सीमास्तम्भ : ४ हराए, ४ ढले
दुई खोलाको बाढीको चपेटामा परेका सीमास्तम्भ मर्मतसम्भारमा सरकारी बेवास्ता
वियजनयर गाउँपालिका–५, ठकुरापुरमा ४ महिनाअघि बाढीको भेलमा हराएका ४ सीमास्तम्भ अझै फेला परेका छैनन् । बाढीले ढालेका ४ सीमास्तम्भ अझै ठडिन सकेका छैनन् ।
२८ असारको बाढीले सुदूरपश्चिमको सीमा छुट्याउँदै बगेका दुई खोलाका ८ सीमास्तम्भ प्रभावित भए पनि मर्मतसम्भार हुन सकेको छैन । एक सीमास्तम्भ अर्रा खोलामा क्षतिग्रस्त बनेको छ । ठकुरापुरका रामबहादुर थापा भन्छन्, “पानीको भेलले सार्दै लगेको छ । पछि यही कुराले विवाद बढ्छ । त्यही भएर अहिले नै सतर्कता अपनाई हराएका र ढलेका सीमास्तम्भ उठाउन ढिलो गर्नुहुन्न ।”
वियजनयर गाउँपालिका–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं ५७८/७ ढलेको छ । त्यसको डेढ किमि उत्तर पिलर नं ५७८/१० पनि ढलेको छ । पिलर नं ५७८/७ को २ किमि दक्षिण दुइटा पिलर ढलेका छन् । उक्त गाउँपालिकाको वडा–६ गेडुवाजोत र भारत प्रतापपुरको सीमा रहेको पिलर नं ५७७/७ र ५७७/९ ढलेका छन् । ५७७/९ नम्बर पिलर तेस्रो परेर बालुवा र पानीमा धसिएको छ । आधी भाग मात्र देखिन्छ ।
“त्यही नजिक रहेको ५७७/७ नं पिलर देखिएको छैन,” बिओपी, डालपुरका सशस्त्र प्रहरी निरीक्षक अनिरुद्ध हजारा भन्छन्, “बाढीले बगाएको हुन सक्छ ।” आफूहरू दैनिकजसो पुगेर निरीक्षण गर्दै फर्किने गरेको उनी बताउँछन् । पानीमाथि आएको ५७७/६ नं पिलरको जग कुनै पनि बेला ढल्न सक्छ । त्यस्तै, विजय नगरपालिका–१ अर्रा खोलाको चमरका जंगलमा ५८७/७ नम्बरको स्तम्भ क्षतिग्रस्त बनाएको छ । टुप्पो भाँचिएको छ । ठूल्ठूला बोल्डर लागेर भाँचिएको र स्तम्भ पनि सरेको अनुमान गरिएको छ । जिल्लाकै विकट मानिने जुवाबैराठ गाउँबाट एक घन्टा पैदल हिँडेर उक्त ठाउँ पुगिन्छ ।
कृष्णनगर नगरपालिका–१२, भगवानपुरमा पनि बाढीका कारण दुई सीमास्तम्भ हराएका छन् । वियजनयर गाउँपालिका–५, ठकुरापुरका हरिराम यादव हराएका स्तम्भ छिट्टै पुन: स्थापित गर्न लागिहाल्नुपर्ने बताउँछन् । भन्छन्, “पानीको भेलले सार्दै लगेको छ । नापी विभाग आएर ढलेका र हराएका सीमास्तम्भ उठाउन ढिलो गर्नुहुन्न ।”
जिल्लाकै ठूला खोलामा पहाडतिर थोरै पानी पर्नासाथ बहाव तीव्र हुन्छ र स्तम्भ ढल्ने अवस्थामा पुग्छन् । कमजोर फाउन्डेसनका कारण स्तम्भ ढलेका र हराएको वडा–७ का अध्यक्ष दिनेश चौधरी बताउँछन् । भन्छन्, “आधी मिटर पनि फाउन्डेसन छैन, त्यही भएर अडिएनन् । दुई देशको सीमास्तम्भजस्तो संवेदनशील कुरामा कम्तीमा ३–४ मिटर गहिरो फाउन्डसेन बनाएको भए केही हुन्थेन ।”
गत वैशाखमा मात्र मर्मत गरी गाडिएका खोलामै रहेका सीमास्तम्भ २ महिना नपुग्दै ढलेको चौधरीको भनाइ छ । स्तम्भ मर्मत ढिलो भइरहेकामा चिन्तित स्थानीयले सक्दो छिटो पुन: स्थापित गर्न माग गरेका छन् । ठकुरापुरका अजय चौधरी सरकार राष्ट्रियताप्रति संवेदनशील नभएको बताउँछन् । भन्छन्, “सानोतिनो बाढी आउनासाथ अहिले ढलेका स्तम्भ बगाउने अवस्था छ ।” हराएका पिलर जहाँ गाडिएका थिए, त्यहीँ गाड्न प्राविधिक टोली छिटो आउनुपर्ने स्थानीय राजेन्द्र यादव बताउँछन् । “सीमास्तम्भ ढलेको ठाउँबाट बगेर ठाउँ सर्न थालेका छन्,” यादव भन्छन्, “यो संवेदनशीलतालाई बुझ्नुपर्छ ।”
सीमास्तम्भ रेखदेख जिम्मा पाएको सशस्त्र प्रहरीका प्रमुख उपरीक्षक जनकराज पुरीका अनुसार बाढीले हराएका र ढलेका सीमास्तम्भको विस्तृत विवरण विभागमा पठाइसकिएको छ । ती ठाउँको नियमित अनुगमन भइरहेको छ । हराएका स्तम्भ खोज्दा नभेटिएको जानकारी गृह मन्त्रालयमा पठाइसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ बताउँछन् । भन्छन्, “सक्दो छिटो पुन: निर्माण हुन्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...