प्रतिक्रान्तिकारीसँग जोगिन मितेरी
भोजपुर क्रान्तिमा अधिकांश राई जातिको सहभागिता थियो । लडाइँको मोर्चामा अन्य जातकाले सहयोग नगरेको गुनासो क्रान्तिकारीबीच छलफलको विषय हुन थाल्यो ।

मुक्ति सेनाले भोजपुर कब्जा गरेर सामयिक सरकार गठन गर्यो, २४ मंसिर ००७ मा । क्रान्तिकारीहरुले कब्जा गरेपछि त्यसलाई पुन: फिर्ता ल्याउन राणा सरकारले वीरगन्ज पूर्वतर्फ उदयपुर हुँदै सरकारी फौज भोजपुरको बेसारेघाट र कसरियाघाट पठाएको खबर मुक्ति सेनाले थाहा पाइसकेको थियो ।
राणा फौज भोजपुर प्रवेश गर्ने स्थिति देखिएपछि नारदमुनिहरुले ट्याम्केदेखि मैयुँसम्म सुरक्षा पोस्ट खडा गरे । भोजपुर कब्जा गर्न गएको सरकारी फौज पिखुवा खोलामा बास बसेको थियो । नारदमुनिहरुसँग सरकारी फौजसँग लड्ने पर्याप्त हातहतियार र गोलीगठ्ठा थिएनन् ।
भोजपुरे नेवार, क्षत्री कसैले पनि क्रान्तिमा सहयोग गरेनन्, तिनलाई पनि सरकारी फौजसँग लड्न लैजानुपर्छ भनेर बजारका सबैलाई क्रान्तिकारीले उठाएर डाँडामा लगे । त्यसमा मेरा दाजुहरु पनि सामेल भए ।
भोजपुर बजारबाट लगिएका सर्वसाधारण र मुक्ति सेनाले छालाको घुयेँत्रोमा ढुंगा राखेर पड्काए । घुयेँत्रोमा ढुंगा राखेर पड्काउँदा बन्दुकजस्तै आवाज आउँथ्यो । मुक्ति सेनाले डाँडाबाट आक्रमण गरेपछि पिखुवा खोलामा खाना खाइरहेका राणा फौजमा भागभाग भयो । ९ पुस ००७ मा भोजपुर आक्रमणमा आएको राणा फौजको सम्पूर्ण हातहतियार नारदमुनिहरुको कब्जामा आयो । त्यसपछि भोजपुरे मुक्ति सेना थप बलियो भयो र अन्यत्र लडाइँको मोर्चामा सहयोगार्थ पुग्यो ।
भोजपुर क्रान्तिमा अधिकांश राई जातिको सहभागिता थियो । लडाइँको मोर्चामा अन्य जातकाले सहयोग नगरेको गुनासो क्रान्तिकारीबीच छलफलको विषय हुन थाल्यो । यसमा नारदमुनिको प्रत्यक्ष संलग्नता नदेखिए पनि रामप्रसाद राईहरुको भित्री सहयोग रह्यो ।
भोजपुरका धनरजंग क्षत्रीका बाबु सरकारी सेनाका जागिरे थिए । यिनलाई मुक्ति सेनाले मारिदिएको थियो । धनरजंगले राणातिर मिलेर मुक्ति सेना मार्न सरकारी फौजलाई भोजपुर बोलाएको क्रान्तिकारीको आरोप थियो ।
यही घटनाका कारण मुक्ति सेनाभित्रै जातीय स्वरुपको गन्ध मिसिन पुग्यो । मुक्ति सेनाभित्र पनि हार्ड लाइनर र सफ्ट लाइनरको समूह छँदै थियो । मुक्ति सेनाले धनरजंगलाई काटेर ल्याउनेलाई पुरस्कार दिने घोषणासमेत गर्यो । पछि पक्रेर ल्याए पनि मुक्ति सेनाकै सदस्य टीकाजंग राईले काटिनबाट जोगाए ।
मुक्ति सेनाभित्र जातीय स्वरुपको आगो सल्किँदै जाँदा एउटा पक्षले ध्यानबहादुर राईलाई उचाले । क्रान्तिकारीबीच नै ध्रुवीकरणको स्थिति देखा पर्यो । मुक्ति सेनाका ध्यानबहादुरकै नेतृत्वको समूहले रामप्रसाद राईलाई समातेर भोजपुर जेलमा थुन्यो, २३ फागुन ००७ मा । यसअघि नारदमुनिलाई पनि उनीहरुले पक्राउ गरेर थुनेका थिए । यसरी भोजपुरको क्रान्ति प्रतिक्रान्तिमा रुपान्तरित भयो ।
त्यही घटनापछि ध्यानबहादुर भरतशमशेरको गोर्खा परिषद्मा आबद्ध भए । पछि पञ्चायतकालमा मन्त्रीसमेत बने । ध्यानबहादुरका छोरा दिवानसिंह राई सुरुमा गोर्खा परिषद्मा लागे पनि पछि कांग्रेसमा प्रवेश गरेर सांसद भए ।
००७ साल भनेकै भोजपुर क्रान्ति थियो । तर ध्यानबहादुरलाई अगाडि सारेर त्यो क्रान्तिलाई ओझेल पार्ने प्रयास भयो । यस घटनालाई गोर्खा परिषद्को निर्देशनमा घटाइएको तत्कालीन गृहमन्त्री बीपी कोइरालाले नै बताएका थिए । मुक्ति सेनाका मुगाधन राई, श्रीपाल राई, भूदेव राईलगायतले प्रतिक्रान्तिको प्रतिरोध गरे पनि उनीहरुको केही सीप लागेन ।
प्रतिक्रान्तिकारीले भोजपुर क्रान्तिका योद्धा नारदमुनि र रामप्रसादहरुलाई थुनेपछि विराटनगर कब्जा गर्ने मुक्ति सेनाका कमान्डर जीबी याक्थुम्बालाई बीपीले स्थिति सम्हाल्न भोजपुर पठाए । त्यहाँ जानुको उद्देश्य प्रतिक्रान्तिकारीसित वार्ता गरेर नारदमुनिहरुलाई जेलबाट छुटाउनु थियो । तर प्रतिक्रान्तिमालागेका ध्यानबहादुरसहितको टोली याकथुम्बा भोजपुर प्रवेश गर्ने खबर पाएलगत्तै भाग्यो ।
याक्थुम्बाले महिना दिनसम्म बन्दी अवस्थामा राखिएका नारदमुनि र रामप्रसादहरुलाई जेलबाट छुटाए । भोजपुरको मुक्ति सेनाको क्रान्तिलाई विफल तुल्याउने योजना पूरा भएन । याक्थुम्बा पछि नेपाल पुलिसका महानिरीक्षकसमेत बनेका थिए ।
याक्थुम्बा त्यहाँबाट फर्केपछि ध्यानबहादुरहरु भोजपुर पसे । उनीहरु राई जातिबाहेककालाई तारो बनाउँथे । मेरै दिदीले समेत प्रतिक्रान्तिकारीसँग सुरक्षित हुन रामप्रसाद राईकी दिदीसित मितेनी साइनो लगाएकी थिइन् ।
प्रस्तुति : गोकुल अर्याल