चुरेको निर्लज्ज दोहन
तीन सय वर्षअघि बसेको बस्तीमा डोजर विकासले निम्त्याएको विनाश

स्थानीय डोट्याली भाषामा ‘सर्क की पुछरी गर्भा’ भनेर आकाशले धरतीलाई छोएको बुझाउँछ । कैलालीको चुरेमा पर्ने गर्भा दरबार क्षेत्रमा उतिबेला पानी धेरै पर्थ्यो । जताततै पानीको मूल फुटेको देखेर चुरेका वासिन्दाले सर्क अर्थात् आकाशको पुच्छरको संज्ञा दिएका थिए ।
चुरेको १ हजार ५ सय मिटर उचाइको गर्भा दरबार क्षेत्रमा कुनै बेला कुलो लाग्ने खेत थिए । उत्पादन पनि राम्रो हुन्थ्यो । अहिले पानीका मूल सुकेपछि बस्ती काकाकुल भएका छन् । धान खेत बाँझिँदा खाद्य संकट चुलिएको छ ।
“चुरेको गर्भामा अरू ठाउँभन्दा बढी पानी पर्ने र जताततै मूलबाट पानीका धारा बगेको देखेर उतिबेला कसैले यो त सर्ककी पुछरी रहेछ भनिदिएपछि जनजिब्रोमा टुक्का बस्न गएको मात्रै हो,” चुरेको जेठो गाउँ मोहन्याल कठिउरका ९० वर्षीय केशरसिंह बम भन्छन्, “चुरेका सबै ठाउँमा प्रशस्त पानी थियो । अहिले बस्तीमा पुराना नाउला र ढुंगेधारा देख्न सकिए पनि पानी सुकिसकेको छ ।”
उनका अनुसार चुरे बस्तीमा दुई दशकयता मात्र पानीका मूल सुक्न थालेका हुन् । “आकासे वर्षा पनि उहिलेजस्तो हुँदैन,” बम भन्छन्, “कहिले अतिवृष्टि, कहिले अनावृष्टि हुन थाल्यो । यसले भोकमरी त निम्तिने भयो नै, बस्ती पनि बर्खामा पहिरोको जोखिममा पर्न थाले ।”
बमका अनुसार उहिले मान्छे जंगली जनावरको डरले सबेरै घरका झ्यालढोका बन्द गर्थे । अहिले पूरै डाँडा नांगा भइसकेका छन् । वनजंगल विनाशको क्रम ०४० सालपछि मात्र सुरु भएको हो ।
वनजंगल विनाशसँगै पानीको मूल सक्ने क्रम बढेकाले चुरेका कैयौँ बस्ती पहिरोको जोखिममा परेको बम सुनाउँछन् । भन्छन्, “मानवीय क्रियाकलापकै कारण समृद्ध चुरे हेर्दाहेर्दै विनाश भयो । अब उहिलेको चुरे फर्कंदैन ।”

चुरेमा बस्ती विकासको इतिहास
तीन सय वर्षअघि चुरेमा पहिलो बस्ती बसेको थियो । डोटीको बोग्टान चाल्सबाट बसाइँ सरेका चनी बम रजवारले चुरेको कठिउरमा पहिलो बस्ती बसाएका थिए । तत्कालीन डोटीगौँडाका प्रमुख चौतारिया बडाबम शाहले चनी बमलाई विसं १८७२ मा आवाद गरी बस्ती बसाएकामा एक वर्षको पोत मिनाहा गरेको प्रमाण उनका साताैँ पुस्ता वीरेन्द्र बमसँग अहिले पनि छ ।
बम वंशावली खोजकर्ता वीरेन्द्रका अनुसार अनिकाल भएको वर्ष, उब्जनी हुने तराई फाँड्ने भनेर चनी बम पुर्ख्याैली थलो बोग्टान चाल्सबाट आएका थिए । तर तराईमा कालाजारको त्रासले उनी चुरेमै अड्किए ।
बाह्रै महिना एकैनासे हावापानी हुने र बसाइँका लागि उपयुक्त ठानेर चनी बम रजवारले चुरे रोजेका थिए । “बिहानै उठ्दा दक्षिणतिर हरियाली फाँट, उत्तरतिर हिमाल टल्कने,” सातौँ पुस्ताका वीरेन्द्र भन्छन्, “लेकमा काफल फल्ने । फेदमा आँप पाइने । चिउरी, रिठा, टिमुरलगायत जडीबुटी पाइने वन । सुन्तलादेखि ओखरजस्ता सबै खाले फल फलाउन सकिने भएरै चुरेमा बस्न उनको मन मानेको थियो होला ।” पछि रजवारले पुरानो थलो बोग्टान चाल्सबाट अरूलाई पनि त्यहाँ बोलाएका थिए ।
चुरेको मोहन्याल–४ कठिउरपछि पन्डौन, खैराला, गर्भा, सुगरखाल, सोल्टा, कठौसे, पाल्सा आदि ठाउँमा बस्ती बसेको देखिन्छ । वीरेन्द्रका अनुसार पुर्खाहरूले चुरेको दक्षिण पानीढालतिर बस्ती नबसाउन भन्नुमा भूबनोट जमिनलाई क्षयीकरणबाट बचाउने उद्देश्य हुन सक्छ ।
कठिउरका भुवन ताडी चुरेको दक्षिण पानीढालतिर २०/३० को दशकसम्म बस्ती नबसेको बताउँछन् । भन्छन्, “तराईमा आवादी बढेसँगै चुरेको दक्षिण पानीढालतिर बस्ती बस्न सुरु भएको देखिन्छ । पहाडमा अनिकाल भोगेर आएकाहरूले चुरेमा आवादी बढाएका थिए । यसबीचमा मध्यपश्चिमका रोल्पा, रुकुमबाट केही मगर जातिका मानिस र दैलेख, अछामबाट पनि त्यहाँ बसाइँ सरेको देखिन्छ । अहिले खस, बाहुन ठकुरी, दलित, मगर सबैको बसोबास चुरेमै छ ।”

कुकुरे सिकार
चुरेमा जुनसुकै कालखण्डमा जुन जाति र धर्म–सम्प्रदायका मानिस आउन सुरु भए पनि चनी बम रजवारले बसालेको थिति पञ्चायत नढल्कँदासम्म कुनै न कुनै प्रकारले जीवित रह्यो । रजवार परिवारका वीरेन्द्र भन्छन्, “हाम्रा पुर्खाले चुरेमा आवादी बसाए पनि त्यसको संरक्षण गर्न जानेका थिए ।”
उनका अनुसार त्यतिबेला घरआँगनमै दौडिने वन्यजन्तुको सिकारसमेत गरिँदैनथ्यो । स्थानीय छडी देवतासँग वन्यजन्तुको मासु खाने इच्छा प्रकट गरेपछि सिकार खेल्न निस्कने गर्थे । गाउँमा छडी देवताका नाममा पालेका ५ वटा सिकारी कुुकुर थिए । उनीहरूले जरायो भगाएर गाउँको बीचमा ल्याउँथे । गाउँले सबै मिलेर त्यसलाई मारेर बाँडीचुँडी मासु खान्थे ।
जंगबहादुरले अंग्रेजबाट नयाँ मुलुक फिर्ता पाएपछि सुरक्षा जिम्मेवारी लिएका लेफ्टिनेन्ट लक्ष्मणसिंह स्वाँरले तत्कालीन मुखिया रजवार एैभान बमलाई कुकुरे सिकार प्रसंगमा १९२८ मा लेखेको चिट्ठीसमेत वीरेन्द्रसँग सुरक्षित छ ।
लेफ्टिनेन्ट स्वाँरले मुखियालाई पठाएको चिट्ठी ‘चौतरिया रणद्वीप शाहको डोटीगौँडासम्मको दौडाहाका बेला चुरे फेदमा बसाइ हुने भएकाले सिकारी कुकुर घरबाहिरै नलुकाउनु न छिउपानु’ लेखेका छन् । उक्त कुकुरे सिकार सम्बन्धमा चुरे क्षेत्र मोहन्याल देवताका धामी ८५ वर्षीय दुर्गासिंह ताडी तत्कालीन बडाहाकिमको बर्खास्ती भएको सुनाउँछन् ।
उनका अनुसार कुकुरे सिकारले वनबाट भगाएर ल्याएको भाले जरायोको मासु तीन दिनभित्र खाइसक्नुपर्थ्यो । “डोटीगौँडाका बडाहाकिम गोहो विक्रमको चुरे दौडाहाका बेला सिकारी कुकुरले मारेको जरायोको मासु तत्कालीन गाउँका मुखियाको राय नमान्दा सुकुटी बनाएर लगेका थिए,” ताडी भन्छन्, “सोही कारण १५ दिनभित्र पद बर्खास्तीमा परेको खबर बडाहाकिम आफैँले मुखियाकहाँ पठाएका थिए रे ।”
चुरेमा कुकुरे सिकार १९९०/९५ सम्म चलेको उनी बताउँछन् ।
चुरे प्राकृतिक सम्पदासँगै संस्कृतिमा पनि समृद्ध रहेको हालका रजवार टेकबहादुर बम सुनाउँछन् । भन्छन्, “सुदूरपश्चिमेलीको देउडासँग मगरको मारुनी नाच र भैलो खेल मिसिएको गजबको संस्कृति छ । छोट्टाछोरेटी (केटाकेटी) को देउडा हुन्थ्यो । अहिले यो चलन हटेको छ ।”

गर्भा दरबार
चुरेको हावापानी, स्थानीयको समृद्ध कलासंस्कृतिसँग रमाएर डोटीगौँडाका बडाहाकिम एक महिना यो ठाउँमा बिताउने गरेको इतिहास सुनाउँछन्, टेकबहादुर । भन्छन्, “यो ठाउँ राम्रो लागेरै गर्भा दरबार खडकशमशेर जबराले १९८४ मा बनाएका हुन् । चुरेको ऐतिहासिक महत्त्व देखाउन गर्भा दरबार काफी छ ।”
उनका अनुसार बडाहाकिमको डोटीगौँडा उक्लिने बाटो चुरे गर्भा थियो । डोटीगौँडाका तत्कालीन बडाहाकिम खडकशमशेरले हिउँद कटाउन यहाँ बनाएको दरबार अहिले जीर्णावस्थामा छ । बडाहाकिम खडकशमशेरले यो दरबारलाई तराईको मालपोत उठाउने अड्डाको रूपमा समेत विकास गरेको पाइन्छ । पछि पञ्चायत भवन हुँदै गाविस कार्यालयको रूपमा सञ्चालन भयो ।
चुरे जति प्राकृतिक सम्पदाले धनी थियो । त्यत्तिकै यहाँका वासिन्दा पनि समृद्ध रहेको सुनाउँछन्, वीरेन्द्र । भन्छन्, “समयकालमा चुरेको दोहन बढ्यो, सम्पदा नासिँदै जाँदा यहाँका वासिन्दा पनि विपन्न हुन पुगे ।”
जिन्दगीको ६ दशक चुरेमा हुर्केका केशरबहादुर बुढ्यौलीमा परिवार पाल्न नसक्दा कैलालीको घोडाघोडी निम्दी झरेका थिए । भन्छन्, “दस मुरी अनाज फल्ने बारीमा भागो फल्न थाल्यो । २५ वटा भैँसी पाल्ने परिवार एक भैँसी पनि पाल्न नसक्ने भए ।”
उहिले बढी पशुपालन हुने हुँदा चुरेमा प्रशस्त चरिचरन थियो । एकै घरका २५ वटा भैँसी हुन्थे । हिउँदमा चुरेको औल र गर्मीमा लेकतिर गोठ सार्थे । चुरे गोठैपिच्छे चार धार्नी घिउ उठाएर ल्याउन खरिदार वीरबल बमलाई १९३३ मा तत्कालीन बडाहाकिमले लेखेको चिट्ठी वीरेन्द्र देखाउँछन् । मुखिया एैभान बम तराईको मालपोत उठाउने खरदार थिए ।
चुरेका वासिन्दाको ठूलीगाड किनारमा बाहै्रमास कुलो लाग्ने खेत पनि थिए । मगमग बास्ना आउने जाड जातको रैथाने धान उब्जिन्थ्यो । वीरेन्द्र भन्छन्, “खेत बगेसँगै त्यो जातको धान पनि लोप भयो ।” ०४० सालको बाढीले ठूलीगाड किनारको खेत पनि बगाएर लगेको उनले सुनाए ।

विकासका नाममा विनाश
मोहन्याल–७ धनाडी गाउँमा सडक पुग्नुअघि कुलो लाग्ने गरेको स्थानीय दिनेश घर्ती मगरको सम्झनामा अझै ताजै छ । भन्छन्, “कुलोको मूल भएको माथिबाट सडक गयो । सडक खन्दा पहिरो गई कुलोको मूल पुरियो । खेत बाँझा पाखामा परिणत भए ।”
कुलोको पानीले स्थानीयले घट्ट पनि चलाउने गरेको सम्झिन्छन्, मगर । तर कुलोमा पानी नभएपछि घट्ट पनि बन्द भयो । मोहन्याल सिमका कमल बम भन्छन्, “जथाभावी डोजर हाल्न थाले । पानीको मूल पनि सुक्ने, गाईगोरु चराउने गजाल (चरन क्षेत्र) पनि जाने । अतिक्रमणविरुद्ध एक्लै लडेँ । डोजरकै अगाडि सुतिदिएँ । त्यसपछि मात्र घरभन्दा माथिबाट सडक खन्ने रोके ।”
बस्ती–बस्तीलाई सडक सञ्जालले जोड्ने नाममा चुरे र मोहन्याल गाउँपालिकाले डाँडा फोड्ने काम गरेकोप्रति संरक्षणप्रेमी चिन्ता व्यक्त गर्छन् । जैविकमैत्री सडक निर्माण गर्नुपर्ने सुझाव उनीहरूको छ ।
“सडक खन्दा हुने वनजंगलको विनाश त छँदै छ,” संरक्षणप्रेमी हेरुलाल डगौरा भन्छन्, “चुरेमा डोजर पुगेपछि अहिले डाँडा फोडेर सार्वजनिक भवन र ठूल्ठूला खेल मैदान पो बन्ने लागेका छन् ।” डगौराका अनुसार मोहन्याल गाउँपालिका वडा–४ को वडा कार्यालय भवन बनाउन चुरेको एउटा डाँडै भत्काइएको छ ।
“चुरेमा जथाभावी डोजर प्रयोग गरेर बनाइएका सडकले विकासभन्दा बढी विनाश निम्त्याएको छ,” संरक्षणप्रेमी विजय श्रेष्ठ भन्छन्, “डोजरको प्रयोगबाट भूक्षय र वन विनाश अचाक्ली भएको छ ।”
कैलाली वन डिभिजन अधिकृत रामचन्द्र कँडेल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिनै डोजरले खनिएका सडकले चुरेको वनजंगल विनाश मात्रै भएको छैन, यसलाई कमजोर पनि बनाउँदै लगेको बताउँछन् ।
खोलानाला दोहन र सडक विकासका नाममा स्थानीय सरकारद्वारा चुरे फोड्ने काम भएको उनको तर्क छ । भन्छन्, “चुरेमाथिका गाउँपालिकाले सडक सञ्जाल निर्माणका नाममा जथाभावी चुरे फोड्ने काम भएको छ । तराईका स्थानीय तहले खोलानालाको ढुंगागिट्टी उत्खनन ठेक्का दिएर चुरेको फेद खन्ने काम गरेका छन् ।”