चुरेको ढुंगा तस्करीका कारण स्थानीय तहबीच मनमुटाव
निषेधित चुरे क्षेत्रबाट ढुंगा तस्करी रोक्न खोज्दा किन चिसियो स्थानीय तहहरूबीच सम्बन्ध ?
दक्षिणी इलामको रोङ गाउँपालिका वडा–६ को क्षेत्रभित्रै छ, चुरे । वातावरणीय दृष्टिकोणले चुरेमा उत्खनन गर्नै मिल्दैन । तर झापा मेची नगरपालिकाबासीले वर्षौंदेखि यो क्षेत्रका ढुंगा, गिटी र बालुवा उत्खनन गरिरहेका छन् ।
रोङले आफ्नो क्षेत्रको चुरे दोहन नगर्न पटक–पटक अनुरोध गरे पनि मेचीनगरबासीले मानेनन् । २६ पुसमा चुरे दोहन रोक्न गएका रोङबासी र प्रहरीलाई मेचीनगरका ट्याक्टर व्यवसायीले हातपातसमेत गरेपछि विवाद चर्कियो । फलत: २७ पुसमा रोङबाट बगेर झर्ने सिद्धिनहर सिँचाइ आयोजनाको मुहान बन्द गरियो । मेचीनगरबासीले पनि रोङतिर जाने सडक बन्द गर्ने धम्की दिए ।
“निषेधित चुरे क्षेत्रबाट ढुंगा तस्करी भयो । दोहन रोक्न आग्रह गर्दा नमानेपछि नहर बन्द गर्न बाध्य भयौँ,” रोङ–६ का वडाध्यक्ष मणिकुमार स्याङ्वो (सुवास) भन्छन्, “यो घटनापछि मेचीनगर र रोङबीचको सम्बन्ध चिसिएको छ ।”
खासमा यी दुई पालिकाबीचको प्राकृतिक स्रोत प्रयोग गर्ने विषयले विवाद पैदा भएको थिएन । रोङको उद्देश्य प्राकृतिक स्रोत संरक्षण गरौँ भन्ने थियो । मेचीनगरको ध्येयचाहिँ स्रोत मास्ने । पालिकाबीच दरार उत्पन्न हुनुको मूल जड नै प्राकृतिक स्रोत संरक्षण गर्ने र मास्ने कुरा हो । “हामीले भविष्यलाई हेरेर चुरे दोहनबारे चिन्ता गरेका थियौँ,” रोङ गाउँपालिका अध्यक्ष शमशेर राई भन्छन्, “तर मेचीनगरका साथीहरूलाई कुरा बुझाउनै गाह्रो ।”
नहर बन्द भएको नवौँ दिन दुवै पालिकाका जनप्रतिनिधि, जिल्ला समन्वय समिति, प्रहरी र प्रशासनबीच ६ माघमा छलफल भएको थियो, मेचीनगर–१ तिरिङ प्रहरी चौकीमा । छलफलका क्रममा दुई पक्षबीच चर्काचर्की नै भयो । ढुंगा तस्करीमा संलग्न स्थानीय दोहन गर्न पाउनुपर्ने अडानमा टसमस भएनन् ।
इलाम पक्षधरले चुरेबाट दोहन गरी तिरिङ बगरमा मौज्दात गरेको ढुंगा सहमतिमा जफत गर्नुपर्ने माग अघि सार्दा मेचीनगरका जनप्रतिनिधिले तीव्र विरोध जनाए । मेचीनगरका मेयर विमल आचार्यले भने, “चुरेकै ढुंगा भनेर पहिचान गर्न समस्या हुने कारण जेजति ढुंगा मौज्दात छ, त्यो मेचीनगरको हुन्छ । आइन्दा उत्खनन रोक्नेछौँ ।”
दुवै जिल्लाका जनप्रतिनिधि, समन्वय प्रमुख र प्रशासन प्रमुखबीचको छलफलपछि सहमति बल्ल जुट्यो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल दुई पालिकाबीचको छलफलमा मेचीनगरले चुरेको ढुंगा उत्खनन निषेध गर्ने र रोङले नहर खोल्ने सहमति भएको सुनाउँछन् ।
सहमतिपछि ७ माघ बिहानदेखि नहर सुचारु भएको छ । मेचीनगर नगरपालिकाले वडा–१ मा प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) गरी ठेक्का लगाएको सात सय मिटर भन्दाबाहेक उत्खनन गर्न नदिने, निषेधित चुरे क्षेत्रमा ट्याक्टर, टिपर र ट्रक प्रवेश गर्न नदिने र प्रवेश गरे वातावरण संरक्षण ऐनबमोजिम कम्तीमा ५ लाखसम्म जरिवाना गराउन दुवैतर्फका पालिकाले कारबाहीका लागि प्रशासनलाई पत्राचार गर्ने सहमति गरेका थिए । नदी उत्खनन रोक लगाएको समय र चुरे क्षेत्रबाट उत्खनन गरेर तिरिङ खोलामा भण्डारण गरेको ढुंगा नियन्त्रणमा लिई दुवै जिल्लाका संयुक्त प्रतिनिधिले अनुगमन गरी कानुनबमोजिम कारबाही अघि बढाउने सहमति भएको छ ।
रोङ क्षेत्रको मात्रै हैन, झापा र इलामका अधिकांश सीमावर्ती क्षेत्रमा चुरे दोहन तीव्र छ । राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास बोर्डका अनुसार १ लाख ६० हजार ६ सय हेक्टरमध्ये १९ हजार १ सय २४ दशमलव ६ हेक्टर जमिन चुरेमा पर्छ । चुरे क्षेत्रमा करिब १ लाख ६९ हजार ९ सय ९ जनाको बसोबास छ ।
अनुगमन टोलीलाई चुरे दोहनबारे जानकारी गराउँदै रोङ गाउँपालिका– ६ का वडाध्यक्ष मणिकुमार स्याङ्वो
मेचीनगर क्षेत्रमा ६ हजार ७ सय ६ दशमलव ६ हेक्टर जमिन चुरेमा पर्छ । बुद्धशान्तिमा ५ सय ५ दशमलव ३ हेक्टर, कन्काईमा २ हजार ३ सय ५७ दशमलव ९ हेक्टर, अर्जुनधारामा ४ हजार ८ सय २ दशमलव ५ र शिवसताक्षीमा १ हजार २ सय ९२ दशमलव ९ हेक्टर क्षेत्र चुरेमा छ ।
चुरेमा नदीजन्य पदार्थ उत्खननमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । तर यी सबै क्षेत्रमा स्थानीय तहकै मिलेमतोमा अवैध उत्खनन भइरहेको पाइएको छ । बोर्डका अनुसार वातावरणीय दृष्टिकोणले उपल्लो तटीय क्षेत्र (चुरे) को विनासले तल्लो तटीय क्षेत्र (तराई, मधेस) मा प्रत्यक्ष प्रभाव पार्छ । यी दुवै क्षेत्र अन्तर्सम्बन्धित रहेकाले एकीकृत रूपमा व्यवस्थापन गर्न जरुरी रहेको बोर्डले जनाएको छ । सरकारले २ असार ०७१ मा चुरेलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरेको थियो ।
झापाको बिरिङ नदीमा मापदण्डविपरीत उत्खनन हुँदा नदीको स्थायी सतह १० फिटसम्म गहिरिएको छ । बढीमा डेढ मिटरभन्दा गहिरो खन्न नपाइने मापदण्डको उल्लंघन गर्दै स्काभेटर प्रयोग गरी नदीको गर्भ अर्थात् ‘रिभर वेड’ नै खल्बल्याएर जथाभावी उत्खनन गरिएको हो ।
नदीको स्थायी ‘सिभर वेड’ अर्थात् गर्भ नै खल्बल्याउने गरी भएको नदी दोहन वातावरणीय दृष्टिकोणबाट गलत भएको स्थानीय प्रकाश चौधरी बताउँछन् । “नदीमा थुप्रिएको नयाँ गिटी, बालुवा झिक्ने हो,” चौधरी भन्छन्, “पुराना बचाएर राख्ने हो ।” उनका अनुसार बिरिङमा मान्छे डुब्ने खाल्डो बनाएर नदी दोहन भएको पाइएको छ । यसले गर्दा बर्खामा कटान, भूक्षय र पानीको स्रोत सुक्न सक्ने जोखिम छ ।
मेचीनगर–१ र रोङ–६ को चुरे क्षेत्रमा भारतले समेत उत्खनन गरेको खुलेको छ । यो क्षेत्र नेपाल र भारतको दसगजा पनि हो । दसगजामा कुनै गतिविधि गर्न मिल्दैन । तर नेपालको कमजोर सुरक्षा उपस्थितिको फाइदा लिँदै भारतले खुलेआम नदीजन्य सामग्री उत्खनन गरिरहेको छ । नेपाली चुरे क्षेत्रका ढुंगा संकलन गरी भारतले बंगलादेश निर्यात गर्दै आएको छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...