सैन्य भर्तीमा करोडौँको खेलो
प्रशिक्षण केन्द्र खोलेका भूपू सैनिक नै बिचौलिया
भारतीय सेनामा भर्ती हुन नेपालगन्जमा झन्डै पाँच सय युवा लामबद्ध थिए, १६ देखि २३ जेठसम्म । त्यही जमात देखेपछि भारतीय भूपू सैनिककै एक समूहमा १० करोड रुपैयाँ कमाउने लालच जाग्यो ।
अघिल्लो वर्ष पोखरामा सेटिङ मिलाएर भर्ती गराउँदा ३४ करोड रुपैयाँ असुलेको सुइँको पाएको त्यो समूहले करिब २ सय बेरोजगार युवालाई भर्तीको प्रलोभन दियो । भारतीय फौजमा भर्ना हुन लालायित युवा घुस खुवाउन तयार भइहाले ।
भर्ती अभ्यासका लागि भूपू भारतीय सैनिकले नेपालगन्ज, पोखरा, बुटवल, दाङ, सुर्खेतलगायतका सहरमा तालिम केन्द्र खोलेका छन् । ती तालिम केन्द्र कम, बिचौलिया अधिकको भूमिकामा देखिन्छन् ।
भारतीय गोर्खा सैनिकबाट अवकाशप्राप्त रामकाजी पाण्डे र अर्जुन पौडेलले चितवनको भरतपुरमा संयुक्त रूपमा एलाइट फोर्स ट्रेनिङ सेन्टर चलाएका छन् । अर्का भूपू निरबहादुर थापा मगरले बुटवलमा एडभान्स ट्रेनिङ सेन्टर चलाएका छन् । भूपू तिलक जिसी र सन्जु क्षत्रीको दाङमा द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर छ । पोखरामा भूपू सूर्यबहादुर थापा क्षत्री, पदमबहादुर पुन, केयरसिंह गुरुङ र अविनाश चन्दको धौलागिरि गोर्खा ट्रेनिङ र पोखरामै एकराज गुरुङको ड्रिम भिजन गोर्खा ट्रेनिङ सेन्टर छ । गणेशबहादुर राना, भरत चन्द र सुरेन्द्र थापाले सुर्खेतमा उस्तै खाले ब्रेभ गोर्खा नामक ट्रेनिङ सेन्टर सञ्चालन गरेका छन् ।
भर्तीका ‘डिलर’
यस्ता फौजी तालिम केन्द्रले प्रतिव्यक्ति कम्तीमा २५ हजार रुपैयाँ लिएर डेढ सयदेखि २ सय जनालाई तालिम दिने गरेका छन् । तालिम केन्द्रभन्दा बाहिरका युवालाई भर्तीका लागि बटुल्ने दलाललाई ‘डिलर’ भन्ने गरिन्छ ।
पछिल्लो पटक सुर्खेतको ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरका सञ्चालकले भारतीय सेनामा भर्ना हुन चाहने १ सय बेरोजगार युवालाई नेपालगन्ज पठाए । द एड्भेन्चर ट्रेनिङ सेन्टर बुटवल र गोर्खा ट्रेनिङ सेन्टरले पनि युवा ल्याए । पुरनसिंह खत्री र तिलबहादुर वलीसहितको द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरले भर्तीका लागि तयार पारेका ६० जना युवा पठायो । तीमध्ये शारीरिक परीक्षण उत्तीर्ण गरी ४० जना लिखित परीक्षामा पुगेका थिए ।
योजनाअनुसार गोरखपुरका ब्रिगेडियर जनरल अजय पासवोला र अन्य ४ जना कर्णेललाई मिलाउन बिचौलिया खटिए । ब्रिगेडियर जनरलको टोली नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रश्नपत्र बनाउँदै थियो । त्यही प्रश्नपत्र आउट गर्ने र १० करोड रुपैयाँ उठाएर दामासाहीले बाँड्ने अन्तिम योजना थियो । पूर्वगोर्खाभित्र द्वन्द्वसँगै बार्गेनिङ चर्किंदै गर्दा समूह–उपसमूहमा विभाजित भए ।
ब्रिगेडियर जनरलसँग तालमेल मिलाइसकेको टोलीले अर्को पक्षद्वारा राखेको पैसाको प्रस्ताव पूरै अस्वीकार गर्यो । बिचौलिया बनेका भूपू गोर्खा आर्मी मुखमा पर्न थालेको कमिसन बाँड्ने पक्षमा देखिएन । आन्तरिक द्वन्द्व अन्ततः प्रतिशोधमा रूपान्तरण भयो ।
नेपाल भूतपूर्व सैनिक विकास समितिका अध्यक्ष भीम रानाको अप्रेसन टिमले नेपाल प्रहरीलाई सूचना दिई नियन्त्रणमा लिन पूरै शक्ति लगायो । १५ जेठदेखि नै बिचौलियाले सुर्खेतरोडस्थित बाटिका होटलमा अड्डा जमाएका थिए ।
पुनराघाट गोर्खा ब्रिगेडभित्रै बनेको यो सेटिङपछि छुट्टीमा बाँकेको खजुरा गाउँपालिका डी गाउँस्थित घर आएका बलराम खत्री ठगी धन्दामा सामेल थिए । बिग्रेडियर जनरल पासवोलाको कमान्डमा रहेका खत्रीले पैसा असुल्न थाले । होटलमा कोठा मिलाइदिने व्यस्थापनको जिम्मामा भूपू ललित चन्दको थियो । चितवन भरतपुर महानगरपालिका–७ मुक्तिपुरका अर्जुन पौडेल, भरतपुर महानगर कृष्णपुरका रामकाजी पाण्डे, रूपन्देही तिलोत्तमा नगरपालिका–९ का निरबहादुर थापा मगर, पोखरा महानगरपालिका–७ राष्ट्र बैंक चोकका सूर्यबहादुर थापा क्षत्री मुख्य योजनाकार भएको प्रहरी दाबी छ ।
यस्तो रहस्यको पर्दा त्यति बेला खुल्यो, जब गोर्खा सैनिकको भर्नाका लागि लिखित परीक्षा हुन आठ घन्टा मात्र बाँकी थियो । नेपाल भूतपूर्व सैनिक विकास समितिका अध्यक्ष भीम रानाले त्यसको सुइँको फोनबाटै प्रहरीलाई सूचना दिए, २१ जेठमा । प्रहरीले तत्काल छापा मार्यो । त्यसबाट भारतीय सैनिकको मिलेमतोमा पोखरा, नारायणगढ र नेपालगन्जमा हरेक वर्ष घुस लिएर भर्ना गर्दै आएको तथ्य खुलेको छ ।
“गोर्खा भर्तीमा वर्षौंदेखि यसरी घुसखोरी र ठगीधन्दा चल्दै आएको छ । गत वर्ष पोखरामा भारतीय सेनाको भर्ना खुल्दा ३४ करोड रुपैयाँ असुलिएको हामीलाई थाहा छ,” एक भूपू गोर्खा भन्छन् । प्रहरीले नियन्त्रणमा लिएका गोर्खा रेजिमेन्टका एकबहादुर गुरुङ, सूर्यबहादुर थापा, रामकाजी पाण्डे, अर्जुन पौडेल, निरबहादुर थापाविरुद्ध ठगी मुद्दा चलायो । भीम राना भन्छन्, “ब्रिगेडियर जनरल अजय पासवोलाको मिलेमतो नभई यस्तो हुनै सक्दैन ।”
प्रहरीले बाटिका होटलको कोठा नम्बर १०२, १०४ र १०६ मा छापा मार्दा ब्रिगेडियर जनरललाई त्यहाँ बोलाइए पनि उनी आउन चाहेनन् । राना भन्छन्, “हामी प्रश्नपत्र बनाउँदै छौँ, आउन सक्दैनौँ भन्ने जवाफ दिए ।” जबकि प्रश्नपत्र भारतबाटै सिल गरेर ल्याइन्छ । पासवोलाको उक्त भनाइले मिलेमतोको आशंकालाई बल पुगेको छ ।
कोठा नम्बर १०४ मा पाण्डे र पौडेल थिए । कोठाको पश्चिम–दक्षिण भित्ताको र्याकमा कालो रंगको झोला झुन्ड्याइएको थियो । त्यसैमा २६ लाख ६० हजार रुपैयाँ फेला पर्यो, जुन बहालवाला सैनिक बलराम खत्रीले असुलेका थिए । अर्जुनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘त्यो पैसा खत्रीले ल्याएका हुन् ।’
प्रहरीले आवेदनका ७२ वटा मोबाइल पनि तिनै कोठाबाट बरामद गरेको थियो । होटलबाट ३८ लाख बरामद गरिएको थियो । उनीहरूसँगै रहेका दुई युवतीको कोठाबाट पनि ६ लाख ५० हजार रुपैयाँ भेटिएको थियो । लिखित परीक्षामा आउने सम्भावित प्रश्नको उत्तर सिकाउने भन्दै राती ८ बजेदेखि युवालाई होटलमा बोलाइएको थियो । त्यसरी आउने नवीन राई भन्छन्, “साँझ होटलको हलमा भेला गराए । पछि कोठामा राखे । लिखित परीक्षामा पास हुने भए १ लाख रुपैयाँ नगदै जम्मा गर्नुपर्छ भनेका थिए ।” ठगिने अन्य युवामा अमित सुनार, सन्दीप नाथ, सारु थापा, बुद्घ सोमई मगर, रोशन शाही, दीपेन्द्र गिरी, मदनबहादुर मल्ल र टेम्बा भोटेलगायत छन् ।
प्रहरीको मिलेमतो
अघिल्लो पटक भर्ती हुँदा गोरखपुरमा मेडिकल परीक्षामा फेल भएका विनोद थापा मगर दोस्रो पटक भर्ती खुल्दा नेपालगन्ज आएको सुनाउँछन् । भन्छन्, “लिखित परीक्षाको प्रश्न आउट हुन्छ, रिसोर्टमा आउनू भनेर बोलाएर होटलको हलमा राखेका थिए । प्रहरीले छापा मारेर बाहिर निकाल्यो ।”
ठगी धन्दामा पक्राउ परेका अर्जुन पौडेलले पनि लिखित परीक्षामा आउने सम्भावित प्रश्न र एन्सर सिटबारे सिकाउन युवालाई होटलमा बोलाएको स्वीकारेका छन् । २६ फागुन ०६५ मा पोखरामा भएको परीक्षामा पास भई गोरखपुरमा मेडिकल दिई बसेकाप्रकाश थापा मगरले बयानमा भनेका छन्, ‘सुर्खेतमा ब्रेभ गोर्खा सेन्टरबाट तालिम लिएको थिएँ । त्यो बेला पनि पोखरामा लिखित परीक्षाको अभ्यास गराएका थिए, जुन भोलिपल्टको परीक्षामा हुबहु मिलेको थियो ।’
परीक्षामा पास गराइदिने भन्दै थुप्रै युवा ठगिएको प्रहरीको भनाइ छ । ठगी धन्दाको अनुसन्धानमा खटिएका बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा भन्छन्, “अनुसन्धानबाट ठगी गरेको प्रस्ट देखिएको छ ।” होटलमा छापा मार्दा फरार भारतीय गोर्खा सैनिक बलराम खत्रीलाई पक्राउ पुर्जी जारी गरी परराष्ट्र मन्त्रालय हुँदै भारतीय सेनालाई पत्राचार गरेको छ ।
ठगी काण्डमा प्रहरीले मिलेमतो भएको भेटिएको बताएको छ । छापा मार्दा बरामद ३८ लाख १० हजार रुपैयाँमध्ये २ लाख मात्र ठगेको पुष्टि भएको र बाँकी ३६ लाख १० हजार रुपैयाँको स्रोत खुलेको भन्दै मुद्दालाई फितलो बनाइएको छ । पक्राउ परेकालाई मनी लन्डरिङ निवारण ऐन, २०६४ आकर्षित हुने भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो । आयोगले उनीहरूलाई २६ लाख धरौटीमा छाड्यो भने जिल्ला अदालतले १० लाख धरौटी माग्यो । पूर्वगोर्खा सैनिक खड्कमानसिंह ठकुरी यो प्रकरणले भारतीय सेनामा पूर्वगोर्खाको छवि बिग्रेको बताउँछन् । “खान पुग्ने पेन्सन दिएकै थियो । हाम्रो छवि बिग्रियो,” उनी भन्छन्, “पोखरादेखि नेपालगन्जसम्म घुस खाएर पूर्वगोर्खाकै बेइज्जत भयो । भारतीय सेनाले विश्वास नगर्ने अवस्था आयो ।”
प्रहरी तालिम केन्द्र नै भारतीय भर्तीस्थल
कर्णाली प्रदेशको प्रहरी तालिम केन्द्र छ, प्रदेश ५ को नेपालगन्जमा । अघिल्ला वर्षर्सम्म भारतीय सैन्य भर्तीस्थल रंगशाला हुँदै आएकामा यस पटक आठ दिनसम्म प्रहरीको तालिम केन्द्रमै भयो । भारतको गोरखपुरस्थित (जीआरडी पुनराघाट) गोर्खा रेक्रुटिङ ब्रिगेडका ब्रिगेडियर जनरल अजय पासवोलाले ४ कर्णेलसँगै सञ्चार उपकरणसहित नेपाल प्रहरीको तालिम केन्द्रमा अड्डा जमाएका थिए । सुरक्षा र गोपनीयताका दृष्टिले अति संवेदनशील प्रहरी तालिम केन्द्रमै भारतीय फौजले शारीरिक र लिखित परीक्षा लियो ।
भारतीय दूतावासले २८ मईदेखि ६ जुन २०१९ सम्म नेपालगन्जमा इन्डियन आर्मी रिक्रुटमेन्ट र्याली आयोजना गर्ने भन्दै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पत्र पठाएको थियो, १५ मे २०१९ मा । सोही पत्रका आधारमा गृह मन्त्रालयले ८ जेठमा प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई र्यालीका लागि आवश्यक प्रबन्ध मिलाइदिन दूतावासको पत्रको छाया प्रति राखेर अर्को पत्र लेखेको थियो ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...