हतारमा परायाघर
उमेर नपुग्दै बिहे गरिदिने प्रवृत्ति घातक

उमेर नपुग्दै छोरीको बिहेलाई समाजले स्वीकार्य बनाउँदा त्यससँग जेलिएको समस्याले मधेस छटपटिएको छ । धेरै पढे उही हैसियतको दुलहा खोज्दा टन्नै दहेज दिनुपर्ने र सामाजिक लोकलाजबाट जोगिन पनि उमेर नपुग्दै घरसंसार सम्हाल्नुपर्ने बाध्यतामा मधेसका छोरीहरू जेलिएका छन् ।
छोरी भएको थाहा पाउँदा गर्भपतन गर्ने, जन्मिए उचित शिक्षा नदिने र उमेर नपुगी बिहे गरिदिने क्रम रोक्न प्रदेश २ सरकारले ‘छोरी बिमा योजना’ ल्याउनुपर्यो । प्रदेश सरकारले ८ वटै जिल्लामा लागू गरेको महत्त्वाकांक्षी योजना ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानले बीचमै पढाइ नछोडाउन र कलिलै उमेरमा परायाघर नपठाउन प्रेरित गर्ने विश्वास लिइएको छ ।
माघ ०७५ यता जन्मिएका छोरीका नाममा प्रदेश सरकारले १ लाख २५ हजार रुपैयाँको बिमा गर्दै छ । प्रभु बैंकमा खाता खोलेर जम्मा गरिने बिमा रकम २० वर्ष नपुगेसम्म झिक्न पाइँदैन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत छोरीहरू अध्ययनमै रहून् भन्ने उद्देश्यले बिमा अवधि २० वर्ष पुर्याएको बताउँछन् । भन्छन्, “धेरैले छोरी बिमा रकमलाई दाइजोजस्तै ठान्नु गलत हो । २० वर्षसम्म पढेपछि छोरी आत्मनिर्भर बन्न सक्छे र उसलाई बिमाको पैसाले सघाउनेछ ।”
कानुनतः २० वर्ष नपुगी बिहे गरे मान्यता नपाउने प्रावधान छ । कानुनी घेरालाई सामाजिक मान्यताले छेकबार नलगाउँदा उमेर नपुगी बिहे गर्ने बालिकाको जीवनमा स्वास्थ्य समस्या बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ मा १५ देखि १९ वर्षको उमेरमै २७ प्रतिशत बच्चा जन्माउने प्रक्रियामा हुन्छन् । कम उमेरमा बच्चा जन्माउँदा मातृमृत्यु, नवशिशु र बालमृत्यु मधेसमा उच्च छ । पछिल्लो तथ्यांकअनुसार १५ देखि १९ वर्षको उमेरमा नेपालमा १७ प्रतिशत आमा भइसकेका वा गर्भवती हुन्छन् । तर प्रदेश २ मा यो उमेरका २७ प्रतिशत यस्तो अवस्थामा छन् ।
कम उमेरमा गर्भवती रहेकै बेला मृत्यु हुनेको संख्या पनि प्रदेश २ मा उच्च छ । नेपालमा १ लाख गर्भवतीमध्ये बर्सेनि २ सय ३९ जनाको मृत्यु हुन्छ । प्रदेश २ मा १ लाखमा २ सय ५९ गर्भवतीले ज्यान गुमाउँछन् । नवजात शिशुको मृत्युदर पनि प्रदेश २ मा डरलाग्दो छ । जन्मेको २८ दिनमा प्रति १ हजारमा नेपालमा २१ जना नवजात शिशुको मृत्यु हुन्छ भने प्रदेश २ मा ३० जनाको ज्यान जान्छ ।
स्वास्थ्य सूचकांकमा पछि परेको प्रदेश २ मा १५ देखि ४९ वर्षमा महिलाको जनसंख्या १२ लाख ६५ हजार १ सय ७ छ, जसमा त्यो उमेर समूहका १ लाख ५१ हजार ७ सय ५ जना अनुमानित गर्भवती हुन्छन् । यो नेपालभरको कुल अनुमानित गर्भवती संख्याको २० प्रतिशत हो । १ सय ४६ बर्थिङ सेन्टर र ७ हजार ८ सय ७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको प्रदेश २ मा कलिलै उमेरमा छोरीको बिहे गरिदिँदा त्यसबाट उत्पन्न स्वास्थ्य समस्या भयावह छ ।