ण बताउँछन् ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, ०७० को दफा ११ मा निजी अस्पताल र पोलिक्लिनिकले म्याद सकिएको मितिले तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने प्रावधान छ । तर सञ्चालकले सरोकारवाला निकायलाई आर्थिक प्रलोभनमा पारेर नवीकरणबिनै वर्षौंदेखि पोलिक्लिनिक र अस्पताल चलाउँदै आएको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ताको दाबी छ ।
मानव अधिकार संगठनका प्रदेश २ संयोजक राजकुमार राउत कुर्मी लहानको डिभाइन अस्पतालले अवैध रूपमा सिटीस्क्यान सेवा राखेर बिरामीलाई दिनदहाडै ठगिरहेको बताउँछन् । भन्छन्, “सिरहामा राज्य, सरकार नभएजस्तो लाग्छ, बाहुबलीले जे गरे पनि छूट छ ।”
जिल्ला स्वास्थ्य कार्यालय सिरहा प्रमुख नागेन्द्रप्रसाद यादव कार्यालयले ०७५ भदौमा जिल्लाभर बिनादर्ता सञ्चालित अस्पताल र पोलिक्लिनिकलाई कारबाहीका लागि पत्राचार गरेको बताउँछन् । भन्छन्, “पत्राचार गरेपछि जिल्ला प्रशासनले गैरकानुनी रूपमा सञ्चालित अस्पताल र पोलिक्लिनिकलाई दुई महिनाभित्र नवीकरण गर्न अल्टिमेटम दिएको थियो । तर पछि जिल्ला प्रशासन मौन बसिदियो ।”
दर्ताबिनाका अस्पताल तथा पोलिक्लिनिकमाथि कारबाही गर्न जाँदा सुरक्षा चुनौती रहेको उनको तर्क छ । “जिल्ला प्रशासनसँग सुरक्षा माग्दा सीडीओले कहिल्यै सुन्नुहुन्न । सुरक्षाबिना कार्यालय एक्लैले कारबाही गर्न सम्भव छैन,” यादव दुखेसो पोख्छन् ।
दर्ताबिनै अस्पताल र पोलिक्लिनिक सञ्चालन विषयबारे जानकारी माग्दा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित जिल्ला स्वास्थ्य कार्यालयलाई नै सोध्नू भन्दै पन्छिए ।
ज्यानमारा पोलिक्लिनिक
सिरहाको मिर्चैयास्थित मंगलम् हेल्थ केयर पोलिक्लिनिकमा ०७५ चैतमा चिकित्सकको लापरबाहीले ५० वर्षीय शिवजी महतोको मृत्यु भयो । महतोको मृत्युपछि घरपरिवारले उपचारमा चिकित्सकको लापरबाही भएको भन्दै इलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दिए । तर प्रहरीले जाहेरीको सुनुवाइ नै गरेन ।
सिरहा कर्जान्हा नगरपालिका–२ बन्दीपुरमा दर्ताबिनै चल्दै आएको राइन मेडिकेयरमा डन्डीफोरको शल्यक्रिया गर्दा रेखादेवी मुखियाको मृत्यु भयो । प्रहरीले पोलिक्लिनिक सञ्चालक ताहिर राइनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही चलायो ।
गत साउनमा सिरहाकै लहानस्थित सप्तऋषि नर्सिङहोममा प्रसूतिको शल्यक्रिया गर्दा स्थानीय मुनतुरिया मण्डलको चिकित्सकले पेटमै आधा मिटरको कपडा छाडिदिए । मर्नु न बाँच्ने अवस्थामा पुगेकी उनको पछि धरानको घोपा क्याम्पमा शल्यक्रिया गरेर कपडा निकालेपछि धन्न ज्यान जोगियो । मण्डलको परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीका लागि प्रहरीमा जाहेरी दिए पनि अहिलेसम्म सुनुवाइ भएको छैन ।
०७५ मा सिरहामा अवैध अस्पताल र पोलिक्लिनिकमा उपचार गराएका चार बिरामीले ज्यान गुमाएका छन् । तर स्थानीय प्रशासनले कर्जान्हा बन्दीपुर–२ का ताहिर राइनबाहेक कसैलाई पनि मुद्दा चलाएको छैन । दर्ताबिनै सञ्चालित अस्पतालले एक वर्षमा चार जनाको ज्यान लिँदा पनि सिरहा प्रहरी प्रमुख जीवन श्रेष्ठ स्वास्थ्य संस्था आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने विषय भएकाले यसबारे जानकारी नभएको बताउँछन् । कार्यालयमा चिकित्सकको लापरबाहीले बिरामी मृत्यु भएको जाहेरी नपरेको दाबी श्रेष्ठको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन प्रमुख कर्ण पोलिक्लिनिकले बिरामीलाई पहिलो चरणको सामान्य उपचारभन्दा भर्नासहित २४ घन्टा राखेर उपचार गर्न नपाउने औँल्याउँछन् । सिरहामा पोलिक्लिनिकले बिरामी भर्ना गरेर उपचार, शल्यक्रिया, गर्भपतनलगायत सबै काम खुलेआम गरिरहेका छन् ।