छिमेकीको जालसाजी
भारतीय पक्षको एकतर्फी बाँध निर्माणका कारण सीमावर्ती क्षेत्र बर्सेनि डुबानमा ।

असार अन्तिममा लगातार परेको वर्षाका कारण प्रदेश २ मा ३२ जनाले ज्यान गुमाए । १३ हजार मानिस बाढीका कारण विस्थापित भए । त्यसमा ३५ सय घरमा पूर्ण रूपले क्षति भए । रौतहट, महोत्तरी, सप्तरी, सिरहा बाढीमा सबैभन्दा प्रभावित भए । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार रौतहटमा १०, सिरहामा ६, महोत्तरीमा ६, पर्सामा ३, बारामा २ र सर्लाही १ जनाको मृत्यु भयो भने दुई बेपत्ता छन् ।
वर्षातका बेला तराई–मधेसका सीमावर्ती गाउँ डुबानमा परेको पहिलो पटक होइन । तीन वर्षअघि खाडो नदीको बाढी गाउँ पसेपछि पानीको बहाव निकास नहुँदा सप्तरीको सीमावर्ती गाउँ तिलाठी पूरै डुबानमा पर्यो । गाउँ डुब्नुको मुख्य कारण खाडो नदीको बाढीभन्दा पनि सीमा क्षेत्रमा भारतीय पक्षले सडक निर्माणको नाममा बाँधेको बाध थियो । पानीको निकास नहुँदा भेलले भारतीय बाँध भत्कायो र पानीको निकास भएपछि डुबान हट्यो ।
त्यही पानीको भेलले भत्काएको बाँधलाई पुनः भारतीय पक्षले बाँध्न खोज्दा आफ्नो गाउँ डुबेको भन्दै तिलाठीबासी प्रतिकारमा उत्रिए । दुवै पक्षबीच झडप भयो । झडपमा नेपालतर्फ तिलाठीका देवनारायण यादवसहित चार घाइते भए । तर तिलाठीबासीले बाँध बाँध्न दिएनन् ।
सिरहा, लहान एलएमसी कलेजका प्राध्यापक मनोज कर्ण प्रदेश २ डुबान हुनुको मुख्य कारण छिमेकीको कपट रहेको बताउँछन् । “नेपालको उत्तरी क्षेत्रबाट बग्ने पानीको प्राकृतिक बहावलाई रोक्न भारतले सीमा क्षेत्रमा एकतर्फी बाँध बनाएका कारण वर्षाको भेलले सहज निकास पाउँदैन,” उनी भन्छन्, “पानी भेल बाँधमा ठोक्किएर मास्तिर फर्कन्छ र सप्तरीदेखिको पर्सासम्मको सीमावर्ती क्षेत्र बर्सेनि डुबानको चपेटामा पर्छ ।”
गत वर्ष भारतीय पक्षले नेपालसँग समन्वय नै नगरी एकतर्फी रूपमा पश्चिमी भाग तर्फबाट कोसीमा पाइलट च्यानल निर्माण गरेकाले सप्तरीको हनुमाननगर नगरपालिकाका १२ र १३ वडा अनि कोइलाढी तिलाठीका ४ र ५ वडा डुबानमा परेको इन्सेक प्रतिनिधि मनोहर पोख्रेल बताउँछन् । सिरहाको चुहर्वास्थित रेडक्रस कार्यालयमा बसेको दैवी विपद् व्यवस्थापन समितिको बैठक बस्यो । बैठकमा सहभागी अधिकांश स्थानीय जनप्रतिनिधिले भारतीय पक्षले सीमा क्षेत्रमा बाँधेको बाँधका कारण तलतिर प्राकृतिक भेलको निकास हुन नसक्दा सिरहाको सीमावर्ती गाउँ डुबानमा परेको सुनाएका थिए ।
सप्तरीका प्रदेश सभासद् गोविन्द न्यौपाने चुरे फँडानी र दोहनका कारण नदीनालाको भाग उच्च भएकाले बर्सेनि समस्या थपिएको बताउँछन् । चुरेले बगाएर ल्याएको बालुवाले नदी उच्च भएको छ भने होचो भागमा बाढी पसेर मधेस डुबाएको छ । कमला सिँचाइ आयोजनाका नहर र खाडो नदीमा लगाइएको तटबन्ध पनि सिरहा, सप्तरी, धनुषा डुबानको कारण भएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी बताउँछन् । भन्छन्, “नहर र बाँध मर्मत गरेपछि ठेकेदारले अधूरो छाडिदिने गरेकाले बाढी त्यही अधूरो भागबाट पसेर गाउँ डुबाउँछ ।”