माननीयकै होटलमा बाल श्रमिक
नेकपाका सांसद गोपाल बमले रारा ताल छेउ खोलेको होटल डाँफेमा तीन कामदार बालबालिका
छायानाथ रारा नगरपालिका–११ रोबाका राजेन्द्र बुढा, १४, एक वर्षदेखि रारा ताल छेउको डाँफे होटलमा काम गरिरहेका छन् । प्रभात उच्च माध्यमिक विद्यालय रोबामा ६ कक्षासम्म पढेका राजेन्द्र दाइ, भाइ, दिदी र दुई बहिनीसहित ८ जनाको परिवारको खर्च धान्न अप्ठेरो भएपछि काम गर्न आएको सुनाउँछन् । भन्छन्, “अहिले कुकरमा पढ्छु, गाग्रीमा लेख्छु ।”
हरेक महिना घरमा पैसा पठाउने उनलाई कहिलेकाहीँ म्यानेजरले गाली गर्दा भने चित्त बुझ्दैन । स्कुलमा राजेन्द्र नाम लेखेको बताउने उनी आफ्नो नाम गजेन्द्र पनि भएको बताउँछन् । ठट्यौली शैलीमा भन्छन्, “अब नागरिकता बनेपछि मेरो नाम के भन्ने फिक्स हुन्छ ।”
नेकपा सांसद गोपाल बमको रारा ताल छेउको होटल ।
राजेन्द्रकै छिमेकी धनबहादुर बुढा, १३, पनि सोही होटलमै एक वर्षदेखि कामदार छन् । ८ कक्षा पढ्दापढ्दै घरबाट काम गर्न भनेपछि उनले होटलमा काम सुरु गरे । भन्छन्, “पढ्ने मन त थियो । घरबाट काम गर्न जान भने, त्यसैले यहाँ आएँ ।”
सोही होटलका तेस्रा कामदार हुन्, छायानाथ रारा नगरपालिका–७ टोप्लाका बालकुमार शाही, १२ । कानुनले बालबालिकालाई काममा लगाउनु हुँदैन भन्ने थाहा पाएका उनी कसैले उमेर सोध्दा १६ वर्ष पुगेको बताउँछन् ।
संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकमा राखिएको छ, जसअनुसार कुनै पनि बालबालिकालाई कलकारखाना, व्यावसायिक प्रतिष्ठानमा काममा लगाउन पाइँदैन । बालबालिकाको मौलिक हक कार्यान्वयन गर्न बनेको बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १४ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई कुनै पनि किसिमका व्यावसायिक काममा लगाउन रोक लगाइएको छ ।
उदेकलाग्दो कुरा त यो होटल मुगु जिल्लाबाट निर्वाचित नेकपाका सांसद गोपाल बमको हो । सांसद बमले आफूसमेत सहभागी भई संसद्बाट पारित गरेको कानुनविपरीत बालबालिकालाई होटलको काममा लगाएका छन् । सांसद बम भने खान नपाएका केटाहरू आफ्नो होटलमा आएर बसेको दाबी गर्छन् । भन्छन्, “घोडासँग खाते केटाहरू आउने गर्छन् । घरमा नपाएपछि केही खान पाइन्छ कि भन्ने लोभले उनीहरू होटलमा आउने हुन् । हामीले कुनै पनि बालबालिकालाई काममा लगाएका छैनौँ ।”
नेपाल प्रतिनिधि २९ र ३० भदौमा रारा ताल छेउमा बमले सञ्चालन गरेको डाँफे होटलमा बस्दा तीन बालकालिका होटलको भाँडा माझ्ने, चिया पकाउने, कोठा मिलाउनेजस्ता काममा खटिएका थिए । (हेर्नुस्, तस्बिर) होटल म्यानेजर राजेन्द्र शाही पनि तीनै जना १ वर्षदेखि काम गरिरहेको बताउँछन् ।
कानुन उल्लंघन
सांसद बमले बालबालिकालाई न्यून तलबमा काममा लगाएका छन् । धनबहादुर, राजेन्द्र र बालकुमारका अनुसार उनीहरूलाई होटलले खान–बस्नसहित मासिक ८ हजार रुपैयाँ दिने गरेको छ । जबकि श्रम ऐनअनुसार १३ हजार ४ सय ५० रुपैयाँभन्दा कम तलबमा कसैलाई पनि काममा लगाउन पाइँदैन । त्यसबाहेक कर्मचारी, मजदुर वा श्रमिकलाई नियुक्ति पत्र नदिई काममा लगाउन पनि पाइँदैन । तर सांसद बमले डाँफे होटलमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा ऐन र श्रम ऐनअनुसार पाउनुपर्ने बिदा, सञ्चय कोष, उपदान, औषधोपचारलगायत सेवासुविधा दिएका छैनन् ।
०५२ मा रारा राष्ट्रिय निकुञ्जका कर्मचारीलाई खाना र खाजा खुवाउन स्थापना गरिएको चमेनागृह ०६३ मा सशस्त्र विद्रोह समाप्तिसँगै होटलमा बिस्तार गरिएको थियो । राजनीतिक आडमा राष्ट्रिय निकुञ्जको बीचमा स्थापना गरिएको होटलले वातावरण संरक्षण, सरसफाइलगायतका विषयमा ध्यान दिएको छैन । होटल सञ्चालक बम भने रारा तालको सुन्दरतालाई असर नपर्ने गरी होटल सञ्चालन गरिएको दाबी गर्छन् ।
१५ असोजदेखि १५ मंसिर र १ वैशाखदेखि ३० जेठको समय धेरै मानिस रारा ताल पुग्ने गर्छन् । होटलका म्यानेजर बलीबहादुर शाहीका अनुसार होटलका कोठा र टेन्टसमेत गरेर एकै दिन ३ सय जनासम्मलाई सेवा दिने गरिन्छ । उनका अनुसार सिजनको समय एकै दिन ४ देखि ५ लाखसम्मको कारोबार हुने गर्छ ।
मूल्य अभिवृद्धि करसम्बन्धी ऐनअनुसार वार्षिक २० लाखभन्दा बढीको कारोबार गर्ने होटलजस्ता सेवा बेच्ने व्यवसाय मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्छ । तर सांसद बमले भने निकुञ्जको सरकारी जग्गामा सञ्चालन गरेको होटलबाट वार्षिक करोडौँ आम्दानी गरे पनि भ्याटमा दर्ता गरेका छैनन् ।
२० लाख कारोबार नभएको भन्दै मूल्य अभिवृद्धि करमा दर्ता नभएका बमको डाँफे होटलले करोडौँ आम्दानीको आयकर पनि छलिरहेको छ । आन्तरिक राजस्व कार्यालयका एक अधिकारी भन्छन्, “सांसदको होटलमा अनुगमन गरेर कर निर्धारण गर्ने जोखिम कसले लिन चाहन्छ ?”
सरकारी लगानीमा निर्माण भएका काठका घरमा एक रात सुतेको २ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरिन्छ । भान्सादेखि कोठा सफाइसम्म बेवास्ता गरिँदै आएको होटलमा बाध्यताले बस्ने पर्यटकको संख्या बढी छ । रारा ताल माथि रहेको मुर्मा गाउँका देवीकृष्ण रोकाया रारा राष्ट्रिय निकुञ्जमा थप होटल खोल्न नदिए पनि मध्यवर्ती क्षेत्रमा सुविधासम्पन्न होटल स्थापना अनुमति दिनुपर्ने बताउँछन् ।
“रारा ताल छेउ पोखराको फेवाताल जसरी होटल नै होटल खोल्नु हुँदैन,” उनी भन्छन्, “तर निकुञ्जभित्र सञ्चालनमा रहेका होटलले दिने सेवा–सुविधाको न्यूनतम मापदण्ड भने निर्धारण गर्नुपर्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...