प्लटिङले सक्यो धान फल्ने खेत
अन्न भण्डार भनेर चिनिने यी जिल्लामा फल्ने धानकै कारण झापाको भद्रपुर र विराटनगरलगायत स्थानमा दर्जनौं कुटानी मिल सञ्चालनमा थिए । धान उत्पादन घटेसँगै अधिकांश मिल बन्द भइसकेका छन् ।

कुनै बेला पूर्वका झापा, मोरङ र सुनसरीमा उत्पादन भएको धान स्थानीय माग पूरा गरी निर्यात समेत हुन्थ्यो भन्दा अचेल पत्याउन गाह्रो पर्छ । अन्न भण्डार भनेर चिनिने यी तीन जिल्लामा फल्ने धानकै कारण झापाको भद्रपुर र विराटनगरलगायत स्थानमा दर्जनौं कुटानी मिल सञ्चालनमा थिए ।
धान उत्पादन निरन्तर घटेसँगै अधिकांश मिलहरू बन्द भइसकेका छन् । सञ्चालनमा रहेकाले पनि आयातीत धान, चामल प्याकिङ गर्ने काम मात्र गरिरहेका छन् । पहिले निर्यात गरेको धान र चामल अचेल भारतबाट ठूलो परिमाणमा आयात हुने गरेको छ ।
किन यस्तो भयो त ? कारण एउटामात्र छैन । घडेरीका लागि खेतीयोग्य जग्गामा प्लटिङ, इँटाभट्टाहरूले ओगटेको ठूलो क्षेत्रफलजस्ता कारणले पूर्वमा खेतीयोग्य जमिन खुम्चँदा आधाभन्दा बढी उत्पादन घटेको छ । सहरीकरण बढ्दै गएपछि खेती गर्ने क्षेत्रफल र उत्पादन घटेको हो ।
पूर्वी तराईका जिल्ला सदरमुकाम, नगरपालिका र सहरोन्मुख गाउँहरूमा धान लहलहाउने जग्गामा पक्की घरैघर छन् । धेरै क्षेत्रमा प्लटिङ गरिएकाले जग्गा बाँझै छ । मुख्य राजमार्ग र सहायक मार्ग आसपास हेर्ने हो भने प्लटिङ नगरिएको स्थान भेट्न मुस्किल पर्ने गरेको उद्योग वाणिज्य महासंघ प्रदेश १ समिति उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् । “धान फल्ने ठाउँ मासिँदै गए”, उनी भन्छन्, “त्यसैले पहिले निर्यात गर्ने वस्तु अचेल आयात नगरी पुग्दै पुग्दैन ।”
धान उत्पादन हुने खेतमा यसरी धमाधम प्लटिङ भइरहेको छ । तस्बिरः माधव घिमिरे
घडेरीका लागि प्लटिङ र इँटाभट्टा विस्तारका कारण दशकयता झापा, मोरङ र सुनसरीमा करिब ५० हजार हेक्टर खेतीयोग्य जग्गा घटेको छ । यी तीन जिल्लामा ७१ वटा इँटा उद्योग छन् । प्रत्येकले १५ बिघा जमिन ओगटेका छन् । ओगटिएको जग्गामा पहिले मनग्य धान फल्थ्यो । अचेल इँटा ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेश १ का १४ जिल्लामा यो वर्ष ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती भएको छ । सबैभन्दा बढी झापामा ८७ हजार ५ सय, मोरङमा ८३ हजार ३ सय र सुनसरीमा ५५ हजार हेक्टरमा धान खेती गरिएको छ ।
तथ्यांक अनुसार झापामा करिब १० हजार, मोरङमा २० हजार र सुनसरीमा १७ हजार हेक्टर खेतीयोग्य जमिन घटेको पाइएको छ । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र उप्रेतीका अनुसार दशकअघि झापामा ९५ हजार हेक्टरमा धान खेती हुने गरेकामा घटेर करिब ८० हजार हेक्टरमा सीमित भएको छ ।
प्लटिङमा परिणत भएको खेतीयोग्य जमिन । तस्बिरः माधव घिमिरे
मोरङमा दशकअघिसम्म ९८ हजार हेक्टरमा धान खेती हुने गरेकामा यस वर्ष करिब ८० हजार हेक्टरमा मात्र धान खेती भएको तथ्यांक छ । सुनसरीमा ७२ हजार हेक्टरमा धान खेती हुने गरेकामा ५० हजार हेक्टरमा सीमित बनेको छ ।
१० वर्षअघि सप्तरी र सिरहासहित पूर्वाञ्चलमा ५ लाख ४७ हजार हेक्टरमा धान खेती हुन्थ्यो । अचेल करिब ४ लाख हेक्टरमा बर्खे धान हुने गरेको छ । खेतीयोग्य जमिन घटेसँगै धान उत्पादन पनि ह्वात्तै घटेको छ । दशकअघि वार्षिक १८ लाख टन धान उत्पादन हुने गरेकामा घटेर करिब १२ लाख टनमा झरेको छ ।
धान र अरू कृषि उत्पादन घट्नुको मुख्य कारण प्लटिङ गरी जग्गा खण्डीकरण पनि एक भएको अध्ययनले देखाएको छ । ठूलो परिमाणमा खेतीयोग्य जग्गा घटिरहेको पनि अध्ययनको निष्कर्ष छ । “खेतीयोग्य जग्गा निरन्तर घटिरहेको छ”, अध्येता समूहका सदस्य स्नातकोत्तर क्याम्पस अर्थशास्त्र विभागका सहप्राध्यापक अर्जुन बरालले भने, “सरकारले ठोस भूउपयोग नीति ल्याएर प्रभावकारी कार्यान्वयन नगरे यो क्रम बढेको बढ्यै जाने छ ।” बसोबास क्षेत्र र कृषि क्षेत्रलाई स्पष्ट छुट्याएर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
खेती र उत्पादन कम भएसँगै धान चामल आयात परिमाण बढेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा भारतबाट ५ करोड ३६ लाख ८९ हजार ६ सय २१ किलो धान आयात भएको थियो । यसका लागि १ अर्ब ५० करोड १७ लाख ४४ हजार रुपैयाँ विदेशिएको तथ्यांक छ । सोही अवधिमा २ अर्ब ३ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको ५ करोड ५ लाख ८८ हजार ५ सय ८९ किलो चामल आयात भएको भन्सारले जनाएको छ ।