विद्युत् पहुँच पुगे पनि सबस्टेसन नबन्दा दुर्घटनाको जोखिम
विद्युत् पहुँच बढेपनि सबस्टेसन निर्माण र पोल सुधारमा छैन राज्यको चासो

र
जिल्लाको पर्यटकीय गन्तव्य सन्दकपुरमा विद्युत् पहुँच पुगेको छ । कन्काई माईको उद्गमस्थलमा विद्युत पुर्याउनु पर्यटकीय दृष्टिले अनुचित होइन । तत्कालका लागि केही घरधुरीले मात्र तत्काल उपभोग गर्ने भए पनि सन्दकपुरको पर्यटनबाट एकलौटी फाइदा उठाउँदै आएको भारतीय क्षेत्रभन्दा पहिला नेपाली भू–भागमा बिजुली पुग्नुले पर्यटन गतिविधि फस्टाउने सम्भावनाको ढोका खोलेको छ । तर त्यहाँसम्म बिजुली पुर्याउँदा आउने खर्च र प्रणाली हेर्दा भने उदेक लाग्छ ।
गाउँपालिका र प्राधिकरणको करिब २ करोड लागतमा सन्दकपुरमा बिजुली बालिएको हो । त्यसका लागि ४५ किलोमिटर टाढाको तिल्केनी सबस्टेसनले चाँजो मिलाउनुपर्छ । सन्दकपुरजस्तै इलामका अधिकांश उच्च पहाडीसहित विकट क्षेत्रमा पनि विद्युत् लाइन पुग्ने क्रममा छ ।
झापा सीमावर्ती रोङ गाउँपालिकादेखि भारत दार्जिलिङस्थित सिंहलीला नेसनलपार्कसँग जोडिएको माईजोगमाईको तुम्लिङसम्म पनि विद्युत् पुगेको छ ।
माईनगरपालिकादेखि देउमाई नगरपालिकाको राँके हुँदै पाँचथरको रविसम्म विद्युत् विस्तार भएको छ । तर विद्युत् विस्तार भए पनि यी स्थानमा दुइटा मात्र सबस्टेसन छन् । हरेक ५० किलोमिटर क्षेत्रमा एउटा सबस्टेसन हुनुपर्ने विद्युत्का प्राविधिक बताउँछन् । “यति ठूलो क्षेत्रमा एउटा सबस्टेसनले हेर्नुपर्ने भएपछि दुर्घटनाको जोखिमसहित गुणस्तरमा पनि कमी हुन्छ,” विद्युत प्राधिकरण इलाम शाखाका प्राविधिक तारा एक्तेन भन्छन् । कतैको लाइन काटेर मर्मत गर्दा सम्बन्धित व्यक्तिले सबस्टेसनमा आएर निवेदन दिनुपर्ने प्रावधान छ । सुरुमा निवेदन दिएपछि काटिएको लाइन सम्बन्धित व्यक्ति आएपछि मात्र जोडिनुपर्ने हो । तर लामो प्रसारण लाइनका कारण त्यो सम्भव छैन । फोनको भरमा लाइन काट्ने र जोड्ने गर्दा पनि कतिपय अवस्थामा दुर्घटना हुने गरेको छ । लामो क्षेत्र एउटै सबस्टेसनले भ्याउनुपर्दा विद्युत् भोल्टेज कम हुने समस्या अधिक छ ।
“सबस्टेसन थप गर्न माग गरिए पनि कार्यान्वयन हुन सकेको छैन,” प्राधिकरण शाखा प्रमुख पंकज गोहित भन्छन् । जिल्लामा ७० प्रतिशत विद्युत वितरण भएको छ । स्थानीय सरकारसँगै प्रदेश र केन्द्र सरकारले पनि विस्तारको काम धमाधम गरिरहेका छन् ।
कावेली करिडोरअन्तर्गत इलाम नगरपालिकाको गोदक राजदुवालीमा सबस्टेसन छ । यहाँ सञ्चालित आयोजनाको विद्युत् यो सबस्टेसनमा जोडिन्छ । आवश्यक विद्युत इलाम र फिक्कल स्टेसनमा प्रभाव हुन्छ । जिल्लामा विद्युत् उत्पादन बढ्दै गए पनि खपत न्यून छ । इलामको उत्पादन क्षमता १ सय मेगावाट हाराहारी छ । गोदक सबस्टेसन सञ्चालनपछि भने विद्युत् अवरोध समस्या हटेको प्राधिकरणको भनाइ छ ।
लाइन विस्तारमा अवरोध
फिक्कल सबस्टेसनबाट पशुपतिनगर र कन्याम फिडर छुट्याउने लाइन विस्तार गर्न खोज्दा स्थानीयले अवरोध पुर्याएका छन् । सबस्टेसनदेखि बजारसम्मको क्षेत्रमा करिव २० वटा पोल गाड्न अवरोध पुगेको हो । प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत थालिएको काममा अवरोध भएपछि प्राधिकरणले नगरपालिकासँग समन्वय गर्न पहल गरेको छ ।
गोदकस्थित कावेली करिडोरको सबस्टेसन छेउमा अवरोध छ । मंगलबारे र दानाबारीतर्फ जाने विद्युत् फिडर छुट्याउन अरू सबै काम भए पनि पोल गाड्न सम्बन्धित जग्गाधनीले नदिएपछि ६ महिनादेखि अवरुद्ध भएको हो । यस क्षेत्रमा १२ वटा पोल गाड्न बाँकी छ । यो फिडर छुट्याउन सके लोड कम हुने र गुणस्तरीय विद्युत प्रवाह सहज हुने सुपरभाइजर प्रमोदकुमार यादव बताउँछन् ।
इलामको गोदकस्थित सबस्टेसन । तस्बिरः विप्लव भट्टराई
पश्चिमी इलाम र दक्षिणी पाँचथरमा सेवा पुर्याउने उद्देश्यले चिसोपानी पञ्चमीमा सबस्टेसन निर्माण हुने भए पनि त्यसको काम अघि बढ्न सकेको छैन । सबस्टेसनका लागि जग्गासमेत तय भएको अवस्थामा ठेकेदारले नै काम अघि नबढाएको प्राधिकरणले जनाएको छ । यहाँ सबस्टेसन नबन्दा त्यस क्षेत्रको विद्युत् विस्तारमा अवरोध पुगेको छ ।
इलाम र फिक्कल सबस्टेसनबाट विस्तारित विद्युत्का लागि ३ सय २५ वटा ट्रान्सफरमर जडान भएका छन् ।
जीर्ण बन्दै काठे पोल
जोखिम हटाएर गुणस्तरीय सेवा प्रभाव गर्ने उद्देश्यसहित प्राधिकरणले पुराना काठे पोल हटाउने नीति लिएको छ । नयाँ विस्तार भएका ठाउँमा स्टिल पोल नै प्रयोग गरिएको छ । तर इलाममा मात्रै २० हजार वटा पोल पुराना छन् । ४० हजारमध्ये आधा मात्र स्टिलका पोल छन् । काठे पोलका कारण कतिपय स्थानमा जोखिम बढेको गुनासो उत्तिकै आउने गरेको छ ।
सेवा क्षेत्र धेरै भएकाले सबैतिर ध्यान पुर्याउन नसकिएको जवाफ प्राधिकरणको हुने गर्छ । विद्युतका पुराना पोल विस्थापित गर्न मात्रै करिब ६७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । जिल्लाको विद्युतीकरण हुन बाँकी ३० प्रतिशतका लागि थप ५१ करोड रुपैयाँ लाग्नेछ ।
तर चालू आर्थिक वर्षमा प्राधिकरण शाखालाई साढे ९ करोडको मात्र सिलिङ दिइएको छ । सोही रकमबाट नयाँ लाइन विस्तारदेखि मर्मतसम्भार र पुराना पोल हटाउनुपर्ने बाध्यता छ ।
“यही रफ्तारले मात्र काम गर्ने हो भने गुणस्तरीय र जोखिमयुक्त विद्युत विस्तार गर्न वर्षौं लाग्छ,” गोहित भन्छन्, “विस्तारसँगै थप सबस्टेसन निर्माण र पोल सुधारका लागि राज्यले नै प्राथमिकता दिनुपर्छ ।”
केन्द्रले तोकेको मापदण्डबाहेक स्थानीय स्तरमा उत्पादित रूखबाट बनेका पोललाई भने पूर्ण रूपमा निषेध गरेको कार्यालयको भनाइ छ ।
अव्यवस्थित तार
छतमा बसेर पढ्दै गर्दा अचानक ११ केभिएको लाइनमा हात पर्दा पाँचथरका एक युवकको केही महिनाअघि सदरमुकामस्थित धोबीधारामा ज्यान गयो । पोल ढल्किएर घर नजिकै आएकाले दुर्घटना भएको घरधनीको भनाइ छ । विद्युत् कार्यालयको लापरबाहीकै कारण ती युवकले ज्यान गुमाउनुपर्यो ।
गत वर्ष इलाम नगरपालिकाको सोयाकमा ८५ वर्षीय वृद्ध वीरबहादुर लिम्बूको कुलो बनाउन गएको अवस्थामा ज्यान गयो । गाउँमा वितरण गर्न लगिएको लाइन लत्रिएर भुइँमै थियो । हावाहुरीका कारण पोल ढलेर तार लत्रिएपछि लाइन काटियो । प्राधिकरणले मर्मत नगरी लाइन छाड्दा उनले ज्यान गुमाउनु परेको थियो ।
सिद्धिथुम्काका २९ वर्षीय दाताराम पौडेलको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा ज्यान गयो । प्राधिकरणका कर्मचारीको असावधानीका कारण ज्यान गएपछि स्थानीयमा त्रास थपियो ।
जोखिम थाहा भए पनि सुरक्षाका उपाय नअपनाउँदा समस्या हुने गरेको प्राधिकरणको तर्क छ । प्राविधिकले नै पर्याप्त सुरक्षा सामग्रीबिना काम गरेको पाइएको छ । प्राविधिकले प्रयोग गर्नुपर्ने पन्जा, लुगा, जुत्तादेखि करेन्ट चेक गर्ने उपकरणको प्रयोगमा हेलचेक्र्याइँ गर्ने गरेको प्राधिकरणको भनाइ छ । सबै कर्मचारीलाई पर्याप्त सुरक्षा सामग्री दिइएको भए पनि प्रयोग नगर्ने हुँदा मान्छेको ज्यानै जानेसम्मका घटना बढेका हुन् । विद्युत् जडानका बेला दुर्घटना हुँदा कर्मचारीका परिवारले राहत पाउने भए पनि सर्वसाधारणलाई त्यस्तो सुविधा छैन ।