बिजुली सपना
एक दशक पर्खंदा पनि टुकी र सोलारकै भर
निस्दी–४, मित्याल भीरपानीका नर बहादुर गाहा मगर, ६३, ले बिजुली बाल्न पैसा बुझाएको १० वर्ष बितिसक्यो । बत्ती चाँडै बल्छ भनेर सुरुमै ७ हजार रुपैयाँ बुझाएका थिए ।
ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत बिजुलीका लागि घरमा गरिएको वायरिङ धूलोधूँवाले कालो र घरअगाडि ठेकेदारले गाडेका पोल पनि ढल्ने अवस्थामा पुगिसकेका छन् । गाहा दुखेसो पोख्छन्, “बिजुली बाल्ने रहर सपनै हुने हो कि भन्ने लागेको छ ।”
यस वर्ष पनि निस्दी गाउँपालिकाको मित्यालका ३० घरपरिवारलाई सोलार वितरण गरियो । जिल्लाकै दुर्गम भेगमा पर्ने निस्दी गाउँपालिकाका ५ वडा अहिलेसम्म टुकी र सोलारमै चित्त बुझाउन बाध्य रहेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल बताउँछन् । भन्छन्, “केन्द्रीय प्रसारण लाइनको अवस्था यस्तै छ । गाउँपालिकाले टुकीरहित कार्यक्रम चलाउन बाध्य छ ।”
झिरुवास, गल्धा, अर्चले, ज्यामिरे, मित्यालमा वर्षौंअघि उठाएको पैसाले नेपाल विद्युत् प्राधिकरणको सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभागबाट टेन्डर भए पनि काम अघि बढेको छैन । निस्दी गाउँपालिकामै लालीगुँरास सामुदायिक विद्युत् समितिसमेत गठन भएको छ ।
बिजुली बाल्नकै लागि ५ वडाका २ हजार परिवारले उपभोक्ता संस्थामार्फत डेढ करोड रुपैयाँ बढी पैसा उठाएका थिए । सुरुमा व्यक्तिगत खातामा पैसा राखेको विवाद र केही पदाधिकारीले पैसा चलाएको आरोप पनि लाग्यो ।
बिजुलीमा भएको ढिलाइप्रति ठेकेदार र सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभागमा डेलिगेसन गइसकेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु सुनाउँछन् । भन्छन्, “विद्युत् प्राधिकरणको अटेरीपन र समन्वयमा कमजोरी देखियो ।” सिंगो निस्दी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार हुन सकेको छैन ।
विद्युत् प्राधिकरण बुटवल क्षेत्रीय कार्यालय प्रमुख भानुभक्त भट्टराई भने लसुने (सिद्धार्थ राजमार्ग)–सिलुवा प्रसारण लाइन निर्माणमा भएको ढिलाइले निस्दीमा बिजुली नबलेको बताउँछन् । भन्छन्, “अब विवाद समाधान भएको अवस्था छ । निर्माण व्यवसायीलाई बोलाएर काम अगाडि बढाउँछौँ ।”
लसुनेदेखि सिलुवासम्मको प्रसारण लाइनमा जग्गा विवाद भएपछि ठेकेदारले अन्य क्षेत्रमा काम अघि बढाएका छैनन् । पूर्वखोला गाउँपालिकाको सिलुवामा बनेको सव–स्टेसन पनि वर्षौंदेखि अलपत्र छ । उक्त स्टेसनमा लगेपछि निस्दीमा बिजुली बाल्ने योजना रहेको विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठ बताउँछन् ।
रम्भा गाउँपालिका प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार लसुने क्षेत्रको समस्या समाधान भइसकेको छ । भन्छन्, “निर्माण व्यवसायी नै नआउँदा काम अघि नबढेको हो । हाम्रोमा विवाद छ भन्नुभन्दा ठेकेदारलाई ल्याएर काम गराउनुपर्छ ।”
विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन निर्माणमा ढिलाइ गरेपछि गाउँपालिकाले हावाबाट बिजुली निकाल्ने प्रक्रिया अगाडि बढाएको छ । यसअघि १ हजार २ सय वाट (६ सय सोलार र ६ सय हावा) बिजुली निकालेर परीक्षण गरेको गाउँपालिकाले अब २५ किलोवाट निकाल्ने तयारी थालेको हो ।
निस्दी गाउँपालिका अध्यक्ष सारुका अनुसार ठेकेदारले सोलार प्यानल, मुख्य पोललगायत ल्याएर काम थालेको छ । सिद्धार्थ राजमार्गबाट ४५ किलोमिटरपूर्व बेलडाँडाबाट मित्याल पुग्न पुनः १४ किलोमिटर कच्ची सडक छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कृष्ण ग्रील एन्ड इन्जिनियरिङ वर्क्स प्रालि, विराटनगरले यहाँ कामको ठेक्का लिएको थियो ।
हावा र सोलार पावरको ब्याकअपबाट अहिले पनि १ हजार २ सय वाट बिजुली निस्केको छ । हावा बिजुलीबाट १ सय ५० घरले बत्ती बाल्न पाउनेछन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...