महिलामाथि घरेलु हिंसाको कारक सम्पत्ति जोड्ने लालसा
जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटमा दाइजोकै कारण घटना भएको एउटा पनि मुद्दा छैन । तर यसको प्रताडना यहाँ उच्च छ ।
दाइजोमा मोटरसाइकल नदिएको निहुँमा रौतहट, राजपुर नगरपालिका–७ की २५ वर्षीया सञ्जुदेवी सहनीलाई श्रीमान् रामबाबुले दिएको यातना असहनीय थियो । श्रीमान्बाट कुटपिट र लछारपछार त उनको नियति नै थियो । १९ भदौमा सञ्जुदेवी घरमै मृत भेटिइन् । सञ्जुको घाँटीमा डाम थियो । उनका बुबा अविलास सहनी दाइजोमा मोटरसाइकल नदिएको भन्दै छोरीलाई ज्वाइँ–ससुरा मिलेर हत्या गरेको दाबी गर्छन् ।
जनकपुर–७ की २६ वर्षीया रमिता रायलाई विवाह भएको एक महिनापछि नै उनका श्रीमान् शशि भट्टले यातना दिन थाले । दिनहुँ कुटपिट । कतिसम्म अमानवीय भने छिमेकले थाहा पाउलान् भनेर रमिताको मुखमा कपडा कोचेर कुट्थे, श्रीमान् । श्रीमतीलाई विभिन्न बहाना बनाउँदै कुटपिट गर्ने श्रीमान् भट्टको भने एउटै मनसाय थियो, दाइजो थोरै भयो ।
सञ्जु र रमिताको विवाहमा केटा पक्षले दाइजो नलिएको भने होइन । थोरै भयो भनेर जीवनभर सँगै बस्नुपर्ने श्रीमान्बाटै यी दुई चेलीमध्ये एक मारिए र अर्की यातना खेप्दै छिन् । विवाहमा दाइजो लेनदेनमा कानुनले प्रतिबन्ध लगाए पनि तराई–मधेसमा यो समस्या कहालीलाग्दो छ । ज्यानै जाने गरी छोरी–बुहारीमाथि यातना र अत्याचार हुँदा पनि समाज भने दाइजोलाई अझ बढावा दिइरहेको छ ।
बुहारी आरती घर भित्रिँदा सासू बेचनी चौधरीको खुसी थामिनसक्नु थियो । छोरीझैँ माया पाउँदा आरती पनि दंग थिइन् । विवाहका सुरुआती दिन राम्रै बित्दै थिए । विस्तारै आरतीले सासूको व्यवहारमा फरकपन महसुस गरिन् । श्रीमान् इन्द्रजीत चौधरी पनि बिनाकारण ठुस्स पर्न थाले । नबोल्ने र हेला गर्ने क्रम बढ्यो ।
त्यतिसम्म आरतीले सहेकै थिइन् । श्रीमान्, सासू र ससुरा तीनैतिरबाट तिरस्कार भोग्दा पनि आरतीले हिम्मत हारिनन् । छोरीझैँ माया गर्ने सासू एकाएक किन बदलिइन् ? उनले यही बुझ्न खोजिन् । कारण, दाइजो रहेछ । आरतीलाई आफ्ना बुबा–आमाको हैसियत थाहा थियो । त्यसैले उनले यो मामिला बुबा–आमालाई सुनाएर तनाव थप्न चाहिनन् । बरु सबै तनाव आफैँ झेलिन् ।
दाइजोकै निहुँमा श्रीमान् सासू–ससुरा कुटपिटमा उत्रिएपछि आरतीको धैर्यको बाँध टुट्यो । उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय धनुषा पुगिन् । जनकपुर–१४ का श्रीमान् इन्द्रजीत, सासू बेचनी र ससुरा बिक्रु चौधरीले दाइजो नल्याएको भन्दै कुटपिट गरेको उजुरी दर्ता गराइन्, २१ मंसिरमा । प्रहरीको महिला सेलमा पुगेको उजुरीपछि १ पुसमा छलफलका लागि बोलाइयो । आरती, श्रीमान् र सासू–ससुरासहित टोलका भद्रभलाद्मी समस्याको निकासमा उपस्थित भए । आरतीलाई मिल्न दबाब दिइयो । उनले आफूसित भएको व्यवहार झलझली सम्झिइन् । आरतीको मन दुख्यो । श्रीमान्ले झम्टेको सम्भिँmदा आँखा रसाए । अदालत पुगेको त्यो मुद्दा प्रक्रियामा छ ।
समाजले नै दाइजोलाई अनिवार्य बनाउँदा मधेसमा धेरैको घरपरिवार उजाडिएको छ । नवविवाहितामा कुटपिट, यातना र ज्यानै लिनेसम्मको घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा साउनयता दाइजोका कारण कुटपिट भएको उजुरी बोकेर जाने हिम्मत जनकपुरकी आरती र विदेहकी मानषीले मात्र देखाएका छन् ।
कुटपिट, खान–लाउन नदिएको, मानसिक यातना र गालीगलौजका उजुरी महिला सेलमा बढी आउने गरेका छन् । “दाइजोकै कारण बदमासी भएका उजुरी कम आउँछन्,” महिला सेलकी प्रहरी भन्छिन्, “कुटपिट, खानलाउन नदिएको, यातना र गालीगलौजका धेरैजसो उजुरी छानबिन गर्दा दाइजो पनि कारण देखिन्छ ।”
जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटमा दाइजोकै कारण घटना भएको एउटा पनि मुद्दा छैन । तर यसको प्रताडना यहाँ उच्च छ । दाइजो नै किटान गरेर मुद्दा आउँदैन । मुख्य कारण दाइजो भए पनि मुद्दा फरक प्रकृतिको आउँछ । महिला हत्या र आत्महत्यामा दाइजो कारण रहे पनि त्यसलाई लुकाइन्छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्की मधेसमा दाइजोकै कारण घरेलु हिंसा बढेको बताउँछन् । “घरेलु र महिला हिंसा यहाँ डरलाग्दो छ,” डीआईजी कार्की भन्छन्, “यो स्थितिमा सुधार ल्याउन समाज नै जागरुक हुनुपर्छ ।”
३० पुसमा जनकपुर–४ सरन्चियाकुटीकी २५ वर्षीया सीमा शर्माले आफू र २ वर्षकी छोरी गौरीलाई विष पिलाएर ज्यान फालिन् । घटनालगत्तै श्रीमान् समीर मिश्रा फरार भए । माइती पक्षबाट किटानी जाहेरी परेपछि प्रहरीले ससुरा श्यामसुन्दर र सासू किरणदेवीलाई पक्राउ गर्यो । दाइजोका कारण छोरीलाई तनाव दिएको र विष खुवाएर मारेको माइती पक्षले आरोप लगाए । महोत्तरी लोहरपट्टी–७ का सीमाका दाजु सुजित शर्माले ३ माघमा कर्तव्य ज्यान कसुरमा धनुषा प्रहरीमा किटानी जाहेरी दर्ता गराए ।
जनकपुरका समिर र सीमाबीच २९ वैशाख ०७० मा मागी बिहे भयो । शर्माका अनुसार दाइजोमा ८ लाख रुपैयाँ नगद, २ लाख ३६ हजारको पल्सर मोटरसाइकल र २ तोला सुनको औँठी दिइयो । “विवाहपछि पनि बहिनीलाई दाइजो माग्दै यातना दिइयो,” शर्मा सम्झन्छन्, “पछि २ तोला सुनको औँठी र आधा किलो चाँदी पनि दियौँ । जति माग्दा पनि दिँदो रहेछ भन्ने बुझेछन् । फेरि डिमान्ड आयो, १ लाख रुपैयाँ र एउटा वासिङ मेसिन ।” घटनालगत्तै पत्रकार सम्मेलन गर्दै शर्माले भने, “१ लाख र वासिङ मेसिन नदिँदा बहिनी–भान्जीको ज्यान लिइयो ।” सीमाका देवर शशि मिश्राले भने दाइजो मागिएको अस्वीकार गरे । र, सीमा आफैँले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरे । जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि सासू–ससुरालाई जेल पठाएको छ । श्रीमान्लाई प्रहरीले खोजिरहेको छ ।
२७ माघमा महोत्तरी मनरासिसवा–८ सहसराममा २१ वर्षीया धनमन्ती महतोको हत्या आरोपमा प्रहरीले उनका श्रीमान मनोज महतो र जेठानी अनिता देवीलाई नियन्त्रणमा लियो । हत्यापछि हतारमा शव जलाउनै लाग्दा पुगेको प्रहरीले शवसहित श्रीमान् र जेठानीलाई नियन्त्रणमा लियो । धनमन्तीको घाँटी र पाखुरामा नीलडाम थियो । माइती पक्षले हत्याको आरोप लगाए । प्रहरीले शवको पोस्टमार्टम गरायो । श्रीमान् र जेठानीमाथि कानुनी कारबाही अघि बढ्यो ।
धनुषा, बटेश्वर–२ का धनमन्तीका बुबा बद्री महतोले दाइजोकै कारण छोरीको हत्या भएको दाबी गरे । “छोरीलाई यातना र धाकधम्की दिइरहेको सुइँको पाएको थिएँ,” बद्री भन्छन्, “ज्यानै लिएछन् ।” ३ वैशाख ०७४ मा धनमन्तीको मनोजसँग बिहे भएको थियो । उनीहरूका २ महिने छोरा छन् । माइती पक्षले विवाहमा मोटरसाइकल, २ लाख नगद, दुई तोला सुन, फर्निचरलगायत सामान दाइजोमा दिएका थिए ।
समाजमा दाइजोका कारण हुने घटना बढी सुनिए पनि कानुनी उपचार खोज्ने न्यून रहेको सरकारी वकिलको कार्यालय धनुषाका न्यायाधिवक्ता शम्भु गौतम बताउँछन् । “दाइजो लेनदेनलाई कानुनले बन्देज गरे पनि लिए–दिएको मुद्दा आए कुन सजाय गर्ने, त्यो प्रावधानै छैन,” गौतम भन्छन्, “हत्या–हिंसा, आत्महत्या, कुटपिट र यातनाका धेरैजसो घटना दाइजोसँग जोडिएका हुन्छन् ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...