ज्येष्ठ नागरिक ८ महिनादेखि भत्ताबाट वञ्चित, यसरी भयो रकम फ्रिज
ज्येष्ठ नागरिक, विधवा, आंशिक र पूर्ण अपांगता भएका १ हजार २ सय १५ जनाले ८ महिनाको भत्ता पाएनन्

एक वर्षअघिकै ८ महिनाको भत्ता नपाएको भन्दै भगवानपुर–२ नरहाका ७६ वर्षीय सिल्टु यादव दम्पती लट्ठी टेकेर वृद्धवृद्धाको र्यालीमा सहभागी भएर गाउँपालिका कार्यालय घेराउ गर्न पुगे । “आठ महिनाको भत्ता रकम पाएका छैनौँ,” सिल्टु भन्छन्, “यो कात्तिकको समेत १२ महिनाको मासिक भत्ता पाउनुपर्नेमा कर्मचारीले चार महिनाको मात्रै दिए तर पोहोर सालकै आठ महिनाको दिएनन् ।”
आठ महिनाको रकम नपाएपछि कर्मचारीले गायब गरेको भन्दै वृद्धवृद्धाको र्यालीले पटक–पटक गाउँपालिका कार्यालय घेराउ गर्दै आए पनि सुनुवाइ भएको छैन । घेराउमै सहभागी भगवानपुर–४ ठाडीका वृद्ध दम्पती ध्यानी पासवान र गलियादेवीले भत्ता रकम नपाएकै कारण गुजारा चलाउन समस्या भएको गुनासो पोखे । ध्यानी दम्पतीका ५ छोरी थिए । छोरीहरूको विवाह भएर गएपछि ध्यानीले जेठी छोरी जीतियाका सन्तान नाति पवनलाई साथैमा राखे । पवनले घर बनाउने राजमिस्त्री काम गरेर ध्यानी दम्पतीको हेरचाह गर्छन् ।
“सुकुम्बासी छौँ, नातिले हेरचाह गर्छन्, वृद्धभत्ता पैसाले हामीलाई जसोतसो खान पुगेको थियो,” ध्यानी दम्पती भन्छन्, “‘त्यही रकममध्ये पनि कर्मचारीले आठ महिनाको दिएका छैनन् ।”
गाउँपालिका कर्मचारीको लापरवाही र समयमै गाउँसभा हुन नसक्दा वृद्धाभत्ताका लागि आएको रकम फ्रिज भएको छ । भत्ता रकम फ्रिज भएपछि गाउँपालिकाका ज्येष्ठ नागरिक, विधवा, आंशिक र पूर्ण अपांगता भएका १ हजार २ सय १५ जनाले आर्थिक वर्ष ०७५/७६ को दुई किस्ताबापत ८ महिनाको रकम पाएका छैनन् ।
यस आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महिना सामाजिक सुरक्षा भत्ता रकम पाए पनि वृद्धवृद्धा, विधवा, ज्येष्ठ नागरिक गत वर्षको आठ महिनाको रकम नपाएपछि आक्रोशित छन् । उनीहरू दिनहुँ कार्यालय पुगेर भत्ता माग गरिरहेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादव गत वर्ष आर्थिक मसान्तभित्रै भत्ता रकम दाखिला हुन नसक्दा फ्रिज भएकाले आठ महिनाको रकम वितरण गर्न नसकिएको स्वीकार्छन् । गाउँपालिकामा कर्मचारी अभाव र गत वर्ष जनप्रतिनिधिको खिचातानीका कारण समयमा गाउँसभा हुन नसकेको उनले सुनाए ।
“म ०७५ वैशाखमा हाजिर भएको हुँ, त्यतिखेरसम्म गाउँसभा हुन सकेको थिएन,” यादव भन्छन्, “एकातिर कर्मचारी अभाव थियो, हतारमा गाउँसभा गरेर योजनाका काम गर्दा सामाजिक सुरक्षा भत्ता रकम समयमा वितरण गर्न सकिएन ।” फ्रिज भएको भत्ता रकम निकासाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरेको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष वेचनप्रसाद यादव गत आवको ८ महिनाको सामाजिक सुरक्षा भत्ता निकासाका लागि पहल भइरहेको बताउँछन् ।