खोटो नियत
गैरन्यायिक हत्या छानबिनमा छलछाम
राज्यद्वारा निषेधित भूमिगत संगठन विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो भिडन्तमा मारिए, ५ असारमा । त्यसको भोलिपल्ट राष्ट्रिय मानव अधिकार आयोगले छानबिन टोली बनाएको प्रेस विज्ञप्ति जारी गर्यो । हतारहतार अनुसन्धान टोली बनाएको डेढ महिनापछि बल्ल आयोगले इन्काउन्टरमा संलग्न भनिएका प्रहरीको बयान लिन थाल्यो । पहिलो दिन अर्थात् १५ साउनमा ६ जना प्रहरीको बयान लिएको थियो । तर भोलिपल्टै बयानको विवरण मिडियामा सार्वजनिक गरिदियो ।
अनुसन्धान नटुंगिउन्जेल गोप्य रहनुपर्ने बयान बाहिरिएपछि प्रहरी भोलिपल्ट पुनः आयोगको कार्यालय ढकढकाउन पुगे । प्रमुख आयुक्त अनुपराज शर्मा बिदामा रहेकाले आयुक्त गोविन्द शर्मा पौडेललाई प्रहरी अधिकारीले आफ्नो भनाइ बाहिरिएकामा आपत्ति जनाएका थिए । टोलीमा संलग्न एक प्रहरीका अनुसार पौडेलले समेत बयान विवरण सार्वजनिक भएकोबारे आश्चर्य प्रकट गरेका थिए । "आइन्दा यस्तो हुँदैन भनेर माननीयज्यूले भनेपछि हामी फर्कियौँ," ती प्रहरी अधिकारी भन्छन् ।
सर्लाहीको लालबन्दी जंगल छेउमा प्रहरीसँगको भिडन्तमा पौडेल मारिएको सरकार पक्षको दाबी छ । तर यो नक्कली भिडन्त भएको पौडेल परिवार र विप्लव समूहले दाबी गर्दै आएका छन् । सुरक्षा सूत्रअनुसार काठमाडौँबाट विशेष टोली बनाएरै पौडेललाई कारबाही गरिएको हो । नक्कली भिडन्तकै आशंकामा आयोगले समेत छानबिन थाल्यो । तर तीन महिना लाग्दासमेत टुंग्याउन सकेको छैन । बरु उल्टै बयान दिन आएकाको भनाइ सार्वजनिक गरिदिएर आफ्नै संहिता उल्लंघन गरिदियो । बयान दिन आउनेको गोपनीयता कायम राख्नु आयोगको मुख्य कर्तव्य हो ।
बयान सार्वजनिक भएकोबारे आयोगभित्र विवादसमेत देखिएको थियो । तर अहिलेसम्म महत्त्वपूर्ण सूचना बाहिर नगएकाले अबचाहिँ गम्भीर बन्नुपर्ने भनेर घटना सामसुम पारिएको आयोगका एक सदस्य बताउँछन् । आयोगका प्रवक्ता एवं सचिव वेदप्रसाद भट्टराई भन्छन्, "बयानका सबै बेहोरा बाहिरिएका होइनन् । चार पानामध्ये थोरै कुरा मात्र सार्वजनिक भयो । बाहिरिएका सबै कुरा सत्य होइनन् । बयान दिने, साक्षी सबैलाई आश्वस्त पारिएको छ । यसले अनुसन्धानलाई असर गरेको छैन ।"
तत्काललाई यो विषय साम्य भए पनि आयोगको विश्वसनीयतामा भने प्रश्न उब्जिएको छ । पीडित र पीडकको गोपनीयता, सुरक्षा प्रत्याभूत गर्नु आयोगको दायित्व हो । तर बयान छरपस्ट हुँदा उनीहरूको सुरक्षामा समेत असर गर्ने हेक्का आयोगले राख्न सकेन । एक सदस्यले नेपालसँग नाम उल्लेख नगर्ने सर्तमा भने, "बयान जहिले पनि गोप्य हुन्छ । पीडकको पनि अधिकार हुन्छ । बयानमा स्वीकारेको कुरा सार्वजनिक गर्नु आचारसंहिताविपरीत काम हो । यस्तो भएपछि आयोगमा उजुरी दिन, सूचना दिन को आउँछ ? मानिसले कसरी विश्वास गर्छन् ?"
असफल आयोग
विवादास्पद मृत्युका घटना छानबिन गर्ने मामिलामा आयोगले त विश्वास त गुमाइसकेको छ । खासगरी गैरन्यायिक हत्याको विषयमा आयोगले आफ्नो अडान र निष्कर्ष नै दिन सकेको छैन । पछिल्ला एक दशकमा दर्जनभन्दा बढी व्यक्ति हत्याका घटना भए पनि आयोगले त्यसमा छानबिन गरेर निचोड निकालेको छैन । सरकारलाई निर्देशन दिने त परको कुरा । पौडेल साँच्चै भिडन्तमा मारिएका हुन् वा राज्य पक्षबाट योजनाबद्ध हत्या भएको भन्ने आयोगले बोल्न सकेको छैन ।
आयोगको अकर्मण्यता पुष्टि गर्ने थुप्रै उदाहरण छन् । एक वर्षअघि मुठभेडकै नाममा भक्तपुरमा मारिएका थिए, बालक अपहरणकर्ताद्वय सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङ । ११ वर्षे बालक निशान खड्कालाई अपहरणपछि मारेको आरोपमा तामाङद्वय महानगरीय अपराध महाशाखाको टोलीद्वारा मारिएका थिए । समातेपछि जंगलमा लगेर प्रहरीले हत्या गरेको भन्दै २३ साउन ०७५ मा मृतकका परिवार आयोगको शरणमा पुगेका थिए । उजुरीलगत्तै आयोगले पाँच सदस्यीय छानबिन समिति मात्रै बनाएन, उजुरी परेकै दिन महानगरीय प्रहरी आयुक्त कार्यालयका तत्कालीन आयुक्त प्रहरी नायब महानिरीक्षक -डीआईजी) मनोज नेउपानेलाई बोलायो । छानबिन समितिका प्रमुख एवं आयोगका सदस्य सुदीप पाठकबीच झन्डै एक घन्टा चर्को सवालजवाफ चलेको थियो ।
सुरुआती चरणमा सक्रिय देखिएको आयोगको अनुसन्धान पनि घटनामा खाटा बस्दै गएसँगै सेलाउन थाल्यो । वर्ष दिन नाघिसक्यो तर त्यो मुठभेड सक्कली थियो वा नियोजित भन्ने द्विविधामै छ, आयोग । आयोग यस्तो द्विविधामा रहेको लामै भइसक्यो । २१ फागुन ०७१ सालको चर्चित काण्डलाई आयोगले अझै फस्र्योट गरेको छैन । काठमाडौँ भीमढुंगामा प्रहरीमाथि गोली प्रहारपछि जवाफी कारबाहीमा मारिएको भनिएका दिनेश अधिकारी 'चरी' की प्रेमिका खुश्बु ओलीले दिएको उजुरी पनि आयोगमा निर्णय कुरेर बसिरहेको छ । गैरन्यायिक हत्या भन्दै छानबिनका लागि ओलीले आयोग गुहारेकी थिइन् । तर निष्कर्षै निस्किएन ।
बरु अर्को वर्ष यस्तै प्रकृतिको घटना दोहोरियो । ३ भदौ ०७२ सालमा काठमाडौँको बीचमै अर्का डन कुमार श्रेष्ठ 'घैंटे' लाई प्रहरीले मार्यो । प्रहरी योजनाको पूर्वाभास पाएरै हुन सक्छ, कुमारले आफ्नो जीवनरक्षाको माग गर्दै २७ असारमै आयोगमा निवेदन दर्ता गराएका थिए । निवेदनलाई आयोगले गम्भीर रूपमा लिएन । सम्बन्धित निकायसँग सोधीखोजीसमेत गरेन । परिणाम, डेढ महिनापछि कुमार प्रहरीकै हातबाट मारिए ।
त्यो आयोग, यो आयोग
एक दशक लामो हिंसात्मक माओवादी द्वन्द्वमा आयोगको उपस्थिति प्रभावकारी मानिन्थ्यो । नियन्त्रणपछिको हत्यालाई गैरन्यायिक र युद्ध अपराध मानेर आलोचना गर्दा मात्रै पनि त्यो अर्थपूर्ण हुन्थ्यो । द्वन्द्वकालका थुप्रै यस्ता घटनाबारे आयोगले आफ्नो आधिकारिक धारणा सार्वजनिक गथ्र्यो भने छानबिनका लागि सरकारलाई निर्देशन दिन्थ्यो । आफैँले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गरिदिन्थ्यो ।
तर गणतन्त्र स्थापनापछि आयोग क्रमशः निष्प्रभावी बन्न थाल्यो । गणतन्त्रपछि मधेस आन्दोलन सुरु भयो । विशेष सुरक्षा नीति लगाएपछि त तराईमा सुरक्षाकर्मीको नियोजित दमन बढेको मधेसका मानव अधिकारवादी संस्थाले प्रतिवेदन नै तयार गरेका थिए । तर अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले यस विषयलाई सशक्त रूपमा उठाए पनि आयोग मौन नै बस्यो । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालयले ०६५ देखि ०६८ को मधेस आन्दोलनमा २ सय ८१ गैरन्यायिक हत्या भएको र त्यसमा १ सय ३२ सुरक्षाकर्मी दोषी देखिएको रिपोर्ट सार्वजनिक गरेको थियो । आयोगले यस्ता घटनाबारे विज्ञप्ति निकाल्नेबाहेक केही गरेन ।
आयोगको यो प्रवृत्ति त्यसपछि समेत उस्तै रह्यो । गुन्डागर्दी पृष्ठभूमिकालाई प्रहरीले मुठभेडको आवरणमा मार्दा आयोगले मौन समर्थन गरिदियो । निचोड निकाल्नै यतिका वर्ष लगाउनुको अर्को कारण देखिँदैन । यद्यपि आयोग सदस्य सुदीप पाठक भने कुमार घैंटे र तामाङद्वयको प्रकरणमा आयोग निचोडमा नपुग्नुको कारण ब्यालेस्टिक -गोली कति दूरीबाट हानिएको भन्ने) विज्ञ अभावलाई देखाउँछन् । चार वर्षसम्म आयोगले ब्यालेस्टिक विज्ञ नभेट्टाउनु आफैँमा आश्चर्यजनक लाग्छ ।
नेपालमा दुई जना ब्यालेस्टिक विज्ञ रहेकामा एकजना अमेरिकातिर भएको र अर्काले अनुसन्धानमा सघाउन नमानेको सदस्य पाठक बताउँछन् । तर विदेशबाट यस्ता विज्ञ झिकाउने पहलसमेत आयोगले कहिल्यै गरेन । खर्च अभावमा त्यो बाटो अपनाउन नसकिएको पाठकले बताए पनि के-कति लाग्ने भन्नेबारे यकिन गर्न सकेनन्, न त कहिल्यै यो कामका लागि आयोगले सरकारसँग आर्थिक सहायताको विषय उठायो । आयोग प्रवक्ता भट्टराई यसअघि विदेशीले प्राविधिक सहयोग गरे पनि यो घटनामा त्यस्तो बाटो नपहिल्याएको सुनाउँछन् । भन्छन्, "भरसक स्वदेशकै जनशक्तिबाट काम लिन खोजेको हो ।" यसले आयोगको नियतमै प्रश्न उब्जाउने ठाउँ दिएको छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...