पर्यटक तान्दै नुवाकोट
हिमालदेखि तराईको दृश्य र जंगल सफारी

तराई छेउको पहाडी डाँडो हो, नुवाकोट । रूपन्देही र पाल्पाको सिमाना अर्थात् बुटवलबाट ११ किलोमिटर टाढाको नुवाकोट करिब २ घन्टा पैदल यात्रामै पुगिन्छ । त्यहाँ तराईमा गर्मी हुँदा शीतल हुन्छ भने कुहिरो र हुस्सुको चिसो बढ्दा घमाइलो । हिमचुलीदेखि तराईका फाँट देखिन्छन् ।
सूर्योदय र सूर्यास्तको दृश्यले जोकोहीको मन लोभ्याउँछ । उत्तरको माछापुच्छ्ेर हिमाल र दक्षिणको विशाल बन्दै गएको बुटवल बजारको अवलोकन गर्न पाउँदा जोकोही रोमाञ्चित बन्छ ।
जुनसुकै उमेर, रोजाइ र भावनाको भए पनि मन रमाउँछ । नुवाकोटमा पुरातत्त्वमा रुचि राख्ने, नुवाकोटगढीको अध्ययन–अवलोकन गर्न, प्रेमीप्रेमिका डेटिङ गर्न, पिकनिक खान र कोही जंगल सफारीका लागि पुग्छन् । “सबै उमेर समूहका मान्छे भेटिन्छन्,” पर्यटन व्यवसायी केहर सिंह भन्छन्, “यो सहरको कोलाहलबाट मुक्ति दिने र शीतलता प्रदान गर्ने नजिकको केन्द्र बनेको छ ।”
नेपाल–अंग्रेज युद्धमा नेपालीले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको यो सहायक गढी हो । गौतम बुद्धका बाबु शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका लागि पनि नुवाकोट प्रसिद्ध छ । यहाँ भगवती मन्दिर, भैरवकामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, हतियार राख्ने र लुकाउने खरखजाना घर छ ।
बुद्धकालीन संरचना झल्काउने राजा शुद्धोधनका गुरु ऋषि कालदेवल आशुतोषको आश्रमस्थल, रानीकुवालगायत ऐतिहासिक र पुरातात्त्विक संरचना छन् । व्यवसायीले थालेको पर्यटन पूर्वाधारका योजनालाई सघाउन प्रदेश सरकारले २ करोड रुपैयाँमा सांस्कृतिक डबली निर्माण गर्न लागेको छ ।
संघीय सरकारले मणिमुकुन्द सेन उद्यान फूलबारी नजिकैबाट नेपाली सेनाको सहयोगमा यहाँ पुग्ने ट्रेकिङ रुट निर्माण गरेको छ । ट्रेकिङ रुटबाट हिँड्दा निगाली बाघ, हरिण, मृग, बँदेल, मयुरलगायतका वन्यजन्तु देख्न सकिन्छ । “एउटै प्रकृति र रङरोगनसहितका घर तथा कटेज निर्माणाधीन छन् । सडक, पानी, विद्युत्, टेलिफोन र महत्त्वपूर्ण ऐतिहासिक स्थलको व्यवस्थापन हुँदै छ,” नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल भन्छन्, “होटल, रेस्टुराँ, रिसोर्ट, भ्यू टावर, केबलकारका योजना कार्यान्वयनमा छन् ।”
डाँडामा पानी नभएकाले ८५ लाख रुपैयाँ लगानीमा करिब १ किलोमिटर टाढाबाट पम्पिङ गरिएको छ । मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तरपूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म केबलकार पुर्याउन सिद्धार्थ केबलकार प्रालिले १ अर्ब १० करोड रुपैयाँ लागतमा पूर्वाधार विस्तार थालेको छ । केबुलकार सञ्चालक राजेन्द्रसिंह गुरुङका अनुसार आउँदो वर्ष २ किलोमिटर ९० मिटर लम्बाइको केबलकार सञ्चालन हुनेछ । दैनिक १० हजार यात्रु बोक्ने क्षमता रहनेछ । सुरुआतमा १ घन्टामा १ हजारका दरले पर्यटक बोक्ने गुरुङ बताउँछन् ।
४० रोपनी भिरालो जमिनमा व्यवसायीको समूह हिलसाइड रिसोर्ट सञ्चालनको तयारीमा छ । स्थानीयले प्रयोग गरेका पहाडी घरलाई सजाइएको छ । अध्यक्ष पीएल श्रेष्ठका अनुसार रिसोर्टमा प्राकृतिक मेडिटेसन हल, भ्यू टावर, कटेज, प्राकृतिक विश्रामस्थल, रेस्टुराँ, स्थानीय उत्पादन बिक्रीकक्ष आदिको व्यवस्था रहनेछ । कार्यक्रम तथा सभा गर्न साना–ठूला हल र क्याम्प फायरिङका लागि प्लट छन् । ठूला रूखका लहरा र हाँगाबिंगालाई व्यवस्थित गरेर रूखमै खानपिनको मज्जा लिने बनाइँदै छ ।
०५९ मा बुटवल नगरपालिकाले नुवाकोटको विकासका लागि योजना अघि सारेको थियो । पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुन थालेपछि यसको विकल्पका लागि बुटवल–बेलवास र नुवाकोट–दोभान सडक निर्माणाधीन छ । तिनाउ नदीको किनार र वनको छेउबाट जाने भएकाले सडकको नामै शान्तिमार्ग राखिएको छ । “सहरको कोलाहल, तनाव, व्यस्तता र तराईको गर्मी छलेर शान्त र शीतल खोज्ने मान्छे अहिले बढेका छन्,” विकास समिति अध्यक्ष नेपाल भन्छन्, “तिनै पर्यटकलाई तराई तथा हिमालको दृश्यावलोकन र जंगल सफारी गराउन नुवाकोट पर्खिरहेको छ ।”