दाम्पत्यमा दरार आएपछि...
मानबहादुर माखिमले नै गरेका हुन् त आरुबोटेका दुई परिवारको संहार ?

मिक्लाजुङ–७ लुमाङदिनका मानबहादुर माखिम र मिक्लाजुङ–३ आरुबोटेकी मनकुमारी फियाकको सामाजिक परम्पराअनुसार बिहे भएको थियो, ७ वर्ष पहिले । जुम्ल्याहा छोरी जन्मे पनि असमयमै बितेपछि वैदेशिक रोजगारीमा गएका थिए, मानबहादुर । विदेश जाँदा रकमको व्यवस्था मनकुमारीकै माइतीले गरिदिएको थियो ।
विदेशमा पैसा कमाउन नसकेकोलगायतका कारण पत्नीसित उनको खटपट सुरु भयो अनि माइतीमै बस्न थालिन् । मानबहादुरले मनकुमारीलाई घरमा लैजान जबर्जस्ती गर्दा झैझगडासमेत भयो । उक्त झगडा दम्पतीको झगडा भनेर गाउँपालिका केन्द्र रविको इलाका प्रहरी कार्यालयको रोहबरमा ०७५ असारमा दुवै मिलेर बस्ने सर्त भए पनि कार्यान्वयन भएन । मनकुमारीले जिल्ला अदालत पाँचथरमा असोज ०७५ मा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि सम्बन्धमा झन् दरार आयो ।
त्यसकै परिणति मानिएको छ, ६ जेठ राती पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा दुई परिवारका चार बालिकासहित नौ जनाको वीभत्स हत्या । हत्यामा प्रहरी र सर्वसाधारणले शंकास्पद ठानेका मानबहादुरसमेत भोलिपल्ट दिउँसो नाइलनको डोरीमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिए ।
उक्त हत्याकाण्डमा ७४ वर्षीय बमकुमार फियाक, श्रीमती ७५ वर्षीया प्रिचाहाङमा, २६ वर्षीया कान्छी छोरी मनकुमारी र १२ वर्षीया नातिनी आशिका खजुम मारिए । बमकुमारको घरभन्दा ८ सय मिटर दूरीमा रहेको घरमा सुतेका ३६ वर्षीर्या छोरी जस्मिता शेर्मा, पति ४१ वर्षीय धनराज, १३ वर्षीया छोरी युहाना, ८ वर्षीया मुना र उनका भतिजी ६ वर्षीया इक्सा पनि मारिए । बमकुमार फियाककी १४ वर्षीया नातिनी सीता खजुम भने भागेर ज्यान बचाउन सफल भइन् ।
एकै रात नौ जना मारिएको मुलुककै ठूलो हत्याकाण्डमा धेरै जनाको संलग्नता अनुमान गरिए पनि घटनाको प्रकृति हेर्दा त्यस्तो नदेखिएको प्रहरीको भनाइ छ । भागेर ज्यान बचाएकी बालिकाले पनि प्रहरीलाई एक व्यक्ति मात्र देखेको बताएकी छन् ।
हत्या भएको दुवै घरमा रगत लागेको पैतालाको डोब र आकारसमेत एकै प्रकृतिको देखिएको छ । घटनालगत्तै आत्महत्या गर्नुले पनि त्यसमा बमबहादुरको कान्छो ज्वाइँ मानबहादुरकै संलग्नता रहेको हुन सक्ने वडा सदस्य जयप्रसाद फियाकको भनाइ छ ।
हत्याकाण्डमा आशंका गरिएका मानबहादुर प्रायः साथीभाइसित पनि घुलमिल नगर्ने प्रवृत्तिका थिए । पारिवारिक सदस्यका अनुसार अत्यन्त कम बोल्ने, एक्लै रहने उनी मनमा केही कुरा सोचेपछि सो काम गरिहाल्थे ।
उनमा मानसिक समस्या रहेकाले औषधी सेवन गरिरहेको परिवारिक स्रोतको भनाइ छ । आरुबोटे हत्या काण्ड हुने दिन उनले खानासमेत खाएका थिएनन् । ७ जेठ बिहान ३ बजेर ६ मिनेट जाँदा उनले गाउँका साथी नेलकन माखिमको मोबाइलमा फोन गरेर भनेका थिए, ‘मेरो पुरानो रोग बल्झियो, ५ हजार रुपैयाँ दिनू । म भाइलाई लिन पठाउँछु ।’
नेलकनले हुन्छ भनेर फोन राखेका थिए । तर उनले आरुबोटे हत्याकाण्ड र मानबहादुरले आत्महत्या गरेको खबर सुने । उनी झुन्डिएको ठाउँ नजिकै एक थान खुकुरी र रगत लतपतिएको भेस्ट फेला परेको पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुँवर बताउँछन् । सबै प्रविधिसहित सीआईबीले सूक्ष्म अनुसन्धान गरेकाले यसको सत्यतथ्य चाँडै पत्ता लाग्ने कुँवरको दाबी छ ।
“आरुबोटेको वीभत्स हत्याकाण्ड अमानवीयताको पराकाष्ठा हो, यो सभ्य समाजले कल्पनै गर्न सक्दैन,” पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती भन्छन्, “यसले सामाजिक सुरक्षाका सवालमा सोच्न बाध्य बनाएको छ ।”