दसगजामै भारतीय चेकपोस्ट
सिमानाको असली सिपाही हामी नै हौँ : नागरिक

नेपाल–भारत अन्तर्देशीय सीमारेखा अन्तर्गतको सिरहा भगवानपुर गाउँपालिका–४ ठाडीमा भारतीय पक्षले दसगजामै वर्षौंदेखि भारतीय अर्धसैनिक बल (एसएसबी) र कस्टम चेकपोस्ट सञ्चालन गर्दै आएको छ । यति मात्र होइन, भारतीय नागरिकले नेपालतर्फ आधा दर्जनभन्दा बढी पसल सञ्चालन गरेका छन् ।
अन्तर्राष्ट्रिय नियमअनुसार द्विदेशीय सीमा छुट्याउन गाडेको स्तम्भदेखि २० मिटर उत्तर र २० मिटर दक्षिणको खाली भूभाग दसगजामा कुनै पनि देशले संरचना ठड्याउन पाउँदैन । दसगजा क्षेत्रमा कुनै किसिमको सीमा विवाद, सीमास्तम्भ मर्मतसम्भार वा नयाँ निर्माण गर्नु परे दुवै देशको सहमतिमा सरोकारवाला निकाय बसेर त्यसको निदान गर्नुपर्छ ।
भारतीय पक्षले ठाडीमा रहेको सशस्त्र बोर्डर आउट पोस्ट, इलाका प्रहरी कार्यालयबाट डेढ सय मिटर तथा भन्सार कार्यालयबाट सय मिटरको दूरीमा नेपाली सीमा मिचेर निर्माण गरेको कस्टम र एसएसबीको सुरक्षा जाँच पोस्ट छ । तर त्यहाँ सीमा मिचेकोबारे सशस्त्र र जनपद प्रहरी नै बेखबर छन् । बरु स्थानीयले आफ्नो भूमिको पहरेदारी गरिरहेका छन् । स्थानीय समाजसेवी श्रीलाल पासवान भन्छन्, “भारतले जति सीमा मिच्यो–मिच्यो तर हामी ठाडीबासीले ४० वर्षदेखि त्यसको रक्षा गर्दै आएका छौँ । राज्य अहिलेसम्म केही बोलेको छैन ।”
०७५ फागुनमा एसएसबीले नेपालको सीमामा स्वागतद्वार निर्माण गर्न रातारात जेसीभी लगाएर स्तम्भ गाडेको थियो । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठाडीका तत्कालीन प्रमुख सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालले स्थानीयलाई भेला गरेर नेपाली सीमाको रक्षा गर्न आग्रह गरे । त्यसपछि ठाडीबासीले संयुक्त रूपमा स्वागतद्वार निर्माण नगर्न एसएसबीलाई चेतावनी दिएपछि स्थगित भयो ।
स्वागतद्वार निर्माणमा स्थानीयबाट भएको अवरोधको एक सातापछि सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसहितको टोलीले ठाडी सीमाको निरीक्षण गर्यो । तर उक्त टोली कसैसँग सोधपुछ नगरी त्यसै फर्किएको स्थानीय शिक्षक अशोक सिंह सुनाउँछन् ।
स्थानीय शंकर साह एसएसबीले दादागिरी देखाएर सीमामा स्वागतद्वार बनाउन खोज्दा नजिकै रहेको सशस्त्र र जनपद प्रहरी केही पनि नबोलेको बताउँछन् । भन्छन्, “स्थानीयको प्रतिरोधकै कारण एसएसबीले स्वागतद्वार बनाउन खनेको खाल्डो पुर्यो । हामीले सीमा अतिक्रमण भएको खबर तत्कालै गृहमन्त्री, मन्त्री, जनपद र सशस्त्रका आईजीपीलाई गरायौँ । तर उनीहरूले सीमा समस्या भनेको स्थानीयकै भएकाले स्थानीय प्रहरीलाई भन्नू भन्ने जवाफ दिए ।”
लगडीगढयानीमा राज्यको कुनै सुरक्षा निकायको उपस्थिति छैन । भारतीयले रातरात नेपालको सीमास्तम्भ गायब पार्ने हुँदा स्थानीय एकजुट भएर सीमाको सुरक्षा गर्दै आएको लगडीगढयानीका पूर्वसचिव देवनारायण यादवको भनाइ छ ।
हाल सञ्चालनमा रहेको भारतीय कस्टम चेकपोस्टसम्म साविकको भगवानपुर गाउँपालिका– ३ को २४७ र २४८ नम्बर कित्ता जमिन आफ्नो भएको शिक्षक अशोक सिंहको दाबी छ । उक्त स्थानमा पानी निकासाका लागि चन्दा संकलनबाट निर्माण गरेको कल्भर्टसमेत भारतीयले दाबी गरिरहेको स्थानीयको गुनासो छ ।
ठाडीमा मात्र होइन, सिरहाको सिरहा नगरपालिका–२० को लगडीगढयानीमा भारत बिहार मधुवनी जिल्लाको लगडीपदमा ग्राम पञ्चायतका ज्ञानी मुखियाको घरको आँगनमै नेपालको जंगे पिलर छ । त्यहाँ सीमा मिचेर भारतीयले डेढ सयभन्दा बढी घरटहरा निर्माण गरेको पूर्वसचिव यादव बताउँछन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्लाको ठाडी, लगडीगढयानी, माडरमा सीमा मिचिएको छ । भन्छन्, “सीमा समस्या दुई देशका सरकारको भएको हुँदा स्थानीय प्रशासनले यसमा केही गर्न सक्दैन । भारतीय पक्षले ठाडीमा सीमा मिचेकोबारे गृह मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ ।”