हस्तकलामा सुमुखी
भारतको एटलान्टिक अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट अंग्रेजी भाषामा विद्यावारिधि रोलीले नेपाली मौलिकता र संस्कृतिमा आफ्नो भविष्य बनाउँदै छिन् ।

संस्कृत शब्द सुमुखीले ऐना भन्ने बुझाउँछ । आज त्यही ऐनामा भविष्य हेरिरहेकी छन्, रोली मित्तल जलानले । भारतको एटलान्टिक अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट अंग्रेजी भाषामा विद्यावारिधि रोलीले नेपाली मौलिकता र संस्कृतिमा आफ्नो भविष्य बनाउँदै छिन् ।
नेपाली धर्मसंस्कृति र मौलिकतालाई हस्तकलामा परिणत गर्दै छिन्, रोली । उनलाई साथ दिइरहेका छन्, अशेषकुमार प्रधानले । थाइल्यान्डको वेबस्टार विश्वविद्यालयबाट विज्ञापन तथा मार्केटिङमा स्नातक अशेष नेपालमै केही गर्न चाहन्थे । अशेषको चाहना र रोलीको जोसले सुमुखी ह्यान्डीक्राफ्ट जन्मायो । आज उनीहरुको १४ जनाको समूह तयार छ ।
बुद्धनगरस्थित सुमुखी ह्यान्डीक्राफ्टमा मूर्ति, सजावट सामग्री, डायरी, झोला, पर्स, ल्यापटपको खोल, तन्ना तथा सिरानी, मोबाइल होल्डर, इयरफोनको खोल, डायरी कभरलगायत सामग्री बन्छन् । ती सामग्रीमा नेपाली वास्तुकलाका आकृति कुँदिएको भेटिन्छ ।
युवा पुस्ताको रुचिसँग नेपाली मौलिकता झल्काउने कला जोड्न सुमुखी प्रयत्नशील छ । कला सँगसँगै सुमुखीका सामानले कथा पनि व्यक्त गर्छन् । यस पटक उनीहरु सगरमाथाको कथा व्यक्त गर्ने सामान बनाउँदै छन् । एभरेस्ट कलेक्सन भन्दै अशेष बनिरहेको झोला देखाउँछन्, जहाँ सगरमाथाको कथा कुँदिएको छ । सामानको राम्रो प्रतिक्रिया मिले पनि बजारभाउ नपाएको उनको गुनासो छ ।