प्रदूषणको स्रोत : मध्यसहरका उद्योग
उद्योगका कारण नेपालगन्ज क्षेत्रमा प्रदूषण बढेको विषय अदालतसम्म पुग्यो ।

मध्य सहरमा छ, नेपालगन्ज औद्योगिक क्षेत्र । प्लास्टिक, प्लाइउड र मेटल उद्योगबाट निस्कने प्रदूषणले वरपरको वातावरण धुवाँमय छ । त्यसको सबैभन्दा ठूलो असर सय मिटर उत्तरमा रहेको शिक्षण अस्पतालमा पर्छ । उद्योग चलेका बेला झ्याल खोल्नै नमिल्ने गरी धुवाँ अस्पतालका वार्डसम्मै पुग्छ । वरपरका घरमा पनि उस्तै समस्या छ । चिकित्सकहरू गुनासो गर्छन्, बिरामीले स्वच्छ सास फेर्नसमेत पाउँदैनन् ।
०३० सालमा नेपालगन्ज औद्योगिक क्षेत्र स्थापना गरिँदा वरपर खासै बस्ती थिएन । तर साढे चार दशकपछि उद्योग सहरले घेरियो । अहिले २९ उद्योग सञ्चालनमा छन् । तीमध्ये प्लास्टिक, प्लाइउड र मेटल उद्योगबाट धेरै प्रदूषण भएको गुनासो औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा पनि पुगेको छ । मोर्डन डोर्स एन्ड उड प्रोडक्स प्रालि, विजय मेटल ग्रुप र रिजवान इन्जिनियरिङलगायत उद्योगलाई वातावरणमैत्री बनाउन वर्षमा चार पटकसम्म पत्राचार गरिएका छन् तर कुनै सुधार छैन ।
विज्ञले उद्योगहरूलाई नयाँ प्रविधि अपनाउन सुझाव दिँदै आएका छन् । उद्योगले मापदण्ड पूरा गरेको दाबी पनि गर्छन् तर सहरमा बर्सेनि प्रदूषण बढेको बढ्यै छ । उद्योगका कारण नेपालगन्ज क्षेत्रमा प्रदूषण बढेको विषय अदालतसम्म पुग्यो । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट ०७५ कात्तिकमा वातावरण प्रदूषण रोक्न औद्योगिक क्षेत्र नेपालगन्जसमेतका नाममा निषेधाज्ञा र परमादेशको आदेश जारी भएको थियो ।
अधिवक्ताद्वय लोकबहादुर शाह र पवनकुमार गुप्ताले रिट दायर गर्दै नेपालगन्ज औद्योगिक क्षेत्रबाट दैनिक निस्कने धुुवाँ र ध्वनि प्रदूषण तत्काल रोक्न लगाउनुपर्ने, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने र प्रदूषणजन्य कुनै पनि कार्य गर्न नहुने, उद्योग तथा कलकारखाना प्रचलित कानुनको दायरामा रही वातावरण प्रदूषण नहुने गरी व्यवस्थित ढंगबाट सञ्चालन हुनुपर्नेलगायत माग गरेका थिए । अधिवक्ता शाह भन्छन्, “अदालतले वातावरण प्रदूषण रोक्न आदेश जारी गर्दा पनि अवस्था उस्तै छ ।”
नेपालगन्ज उपमहानगरकी उपमेयर उमा थापा मगर पनि औद्योगिक क्षेत्र र इँटाभट्टाबाट निस्कने धुलोधुवाँलाई प्रदूषणको कारक ठान्छिन् । अहिले औद्योगिक क्षेत्रलाई सहरदेखि बाहिर लैजाने बहस चलेको छ । बाँके नौबस्तामा ३ सय ३८ बिघा क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्न विस्तृत अध्ययन (डीपीआर) तयार हुँदै छ । बाँकेकै कचनापुरमा विशेष औद्योगिक क्षेत्र (सेज) स्थापनाका लागि अध्ययन भइरहेको छ । बढी प्रदूषण फैलाउने उद्योगलाई त्यतै सार्नुपर्ने सुझाव नगरबासीले दिन थालेका छन् ।
प्रदूषण बढेपछि उपमहानगरले नगर क्षेत्रमा नयाँ इँटाभट्टाका लागि अनुमति दिन बन्द गरेको छ । उपमेयर थापा भन्छिन्, “पुराना इँटाभट्टालाई पनि बाहिर धुवाँ नफ्याँक्ने चिम्नीयुक्त प्रविधिमा रूपान्तरणका लागि पहल भइरहेको छ ।”